20130710

"दार्चुला बाढीले बगाउँदा कोही गएनन तर भारतीय विदेशमन्त्री सलमान खुर्सिद आउँदा सबै नेताहरु लाम लागेर गए, नेताहरुले कुटनीतिक मर्यादा भुल्दा नेपालीको शिर निहुरिएकोछ"

 राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाकडी र दलाली गरेर आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने मान्यताले  नेताहरु लाइन लागेर भारतीय विदेशमन्त्रीलाई भेटन गएको बताउनु भएको छ । नेताहरुले कुटनीतिक मर्यादा भुल्दा नेपालीको शिर निहुरिएको उहाँको भनार्इ छ ।  बुधबार राजधानीमा भएको कार्यक्रममा केसीले प्रश्न गर्नुभयो-’सबै कुरा भारतले गर्ने भए हामिले नेपाली जनतालाई हामी गर्छौं भनेर किन झुक्याउने ? हाम्रो यस्तै आत्मसमर्पणबादको कारण मुलुकको राष्ट्रियता दिन प्रतिदिन
कमजोर बन्दै गईरहेको छ ।’ केसीले थप्नुभयो-’दार्चुला बाढीले बगाउँदा कोही गएनन तर, भारतीय विदेशमन्त्री सलमान खुर्सिद आउँदा सबै लाम लागेर गए ।’ चार दलले गोलमेच सम्मेलन र समानुपातिक बढाउने निर्णय गरेको र छिमेकी चिन र भारतले पनि निर्वाचन गराउन सल्लाह दिएकोले मंसिरमा निर्वाचन हुने उहाँको दावी थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले चुनाव गराउन नदिएर बैद्य समूहको जित कुनै पनि हालतमा नहुने बताउनु भयो । निर्वाचनको सुनिश्चितताका लागि सघन वार्ता गरेर पुरा गर्न सकिने असन्तुष्ठहरुको माग पुरा गर्नु पर्ने उहाँले बताउनु भयो ।  । 
एमाले नेता एवं पूर्वगृहमन्त्री भीम रावलले भारतीय विदेश मन्त्रीसँगको भेटमा नेपाली नेताहरुले प्रोटोकल मिचेर आफ्नो दरिद्रता देखाएको भन्दै यसले देश र नेताहरुकै साख गिराउने बताए । नेपाली जनताले भोट हालेर नेपालमा नेता हुने भएकोले कसैले दिएको मन्त्र टिपेर भन्दा जनताको भावना बुझेर आफै निर्णय गरेर अघि बढ्नु पर्ने उनले बताए । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्न पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, बाबुराम भट्टराई लाम लागेर होटल द्वारिकाज् पुगेका थिए ।
 एक दिने नेपालमा भ्रमणमा आएका भारतीय विदेशमन्त्री सलमान खुर्सिद ९ घण्टाको काठमाडौं बसाई सकेर फर्किएका छन् । बिहान ठीक ९ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका खुर्सिदले सवा ९ बजेबाट नै आफ्नो भेटघाट सुरु गरेका थिए । 
 परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको निमन्त्रणामा नेपाल आएका खुर्सिदले पहिलो भेटघाट समकक्षी घिमिरेसँगै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरेका थिए । घिमिरेसँग नेपाल भारतबीच यसअघि भएका दुईपक्षिय सम्झौताका विषयमा छलफल गरेका थिए । 
लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग भेट गरेका थिए । अध्यक्ष रेग्मीसँगको उनको स्वतन्त्र छवीको चर्चा गरेर संविधानसभा निर्वाचनको तयारी बारे जानकारी लिएका खुर्सिदले त्यसको जटिलताका बारेमा चासो राखेका थिए ।
अध्यक्ष खिलराज रेग्मीसँग करिव ४० मिनेट भेट गरेका खुर्सिद त्यसलगत्तै राष्ट्रपति डा. रामबरण यादवसँग भेट गर्न शीतल निवास पुगेका थिए । केवल शिष्टाचारका लागि भनिएको भेटमा भारतले नेपालको संविधानसभा चुनावमा गर्ने सहयोगका विषयमा पनि छलफल भयो । 
राष्ट्रपतिसँगको भेटपछि विदेशमन्त्री खुर्सिद वत्तिसपुलितस्थित होटल द्धारिकाजमा पुगेका थिए जहाँ सबै दलका नेताहरुसँगको भेटघाट तय गरिएको छ । करिव २ बजे पूर्व प्रधानमन्त्रीहरुबाट सुरु भएको भेटवार्ता साँझ साढे ५ बजे मधेसी नेताहरुमा पुगेर टुङ्गीएको थियो ।
राजनीतिक शक्तिका रुपमा भातरीय विदेशमन्त्री खुर्सिदले एमाओवादी नेताहरुलाई सबैभन्दा पहिलो भेटवार्ताका लागि बोलाएका थिए ।

भेटका लागि पूर्व तयारीमा रहेका दलका नेताहरु भेट सकेर निस्किने र भेटका लागि होटलभित्र पस्ने क्रम सँग–सँगै चलिरहेको थियो । 
खुर्सिदको चासो, नेपाली नेताहरुको व्रिफिङ
बिहान विमानस्थलमा ओर्लने वित्तिकै नेपालको राजनीतिमा चासो राखेका भारतीय विदेशमन्त्री खुर्सिदले दिनभरको भेटवार्तालाई संविधानसभा चुनावमै केन्द्रित गरेका थिए । पहिलो चरणमा दलका नेताहरुलाई सामूहिक भेट गरेका भारतीय विदेशमन्त्री खुर्सिदले भारत फर्किनु अघि उच्चदलका नेताहरुलाई छुट्टै भेट गरेका थिए ।
भेटमा संविधानसभाको निर्वाचनमा चासो राखेपनि अप्रत्यक्ष रुपमा चुनावसँग जोडिएको भारतको चासोका विषयमा कुरा राखेको नेताहरुले बताएका छन् । खुर्सिदसँग भेट गर्न गएको एकीकृत नेकपा माओवादीसँगको भेटमा नेकपा–माओवादीले गठन गरेको वार्ता टोली र उनीहरुले मागका विषयमा बढी चासो राखेका थिए । विदेश विभाग प्रमुख राम कार्कीका अनुसार खुर्सिदले संविधानसभाको चुनाव र नेपालको राजनीतिक घटनाक्रमका विषया चासो राखेको बताए ।
विदेशमन्त्रीको चासोमा एमाओवादी अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक घटनाक्रमका बारेमा व्रिफिङ् गरेको पनि उनले बताए ।  एमाओवादीहरुसँगको भेट लगत्तै नेपाली कांग्रेसका नेताहरुसँग भेट गरेकाले खर्सिदले उस्तै कुरा दोहोर्याए । तर कांग्रेसका नेताहरुसँग भारतीय कांग्रेस आइसँगको सम्बन्धका विषयमा पनि कुरा भएको थियो । अमेरिकाबाट विदेशमन्त्री खुर्सिदसँग भेट गर्न हतारमा काठमाडौं फर्केका कांग्रेस सभापति सुशील कोइरालाले भने भेट गर्न पाएनन् । 
यसअघि दुईदिने भ्रमण तालिका रहे पनि अचानक तालिका एक दिनमा खुम्चिएपछि कोइराला खुर्सिदसँग भेट्ने अवसरबाट बन्चित भए । कोइराला काठमाडौं आइ नपुग्दै खुर्सिद नयाँ दिल्ली फर्किसकेका थिए । कांग्रेससँगको भेट लगत्तै एमाले नेताहरुसँग खुर्सिदले छलफल गरेका थिए । एमाले अध्यक्ष झलनाथ खनाल लगायतका एमाले नेताहरुसँग छलफल गरेका खुर्सिदले मधेसी नेताहरुसँग सामूहिक छलफल गरेका थिए ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल सहितका टोलीसँगको भेटमा पनि विदेशमन्त्री खुर्सिदले नेपालमा संविधान सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको हेर्ने चाहना भएकोले त्यसप्रति भारतको समर्थन र सदभाव रहेको बताएका थिए । “भारतले नेपालमा निर्वाचन चाहेको छ” खनालले भने, “खनालले यस्तो भ्रमणले दुई मुलुक बीचको सम्बन्ध अझै प्रगाढ बनेको छ ।”
खुर्सिद भ्रमणको अर्थ
४ मंसिरका लागि तय गरिएको संविधानसभाको चुनाव हुनेमा अनिश्चितता पैदा भइरहेको बेला भएको भारतीय उच्च भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेकपा–माओवादीको असन्तुष्टि, दलहरुबीचमै चुनाव बारे ढुक्क भइनसकेको अवस्थामा नेपाल भ्रमणमा आएका खुर्सिदले प्रमुख दलहरुलाई राजनीतिक दवाव दिएका छन् । गैर दलीय वर्तमान सरकार लामो समय रहँदा राजनीतिक अस्थिरता झन् गहिरिने भन्दै भारत समयमा चुनाव चाहन्छ । खुर्सिद भ्रमणले नेपालको राजनीतिलाई स्थिर बनाउन र समयमा चुनाव गराउन सहयोग पुग्ने विश्लेषकरुको दावी छ । 
भारतको जोड नेपालमा निर्वाचन मात्र विकल्प भएको औंल्याउदै खुसिर्दले राजनीतिक भेटमा पनि निर्धारित मितिमै निर्वाचन गराउन नेताहरुलाई सुझाएका छन् । भ्रमणका भएको दुईदेश बीचको सम्झौता, चुनावी प्रयोजनका लागि ७ सय ६४ गाडी सहयोग उपलब्ध भ्रमणका क्रममा गरिने औपचारीक प्रक्रिया हो । त्यसैका लागि मात्रै खुर्सिद नेपाल आउनुपर्ने आवश्यकता थिएन ।
मुख्य उद्देश्य नेपालको राजनीति बारे बुझ्नु र चुनावका ऐक्यवद्धता जनाउनु रहेको अधिकारीहरुले बताएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले पनि भारतीय विदेशमन्त्री खुर्सिदको नेपाल भ्रमण चुनावी पक्रियामा ऐक्यवद्धता जनाउने औपचारीक भ्रमण भएको बताए ।
नेकपा माओवादीले वार्ता टोली गठन गरेको भोलिपल्ट नै काठमाडौमा आइपुगेका खुर्सिदले नेपालको राजनीतिबारे के बुझेर गए ? विश्लेषकहरुका अनुसार त्यसको राजनीतिक प्रतिक्रिया भारतले विस्तारै देखाउने छ । 

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधानसभाको चुनावमा भारतको सहयोग र शुभेच्छा आवश्यक रहेको बताएका छन् । खनालले भारतीय विदेशमन्त्रीसँग पनि चुनावमा भारतले गर्ने सहयोग वाहेक अरु कुनैपनि विषयमा छलफल नभएको बताए  ।

ग्रीन फाण्डेसन र सञ्चार फाण्डेसनले सयुक्त रुपमा गरेको कार्यक्रममा एमाले अध्यक्ष खनालले दलहरुले भारतको अस्तक्षेप होइन सहयोग आबश्यक रहेको बताएको जानकारी दिए । उनले नेकपा-माओवादी सहित सबै असन्तुष्ट दलहरु चुनावमा सहभागि हुने बताए । 
''नेकपा माओवादी सहितका सबैदलहरु चुनावमा सहभागि हुन्छन भन्नेमा म विश्वस्थ छु'' खनालले भने, ''चुनावलाई उहाँले छाड्नुभयो भने जनताले पनि उहाँहरुलाई छोड्ने छन् ।'' एमाले अध्यक्ष खनालले मंसिर ४ गते नै चुनाव गर्नेगरि सबै विषयमा छलफल गर्न सकिने बताए । 


खुर्सिदले भने, ‘सबै मलाई भेट्न आफैं आएका हुन्, बोलाएको होइन’


- युवराज घिमिरे 



भारतीय विदेशमन्त्री सलमान खुर्सिदले सबैको सहभागितामा संविधानसभा चुनाव हुन नसके जनताको अभिमत व्यक्त हुने परिस्थिति निर्माण गर्न निर्वाचन पक्षीय दलका नेतासँग आग्रह गरेका छन् ।
करिब नौ घन्टा लामो नेपाल यात्रामा राष्ट्रपति रामवरण यादव र सरकार प्रमुख खिलराज रेग्मी, नेपाली कांग्रेस, एमाले, एमाओवादी नेताहरूसँग अलगअलग तथा उपेन्द्र यादवलगायत मधेसी दलहरूसँग समूहगत रूपमा भेटघाट गरेपछि उनी चुनाव निर्धारत मितिमा नै हुनेमा विश्वस्त भई मंगलबार नै स्वदेश फर्केका हुन् ।
फर्कनुअघि पत्रकारहरूसँग कुराकानीमा खुर्सिदले भने, ‘संविधानसभाको दोस्रो निर्वाचन एउटा ‘युनिक’ र विषेश खालको प्रक्रिया हो, सबै राम्रा कुराहरू टुङ्गिन समय लाग्ने गर्दछ, राम्रो वाइन बन्न धेरै लामो समय लागे जसरी ।’
नेपाल भ्रमण आफू विदेश मन्त्री भएयता प्राथमिकतामा रहे पनि मंसिर ४ मा निर्वाचन हुनेगरी मिति घोषणा गरिएपछि मात्र भ्रमणका लागि अनुकूल वातावरण बनेको उनले बताए । उनको भ्रमण छोटो भए पनि दुईतर्फका राजनीतिज्ञसँग वार्ता जारी रहनुपर्ने अभिव्यक्ति पनि उनले दिए ।
यात्राका क्रममा जारी गरिएका ‘तथ्य विवरण’मा निर्वाचनका लागि आवश्यक सबै सहयोग दिन भारत तयार रहेको र यसै क्रममा निर्वाचन आयोग र गृहमन्त्रालयलाई ७ सय ६४ थान गाडीहरू दिने भारतीय प्रतिबद्धता पनि उल्लेख छ ।
चुनाव बहिष्कारको घोषणा गरेको नेकपा–माओवादी र संवैधानिक राजतन्त्र तथा हिन्दु नेपालको पक्षधर राप्रपा नेपाललाई भने उनीसँग भेटघाटका लागि बोलाइएन ।
दुई दिनको लागि भनी पहिले नै प्रचारित यात्रा अचानक किन ९ घन्टामा छोटियो, आधिकारिक रूपमा केही भनिएको छैन । यात्राको एक दिनअघि सर्वोच्च अदालतले केही दिनअघि नेपाल र भारतको गृहसचिवस्तरीय बैठकमा पशुपतिनगर र कपिलवस्तुमा भारतीय अध्यागमन ‘चेक प्वाइन्ट’ खोल्ने र भारतीय सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन विस्तारित र अध्यावधि गर्न भएको सैद्धान्तिक सहमति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
खुर्सिद आफूले नेपालमा पाएको भव्य स्वागतका लागि आभारी थिए आतिथेय मुलुकप्रति । ‘मैले राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्रीसँग भेट्नुका साथै पूर्वप्रधानमन्त्रीसँग लामो छलफल गर्ने अवसर पाएँ ।’
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल त बिरामी पत्नी सीताको औषधोपचारलाई छोट्याएर काठमाडौं फर्किएनन् मात्र, विमानस्थल उत्रिएको दुई घन्टामै हस्याङफस्याङ गर्दै दलका अरू आठ सदस्यीय उपल्लो टोली लिएर द्वारिकाज होटल पुगे । ‘वैद्य समूहले पनि वार्ता टोली गठन गरेर चुनावप्रति सकारात्मक रवैया देखाएको छ,’ खुर्सिदसँगको वार्ताको हवाला दिँदै पार्टी विदेश विभाग प्रमुख राम कार्कीले पत्रकारसँग भने ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष सिपी गजुरेल अचानक चीन हान्निए अघिल्लो दिन राति ११ बजे ।
के नेकपा–माओवादीलाई भेटघाटका लागि बोलाइएन ?
खुर्सिदको जवाफ थियो, ‘यहाँ सबै आफ्नै पहलबाट आएका हुन्, निम्तो पाएर हैन ।’
एमाले अध्यक्ष झलनाथ खनालले खुर्सिदसँगको वार्ताको हवाला दिँदै भने, ‘उनीहरू निर्वाचन हुनेमा विश्वस्त छन् ।’ खुर्सिदले सायद नेपालको राजनीति बुझ्ने पाराले सोधे, ‘यति धेरै कम्युनिस्ट पार्टीहरू किन छन् नेपालमा ?’
‘के तपाईहरूले संघीयताबारे वहस गर्नुभएको छ ?’ अनि फेरि सोधे, वैद्य समूहले चुनाव बिथोले तपाईहरू के गर्नु हुन्छ ?’
नेपाली कांग्रेसको बुझाइ पनि खनालको भन्दा फरक थिएन, तथापि कांग्रेस महामन्त्री कृष्ण सिटौलाले अरूले भन्दा बढी नै भारतप्रति आस्था खन्याए । ‘नेपालमा शान्ति र स्थायीत्व भारतले मात्र ल्याउन सक्छ,’ उनले भने ।
पार्टी राजनीतिमा आश्चर्यजनक हिसाबले रामचन्द्र पौडेलका प्रतिद्वन्द्वी र धेरे समयदेखि पाखा परेका गोविन्दराज जोशी पनि भेटघाटमा सामेल थिए । ‘जसरी पनि चुनाव हुनुपर्छ, आवश्यक परे वैद्य समूहलाई पेलेर जानुपर्छ’ भन्ने धारणा रहेको कांग्रेसी सहभागीले सेतोपाटीलाई बताए ।
खुर्सिदले प्रमुख न्यायाधीशलाई निर्वाचन सरकारको नेतृत्व दिलाउनमा घुमाउरो तालले भारतीय भूमिकाको प्रशंसा गरे । निर्वाचनमा आवश्यक सहयोग दिन भारत तयार रहेको तर, जारी विकास र निर्माण कार्यबाहेक महत्वपूर्ण ‘डिलिङ्स्’हरू निर्वाचित सरकारसँग मात्र हुने पनि उनले बताए ।

राजदूत प्रसादको थमौतीका लागि बिन्ती गरे सिटौलाले


मंगलबार एकदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री सलमान खुर्सिदले आफ्नो नौघन्टे नेपाल यात्राका क्रममा भेटघाट हुनेहरू आफ्नो निमन्त्रणामा नभएर स्वेच्छाले आएको बताए पनि तथ्यले त्यसलाई पुष्टि गरेको पाइँदैन।
भेटघाट गर्ने अधिकांश नेतालाई भारतीय दूतावासले टेलिफोनमार्फत् स्थान र समयबारे जानकारी दिएको र खासगरी एमालेका केही नेता त्यसको सांकेतिक विरोधस्वरुप उपस्थित नभएको जनाएका छन्।
‘स्थापित मर्यादा र प्रचलनअनुसार आतिथ्य मुलुककै विदेश विभागले त्यस्तो भेटघाट मिलाउनुपर्नेमा दूतावासबाटै नाम तोकेर भेटघाट मिलाएपछि हाम्रा दलका केही नेता गएनन् मन्त्रीसँग भेट्न,’ एमालेका एक उपल्लो तहका नेताले सेतोपाटीसँग भने।
उनले ती नेताको नाम खुलाउन नचाहे पनि एमाले टोलीमा महासचिव ईश्वर पोखरेलको उपस्थिति नहुनुले नै हिजोबाटै पार्टीमा ‘केही गडबड अवश्य छ’ भन्ने गाइँगुइँ चलेको थियो । अर्का नेता माधव नेपाल विदेशमा रहेको र माओवादी अध्यक्ष पुष्पकमल दाहालजसरी भ्रमण छोट्टयाएर आउन नचाहेकाले भेटघाट टोलीमा उनी अनुपस्थित रहे।
नेपाली कांग्रेसभित्र पनि दलका नेताभन्दा दूतावासले नै भेटघाटका लागि आमन्त्रित सूची तयार गरेको र टेलिफोनमार्फत् धेरैलाई बोलाएको पार्टी उच्च सूत्रले स्वीकार गरेको छ । मन्त्री खुर्सिदले स्वदेश फर्कनुअघि सञ्चार प्रतिनिधिहरूसँगको संक्षिप्त अन्तक्र्रियामा भेट्न आउनेहरूलाई आफूले नबोलाएको र उनीहरू स्वेच्छाले आएको दाबी गरेका थिए।
कांग्रेस अध्यक्ष सुशील कोइरालासँग राजदूत जयन्त प्रसादको व्यक्तिगत सम्बन्ध चिसिएको सार्वजनिक जानकारीकै विषय हो । संयोगवश खुर्सिदको यात्राका दिन कोइराला विदेशमै रहे । तर, नेपाली कांग्रेस पुरानो मित्र भएकाले फेरि पनि उसँगको मित्रताले निरन्तरता पाउने आशा व्यक्त गरे मन्त्री खुर्सिदले।
वीरगन्जस्थित ‘कन्सुल जनरल’ कार्यालयका एकजना अधिकृतले गत वर्ष मधेसी नेताहरूलाई ‘आन्दोलनको ज्वालामुखी’ निर्माण गर्न आग्रह गरेको भनी कान्तिपुर दैनिकमा समाचार छापिएपछि सुशील कोइरालाले राजदूतसमक्ष त्यसबारे कडा आपत्ति जनाएका थिए । कोइराला र प्रसादको सम्बन्धमा त्यही विन्दुबाट चिसोपन आएको हो।
त्यतिमात्र हैन, करिब एक महिनाअघि राजदूत प्रसादले कोइरालाको पूर्वस्वीकृतिपछि उनी लगायत नेपाली कांग्रेसका आधा दर्जनभन्दा बढी नेता (शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोविन्दराज जोशी, रामशरण महत, अमरेशसिंह आदि) लाई रात्रिभोज आयोजना गरे पनि ‘टिकट नपाई काठमाडौं पुग्न नसकेको’ बहानामा कोइराला अनुपस्थित रहेका थिए । त्यसलाई स्वाभाविक रूपमा नलिइएको र सुशील आफ्नै कारणले प्रधानमन्त्री बन्न नसकेको चर्चासमेत त्यहाँ भएको इतिवृत्तान्त पछि सुशील कोइरालाकहाँ पुगेपछि कोइराला भारतीय दूतावासबाट झन् टाढिएको त्यो भोजमा अनुपस्थित कोइराला नजिक एवं शक्तिशाली कांग्रेसी नेताले सेतोपाटीलाई बताए।
मंगलबार कोइराला त अनुपस्थित रहे, तर टोलीमा कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद वडु पनि देखिएनन् । दार्चुला तथा सुदूर पश्चिमका अन्य भागमा आएको बाढीको दोष भारतमाथि खन्याएपछि वडुको प्रतिवाद भारतीय दूतावास र परराष्ट्रमन्त्री माधव घिमिरेको निर्देशनमा नेपाल सरकारकै परराष्ट्र मन्त्रालयले पनि गरेको थियो, बिना कुनै छानबिन।
‘कुनै दल विशेष या मोहन वैद्यको पार्टीले विरोध गरे पनि चुनाव हुनु नै राम्रो भएको बुझाइ थियो खुर्सिदको,’ कांग्रेस नेता रामशरण महतले भने।
‘भारतले मात्रै नेपालमा शान्ति र स्थायित्व दिनसक्ने’ अभिव्यक्ति दिएका कांग्रेस महासचिव सिटौलाले अर्को धमाका पनि छाडे खुर्सिदसँगको समूहगत भेटघाट ताका । उनले आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लागेका राजदूत प्रसादलाई चुनावसम्म सेवा विस्तार गरिदिन बिन्ती गरे खुर्सिदसँग । खुर्सिदले केही बोलेनन् । कांग्रेसका नेताहरू पनि चुप लागिरहे । बरु खुर्सिदले चुनावमा जान आफ्नो तर्क प्रस्तुत गरे, त्यसलगत्तै अंग्रेजीमा । ‘चुनावै नहुनुभन्दा अपूर्ण चुनाव राम्रो,’ उनले भने, ‘संविधानै नहुनुभन्दा अधुरो संविधान राम्रो।’
माओवादी नेताहरूसँगको भेटघाटमा वैद्य समूहले पु¥याउनसक्ने अवरोधबारे केही चर्चा भए पनि बाबुराम भट्टराईले पार्टी उपाध्यक्ष पदबाट दिएको राजीनामाबारे भने खासै चर्चा भएन भेटघाटमा। बरु भट्टराईपत्नी हिसिला यमीले संविधानसभामा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनु सुखद भएको र त्यसले भारतलाई पनि प्रेरित गर्नसक्ने बताए ।

*****************
खुर्सिदसँग खुसामद गर्न पुगेका नेताहरू
- श्रीकृष्ण अनिरुद्ध गौतम
भारतीय विदेशमन्त्री सलमान खुर्सिद अपर्झट नेपाल आएर गए । सलमान नामसँग परिचित भए पनि खुर्सिद नेपालीका लागि अनौठो हो । सलमान भारतमा जस्तै नेपालमा पनि परिचित नाम हो । मुम्बई फिल्म उद्योगका चर्चित अभिनेता सलमान खानले यो नाममा चार चाँद लगाइदिएका छन् । अभिनेता सलमान त लोकप्रिय छन् नै, नेता सलमानको लोकप्रियता के छ, कस्तो छ, त्यो त भारतकै जनतालाई थाहा होला । खुर्सिद नरम र गम्भीर छन्, खान चञ्चल । यी नेता हुन्, उनी अभिनेता । धेरैलाई थाहा छ, खान प्रेम पारखी हुन् । यिनी भने शायरीका सोखिन छन् ।
यहाँ प्रयोजन खुर्सिद र खानबीच तुलना किमार्थ होइन । सम्भवतः खुर्सिद मुसलमान समुदायमा जन्मेका नेपाल आउने भारतका पहिलो विदेशमन्त्री हुन्, यसकारण आफ्नो भ्रमण क्रममा उनी पशुपतिनाथ दर्शनमा गएनन् । यद्यपि अभिनेता सलमान गणेश चतुर्थीको पूजा गर्छन्, नेता सलमान के गर्छन्, त्यो त उनै जानुन् । हुन त उनले पशुपतिनाथ दर्शन गर्न चाहेकै भए पनि हिन्दुबाहेक अन्यलाई त्यहाँ दर्शन निषेधको प्रथा छ । यो प्रसंग किनभने हिजोआज यताका नेता दिल्ली स्वास्थ्य उपचारका लागि गएझैं उहिल्यै भारतीय नेताहरू पशुपति दर्शनको बहानामा राजनीतिक भेटघाट गर्न आउँथे । यसपालि त्यस्तो भएन, उनको भेटघाट केवल भलाकुसारी र लेनदेनमा आधारित भयो ।  
औपचारिक रूपमा मित्रतापूर्ण र अति नजिक भनिने नेपाल-भारत सम्बन्ध व्यवहारमा अत्यन्त दुःखद मोडमा पुगेको र नेपालमा भारतको छवि अत्यन्तै बिग्रेको यस घडीमा खुर्सिदको आगमन भएको हो । उनको आगमनसँगै नेपालसँग राजनीतिक तहमा भेटघाटको नयाँ शृङखला प्रारम्भ भएको हो भने निश्चय नै यो सुखद हो । तर उनको भ्रमण मुख्यतः नेपालमा गर्ने भनिएको संविधानसभा निर्वाचनमा सघाउ पुर्‍याउने विषयमा सीमित भएर मूलभूत मुद्दामा प्रवेशै नगरी टुंगियो । वास्तवमा खुर्सिदको भ्रमण भर्खरै चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीको भ्रमण र चीनले नेपाललाई चाहिने भरपुर सहायता गर्ने खबर आए लगत्तै हतार-हतार तय भएको हो ।      
माथिको एउटा हरफमा उहिल्यै उताबाट नेताहरू पशुपति दर्शनको निहुँमा आउँथे भन्नुको अर्थ छ । बहाना जे भए पनि आउन त आउँथे, तर यता विशेष गरेर संविधानसभाको निर्वाचनपश्चात् भारतीय नेताहरूले आफ्ना प्रशासनिक कर्मचारी र जासुसी एजेन्सीमार्फत नेपाल मामिला हेर्न थाले, सभा भंग भएपछि भारतको नेपाल मामिला पूरै एजेन्सीका अधीनस्थ र भारतीय राजदूतावास इसाको १८ औं शताब्दीमा भारतमा उपनिवेश कायम गर्ने बेलायती इस्ट इन्डिया कम्पनीका गभर्नर जनरलको कार्यालयको भूमिकामा अवतरित भएको छ । भारतीय राजदूत महोदयहरू, दुर्भाग्यवश, कोही लर्ड वारेन हेस्टिङ्स र कोही भने लर्ड डल्हौसीका रूपमा चित्रित हुनथालेका छन् ।
खुर्सिद पनि नेपाल-भारत सम्बन्धका मूलभूत मुद्दामा प्रवेश गरेनन् । सलमान खान फिल्म सुटिङमा आएझैं उनी पनि फोटो सुट र टिभी समाचारका विषय बनेर फर्के । वास्तवमा उनी मूलभूत विषयमा प्रवेशको समय छुट्याएरै आएका थिएनन् । निर्वाचन प्रयोजनका लागि भारतले गाडी दिनैका लागि उनी पक्कै नेपाल आएका होइनन्, अपितु सद्भाव प्रदर्शन गर्न आएका हुन् र सद्भाव प्रदर्शन निश्चय नै स्वागतयोग्य हो । जे भए पनि एकतर्फी रूपमा नेपाली नेताहरू तारन्तर दिल्ली गइरहेका तर उताबाट राजनीतिक पदाधिकारी नआइरहेका बखत भएको उनको भ्रमणलाई असल लक्षण मान्नैपर्छ । तर नेपाल-भारत सम्बन्धका आधारभूत विषयमा प्रवेश नगरी सतह-सतहैमा रहँदा सम्बन्धको धरातल भासिने क्रमलाई रोक्न भने सकिन्न ।  
औपचारिक भेटघाटमा सधैंझैं नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुगेको र अझ उँचो बनाउने कामना गरियो नै । जबकि नेपाल-भारत सम्बन्ध आज परस्पर अविश्वास र सन्देहमा घेरिएको सम्बन्ध हो । सरकार, संवैधानिक अंगहरू र संस्थानमा गरिने नियुक्तिमा समेत भारतीय दूतावासको सोझो हस्तक्षेप भइरहेका प्रसंगहरू नेपाली जनमानसमा चर्चा र क्षोभका विषय भएका छन् । सुस्ता र कालापानीमा भारतले नेपालको सिमाना मिचेको विषयबारे गम्भीर संवाद भएकै छैन । त्यस्तै पहाड र मधेसलाई छुट्याएर हेर्ने भारतीय रवैयाप्रति नेपालीहरू रुष्ट छन् ।
नेपाललाई भारतीय प्रशासनिक अधिकारीहरू पाकिस्तानको नक्सामा हेर्छन्, पाकिस्तानी जासुसी संस्था आईएसआईले चलखेल गर्ने भूमिका रूपमा चित्रण गर्छन् । यहाँसम्म कि भारतीय विद्वान्हरूसमेत नेपाल र भारत बीचका सांस्कृतिक र सामाजिक सम्बन्धतर्फ आँखा चिम्लँदै चीनको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गर्छन् । शंकै-शंकामा धारणा बनाउँछन् र त्यसैलाई सत्य मानेर प्रस्तुत हुन्छन् । निश्चय नै छिमेकी भएका नाताले नेपालमा चीनको प्रभाव पर्छ, त्यस्तै प्रभाव भारतमै चीनको पनि परिरहेको छ । चीनसित नेपालको मात्र सिमाना जोडिएको छैन, भारतको झन् बढी जोडिएको छ । सन् १९६२ को भारत-चीन युद्धमा नेपाली सरहद प्रयोग भएको होइन, बरु भारतको तर्फबाट युद्ध गर्दै नेपालीहरूले ज्यान गुमाएका हुन् ।
भारत र चीनका बीच विशेषगरी सन् १९६० को दशकदेखि नै सीमा विवाद छ । उनीहरू ती विवादलाई थाती राख्दै खर्बौंको व्यापारिक लेनदेन गरिरहेका छन् । तर नेपालमा चिनियाँ सहयोगका प्रसंग आउनासाथ भारतीय प्रशासकहरूका नेत्र बल्न थाल्छन् । यदि नेपाल-चीन सम्बन्धले भारतीय सुरक्षा चासोलाई आकषिर्त गर्छ भने यसबारे त्रिदेशीय संयन्त्र बनाउन भारत आफैं अग्रसर हुनसक्छ । तर यतातर्फ कुरा निस्कँदा भारतीयहरू चीन र भारतबीच नेपालको सहजीकरण अस्वीकार गर्दै चीन र भारतबीच पारस्परपरिक सम्बन्ध धेरै सपि्रसकेको बखान गर्छन् ।
त्यस्तै पाकिस्तान नेपालबाट धेरै टाढा छ । नेपालमा यदि आईएसआईको गतिविधि भइरहेको भए त्यो भारतभित्रै सक्रिय सञ्जाल अन्तर्गत र मार्फत भइरहेको तथ्य भारतकै जासुसी एजेन्सीहरूलाई राम्ररी थाहा होला । नेपाल भित्रिने भारतीय नक्कली नोटहरू भारतकै कमजोर आन्तरिक सुरक्षाका ज्वलन्त उदाहरण हुन् । त्यस्तै बंगलादेश हुुँदै नेपाल भित्रिने तत्त्वहरूसमेत भारतकै बाटो भएर आउँछन् । यहाँसम्म कि नेपाली तराईको जनसांख्यिक संरचनामा तीव्रतापूर्वक र व्यापक परिवर्तन भइरहेको छ । भारत हुँदै बंगलादेशी मुसलमानहरूको निर्वाध प्रवेश र उनीहरू नेपालमा स्थायी बसोबास गर्ने क्रम बढ्दो छ । विशेष गरेर नेपालको पूर्वी मधेस यसबाट आक्रान्त हुनथालेको छ । आन्तरिक सुरक्षाको विषयले भारतलाई मात्र पिरोलेको छैन, नेपालले पनि भारतीय भूमिबाट र त्यही भूमिको बाटो भएर नेपाल भित्रिरहेका विभिन्न सुरक्षाजन्य खतराहरू औंल्याउनुपर्ने दिन अब नजिकै छन् ।
नेपाल भयानक संक्रमणबाट गुजि्ररहेको छ । तदर्थवादमा चलिरहेको छ । राजनीतिक दलका नेताहरू प्रधानन्यायाधीशलाई सत्ता बुझाएर आफू आवाराझैं घुमिरहेका छन् । तर यसको अर्थ यो होइन, नेपालमा घटनाक्रमलाई मिहिन गरी केलाउने मान्छे नै छैनन् र आउँदा दिनका असजिला औंल्याउने काम पनि भइरहेको छैन । मुलुकको संक्रमणशील अवस्थाबाट अनुचित लाभ लिन धेरै तत्त्व र शक्तिहरू सक्रिय छन् । दूर देशबाट आएका क्रिस्चियन मिसनरीहरूमात्र होइन, पूर्वोत्तर भारतका बप्टिस्ट चर्चहरूसमेत नेपालमा धर्मान्तरणको मिसनमा लागेकाहरूलाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सघाइरहेका छन् । यसले नेपालभित्र धार्मिक सदभाव र सहिष्णुतालाई खलबल्याउने काम गरिरहेको छ । यदि यो क्रम तत्कालै रोकिएन भने नेपालमा धार्मिक मुद्दाहरू चर्किएर आउनेछन् र यसमा भारत पनि नराम्ररी मुछिनेछ ।
तात्पर्य के भने सुरक्षा सरोकारको विषय भारतको पेटेन्ट होइन, भारत हुँदै नेपाल भित्रिने सुरक्षाजन्य खतराका लगायत आन्तरिक जनसांख्यिक उथलपुथल एवं सामाजिक, धार्मिक सौहार्दताको वातावरण खल्बलिने आशंका बढ्दो छ । नेपालमा विद्यमान राजनीतिक अस्थिरता लगायत जनसांख्यिक र सामाजिक, धार्मिक उथलपुथलको जिम्मेवार नै भारत हो भनेर ठहराउने दिन आएका खण्डमा निर्वाचन प्रयोजनका लागि दानमा गाडी दिएकै भरमा भारतको इज्जत जोगिने छैन, जोगिँदैन ।
खुर्सिदले आफ्नो आगमनमा नेपाल र भारतबीच विशिष्ट सम्बन्ध रहेको चर्चा गरे, तर कस्तो विशिष्ट त्यो भने खुलाएनन् । आफू बसेका ठाउँमा नेपालका पूर्वप्रधानमन्त्रीहरू लगायतका नेताहरू लर्को लागेर आउने खालको विशिष्ट हो भने त्यस्तो सम्बन्धलाई विशिष्ट भन्न मिल्दैन । आफ्नी श्रीमतीको उपचारका लागि सिंगापुर पुगेका पुष्पकमल दाहाल हुर्दुराउँदै उनको खुसामद गर्न काठमाडौं फर्किंदा पनि सम्बन्ध विशिष्ट हुने होइन । सम्बन्ध विशिष्ट तब हुन्छ, जब दुबै पक्ष एकअर्काको संवेदनशीलता बुझ्छन्, सम्बन्धका जगमा रहेका मूलभूत मुद्दाहरूको पहिचान गर्छन् । खुर्सिदको भ्रमण यस अर्थमा विलकुलै मुद्दाविहीन थियो । उनको नेपालसितको सम्बन्धबारे प्रस्तुति सलमान खानको सुटिङ समय-सारिणीभन्दा भिन्न थिएन ।
तथापि भारतीय विदेशमन्त्रीका रूपमा उनको नेपाल आगमन र प्रस्थान बीचको समयलाई हेर्न र भारतीय प्राथमिकता के हो भनेर नियाल्न भने उनको भ्रमण उपयोगी रहेकै हो । भारत नेपालमा पुनः सविधानसभाको निर्वाचन चाहन्छ र त्यो निर्वाचन आफ्नो रेखदेखमा होस् भन्ने भारतीय शासनको आन्तरिक इच्छा छ । ठिकै छ, भारत त दोहोर्‍याएर संविधानसभाको निर्वाचन होस् भन्ने चाहँदो रहेछ । तर हेक्का रहोस्, नेपाली जनता भारतबाट के चाहन्छन्, यस विषयमा प्रवेश गर्ने दिन आउँदैछन् । नेपालीहरू नेपाल-भारत सम्बन्धका सम्पूर्ण आयामहरूमाथि पुनरावलोकन चाहन्छन् । खुर्सिदसँग खुसामद गर्न पुगेका नेताहरूले आजका मितिमा नेपाली मनोभावको प्रतिनिधित्व गर्दैनन् ।  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक