(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130708

हाम्रो नेपाल के हो ? हामी नेपाली को हौँ ? नेपालीत्व भनेको के हो ? नेपालीपन कस्तो पना हो ? र हामी नेपालीको वास्तविक इतिहास के हो ?

- रुद्र चूडाल            
हाम्रो नेपाल के हो ? हामी नेपाली को हौँ ? नेपालीत्व भनेको के हो ? नेपालीपन कस्तो पना हो ?  र हामी नेपालीको वास्तविक इतिहास के हो ? यी र यस्तै प्रश्नहरूमा स्पष्ट हुन नसक्दा अहिले देशले राजनीतिक निकास पाउन सकिरहेको छैन | विगतका खसवादी  शासकहरुले वास्तविक इतिहासलाई ढाकछोप गरेर झुटो र काल्पनिक इतिहास लेखाएर देश चलाएका हुनाले अहिले यो संकटको स्थिति आएको हो |  
आम नेपालीले बुझेको र बुझाइएको इतिहास के हो भने गोरखा भन्ने एउटा सानो देश थियो | त्यहाँका राजा पृथ्वीनारायण शाह थिए | त्यहाँ वीर र देश भक्त जातिहरु थिए | तिनै वीर गोर्खालीहरुको मद्दतबाट पृथ्विनारायण शाहले युद्ध गरेर काठमाडौं उपत्यका लगायत सबैलाई सैन्य बलले जितेर नेपालको निर्माण भएको हो |तर माथि भनिए जस्तो त्यति सजिलै बल प्रयोग गरेर नेपाल निर्माण भएको छैन | कतिपय ढाकछोप गरिएका एतिहासिक तथ्यहरुलाई राम्ररी केलाएर हेर्न सक्यो भने वास्तविकता बिलकुलै  फरक देखिन्छ | एउटा सानो १२ हजार घरधुरीको देश गोरखा र कुनै जात वर्ग विशेषको देश भक्ति र वीरताले मात्र नेपाल एकीकरण भएको कदापि हुँदै होइन | नेपाल एकीकरण अभियानमा देशका सबै जातजाति भाषाभाषी काठमाडौं उपत्यका, पहाड र मधेशको ठूलो भूमिका छ | राम्ररी खोजी गर्ने हो भने सबै जातजातिहरुले नेपाल एकीकरणमा खेलेको भूमिकाको गौरवमय तथ्यहरु फेला पार्न सकिन्छ | र सबै जात जातिले गौरवका साथ आफूलाई नेपाली भन्ने र राष्ट्रिय भावनाले ओतप्रोत हुने तथ्यहरु फेला पार्न  सकिन्छ |
त्यसबेलाको देखिएको चलन अनुसार  बाहुनले लेखपढको काम गर्ने, राजाको सल्लाहकार हुने, र पौरोहित्य  गर्ने, जैसीले ज्योतिष सम्बन्धी काम गर्ने, राजपूत( ठकुरी ) राजा हुने, खस र मगरले सेनामा भर्ति भैइ लडाई गर्ने, नेवारले व्यापार गर्ने | यसै गरी अन्य जातका पनि काम विभाजन गरिएका हुन्थे | मधेश तिर पनि यसै गरि जात अनुसारका कार्य विभाजन गरिएका जाति थिए | केही गरी आफुलाई राजा मन परेन भने अन्य देशबाट राजपूत खोजेर ल्याएर राजा बनाउने चलन थियो | काठमाडौंका जनताले राजा बनाउनु भन्दा भन्दा ४ बर्ष पहिले नै पाटनका प्रधानहरुले पृथ्वीनारायण शाहलाई राजा बनाएका थिए | तर उनले उपत्यकामा लगाएको नाकाबन्दी फुकाउने लगायत विभिन्न बिषयमा कुरा नमिले पछि आफु राजा चाहिँ बन्ने तर ललितपुरमा नबस्ने सर्त राखे | उनले भाई दलमर्दन शाहलाई आफ्नो प्रतिनिधिको रुपमा ललितपुरमा राखेका थिए | पाटनका प्रधानहरुले पृथ्वीनारायण शाहका नाममा पैसा समेत निकालेका थिए | तर कीर्तिपुरमा १७६४ सेप्टेम्बरमा  आक्रमण गरेको घटनापछि  पाटनवासीहरु रिसाएर पृथ्वीनारायण शाहलाई पदच्युत गरी  प्रतिनिधिका रुपमा पाटन बसेका उनका भाइ दलमर्दन शाहलाई नै राजा बनादिए |
तत्कालीन अवस्थामा पहाडका सबै जातजातिका आ-आफ्नै देश थिए | तमुवान मगरातमा राजपुतहरु धेरै र्ष पहिले नै छिरी सकेका हुनाले त्यहाँ छुट्टा-छुट्टै अस्तित्वका चौबिसी भनिने देशहरु थिए | उता सुदुर पश्चिमतिर पनि राजपूत धेरै भएकाले राजाको खाँचो थिएन | त्यसैले त्यहाँ बाइसी भनिने टुक्रे देशहरु  थिए | ताम्सालिंग क्षेत्रलाई भने काठमाडौंन्डू उपत्यकाका र मकवानपुरका राजाहरुले हेर्ने गरेका थिए |  तर  उनीहरुले त्यस क्षेत्रमा बाहुनहरूको  राजदूत एवं पण्डितका रुपमा र खस, मगरहरूको रक्षकका रुपमा बस्ती बसाएका थिए | काठमाडौंका राजा जय प्रकाश मल्लले नुवाकोटमा जयन्त रानालाई सेना नायक बनाई तैनाथ गराएका थिए | छोरा शंखमणि रानालाई नुवाकोट जिम्मा लगाई जयन्त राना काठमाडौँ आएको मौका पारेर पृथ्वीनारायण शाहलाई नुवाकोटवासीले राजा बनाएका थिए | जयप्रकाश मल्लका अर्का सेना नायक  काशिराम थापा थिए | यिनी काभ्रेपलान्चोकका बगाले थापा थिए | जयप्रकाश मल्लले गोर्खालीहरुका हातबाट नुवाकोट फिर्ता लिने उद्देश्य राखी यिनै थापाको नेतृत्वमा खस र मगरको १३ सय जतिको सैन्य दल तयार गरेका थिए | (पृ.ना.शाह जीवनी पृष्ठ १७२- बाबुराम आचार्य) तर यिनले नुवाकोट फिर्ता गर्न सकेनन् | ठूलो खर्च गरेर १३०० खस मगर सेना तयार पारेर दिँदा समेत नाथे ६०० घर धुरीको नुवाकोट फिर्ता लिन नसकेको आरोपमा जय प्रकाश मल्लले काशिराम थापा र उनका ७ जना सहयोगीलाई मार्न लगाए | राजा मल्लको यस्तो अविवेकी नीतिबाट काठमाडौं उपत्यका वरिपरिका खस र मगरहरु रिसाए | यो घटनापछि उनीहरु पनि भित्र-भित्रै गोर्खाली राजालाई नेपालको राजा बनाउने रणनीतिमा लागेका थिए | तर काशिराम थापाका भाई परशुराम थापा भने भक्तपुरका राजा रणजित मल्लको सेना नायक भ अन्तिम सम्म लडेको पाइन्छ |
 त्यस बेला खस मगरलाई मात्रै लडाएर कसैले राज्य जित्न सक्दैनथ्यो | जनताले पनि साथ दिनु पर्थ्यो | युद्द भैरहेको बेलामा सर्वसाधारण विचमा ढाल बनेर आइदिए भने कसैलाई पनि युद्द जित्न गाह्रो हुन्थ्यो | किन भने गैह्रसैनिक एक जना मात्र मर्यो भने युद्द जिते पनि आफ्नै राजाले सजाय दिन्थे | सुरप्रताप शाहले नेतृत्व गरेको सैन्य दलले भक्तपुर बिजय गर्दा सर्वसाधारणको धेरै मृत्यु भएको र जयप्रकाश मल्लको खुट्टामा गोली समेत लागेको हुनाले  हुनाले पृथ्वीनारायण शाहले उनको काजी पद झन्डै खोसिदिएका थिए |
मकवानपुर विजय गर्नु अघि पनि पृथ्विनारायण शाहले सिन्धुली गढीका जनतालाई हातमा लिएर त्यहाँका खस र मगरलाई मकवानपुरको सेनामा जानबाट रोकेका थिए | (ऐ.पृष्ठ २८२)
उता खुम्बुवान, लिम्बुवानमा भने राजपूत थिएनन् | त्यतातिर भने राई लिम्बूहरुका आ-आफ्नै शक्तिशाली जातीय सरदारहरु थिए | त्यो बेलाको जमानामा आफ्नो क्षेत्रमा जतिसुकै शक्तिशाली भए पनि गै राजपूतले  आफूलाई राजा घोषित गर्न हुँदैनथ्यो | तिनले बाहुनलाई दूतका रुपमा, खस मगरलाई रक्षकका रुपमा, नेवारलाई व्यापारीका रुपमा र अन्यलाई जात अनुसारको कामका लागि राखेको देखिन्छ | लिम्बुवानमा भने मधेशका माडवारीलाई पनि व्यापारको लागि राखेको देखिन्छ | राईका त बीस भन्दा बढी फरक फरक भाषा भएका हुनाले उनीहरुका राज्य पनि बीस भन्दा धेरै थिए भन्ने अनुमान गर्न सकिन्छ | राज्य फरक भए पछि आवत जावत र सम्पर्क कम भएर भाषा फरक पर्दै जाने हो | आफ्नो क्षेत्रमा राजपूत नभए पछि उनीहरुले चौदण्डी, विजयपुरका मधेशी सेन राजाहरुलाई आफ्नो राजा मान्दै आएका थिए | अझ पूर्व तिर सिक्किम र भुटानमा चाहिँ भोटे राजा थिए | तिनले समेत बाहुनलाई दूतका रुपमा, खस मगरलाई रक्षकका रुपमा र नेवारलाई व्यापारीका रुपमा आश्रय दिएर राखेका देखिन्छ |
उता मधेशतिर पनि सबै जातका जातीय सरदार(मुखिया) हुन्थे | सेन राजाहरुले थारु, खस र मगरलाई सेनामा राख्ने गरेका पाइएको छ | अवधका नवाबले समेत बुटवलमा आई पाल्पातिरका खस र मगरलाई सेनामा भर्ति गरी लिएर जाने गरेका थिए | मधेशमा राजपुतहरुको संख्या धेरै भएता पनि युद्द जित्न सजिलो हुने भएकाले बाइसी, चौबिसी जस्ता साना साना टुक्रे देश थिएनन् | पाल्पा, मकवानपुर, चौदण्डी र विजयपुर, ठुल्ठूला  देश थिए | सेन राजाहरु मगरसँग वैवाहिक संबन्ध राखेर पाल्पामा स्थापित भएका राजपूत भएता पनि मधेशसँग बढी घुलमिल र लगाव भएका हुनाले मधेशी जस्तै थिए र उनीहरु गर्मी महिनामा मात्र पाहाडमा बस्ने, अरुबेला मधेश तिरै बस्थे | त्यसैले उनीहरु मधेशी राजाका रुपमा चिनिन्थे | पाल्पाका राजा धेरै जसो बुटवलमा र चौदण्डीका राजा अम्बरपुर(सिरहा,सप्तरी)मा  बस्ने गरेको पाइएको छ | मधेशी राजाहरुका विश्वास पात्र सल्लाहकार भने पहाडी बाहुन भएको देखिन्छ | मकवानपुरका राजाका विश्वासपात्र सल्लाहकार दिनानाथ उपाध्याय दाहाल थिए | उता चौदण्डीका राजाका विश्वासपात्रहरु भने खार्पाली पोख्रेल बाहुनहरू थिए | तर काठमाडौं  उपत्यका(तत्कालीन नेपाल)का राजाहरुका सल्लाहकार र पण्डित चाहिं मधेशी मैथिल बाहुनहरू थिए | अन्तिम अवस्थामा श्रीमती, छोरा, भारदार र जनता सबैले राजा जयप्रकाश मल्लको साथ छाडे पनि मैथिल बाहुनहरुले भने  छाडेका थिएनन् (ऐ -पृ.३४८ बाबुराम आचार्य) |
ता पृथ्विनारायण शाहका खास सलाहकार र गुरु पनि मधेशी बाहुन नै थिए | श्रीहर्ष मिश्र अत्यन्त बाठा, दूरदर्शी र निपुण राजनीतिज्ञ थिए | यी मिश्रको बनारसमा समेत ठूलो मौजा र घरखेत थियो | पृथ्वीनारायण शाह गोरखाको राजा हुने बित्तिकै बनारस यात्राको सम्पूर्ण चाँजो पाँजो यिनै बाहुनले मिलाएका थिए | पढे-लेखेका कुमाई, पूर्विया, मधेशी बाहुन, ज्योतिषी जैसी, नेवार वैद्य, सुरक्षा दलका खस मगरहरु र भरिया समेत गर्दा सय जनाको टोली लिएर पृथ्वीनारायण शाहले बनारसको यात्रा गरेका थिए | बनारस मात्र होइन पृथ्वीनारायण शाहले पटना प्रयाग(इलाहावाद) को पनि यात्रा गरेका थिए | पृथ्वी नारायण शाहसँग जाने यात्रीहरु मध्ये बाहुनका जाँघमा धोति र काँधमा पछेउरा, अरुलाई लवेदा सुरुवाल, कम्मरमा पटुका, सबैलाई छालाका काने जुत्ता, अंगरक्षकहरु खस र मगरलाई धनुकाँड, तरवार, भाला, सबैका कम्मरमा खुकुरी र बाटोमा खान बस्न समेतको व्यवस्था गर्नुपर्ने भएकोले ठूलो खर्च चाहिएको थियो | त्यो रकम १२ हजार घर धुरी जनसंख्या भएको  गोरखाबाट लिएर जान हैसियत नपुग्ने थियो | र सुरक्षाका दृष्टिकोणले पनि धेरै पैसा बोकेर हिँड्न सम्भव नहुने हुनाले पृथ्वीनारायणका गोरखपुरमा रहेका ससुराली र यिनै श्रीहर्ष मिश्रले खर्चको चाँजो-पाँजो मिलाएको अनुमान गरिएको छ | पृथ्वीनारायण शाहका ससुरा दयाराम सिंह गोरखपुरका ठूला जमिनदार राजपूत थिए | बनारसमा केहि समय तिनै मिश्रको घरमा बस्ने व्यवस्था मिलाइएको इतिहासकार बाबुराम आचार्यले अनुमान गरेका छन् (ऐ. पृष्ठ १२५ बा.आ.) । त्यहाँबाट नै पृथ्वीनारायण शाहले भारतको राजनीतिक अवस्था सबै बुझेका थिए | त्यसकारण उनी सबै पहाडी भूखण्डका टुक्रे देशहरु र मधेशका देशहरु एकजुट हुनुको विकल्प नभएको संदेश लिएर फर्केका थिए |
बक्सरको युद्द पछि अंग्रेजहरुले बंगाल बिहार पूर्णत: कब्जामा लिई सकेका थिए |  त्यसको सोझो असर हिमालय मुनिका टुक्रे देशहरुमा पर्ने नै भयो | त्यसकारण यस भेमा पनि राजा र व्यापारीहरु अंग्रेजका पक्ष विपक्षमा बाँडिए | राजालाई पद जोगाउन कता लाग्दा भलो हुन्छ भन्ने चिन्ता र व्यापारीलाई कता लाग्दा पैसा धेरै कमिन्छ भन्ने दाउ थियो | तर सर्वसाधारणमा भने अंग्रेज विरोधी  भावना फैलिएको पाइन्छ | यस भेगमा आफु-आफु सबै मिलेर एउटा बलियो शक्तिशाली देशको निर्माण गर्नु पर्छ भन्ने भावना बढ्दै गयो | काठमाडौं उपत्यकामा पनि धर्म प्रचारको नाममा इसाईहरु छिरी सकेका थिए | काठमाडौंका जनता बलियो राजपूत खोजेर राजा बनाउन सके हुने थियो भन्ने पक्षमा थिए  | यसै बीच यिनै मैथिल बाहुनहरुको सल्लाह बमोजिम जय प्रकाश मल्लले पृथ्वीनारायण शाहको नाकाबन्दीबाट मुक्त भ सत्ता जोगाउन अंग्रेजको सहायता लिने विचार गरे | रामदास र उमदा नामका दुई व्यापारी र वकिल जयप्रकाश मल्लको संदेश लिएर अंग्रेजकहाँ  गए | काठमाण्डौ उपत्यका मधेश र तिब्बत बीचको व्यापार संचालनको लागि कडी थियो | त्यसकारण लाभ हुने देखेर अंग्रेजहरुले जयप्रकाश मल्ललाई सहयोग गर्ने तत्परता देखाए |
जयप्रकाश मल्लका दूतहरुले कसरी नेपाल हान्ने भन्ने सबै विवरण अंग्रेजलाई दिए | अंग्रेजको फौज पटनाबाट हाजिपुर, दरभङ्गा, बघाहा, जनकपुर, सिन्धुली, दाप्चा  पनौती हुँदै काठमाण्डौसम्म पुग्न लाग्ने खर्च, रसद पानीको उपाय, हात-हतियार र बाटाघाटाको सबै विवरण अंग्रेज कप्तान किनलकले प्राप्त गरे | (ऐ.पृष्ठ ३३२ बाबुराम आचार्य) | दाप्चाबाट काठमाडौंतिर लागे पछि अंग्रेजका सेनालाई खानपिनको व्यवस्था सबै आफुले गर्ने जयप्रकाश मल्लले आश्वासन दिएका रहेछन् |  त्यसै  अनुसार किनलकले अंग्रेजी फौजको व्यवस्था गरेर हिड्ने तयारी गरे |
 काठमाडौंका मैथिल बाहुनहरुले जयप्रकाश मल्लको साथ नछाड्नुमा उनीहरुको आफ्नै स्वार्थ र बाध्यता हुन सक्छ | राजाको सल्लाहकार भएपछि राजा बचाउने सल्लाह त दिनै पर्यो | तर आश्चर्य के देखिन्छ भने मिथिलाका मैथिल जनता चाहिँ पूर्ण रुपमा पृथ्वीनारायण शाहका समर्थक थिए | पटनाबाट तैयारी र दलबल सहित जयप्रकाश मल्ललाई सहयोग गर्ने बहानामा नेपाल कब्जा गरौँला भन्ने सपना देख्दै जयप्रकाशका दूतहरुलाई अघि लगाएर किनलक हिँडे |
ता श्री हर्ष मिश्रले पनि अंग्रेजका विरुद्ध मिथिलाको तयारी कसरी गर्ने भन्ने उपाय सहित बंसराज पांडेलाई मिथिला पठाई सकेका थिए | श्री मिश्रका गुप्तचरहरुले अंग्रेजहरु कुन बाटो हुँदै आउँदै छन् भन्ने सबै जानकारी लिइसकेका थिए | पटनाबाट दरभंगा सम्म त अंग्रेजको राज भएको हुनाले सेनालाई खानपिनको र कुल्लीको समस्या भएन | तर जब त्यहाँबाट अंग्रेजी फौज उत्तर लाग्यो उनीहरूले दरभंगा, जनकपुर हुँदै सिन्धुली गढी सम्मकै गाँउबस्ती मानवरहित उजाड देखे | कप्तान किनलकसंगै खानपिन रसदको जिम्मेवारी लिएर हिँडेका अर्का अफिसर हार्डी यो देखेर सशङकित  भए | साथमा ल्याएको रसदले अफिसरहरुलाई त सिन्धुली गढी सम्मै पुग्ने थियो | तर हिन्दुस्तानी सैनिकका लागि भने त्यतिले नपुग्ने थियो | तैपनि अंग्रेजहरु अघि बढ्दै आए | बंगाल, बिहारका कुनै पनि लडाइंमा नहारेका अंग्रेजहरु ठूलो आत्मविश्वासका साथ निक्कै दिन लगाएर सिन्धुलिगढ़ी आइपुगे | सिन्धुलिगढ़ीमा पनि सबै गाँउबस्ति खालि देखेर अंग्रेजहरु छक्क परे | गोर्खालीहरु काठमाडौँ नाकाबन्दीमा अल्मलिएका वा हारेर भाग्दै गएका हुन् ? अंग्रेजहरु असमन्जसमा परे | यसरि बाटोका गाँउबस्तिमा कतैपनि लुटपाट र रसद खरीद गर्न नपाएपछि यिनीहरु भोकभोकै भएको निकै दिन भैसकेको थियो | रसद लिन दरभंगा तिर पठाएका मानिसहरु फर्केर आएनन्; मिथिलामै बेपत्ता भए | सिन्धुलीबाट खुर्कोट आँउदा शुरुमै ४ किलोमिटरको ठाडो उकालो थियो | त्यो उकालोमा अङ्ग्रेजी फौज भन्दा पहिला कुल्लीहरु लिएर हार्डी अघि-अघि हिंडे | त्यसपछि गुरिल्ला शैलीमा गोर्खाली फौजले माथिबाट आक्रमण गरेर हार्डीलाई र कुल्लिहरुलाई अलग-अलग पार्न सफल भए | मैथिल कुल्लीहरू पूर्व योजना अनुसार बचेखुचेको रसद, केहि हात हतियार पनि लिएर डाँडा उक्लिसकेका थिए | हार्डी र उनका अङ्गरक्षकहरुलाई टाउकामा नराम्रोसँग गोली, ढुंगा र धनुकाँड लागेको हुनाले उनीहरू आत्तिँदै बन्दुक फालेर भाग्न बाध्य भए | यसैगरी अघि बढ्दै गरेका किनलकका फौजमाथि पनि यस्तै आक्रमण भयो | धेरै दिनदेखि भोकाएका अंग्रेजका २४०० बन्दुकधारी फौज माथि गुरिल्ला आक्रमण गर्दा ठूलो क्षति भयो | धेरैलाई नेपाली फौजले लखेट्दै धनुकाँड र तरवार हानेर पनि मारे | यसरी किनलकको फौजको नराम्रोसँग होस् उड्यो र भागाभाग भयो |  किनलक बचे खुचेका र घाइते सदस्यहरुलाई लिएर सिन्धुली फर्कन बाध्य भए | अब त्यही बाटो फर्किंदा दरभंगा सम्मै खानपिनको व्यवस्था हुने सम्भावना पनि थिएन | भोक-भोकै हप्तौँ हिड्नु पर्दा बाँकी बचेका पनि सबै औलो रोग र भोकले मर्ने सम्भावना थियो |  त्यसकारण मिथिलाको बाटो फर्कन किनलक डराए र अर्कै बाटोको खोजी गरे | बाँकी बचेका ७०० जति फौज लिएर खानाको लागि गाँउबस्तीको खोजी गर्दै उनी  बागमती तरेर पश्चिमतिर लागे | त्यसपछि किनलकले बारा, पर्सा र रौतहटमा खानपीन  गरे र त्यहीँ कब्जा जमाएर बसे | ३ वर्षपछि मधेशी राजाका पूर्व सल्लाहकार दिनानाथ उपाध्याय दाहालले पटनाका अङ्ग्रेज हाकिमसँग वार्ता गरी सो भू-भागबाट पनि किनलकलाई हटाए |
यसरी पृथ्वीनारायण शाहका सल्लाहकार श्रीहर्ष मिश्रको योजना मुताबिक मैथिलहरुको सहयोग र ताम्सालिंगका खस, मगर र तामाङ्को वीरताले अंग्रेजहरु पराजित भए | यो आक्रमणको नेतृत्व मिथिलाका मालपोत खजान्ची वीरभद्र उपाध्याय, सिकारी अफिसर बंसु गुरुङ, गोरखाका कालु पांडेका छोरा बंशराज पांडे र काजी श्रीहर्ष पन्थले गरेका थिए | उनीहरुका साथमा जम्मा १५०० जति सेना रहेका थिए | गोर्खाली फौजले अंग्रेजलाई पराजित गरेको  हल्ला चाँडै नै पहाड मधेश सबैतिर फैलियो | न्याय नपाए गोर्खा जानु विद्या हराए हराए काशी जानु भन्ने उखान सुनिरहेका जनता अब गोरखाकै राजालाई नेपालको राजा बनाउने अवसर आएको देखि खुशी भए  होलान् भन्ने अनुमान गर्न सकिन्छ | काठमाडौंका जनता र सबैतिर बाट आग्रह भएपछि पृथ्वीनारायण शाहले ज्योतिषी कुलानन्द ढकाललाई राजगद्दीमा बस्ने साइत हेर्न हुकुम गरे | यसरी जैसीको साइत बमोजिम पूर्णातिथि, स्थिरवार, स्थिरनक्षत्र र स्थिर लग्न पारी २६ सेप्टेम्बर १७६८ मा पृथ्वीनारायण शाह काठमाडौंका जनताको भावनाको सम्मान गर्दै परम्परा अनुसार कुमारीको रथको यात्रा चलाई विधिपूर्वक कुमारीको दर्शन र प्रसाद ग्रहण गरी नेपालको राजगद्दीमा बसे | जय प्रकाश मल्लसँग ३०० जति नगरकोटी सैनिक मात्र बाँकी थिए | खस र मगरसग विश्वास टुटेको हुनाले उनले नगरकोटी सैनिक राखेका थिए | गोरखाका राजाप्रति जनताको अपार समर्थन देखेर कुनै प्रतिकार नगरी उनी ललितपुरतिर लागे | पृथ्वीनारायण शाहका सल्लाहकार श्रीहर्ष मिश्रले काठमाडौं एकीकृत भैसकेको १० दिन भित्रै लालितपुरका प्रधानहरुसँग वार्ता गरी किर्तिपुरको जस्तो घटना अब नदोहोरिने वचन दिँदै पृथ्वीनारायण शाहलाई पुन राजा मान्न आग्रह गरे  र ललितपुरका प्रधानहरुले पनि पृथ्वीनारायण शाहलाई पुनस्थापित गर्न सहमति जनाए | (ऐ.पृष्ठ ३५२ बा.आ.)
चौदण्डीका राजा र भारदार बीचको झगडाले त्यहाँका राई सरदारहरु दिक्क भएका थिए | खुम्बुवानका राई सरदारहरु धेरै पहिलेदेखि नै असल राजपूत खोजी गरी राजा थाप्न लालायित थिए | चौदण्डीका जनताको त्यही चाहनाको प्रतिनिधित्व गर्दै बाहुन दूत हरिनंद पोख्रेल र खस अफिसर स्वरुपसिंह कार्कीको टोली काठमाडौं आयो | उता विजयपुरमा पनि राजा र भारदार बीचको झगडाले अन्योल छाएको थियो | सिक्किमका भोटे राजाले यसै कमजोरीको फाइदा उठाउँदै इलाम पाँचथरका केही भू-भाग कब्जा गरिसकेका थिए | त्यसकारण आफ्नो रक्षाका लागि बलियो राजपूत नभेटे फिरंगी या भोटेको चंगुलमा परिने डर उनीहरुलाई थियो |  
यसरी पृथ्वीनारायण शाह नेपालको राजा भएको थाहा पाउने बित्तिकै पूर्वतिर एकीकरणको साह्रै राम्रो माहोल बन्यो | पूर्वबाट धमाधम पठाइएका बाहुन दूतहरुलाई भक्तपुरले सहमति नजनाएसम्म धैर्य गर्न पृथ्वीनारायणले आग्रह गरे | भक्तपुर एकीकृत भएपछि उनले दुतहरुसँगै पूर्वतिर आफ्ना कार्यकर्ता खटाए | ती कार्यकर्ताले खुम्बुवान, लिम्बुवानमा र मधेशमा त्यहींका खस, मगर र खवास(थारु)हरुको सहयोग लिई छिटफुट बिद्रोहीहरुलाई दमन गरी नेपाली राज कायम भएको अनुभूति गराए | पृथ्वीनारायण शाह नेपालको राजा भएको ५ वर्ष भित्रमै पूर्वी तराई, खुम्बुवान, लिम्बुवान एकीकृत भै नेपालको सिमाना मेची नदीसम्म पुग्यो | सिक्किमले पनि कब्जामा लिएको लिम्बुवानको भूभाग फिर्ता दियो |
गोरखाका राजा काठमाडौँका राजा हुँदा सम्म त छिमेकी तनहुँका राजाले खासै गम्भीर रुपमा लिएका थिएनन् | तर पृथ्वीनारायण शाहलाई चौदण्डी र विजयपुरका जनताले पनि राजा माने रे, ललितपुरका प्रधानहरुले पनि फेरि दलमर्दनलाई हटाएर उनैलाई राजा बनाए रे भन्ने सुनेपछि तनहुँका राजा कामारिदत्त सेन ईर्ष्याले भुतुक्क भएका थिए | उनको देश तनहुँ, मधेश सम्म फैलिएको हुनाले म ठूलै राजा हुँ भन्ने उनमा घमण्ड थियो | उनका जनता पनि गोरखाका जति नै १२ हजार घरधुरी थिए | उनको पनि ससुराली पृथ्वीनारायण शाहको जस्तै मधेश तिरै थियो | यसरी आफु सरहको छिमेकी राजपूतको हेर्दा-हेर्दै त्यत्रो उन्नति भएको सहन नसकी डाहाले उनी मानसिक रुपमा विक्षिप्त हुन थालिसकेका थिए | उनले आफ्ना खस र मगरलाई देशको रक्षाका लागि तैनाथ रहन हुकुम गरे | यसै बीच पृथ्वीनारायण शाहका सेना तनहुँ कब्जा गर्न आउँदै छन् भन्ने हल्ला चलेपछि तनहुँका जनता पनि नेपालसँग मिल्नु पर्छ भन्ने पक्षमा देखिए | आफ्नो देश गुमेको देख्नु भन्दा मर्नु जाति सम्झेर राजा कमारिदत्त सेनले आत्महत्या गरे | कमारीदत्त सेनले आत्महत्या गरेपछि उनका भाइ राजा भए | त्यसपछि तनहुँ, लमजुङ् र कास्की समेतले गोरखाका राजालाई नेपालको महाराजा मान्न सहमति जनाए | तर लगत्तै केही महिना पछि नै गोरखाका खसहरुको अहङकारी दुर्व्यवहारका कारण  तिनीहरुले नेपालबाट अलग भै स्वतन्त्र रहने घोषणा गरे |
सिन्धुलीको लडाइ जितेर पृथ्वीनारायण शाह काठमाडौंको राजा भएपछि गोरखाको प्रतिष्ठा एकै पटक ह्वात्तै बढ्यो | सँगसँगै  त्यहाँका जनताको पनि मान र सान बढ्ने नै भयो | त्यसकारण पृथ्वीनारायण शाहको दर्शन पाउन, आफ्नो पनि राजा भइदिन आग्रह गर्न वा सम्पर्कमा रहन बाहिरबाट आएकाहरु गोरखाका खस मगरहरुको चाकरी गर्दथे | त्यसले गर्दा उनीहरु अत्यन्त चढेका थिए | उनीहरु काठमान्डौको धन दौलत भोग्न पाएर विलासी हुँदै गएका थिए | गोरखा भन्दा बाहिरका अरु जातिलाई त परै जावस खस मगरलाई समेत उनीहरु मान्छे गन्दैन थिए | पूर्वको एकीकरणमा महत्वपूर्ण भूमिका खेल्ने खस स्वरुपसिंह कार्की लगायतका महत्वपूर्ण भारदारहरूलाई समेत उनीहरु बेवास्ता गर्दथे | उता नेपालमा एकीकृत भै सकेका तनहुँ, लमजुंग र कास्कीले गोरखाली खसहरुको अहङ्कारकै कारण अलग्गिने निर्णय गरे पछि पृथ्वीनारायण शाह निकै चिन्तित भए | काठमाडौं दरबारमा पूर्वका स्वरुपसिंह सिंह कार्की, र पश्चिम रिसिंगका ब्रजनाथ पौडेल आदि सम्मिलित अगोर्खाली गुट बलियो हुँदै गएको थियो | आफ्ना निकटका भारदारहरु पनि टाढिँदै गएको र आफु एक्लो भएको पृथ्वीनारायण शाहले अनुभव गर्न थाले | गोर्खाली र अगोर्खाली बीचको द्वन्दले उनी निराश भएको देखिन्छ | निकटका सल्लाहकार र आफुलाई माया गर्ने गुरू श्री हर्ष मिश्रलाई पनि उनले अङ्ग्रेजसंग वार्ता गर्न कलकत्ता पठाइसकेका थिए | आफ्ना भाइहरु पनि सबै कोही राज्य पाइएन, कोही भाग पाइएन भन्दै टाढा टाढा हुँदै गएका थिए | एक थरीले उचालेर भाइ महोदमकिर्ति शाह मकवानपुरको राजा हुने षड्यन्त्र गर्दै थिए | कान्छा भाइ काजी सुरप्रताप शाह भक्तपुर पाइएन भनी घुर्की लगाउँदै चौबिसी राज्यतिर गएका थिए | भक्तपुर नियन्त्रणमा लिने क्रममा सुरप्रताप साहको सैन्य दलले ठूलो धनजनको क्षति गराएको हुनाले पनि पृथ्वीनारायण शाह उनीसँग रिसाएका थिए | आफुले प्रतिनिधि बनाई लालितपुरमा राखेका भाइ दलमर्दन शाहले यस अघिनै धोका दिइसकेका थिए | र्का भाई दलजित शाह प्रातापसिंह शाहलाई हटाएर बहादुर शाहलाई नेपालको उत्तराधिकारी बनाउनु पर्छ भन्ने गोर्खाली गुटको नेतृत्व गरेर हिँडिरहेका थिए | आफुले कुन उद्देश्यले नेपाल एकीकरण थालेको थियो त्यसको विपरित गोर्खाली भा-भारदारहरुको चरित्र बिग्रेको देखेर पृथ्वीनारायण शाह निकै चिन्तित भए | आफ्नै भाइभारदारहरुले यसो गर्न थालेपछि अरुले त असहयोग गर्ने नै भए | काठमाडौं बसिरहेमा अवस्था अझै बिग्रने र नेपाल फेरि टुक्रने डर उनलाई भएको हुन सक्छ | त्यसपछि उनले काठमाडौं छोड्ने निर्णय गरे र गोर्खालीको हुल लिएर नुवाकोट गए |  त्यहाँ उनले सबै लोभी, अहंकारी र महत्वाकांक्षी भएका गोरखाका भारदारहरूलाई दुई दिनसम्म अर्ति-उपदेश ( दिव्यउपदेश) दिए | उपदेश दिँदादिँदै उनी धेरै थाकेका थिए | उनलाई ज्वरोले सतायो र आफूलाई त्रिसुली देवीघाट लैजान भने र ९ दिनसम्म घाटमै बिरामी भएर उनले देह त्याग गरे |
नुवाकोटमा अर्ति उपदेश गोर्खालीहरुलाई मात्र दिइएको र त्यहाँ उपस्थिति पनि गोर्खालीको मात्र भएको हुनाले अर्ति-उपदेश टिपेर लेख्नेले पनि गोर्खाली स्वार्थ अनुकुल नै लेखेको देखिन्छ | “पूर्व पश्चिमका खस बाहुनलाई दरबारमा पस्न नदिनु”  “नेपाली सेनामा चार जात खस, मगर, गुरुङ र ठकुरीलाई मात्र जागिर दिनु” यस्तै अरु कतिपय उपदेश गोर्खाली खसहरुले राजाको उपदेश भन्दै आफु अनुकुल लेखाएर प्रचारमा ल्याएको जस्तो देखिन्छ | पृथ्वीनारायण शाहको पालामा कुमाई बाहुनहरू श्रीकृष्ण पाठक, श्री हर्ष पन्त आदिले पनि सफलता पूर्वक सेनाको नेतृत्व गरेका थिए | भक्तपुर नियन्त्रणमा आएपछि उनले श्रीकृष्ण पाठकलाई त्यहाँको जिम्मेवारी दिएका थिए | यसै गरी मिथिलाका मालपोत खजान्ची वीरभद्र उपाध्यायको नेतृत्वमा तामसलिंगका लडाकुहरुले सिन्धुलिगढ़िको लडाइंमा अङ्ग्रेजलाई हराएका थिए | यी यस्ता धेरै तथ्यहरु हुँदा-हुँदै दिव्योपदेशमा पृथ्वीनारायण शाहले त्यसो भने होलान् भनी पत्याउन गाह्रो हुन्छ |
तनहुँका राजाले आत्महत्या गर्नुपरेको तत्कालीन परिस्थितिको अनुमान तथ्यहरुलाई समेटेर स्तम्भकारले  आफै गरेको हो | हुन पनि तनहुँ र गोरखा बाहेक अरु चौबिसे राजाहरु कसैले पनि मधेशी राजपूतका छोरी विवाह गरेको देखिँदैन | त्यसकारण उनीहरु बीच यस्तो ईर्ष्याभाव र प्रतिस्पर्धा पक्कै थियो होला भन्ने अनुमान गर्न सकिन्छ | त्यस बेला वैवाहिक सम्बन्धले नै राजपूतहरुको राज्य कत्रो हुने र भविष्य के हुने भन्ने कुरा निर्धारित हुन्थ्यो | त्यसकारण पृथ्वीनारायण शाहले मधेशी राजपूतकी छोरी मात्र होइन नेवारकी छोरी पनि विवाह गरेका थिए | तमुवान र मगरातमा स्थानीय जातिसँग वैवाहिक सबन्ध राखेर राजपूतहरुले आफ्नो राज्य खडा गर्न सकेको तथ्य पृथ्वीनारायणले राम्ररी बुझेका देखिन्छ | त्यसकारण उनले आफ्नो छोरा प्रतापसिंह शाहलाई पनि नेपालको बलियो राजा बनाउने उद्देश्यले  मधेशी राजपूत र नेवारकी छोरी विवाह गराएका थिए | प्रतापसिंह शाहकी श्रीमती राजेन्द्र लक्ष्मी पनि गोरखपुरकै राजपूतकी छोरी रहिछन् ( ऐ. पृष्ठ ३०६- बाबुराम आचार्य) |
 नेवारी परम्परा अनुसार राजाका उप-पत्नीलाई मैजुरानी र राजाका भाइ चौतारालाई भाजुराजा भनिन्थ्यो | प्रातापसिंह शाहले आफ्नी आमा पट्टिका भाइ बहादुर शाहलाई पन्छ्याउँदै  नेवार्नी आमा पट्टिका भाइ रणसिंह शाह र पश्चिम रिसिंगका बाहुन ब्रजनाथ पौडेललाई चौतारा (भाजु राजा) पदमा नियुक्त गरेको देखिन्छ  (पृ.ना.शाह जीवनी पृष्ठ १७२ बाबुराम आचार्य) | गोरखाका खसहरुको अहङ्कार तोड्ने र नेपाललाई बलियो बनाउने उद्देश्स्यले उनले मूलकाजीको पद पनि मधेशी राजाका खस स्वरुपसिंह कार्कीलाई दिए | तर काजी भन्ने उपाधि पहाडतिर(सम्भवत) गोरखा र चौबिसी राज्य)मा धेरै प्रचलित भएको हुनाले उनले रुचाएनन् | त्यसकारण उनी मधेशी उपाधि ‘दिवान’ स्वरुपसिंह कार्की भनेर प्रख्यात भए | चौतारा (भाजुराजा) पदमा रणसिंह शाह र ब्रजनाथ पौडेल एवं दिवान ( काजी ) पदमा स्वरुपसिंह कार्की नियुक्त भए भन्ने सुनेपछि गोर्खाली खसहरुको अहङकार तोडिएको महसुस गर्दै चौबिसे राज्यहरुले तनहुँ काण्डमा समातेर बन्दी बनाइराखेका गोर्खाली काजी बंसराज पांडेलाई मुक्त गरिदिए | यसरी पश्चिमतिर पनि एकीकरणको माहोल बन्यो |
उता अंग्रेजहरुले पश्चिम भारतमा प्रभाव बढाउँदै लगे पछि बाइसे चौबिसे राज्यहरु पनि नेपालमा सम्मिलित हुने लहर चल्दै गयो |  नेपाल दरवारमा गोर्खाली र अगोर्खाली गुटको शक्ति संघर्ष पनि सँगसँगै थियो | यसै बीच पाल्पादेखि लिएर पश्चिम गढवालसम्मका राजाहरुले नेपालका राजालाई आफ्नो महाराजा मान्न सहमति जनाए  र विशाल नेपालको निर्माण भयो |  यसै बीच काठमाडौंको धन दौलत र मधेशको प्रभावले मात्र विशाल नेपाल एकीकृत भएको होइन यसमा हाम्रो वीरताको पनि केही भूमिका छ भन्दै गोर्खाली खसहरुले आफ्नो महत्व बढाउँदै लागेको देखिन्छ | आफू बलियो हुने रणनीति अन्तर्गत रणबहादुर शाहलाई बस्नेतकी छोरी विवाह गराउन उनीहरु सफल पनि भए | तर नेपाललाई बलियो र शक्तिशाली बनाउने उद्देश्यले पूर्व र पश्चिमका भारदारहरुले मधेशी बाहुनी पट्टिका छोरा युवराज गीर्वाणलाई राज गद्दीमा राखेमा राजाप्रति पहिलेको भन्दा दोब्बर भक्ति गर्छौं भन्ने धर्म पत्र गरिदिए (नेपालको संक्षिप्त  वृतान्त बाबुराम आचार्य पृष्ठ १०६) | लगभग ९५ जना भारदारको हस्ताक्षर भएको गीर्वाणका पक्षमा पत्रहरु प्राप्त भए पछि जनमतको कदर गर्दै राजा रणबहादुरले बस्नेतकी छोरी माहिली रानी सुवर्ण प्रभाबाट जन्मेका जेठा छोरा रणदत्त शाहलाई रोलक्रमबाट हटाए |  यसरी आफु जीवित छँदै राजा रणबहादुर शाहले मधेशी बाहुनी पट्टिको छोरा डेढ बर्षको गीर्वाणयुद्द विक्रम शाहलाई राजा बनाएका थिए | उनले पाल्पाका राजा पृथ्वीपाल सेनको हातबाट छोरालाई राजमुकुट पहिराएका थिए | पाल्पाको पहुँच मधेशको ठूलो भू-भागमा भएको हुनाले पाल्पाका राजाबाटै राजमुकुट पहिराउनुमा उनको राजनीतिक स्वार्थ पनि देखिन्छ | यसरी छोरालाई राजा बनाएपछि भाजुराजाहरु दाजु बिदुर शाह र भाइ शेरबहादुर शाहलाई देश जिम्मा लगाई  बनारस हिंडेका थिए | उनले पाल्पाली राजा पृथ्वीपाल सेनलाई पनि अभिभावक भएर काठमाडौँ बस्न आग्रह गरेका थिए | त्यसबेला नेपाली राजनीतिमा धेरै किचलो भैरहेको थियो | सम्भवत पृथ्वीनारायण शाहले जस्तै कलहको निका खोज्दै उनले काठमाडौं त्यागेका थिए | तर खसवादी इतिहासले उनलाई चरित्रहीन पागल प्रेमीका रुपमा व्याख्या गर्न रुचाएको पाइन्छ |
भीमसेन थापाले रणबहादुर शाहलाई बनारसबाट फिर्ता लिएर आएर कसरी देशमा ठूलो हत्याकाण्ड मच्चाए भन्ने विवरण अर्को स्तम्भमा दिइने छ | सो हत्या काण्डपछि नै देशमा खसवादको जग बसेको थियो | सर्वप्रथम भीमसेन थापाले देश भरिका सबै बाहुनका बिर्ता खोसिदिए | यो घटनालाई इतिहासमा बैसठ्ठी हरणका नाममा चर्चा गरिएको छ | बाहुनहरु कहीं कसैको दूत भई कुरा गरेर हिड्न नसक्ने गरी उनले निरङ्कुश शासन चलाए | बाहुनलाई लेखपढ गर्न प्रतिबन्ध लगाइयो | उपत्यकाबाट बाहुन क्षेत्री र नेवार बाहेक अन्य जातकालाई निष्काशन गरिएका तथ्यहरु पनि भेटिएका छन् | बाहुनहरू कसैले उनको हित विपरित हिँडेको, बोलेको थाहा भएमा त्यस्ता बाहुनको जनै चुँडाएर दलित बनाइन्थ्यो | राजा रणबहादुर शाह र उनका दाजु भाइहरुको मात्र होइन, पृथ्वीनारायण शाहका दाजु भाइका सन्तान समेत खोजी--खोजि भीमसेन थापाले मार्न लगाए | नेपालको शासन सत्तामा गोर्खाली र अगोर्खाली बीचको संघर्षमा अन्ततः भीमसेन थापाले गोर्खालीकै राज कायम गराए | उनले बसालेको खसवादको यो जगलाई राणाहरुले पनि निरन्तरता दिए | 
पृथ्वीनारायण शाहले आफूलाई राजा थाप्न आउनेहरुको राज्य कुलानन्द ढकाल जैसीलाई ज्योतिष हेराएर, साइत जुराएर मात्र ग्रहण गर्ने गरेका थिए | त्यो सबै रेकर्ड श्री ढकालले आफ्नो घर गोरखाको बोर्लांगमा राखेका थिए | पृथ्वीनारायण साहले श्री ढकाललाई गोरखाको बोर्लांगमा बिर्ता दिएका थिए | भीमसेन थापाले त्यो सबै घरखेत सर्वस्वहरण गरी त्यहाँ आफ्नो हवेली बनाए | कुलानन्द जैसीका सन्तानलाई त्यहाँबाट निष्कासन गरे | जैसिका सबै रेकर्ड हिनामिना गरिदेएका हुनाले आज हामीले वास्तविक इतिहासबाट वन्चित हुनु परेको छ (पृथ्वीनारायण शाह जीवनी- पृष्ठ ३१९ बाबुराम आचार्य) | यसरी देशका सबै जात जातिलाई दबाएर भीमसेन थापाले देशलाई कमजोर बनाए | देशमा ठूलो असन्तुष्टि फैलियो | कुमाउ गढ़वालकाहरुले नेपालको अधीनमा बस्न नसक्ने घोषणा गरे | यता नेपाली दूदुत भएर अंग्रेजहरुको निरन्तर सम्पर्कमा बसेर मधेश जोगाइरहेका बाहुनहरु गजराज मिश्र र चन्द्र शेखर उपाध्याय दाहाल पनि थापासँग रिसाए | मधेशमा मालपोत प्रशस्त उठ्ने भएको हुनाले अंग्रेजहरु नेपाललाई पहाडमा मात्र सीमित राख्नु पर्छ भन्ने दाउमा थिए | यो बुझे पछि अंग्रेजहरुले आक्रमण गरे र देशले दुइ तिहाई भूभाग गुमाएर सुगौली सन्धि गर्नु पर्यो |
सबै तथ्यहरुलाई समेटेर विश्लेषण नगरिए सम्म हाम्रो वास्तविक इतिहास के हो भन्न सकिएको छैन |
सुगौली सन्धिमा हस्ताक्षर गर्ने गजराज मिश्र ठूला शक्तिशाली मधेशी बाहुन थिए | प्रतापसिंह शाहको निधन पछि भएका नेपाल दरबारको गोर्खाली, अगोर्खाली क्ति संघर्षमा कहिले राजेन्द्र लक्ष्मीले बहादुर शाहलाई थुन्ने कहिले बहादुर शाहले राजेन्द्र लक्ष्मीलाई थुन्ने घटना भै रहेको थियो | यस्तो बेलामा गजराज मिश्रले हस्तक्षेप गरी दुवैलाई छुटाउने गरेका थिए | नेपाल दरबारमा यस्तो बलियो पकड बनाएर द्वन्द हुन नदिने  गजराज मिश्रले भीमसेन थापालाई रोक्न किन सकेनन ? सुगौली सन्धिमा हस्ताक्षर गर्ने अर्का व्यक्तित्व चन्द्रसेखर उपाध्याय दाहाल(पूर्व परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायका पूर्वज)ले मुजफ्फरपुरमा ठूलो बिर्ता पाएको देखिन्छ | आफ्ना पूर्वज र आफुले जोगाएर राखेको मधेश गुमाएर उनी मुजफ्फरपुरको बिर्ता लिएर अंग्रेजको अधीनमा बस्न किन राजी भए होलान ? दामोदर पाण्डेको हत्या भएपछि भारततिर भागेर ज्यान बचाएका उनका छोराहरुलाई चन्द्रशेखरकै दवाबमा भीमसेन थापाले नेपाल फर्काएर जागिर खुवाउन बाध्य भएका थिए | त्यत्रो हत्याकाण्ड गरेर स्थापित हुन सफल थापा, आखिर चन्द्र शेखरसँग किन डराउँथे ? दामोदर पांडेका छोरा रणजंग पांडेले ३१ बर्ष एक त्र सासन चलाएका भीमसेन थापालाई पतन गराउन कसरी सफल भए ? गोर्खाली काजीको सन्तान भएर पनि उनी किन मधेशी उपाधि दिवान रणजंग पांडे भएर नेपालको सासन सत्तामा स्थापित हुन रुचाए ? आफ्ना बाबु दामोदर पांडे र हजुरबा कालु पाण्डेले पाएको गोर्खाली काजी पदमा बसेर रमाउन उनी किन मानेनन् ? अनि फेरि कसरी गोर्खाली खसहरु कोतपर्व मच्चाएर खसवाद पुनर्स्थापित गराउन सफल भए? गगनसिंह खवासको हत्या कसले किन गर्यो ? गगनसिंह खवास को थिए ? हत्याको दोष उनका छिमेकी लाल झालाई किन लगाइयो ?
यी सबै प्रश्नहरुको जवाफ हामीले भेट्न वास्तविक इतिहासको खोजी गर्नुपर्ने बेला भएको छ | 
 जंगबहादुरले लखेटेका राजेन्द्र बिक्रम शाह बनारसमा अखवारमा लेख निकाल्थे भन्ने जानकारी सुन्नमा आएको छ | तिनले के लेख्थे होला? पृथ्वीनारायण शाहको एउटा औला ठड्याएको फोटो देखाउदै एकात्मवादी यही हो भन्दै माओवादीहरु किन हिंडिरहेका छन् ? हामी पनि देशको लागि लड्न सक्छौ | हामीलाई पनि समूहगत प्रवेश गराई सेनालाई समावेशी बनाऔं भन्ने मधेशीहरुलाई माओवादीहरुले किन सहजै बिखण्डनकारी भनिरहेका छन् ? खस, मगर, गुरुङ, ठकुरीले मात्र देशको लागि लड्छन् , अड्डा, अदालत र लेखापढीको काम बाहुनको मात्र हो भन्ने अठारौं शताब्दीको प्रतिगामी सोचबाट माओवादीहरु किन बाहिर आउन सकिरहेका छैनन् ? अहिले हामी सबै देश प्रेमी नेपालीले बुझ्नु पर्ने बेला भएको छैन र ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक