20130702

धेरै मानिसहरुलाई पृथ्वीनारायण शाहले सैन्य बल बाटै सबै नेपाल एकिकृत गरेको हो भन्ने भ्रम रहेको पाइन्छ तर वास्तवमा त्यति सजिलै बल प्रयोग गरेर नेपाल निर्माण भएको छैन !

- रुद्र चूडाल 

आम नेपालीलाई बल प्रयोग गरेर नेपाल रेकिकरण भएको हो त्यसैले बल
प्रयोग गरे मात्र हक अधिकार पाइन्छ भन्ने भ्रम रहेको पाइन्छ । अठारौँ सताब्दिमा पनि हाम्रो देश नेपालमा यस्तै भ्रम रहेको थियो । साना साना टुक्रे देश हरु थिए । उनीहरु लडाईं झगडा गरिरहन्थे । खस र मगर जाति लडाइं गर्ने जातिका रुपमा चिनिन्थे र टुक्रे देशहरुले उनीहरुको माध्यमबाट आफ्नो राजसत्ता जोगाउने गर्थे । यस्तो चरित्रको कारणले धेरै मानिसहरुलाई पृथ्वीनारायण शाहले सैन्य बल बाटै सबै नेपाल एकिकृत गरेको हो भन्ने भ्रम रहेको पाइन्छ । तर वास्तवमा त्यति सजिलै बल प्रयोग गरेर नेपाल निर्माण भएको छैन । कतिपय ढाकछोप गरिएका एतिहासिक तथ्यहरुलाई राम्ररी केलाएर हेर्न सक्यो भने वास्तविकता बिलकुलै फरक देखिन्छ । एउटा सानो १२ हजार घरधुरीको देश गोरखा र कुनै जात वर्ग विशेषको देश भक्ति र वीरताले मात्र नेपाल एकीकरण भएको कदापि हुँदै होइन । नेपाल एकीकरण अभियानमा देशका सबै जातजाति भाषाभाषी
काठमाडौं उपत्यका, पहाड र मधेशको ठूलो भूमिका छ । राम्ररी खोजी गर्ने हो भने सबै जातजातिहरुले नेपाल एकीकरणमा खेलेको भूमिकाको गौरवमय तथ्यहरु फेला पार्न सकिन्छ । र सबै जात जातिले गौरवका साथ आफूलाई नेपाली भन्ने र राष्ट्रिय भावनाले ओतप्रोत हुने तथ्यहरु फेला पार्न सकिन्छ ।
त्यसबेलाको देखिएको चलन अनुसार बाहुनले लेखपढको काम गर्ने, राजाको सल्लाहकार हुने, र पौरोहित्य गर्ने, जैसीले ज्योतिष सम्बन्धी काम गर्ने, राजपूत( ठकुरी ) राजा हुने, खस र मगरले सेनामा भर्ति भैइ लडाई गर्ने । यसै गरी अन्य जातका पनि काम विभाजन गरिएका हुन्थे । केही गरी आफुलाई राजा मन परेन भने अन्य देशबाट राजपूत खोजेर ल्याएर राजा बनाउने चलन थियो । काठमाडौंका जनताले राजा बनाउनु भन्दा ४ बर्ष पहिले नै पाटनका प्रधानहरुले पृथ्वीनारायण शाहलाई राजा बनाएका थिए । तर उनले उपत्यकामा लगाएको नाकाबन्दी फुकाउने लगायत विभिन्न बिषयमा कुरा नमिले पछि आफु राजा चाहिँ बन्ने तर ललितपुरमा नबस्ने सर्त राखे । उनले भाई दलमर्दन शाहलाई आफ्नो प्रतिनिधिको रुपमा ललितपुरमा राखेका थिए । पाटनका प्रधानहरुले पृथ्वीनारायण शाहका नाममा पैसा समेत निकालेका थिए । तर कीर्तिपुरमा १७६४ सेप्टेम्बरमा आक्रमण गरेको घटनापछि पाटनवासीहरु रिसाएर पृथ्वीनारायण शाहलाई पदच्युत गरी प्रतिनिधिका रुपमा पाटन बसेका उनका भाइ दलमर्दन शाहलाई नै राजा बनाइदिए ।
तत्कालीन अवस्थामा पहाडका सबै जातजातिका आ-आफ्नै देश थिए । तमुवान मगरातमा राजपुतहरु धेरै वर्ष पहिले नै छिरी सकेका हुनाले त्यहाँ छुट्टा-छुट्टै अस्तित्वका चौबिसी भनिने देशहरु थिए । उता सुदुर पश्चिमतिर पनि राजपूत धेरै भएकाले राजाको खाँचो थिएन । त्यसैले त्यहाँ बाइसी भनिने टुक्रे देशहरु थिए । ताम्सालिंग क्षेत्रलाई भने काठमाडौं उपत्यकाका र मकवानपुरका राजाहरुले हेर्ने गरेका थिए । तर उनीहरुले त्यस क्षेत्रमा बाहुनहरूको राजदूत एवं पण्डितका रुपमा र खस, मगरहरूको रक्षकका रुपमा बस्ती बसाएका थिए । काठमाडौंका राजा जय प्रकाश मल्लले नुवाकोटमा जयन्त रानालाई सेना नायक बनाई तैनाथ गराएका थिए । छोरा शंखमणि रानालाई नुवाकोट जिम्मा लगाई जयन्त राना काठमाडौँ आएको मौका पारेर पृथ्वीनारायण शाहलाई नुवाकोटवासीले राजा बनाएका थिए । जयप्रकाश मल्लका अर्का सेना नायक काशिराम थापा थिए । यिनी काभ्रेपलान्चोकका बगाले थापा थिए । जयप्रकाश मल्लले गोर्खालीहरुका हातबाट नुवाकोट फिर्ता लिने उद्देश्य राखी यिनै थापाको नेतृत्वमा खस र मगरको १३ सय जतिको सैन्य दल तयार गरेका थिए । तर यिनले नुवाकोट फिर्ता गर्न सकेनन् । ठूलो खर्च गरेर १३०० खस मगर सेना तयार पारेर दिँदा समेत नाथे ६०० घर धुरीको नुवाकोट फिर्ता लिन नसकेको आरोपमा जय प्रकाश मल्लले काशिराम थापा र उनका ७ जना सहयोगीलाई मार्न लगाए । राजा मल्लको यस्तो अविवेकी नीतिबाट काठमाडौं उपत्यका वरिपरिका खस र मगरहरु रिसाए । यो घटनापछि उनीहरु पनि भित्र-भित्रै गोर्खाली राजालाई नेपालको राजा बनाउने रणनीतिमा लागेका थिए । तर काशिराम थापाका भाई परशुराम थापा भने भक्तपुरका राजा रणजित मल्लको सेना नायक भई अन्तिम सम्म लडेको पाइन्छ ।
उता खुम्बुवान, लिम्बुवानमा भने राजपूत थिएनन् । त्यतातिर भने राई लिम्बूहरुका आ-आफ्नै शक्तिशाली जातीय सरदारहरु थिए । त्यो बेलाको जमानामा आफ्नो क्षेत्रमा जतिसुकै शक्तिशाली भए पनि गैर राजपूतले आफूलाई राजा घोषित गर्न हुँदैनथ्यो । तिनले बाहुनलाई दूतका रुपमा, खस मगरलाई रक्षकका रुपमा, नेवारलाई व्यापारीका रुपमा र अन्यलाई जात अनुसारको कामका लागि राखेको देखिन्छ । लिम्बुवानमा भने मधेशका माडवारीलाई पनि व्यापारको लागि राखेको देखिन्छ । राईका त बीस भन्दा बढी फरक फरक भाषा भएका हुनाले उनीहरुका राज्य पनि बीस भन्दा धेरै थिए भन्ने अनुमान गर्न सकिन्छ । राज्य फरक भए पछि आवत जावत र सम्पर्क कम भएर भाषा फरक पर्दै जाने हो । आफ्नो क्षेत्रमा राजपूत नभए पछि उनीहरुले चौदण्डी, विजयपुरका मधेशी सेन राजाहरुलाई आफ्नो राजा मान्दै आएका थिए । अझ पूर्व तिर सिक्किम र भुटानमा चाहिँ भोटे राजा थिए । तिनले समेत बाहुनलाई दूतका रुपमा, खस मगरलाई रक्षकका रुपमा र नेवारलाई व्यापारीका रुपमा आश्रय दिएर राखेका देखिन्छ ।
उता मधेशतिर पनि सबै जातका जातीय सरदार(मुखिया) हुन्थे । सेन राजाहरुले थारु, खस र मगरलाई सेनामा राख्ने गरेका पाइएको छ । अवधका नवाबले समेत बुटवलमा आई पाल्पातिरका खस र मगरलाई सेनामा भर्ति गरी लिएर जाने गरेका थिए । मधेशमा राजपुतहरुको संख्या धेरै भएता पनि युद्द जित्न सजिलो हुने भएकाले बाइसी, चौबिसी जस्ता साना साना टुक्रे देश थिएनन् । पाल्पा, मकवानपुर, चौदण्डी र विजयपुर, ठुल्ठूला देश थिए । सेन राजाहरु मगरसँग वैवाहिक संबन्ध राखेर पाल्पामा स्थापित भएका राजपूत भएता पनि मधेशसँग बढी घुलमिल र लगाव भएका हुनाले मधेशी जस्तै थिए र उनीहरु गर्मी महिनामा मात्र पाहाडमा बस्ने, अरुबेला मधेश तिरै बस्थे । त्यसैले उनीहरु मधेशी राजाका रुपमा चिनिन्थे । पाल्पाका राजा धेरै जसो बुटवलमा र चौदण्डीका राजा अम्बरपुर(सिरहा,सप्तरी)मा बस्ने गरेको पाइएको छ । मधेशी राजाहरुका विश्वास पात्र सल्लाहकार भने पहाडी बाहुन भएको देखिन्छ । मकवानपुरका राजाका विश्वासपात्र सल्लाहकार दिनानाथ उपाध्याय दाहाल थिए । उता चौदण्डीका राजाका विश्वासपात्रहरु भने खार्पाली पोख्रेल बाहुनहरू थिए । तर काठमाडौं उपत्यका(तत्कालीन नेपाल)का राजाहरुका सल्लाहकार र पण्डित चाहिं मधेशी मैथिल बाहुनहरू थिए ।
यता पृथ्विनारायण शाहका खास सलाहकार र गुरु पनि मधेशी बाहुन नै थिए । श्रीहर्ष मिश्र अत्यन्त बाठा, दूरदर्शी र निपुण राजनीतिज्ञ थिए । यी मिश्रको बनारसमा समेत ठूलो मौजा र घरखेत थियो । पृथ्वीनारायण शाह गोरखाको राजा हुने बित्तिकै बनारस यात्राको सम्पूर्ण चाँजो पाँजो यिनै बाहुनले मिलाएका थिए । पढे-लेखेका कुमाई, पूर्विया, मधेशी बाहुन, ज्योतिषी जैसी, नेवार वैद्य, सुरक्षा दलका खस मगरहरु र भरिया समेत गर्दा सय जनाको टोली लिएर पृथ्वीनारायण शाहले बनारसको यात्रा गरेका थिए । बनारस मात्र होइन पृथ्वीनारायण शाहले पटना र प्रयाग(इलाहावाद) को पनि यात्रा गरेका थिए । पृथ्वी नारायण शाहसँग जाने यात्रीहरु मध्ये बाहुनका जाँघमा धोति र काँधमा पछेउरा, अरुलाई लवेदा सुरुवाल, कम्मरमा पटुका, सबैलाई छालाका काने जुत्ता, अंगरक्षकहरु खस र मगरलाई धनुकाँड, तरवार, भाला, सबैका कम्मरमा खुकुरी र बाटोमा खान बस्न समेतको व्यवस्था गर्नुपर्ने भएकोले ठूलो खर्च चाहिएको थियो । त्यो रकम १२ हजार घर धुरी जनसंख्या भएको गोरखाबाट लिएर जान हैसियत नपुग्ने थियो । र सुरक्षाका दृष्टिकोणले पनि धेरै पैसा बोकेर हिँड्न सम्भव नहुने हुनाले पृथ्वीनारायणका गोरखपुरमा रहेका ससुराली र यिनै श्रीहर्ष मिश्रले खर्चको चाँजो-पाँजो मिलाएको अनुमान गरिएको छ । पृथ्वीनारायण शाहका ससुरा दयाराम सिंह गोरखपुरका ठूला जमिनदार राजपूत थिए । बनारसमा केहि समय तिनै मिश्रको घरमा बस्ने व्यवस्था मिलाइएको इतिहासकार बाबुराम आचार्यले अनुमान गरेका छन् (ऐ. पृष्ठ १२५ बा.आ.) । त्यहाँबाट नै पृथ्वीनारायण शाहले भारतको राजनीतिक अवस्था सबै बुझेका थिए । त्यसकारण उनी सबै पहाडी भूखण्डका टुक्रे देशहरु र मधेशका देशहरु एकजुट हुनुको विकल्प नभएको संदेश लिएर फर्केका थिए ।
सिन्धुलीको लडाईंमा नेपाली फौजले अंग्रेजलाई पराजित गरेपछी चाँडै नै पहाड मधेश सबैतिर पृथ्वीनारायण शाहको कृति फैलियो । “न्याय नपाए गोर्खा जानु विद्या हराए हराए काशी जानु” भन्ने उखान सुनिरहेका जनता अब गोरखाकै राजालाई नेपालको राजा बनाउने अवसर आएको देखि खुशी भए होलान् भन्ने अनुमान गर्न सकिन्छ । काठमाडौंका जनता र सबैतिर बाट आग्रह भएपछि पृथ्वीनारायण शाहले ज्योतिषी कुलानन्द ढकाललाई राजगद्दीमा बस्ने साइत हेर्न हुकुम गरे । यसरी जैसीको साइत बमोजिम पूर्णातिथि, स्थिरवार, स्थिरनक्षत्र र स्थिर लग्न पारी २६ सेप्टेम्बर १७६८ मा पृथ्वीनारायण शाह काठमाडौंका जनताको भावनाको सम्मान गर्दै परम्परा अनुसार कुमारीको रथको यात्रा चलाई विधिपूर्वक कुमारीको दर्शन र प्रसाद ग्रहण गरी नेपालको राजगद्दीमा बसे ।
गोरखाका राजाप्रति जनताको अपार समर्थन देखेर कुनै प्रतिकार नगरी उनी ललितपुरतिर लागे । पृथ्वीनारायण शाहका सल्लाहकार श्रीहर्ष मिश्रले काठमाडौं एकीकृत भैसकेको १० दिन भित्रै लालितपुरका प्रधानहरुसँग वार्ता गरी किर्तिपुरको जस्तो घटना अब नदोहोरिने वचन दिँदै पृथ्वीनारायण शाहलाई पुनः राजा मान्न आग्रह गरे र ललितपुरका प्रधानहरुले पनि पृथ्वीनारायण शाहलाई पुनःस्थापित गर्न सहमति जनाए । (ऐ.पृष्ठ ३५२ बा.आ.)
चौदण्डीका राजा र भारदार बीचको झगडाले त्यहाँका राई सरदारहरु दिक्क भएका थिए । खुम्बुवानका राई सरदारहरु धेरै पहिलेदेखि नै असल राजपूत खोजी गरी राजा थाप्न लालायित थिए । चौदण्डीका जनताको त्यही चाहनाको प्रतिनिधित्व गर्दै बाहुन दूत हरिनंद पोख्रेल र खस अफिसर स्वरुपसिंह कार्कीको टोली काठमाडौं आयो । उता विजयपुरमा पनि राजा र भारदार बीचको झगडाले अन्योल छाएको थियो । सिक्किमका भोटे राजाले यसै कमजोरीको फाइदा उठाउँदै इलाम पाँचथरका केही भू-भाग कब्जा गरिसकेका थिए । त्यसकारण आफ्नो रक्षाका लागि बलियो राजपूत नभेटे फिरंगी या भोटेको चंगुलमा परिने डर उनीहरुलाई थियो ।
यसरी पृथ्वीनारायण शाह नेपालको राजा भएको थाहा पाउने बित्तिकै पूर्वतिर एकीकरणको साह्रै राम्रो माहोल बन्यो । पूर्वबाट धमाधम पठाइएका बाहुन दूतहरुलाई भक्तपुरले सहमति नजनाएसम्म धैर्य गर्न पृथ्वीनारायणले आग्रह गरे । भक्तपुर एकीकृत भएपछि उनले दुतहरुसँगै पूर्वतिर आफ्ना कार्यकर्ता खटाए । ती कार्यकर्ताले खुम्बुवान, लिम्बुवानमा र मधेशमा त्यहींका खस, मगर र खवास(थारु)हरुको सहयोग लिई छिटफुट बिद्रोहीहरुलाई दमन गरी नेपाली राज कायम भएको अनुभूति गराए । पृथ्वीनारायण शाह नेपालको राजा भएको ५ वर्ष भित्रमै पूर्वी तराई, खुम्बुवान, लिम्बुवान एकीकृत भै नेपालको सिमाना मेची नदीसम्म पुग्यो । सिक्किमले पनि कब्जामा लिएको लिम्बुवानको भूभाग फिर्ता दियो ।
पृथ्वीनारायण शाहलाई चौदण्डी र विजयपुरका जनताले पनि राजा माने रे, ललितपुरका प्रधानहरुले पनि फेरि दलमर्दनलाई हटाएर उनैलाई राजा बनाए रे भन्ने सुनेपछि तनहुँका राजा कामारिदत्त सेन ईर्ष्याले भुतुक्क भएका थिए । यसरी आफु सरहको छिमेकी राजपूतको हेर्दा-हेर्दै त्यत्रो उन्नति भएको सहन नसकी डाहाले उनी मानसिक रुपमा विक्षिप्त हुन थालिसकेका थिए । यसै बीच पृथ्वीनारायण शाहका सेना तनहुँ कब्जा गर्न आउँदै छन् भन्ने हल्ला चलेपछि तनहुँका जनता पनि नेपालसँग मिल्नु पर्छ भन्ने पक्षमा देखिए । आफ्नो देश गुमेको देख्नु भन्दा मर्नु जाति सम्झेर राजा कमारिदत्त सेनले आत्महत्या गरे । कमारीदत्त सेनले आत्महत्या गरेपछि तनहुँ, लमजुङ् र कास्की समेतले गोरखाका राजालाई नेपालको महाराजा मान्न सहमति जनाए । तर लगत्तै केही महिना पछि नै गोरखाका खसहरुको अहङकारी दुर्व्यवहारका कारण तिनीहरुले नेपालबाट अलग भै स्वतन्त्र रहने घोषणा गरे ।
सिन्धुलीको लडाइ जितेर पृथ्वीनारायण शाह काठमाडौंको राजा भएपछि गोरखाको प्रतिष्ठा एकै पटक ह्वात्तै बढ्यो । सँगसँगै त्यहाँका जनताको पनि मान र सान बढ्ने नै भयो । त्यसकारण पृथ्वीनारायण शाहको दर्शन पाउन, आफ्नो पनि राजा भइदिन आग्रह गर्न वा सम्पर्कमा रहन बाहिरबाट आएकाहरु गोरखाका खस मगरहरुको चाकरी गर्दथे । त्यसले गर्दा उनीहरु अत्यन्त चढेका थिए । उनीहरु काठमान्डौको धन दौलत भोग्न पाएर विलासी हुँदै गएका थिए । गोरखा भन्दा बाहिरका अरु जातिलाई त परै जावस खस मगरलाई समेत उनीहरु मान्छे गन्दैन थिए । पूर्वको एकीकरणमा महत्वपूर्ण भूमिका खेल्ने खस स्वरुपसिंह कार्की लगायतका महत्वपूर्ण भारदारहरूलाई समेत उनीहरु बेवास्ता गर्दथे । उता नेपालमा एकीकृत भै सकेका तनहुँ, लमजुंग र कास्कीले गोरखाली खसहरुको अहङ्कारकै कारण अलग्गिने निर्णय गरे पछि पृथ्वीनारायण शाह निकै चिन्तित भए । काठमाडौं दरबारमा पूर्वका स्वरुपसिंह सिंह कार्की, र पश्चिम रिसिंगका ब्रजनाथ पौडेल आदि सम्मिलित अगोर्खाली गुट बलियो हुँदै गएको थियो । आफ्ना निकटका भारदारहरु पनि टाढिँदै गएको र आफु एक्लो भएको पृथ्वीनारायण शाहले अनुभव गर्न थाले । गोर्खाली र अगोर्खाली बीचको द्वन्दले उनी निराश भएको देखिन्छ । निकटका सल्लाहकार र आफुलाई माया गर्ने गुरू श्री हर्ष मिश्रलाई पनि उनले अङ्ग्रेजसंग वार्ता गर्न कलकत्ता पठाइसकेका थिए । आफ्ना भाइहरु पनि सबै कोही राज्य पाइएन, कोही भाग पाइएन भन्दै टाढा टाढा हुँदै गएका थिए । एक थरीले उचालेर भाइ महोदमकिर्ति शाह मकवानपुरको राजा हुने षड्यन्त्र गर्दै थिए ।
कान्छा भाइ काजी सुरप्रताप शाह भक्तपुर पाइएन भनी घुर्की लगाउँदै चौबिसी राज्यतिर गएका थिए । भक्तपुर नियन्त्रणमा लिने क्रममा सुरप्रताप साहको सैन्य दलले ठूलो धनजनको क्षति गराएको हुनाले पनि पृथ्वीनारायण शाह उनीसँग रिसाएका थिए । आफुले प्रतिनिधि बनाई लालितपुरमा राखेका भाइ दलमर्दन शाहले यस अघिनै धोका दिइसकेका थिए । अर्का भाई दलजित शाह प्रातापसिंह शाहलाई हटाएर बहादुर शाहलाई नेपालको उत्तराधिकारी बनाउनु पर्छ भन्ने गोर्खाली गुटको नेतृत्व गरेर हिँडिरहेका थिए । आफुले कुन उद्देश्यले नेपाल एकीकरण थालेको थियो त्यसको विपरित गोर्खाली भा-भारदारहरुको चरित्र बिग्रेको देखेर पृथ्वीनारायण शाह निकै चिन्तित भए । आफ्नै भाइभारदारहरुले यसो गर्न थालेपछि अरुले त असहयोग गर्ने नै भए । काठमाडौं बसिरहेमा अवस्था अझै बिग्रने र नेपाल फेरि टुक्रने डर उनलाई भएको हुन सक्छ । त्यसपछि उनले काठमाडौं छोड्ने निर्णय गरे र गोर्खालीको हुल लिएर नुवाकोट गए । त्यहाँ उनले सबै लोभी, अहंकारी र महत्वाकांक्षी भएका गोरखाका भारदारहरूलाई दुई दिनसम्म अर्ति-उपदेश ( दिव्यउपदेश) दिए । उपदेश दिँदादिँदै उनी धेरै थाकेका थिए । उनलाई ज्वरोले सतायो र आफूलाई त्रिसुली देवीघाट लैजान भने र ९ दिनसम्म घाटमै बिरामी भएर उनले देह त्याग गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक