20130819

विश्व काव्य यात्रामा निस्केका वरिष्ठ उद्योगपति एवं सर्जक वसन्त चौधरी


बाल्टिमोरमा मेघाको काव्य यात्रा 
- गौतम दाहाल 

आऊ हामी अमृत रोपौं मायाको, त्यसमा विषको फल कहिल्यै फल्न सक्दैन                                     त्यसैगरी हाम्रो प्रेम साँचो छ,गहिरो छ  भने, मायाको स्वप्न महल, चाहेर कहिल्यै ढल्न सक्दैन |.....विश्व काव्य यात्रामा निस्केका वरिष्ठ उद्योगपति एवं सर्जक वसन्त चौधरी आइतवार बाल्टिमोरमा रहेका नेपालीहरुका माझ आफ्ना यस्तै कविता लिएर उपस्थित भए |

यहाँ आयोजित उनको कृति मेघा कविता संग्रहको इ-बुक लोकार्पणका क्रममा चौधरीले सोही संग्रहका केही कविताहरु पनि वाचन गरेर सहभागी नेपालीहरुलाई आफ्नो सिर्जनाको रसास्वादन गराएका थिए | उनले मन्चमा उभिएर लगातार आफ्ना कविताहरु वाचन गरिरहँदा सहभागी डिसी मेट्रो क्षेत्रका साहित्य अनुरागी नेपालीहरु मन्त्रमुग्ध भएर उनका कविता श्रवण गरिरहेका थिए | 

उनले यसरी कविता वाचन गर्नु अघि एक भव्य समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डाक्टर शंकर शर्माले 'मेघा' को इ-बुक संस्करणको लोकार्पण गरेका थिए | यसैगरी मेलोडी क्वीन वरिष्ठ गायिका मीरा राणाले चौधरीको गीति एल्बम 'लभ फरएभर'को सिडी विमोचन गरेकी थिइन् | त्यसको लगत्तै सोही सिडीका दुई गीतको म्युजिक भिडियोको वर्ल्ड प्रिमियर पनि गरिएको थियो | 
 मेघाको इ-बुकको विश्व काव्य यात्राका क्रममा आयोजित कार्यक्रममा सर्जक चौधरीको परिचय झल्कने एक भिडियो सामाग्री समेत प्रस्तुत गरिएको थियो | यसैगरी कार्यक्रमलाई नयाँपन दिन र थप रोचकता प्रदान गर्न नायक सरोज खनालले जीवन्त अभिनयसहित सर्जक चौधरीको 'मेघा' कृतिभित्रको कविता वाचन गरेका थिए | अनुहारमा नेपाल र अमेरिकाको झण्डा पोतेर मन्चमा उत्रिएका खनालले कवितालाई बढो जीवन्त ढंगले आफ्नो सशक्त अभिनय मार्फत प्रस्तुत गरेका थिए | 
 बाल्टिमोरवासी नेपालीहरुको तर्फबाट चौधरीलाई गरेको सम्मान  प्रमुख अतिथि राजदूत डाक्टर शंकर शर्माले प्रदान गरे | सोही अवसरमा मन्तव्य व्यक्त गर्दै राजदूत शर्माले सर्जक चौधरीको साहित्यिक यात्राको पूर्ण सफलताको कामना गरेका थिए | वरिष्ठ आख्यानकार ध्रुबचन्द्र गौतम समेत अतिथि रहनु भएको कार्यक्रममा  लोकगायक एवं मह वाणिज्यदूत प्रेमराजा महतको सभापतित्वमा भएको कार्यक्रममा बानाका विजय श्रेष्ठले स्वागत गरेका थिए भने गणेश मलेगो र लोकनाथ तिवारीले खादा एवं पुष्पगुच्छाद्वारा अतिथिहरुको स्वागत गरेका थिए | सोही कार्यक्रममा सर्जक वसन्त चौधरीले सबैभन्दा लामो समयसम्म टेलिभिजन कार्यक्रम गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा कीर्तिमान कायम गरेका रबि लामिछानेलाई  सम्मान पत्र प्रदान गरेका थिए | धन्यवाद ज्ञापनका क्रममा कार्यक्रमका  ह्वाइट हिमाल टेलिभिजनका अध्यक्ष शान खड्काले चौधरीको कविता सुनिसकेपछि आफ्नो मन्तव्यका क्रममा भने,चौधरीको कवितामा नि :स्वार्थ देशप्रेम र नेपालीप्रतिको उच्च सम्मानको भावना रहेको आफुले पाएको बताए | कार्यक्रम चौधरीसंगै विश्व काव्य यात्राका क्रममा अमेरिका आइपुगेका अर्का सर्जक, सुमधुर आवाजका धनी चलचित्र निर्देशक राजेन्द्र शलभले संचालन गर्नुभएको थियो | बाल्टिमोरपछि यो यात्राको अर्को शृंखला यही अगष्ट २४ तारिख टेक्सासको डालसमा हुँदैछ | 
तस्वीर सौजन्य: ग्लोबनेपाल डट कम 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक