20130725

नारायणहिटी दरबारबाट नागार्जुन जंगल पठाइएका ज्ञानेन्द्र फेरि चुनौती किन बन्दै छन् ?’ अहिले ज्ञानेन्द्रको छायाले तर्साएको छ, भोलि हिमानी र हृदयेन्द्रको छायाले तर्साउनेछ ! - उमेश चौहान


म अहिले प्रधानमन्त्री भए ज्ञानेन्द्रलाई जेल हाल्थेँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको यो अभिव्यक्तिले समाजमा अहिले नयाँ तरंग ल्याएको छ । भनाइ सार्वजनिक भएलगत्तै जनमानसमा डा. भट्टराइप्रति गुनासो र पूर्वराजा ज्ञानेन्द्रप्रति सहानुभूति देखिएको छ । यो अनौठा अवस्थालाई व्याख्या गर्न दुईवटा अन्तर्राष्ट्रिय प्रसंग
धेरै सान्दर्भिक हुनेछन् ।
प्रसंग १ :
इरानका अन्तिम शाह मोहम्मद रजा पलावीको अत्याचारविरुद्ध जनतामा ठूलो आक्रोश थियो, विभिन्न क्षेत्र र समुदायका जनता आन्दोलित थिए । तर, गोलबन्द गर्ने नेता नहुँदा सन् ७० को दशकसम्म आन्दोलनकारी समूह कुहिरोका कागजस्तै थिए । त्यहीवेला शाहका प्रधानमन्त्री सपर बख्तियारले आन्दोलनलाई होच्याउँदै भने, ‘आयातोल्लाह खोमेनी गुहार माग्दै कहिले इराक, कहिले टर्की त कहिले फ्रान्स पुगेका छन् । आफँै सेल्टर माग्दै हिँडेका नेताले देशमा परिवर्तन गर्छु भन्नु दिवास्वप्न मात्र हो । विदेशीको इसारामा देशमा परिवर्तन गर्छु भनेर गफ गर्नेले सत्ता कहिल्यै हल्लाउन सक्दैनन् ।’ प्रधानमन्त्री बख्तियारको भाषण इरानका सबै सरकारी सञ्चारमाध्यमले बढाइचढाइ प्रस्तुत गरे । तर, अनौठो, शाह शासनविरुद्ध आन्दोलित जनतालाई प्रधानमन्त्रीको भनाइले मनोबल बढाइदियो । जनतालाई चेतना भयो, ‘यो अत्याचारी शाह शासनविरुद्ध लड्ने हामी बेसहारा छैनौँ, कोही छ हाम्रो नेता जो आफँै निर्वासित भएर पनि जनताको मुक्तिका लागि प्रतिबद्ध छ ।’
१५ वर्ष निर्वासनमा बसेका आयातोल्लाह खोमेनीले इरानका लागि आफ्नो महत्त्व त्यति पुष्टि गर्न सकेका थिएनन् जति शाहका प्रधानमन्त्रीले एउटै कटाक्षबाट गरिदिए । तिनै खोमेनीले पहिले टर्की र पछि फ्रान्सबाट पठाएका सन्देशकै बलमा इरानमा अभूतपूर्व आन्दोलन भयो । सन् १९७९ मा जब खोमेनी स्वदेश फर्किए, ६० लाख जनताले विमानस्थलमै स्वागत गरे । खोमेनीलाई अमेरिकी म्यागेजिन ‘टाइम’ले वर्षपुरुष र इरानी संविधानले सर्वोच्च नेता भनेर घोषणा गर्दा पूर्वसत्ताप्रमुख शाह शरण खोज्दै एउटाबाट अर्को देश भौँतारिइरहेका थिए ।
प्रसंग २ :
सन् १९९१ मा भारतमा तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको मृत्यु सत्ताधारी कंग्रेसका लागि ठूलो धक्का थियो । प्रधानमन्त्री आमा इन्दिराको हत्या भएको सात वर्षभित्र प्रधानमन्त्री छोरा राजीव मारिएपछि गान्धी परिवारले राजनीतिलाई तिलाञ्जली दिने निश्चय गरेको थियो । तर, सीताराम केशरीको नेतृत्वमा पार्टी एक दशकमै तहसनहसजस्तै भएपछि कंग्रेसभित्र विकल्पको खोजी सुरु भएको थियो । कंग्रेस र देशलाई नेतृत्व दिन अब राजीवकी पत्नी सोनिया अघि आउनुपर्छ भनेर पार्टीभित्र गाँइगँुर्इं मात्र चलेको थियो । तर, यो विषय न कंग्रेस कार्यकर्ताले जोडतोडले उठाएका थिए, न सोनियाले सुनेजस्तो गरेकी थिइन् । तर, कंग्रेसलाई भन्दा बढी खसखस भएर भारतीय जनता पार्टीका नेताले कंग्रेस र सोनियालाई खबरदारी गर्न थाले । कतिसम्म भने प्रधानमन्त्री अटलविहारी बाजपेयी र गृहमन्त्री लालकृष्ण आडवाणीजस्ता दिग्गज नेताले पनि भने, ‘खबरदार कंग्रेस † विदेशबाट आयातीत बुहारीलाई भान्साको जिम्मा दियौ भने ठीकै छ, तर देशको जिम्मा दिने कोसिस गर्‍यौ भने हामी राष्ट्रियताको आन्दोलनमा जान्छौँ र राष्ट्रविरोधीलाई जेल हाल्छौँ ।’
भारतीय टेलिभिजनले वाजपेयी र आडवाणीजस्ता दिग्गजका यस्ता ताता टिप्पणी दिनमा २४ पटकसम्म प्रसारण गरे । तर, अनौठो, वाजपेयी र आडवाणीका अभिव्यक्तिले कंग्रेसको मनोबल बढायो । पार्टी सकिन थाल्यो भनेर चिन्तित कंग्रेसजनलाई चेतना भयो, ‘साँच्चै हामी असहाय छैनौँ, हामीसँग त गान्धी परिवारकी उत्तराधिकारी सोनिया छिन्, सोनियापछि राहुल र प्रियंका छन् ।’ भाजपाको आक्रमणजति चढ्दै गयो, सोनियाको सक्रियता उति बढ्दै गयो । सोनियालाई राजनीतिमै निषेध गर्न खोज्ने भारतीय जनता पार्टीको नेतृत्वप्रति गुनासो गर्ने आमजनताले पनि सोनियाप्रति सहानुभूति र समर्थन जनाए । अहिले तिनै सोनियाले कांग्रेसलाई लगातार दुईपटक सत्तामा पुर्‍याइन् । ‘विदेशबाट आयातीत बुहारी’ले राष्ट्रपति र प्रधानमन्त्रीभन्दा माथि सर्वोच्च नेताको हैसियतमा भारतलाई कमान्ड गरिरहँदा भाजपा बनाउने बहादुर नेता लालकृष्ण आडवाणी आफ्नै पार्टीभित्र पनि अपमानित छन् । ५० वर्ष संघर्षपूर्ण राजनीति गरेका अटलविहारी वाजपेयी देशभित्रै गुमनाम छन् ।
यी दुई प्रसंगपछि डा. भट्टराईलाई अरू केही भन्न नपर्ला । तर, उनीजस्ता जिम्मेवार र पढेलेखेका नेताले ज्ञानेन्द्रलाई अपमानित गरेर अथवा धम्की दिएर आफ्नो कर्तव्य पूरा भएको ठान्नु आश्चर्यजनक हो । कि डा. भट्टराईले भन्नुपर्‍यो, ‘ज्ञानेन्द्र यो देशका नागरिक नै होइनन् ।’ नागरिक हुन् भने मुकुन्द, गोविन्द र रवीन्द्र सबैले जस्तै ज्ञानेन्द्रले पनि राजनीति गर्न पाउँछन् । मतदान गर्न, चुनावमा लड्न र चुनाव जिते देश हाँक्न पाउँछन् ।
ज्ञानेन्द्रले मन्दिरमा पूजा गर्ने बहानामा जनता भेटिरहेका छन् भनेर आपत्ति गर्नु पनि आपत्तिजनक हो । ज्ञानेन्द्र अथवा अरू कसैले मन्दिरमा, मस्जिदमा, सडकमा, पार्कमा, रेस्टुरेन्टमा अथवा पौडीपोखरीमा आफ्ना समर्थक भेट्न पाउँछन् । संविधानले दिएको अधिकार कुनै दल अथवा व्यक्तिले धम्की दिएर निषेध गर्न सक्दैन । भलै, डा. भट्टराईले आफू अहिले प्रधानमन्त्री भएको भए ज्ञानेन्द्रलाई जेल हाल्थेँ भनेर ठोकुवा गरेका छन् । तर, पत्याउन गाह्रो किन छ भने उनी यो देशमा १८ महिना प्रधानमन्त्री भएका हुन्, त्यसबीचमा पनि ज्ञानेन्द्र अहिलेजस्तै मन्दिर–मन्दिर घुमेर पूजा गरिरहेका थिए, आफ्ना समर्थक भेटिरहेका थिए, राजनीतिक टिप्पणी पनि गरिरहेका थिए । तर, भट्टराई सरकारले ज्ञानेन्द्रलाई कहीँकतै अवरोध गर्‍यो भन्ने समाचार कुनै पनि मिडियामा देखिएको थिएन ।
गत वर्ष यही समयमा देशका प्रधानमन्त्री थिए डा. बाबुराम भट्टराई । जेठको पहिलो साता सिरहाको औराहीमा भीषण आगलागी हुँदा आठ सय परिवारको बिचल्ली भयो । हेलिकोप्टरमा गएका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीका लावालस्करले उजाड गाउँको निरीक्षण गरे, क्षतिपूर्तिको आश्वासन दिए । एक महिनापछि असारको पहिलो साता औराही पुगेकी हिमानी शाहले गाउँमा एक सय बन्डल जस्तापाता र बाँस वितरण गरिन् । दु:खको कुरा, त्यतिन्जेलसम्म सरकारी राहत औराही पुगेको थिएन । अहिले सुदूरपश्चिममा बाढी आयो, यो देशका कुनै पनि राजनीतिक दलले राहत कोष खडा गर्ने दु:ख गरेनन्, आफ्नै खाताबाट झिकेको नगद, शुभचिन्तकबाट जम्मा गरेका लत्ताकपडा र चामल बोकेर हिमानी ट्रस्टका मान्छे अहिले सुदूरपश्चिममा छन् । तर अनौठो † दलका नेताहरू काठमाडौंमा बसेर ज्ञानेन्द्र राजनीतिमा फर्किन थाले भनेर आक्रोश पोख्दै छन् । के त्यसो भए डा. भट्टराईजस्ता नेताले सुदूरपश्चिमका बाढीपीडित भोकानांगा जनतालाई भन्न सक्छन्– ‘फाल हिमानीले दिएका चामल– हामीले दिएको चामलले पेट भर, च्यात हिमानीले दिएका कपडा– हामीले दिएको लगाऊ ।’ तर यो जाँगर र इच्छाशक्ति कुनै राजनीतिक दलमा देखिएन । साँच्चै राजनीतिक दल र तिनका भ्रातृ संगठन हिमानी कोषभन्दा जिम्मेवार, प्रभावशाली र महत्त्वाकांक्षी छन् भने उनीहरूले पनि गाँस र वास गुमाएर बिचल्लीमा परेका दाजुभाइलाई सहयोगका हात उठाउनुपथ्र्यो । यो देशका सवा सय राजनीतिक दल, तिनका भ्रातृ संगठनले सुदूरपश्चिमका लागि राहत वितरण गरेको भए हिमानी कोष भीडमै हराउँथ्यो, यति ठूलो चर्चा र चिन्ताको विषय नै बन्दैनथ्यो ।
ज्ञानेन्द्र राजनीतिमा आउन थाले भनेर डा. भट्टराई अथवा अरू कुनै पनि नेतालाई चिन्ता छ भने उनीहरूले सोच्नुपर्छ– ‘यति ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गर्ने भीमकाय नेता आज किन फुच्चे हँुदै छन् ? नारायणहिटी दरबारबाट नागार्जुन जंगल पठाइएका ज्ञानेन्द्र फेरि चुनौती किन बन्दै छन् ?’ यो विषयमा चिन्ता गरेर जनताको आकांक्षालाई सम्बोधन गर्न सक्ने नेतालाई ढुक्क छ । तर, जनताको विश्वास र राजनीतिक मनोबल गुमाउँदै जाने हो भने छायाले पनि तर्साउँछ, फरक यत्ति हो– अहिले ज्ञानेन्द्रको छायाले तर्साएको छ, भोलि हिमानी र हृदयेन्द्रको छायाले तर्साउनेछ । (बिहिबार नयां पत्रिकामा प्रकाशित)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक