20130806

दिल्ली दौडको पछिल्ला प्रतियोगी बनेका छन् नेपाली कांग्रेसका सभापति सुशील कोइराला !

दिल्ली दौड र माधव नेपालको जनमत संग्रह !?

पाखण्डीपना कहाँ देखिन्छ भने दिल्ली दौडमा लामवद्ध हाम्रा नेतृत्व त्रिभुवन अन्तराष्टिय विमान स्थलसम्म राष्ट्रियताको खुबै चर्का कुरा गर्छन् । तर, इन्दिरा गान्धी विमानस्थलमा अवतरण हुनेबित्तिकै राष्ट्रवाद एकाएक चाकडीवादमा विसर्जन हुने गर्दछ 

jwala- भीम राई ज्वाला
दिल्ली दौडको पछिल्ला प्रतियोगी बनेका छन् नेपाली कांग्रेसका सभापति सुशील कोइराला । उनी आइतबार दिल्ली यात्रामा निस्किएका हुन् । यो दौडको श्रृंखलामा एमाओवादीका अध्यक्ष प्रचण्ड, कांग्रेसकै बरिष्ठ नेता शेरबहादुर देउवा र एमालेका बरिष्ठ नेता माधव नेपाल सहभागी भैसकेका छन् । बैशाख दोस्रो साता प्रचण्डबाट सुरु भएको दौडमा सुशील चौथो प्रतियोगी हुन् ।
पाखण्डीपना कहाँ देखिन्छ भने दिल्ली दौडमा लामवद्ध हाम्रा नेतृत्व त्रिभुवन अन्तराष्टिय विमान स्थलसम्म राष्ट्रियताको खुबै चर्का कुरा गर्छन् । तर, इन्दिरा गान्धी विमानस्थलमा अवतरण हुनेबित्तिकै राष्ट्रवाद एकाएक चाकडीवादमा विसर्जन हुने गर्दछ । नेपाल आइपुग्दा गोपीकृष्ण कहो मात्र बाँकी रहन्छ ।
प्रचण्डदेखि माधव नेपालसम्म
हाम्रा प्रतियोगीहरुको मानसिकता यस्तो छ कि प्रचण्ड दिल्लीप्रति लचकता देखाउँदै द्वन्द्वकालमा भारतलाई गरेको गाली र विस्तारवादी आरोपबाट उन्मुक्त हुन चाहान्छ, जसको उदाहरण चीन जाँदा पनि भारतीय राजदुत जयन्तप्रसादले अनुमति दिनुपर्ने अवस्था रह्यो । पछि सुनियो कि कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलाई नभेट्नुले उनको यात्रा खल्लो भयो रे । उनले भारतका शक्तिशाली कर्मचारी र पूर्वकर्मचारीसँग विगतको गल्तीप्रति माफी दर्शाएरै फर्के । शेरबहादुर देउवाको कुरै नगरौं । कांग्रेस भनेको भारतको नेपाल ब्रान्चजस्तै हो । सुशील कोइरालालाई पहिले नबोलाई भारतले देउवालाई किन बोलाए ? अब कांग्रेसमा मुख्य शक्ति देउवा नै हुन् भन्ने हल्लीखल्ली कांग्रेस र कांग्रेस इत्तरमा मज्जैले चल्यो । देउवा दंग परेर फर्किए । उनलाई पनि के लाग्यो भने सुशीलभन्दा मै महत्वपूर्ण तर यिनीहरुलाई थाहा
हुनुपर्ने हो फुटाऊ र शासन गर भन्ने साम्राज्यवादी तथा विस्तारवादीहरुको मूल अस्त्र हो ।
माधवकुमार नेपालको दिल्ली यात्राले पनि सञ्चारजगतमा राम्रै चर्चा पायो । तर, उनको यात्रा हल्ला गरिएजतिको महत्वको होइन भनी भारतीय अधिकारीले खुलासा गरे । दिल्ली उड्नु अघिसम्म संविधानसभाको विकल्प छैन, कसैले यस्ता कुरा सोच्छन् भने त्यो नेपालको लोकतन्त्र, संघीयता र परिवर्तन विरोधी हो भन्थे । दिल्ली दौडबाट फर्किएपछि माधव नेपालको गोपीकृष्ण कहो सुरु भइसकेको छ । उनले भन्न थालेका छन्, निर्वाचन नभए जनमतसंग्रह गर्नु पर्छ ।
सुशील भारत घुँम्दैछन् । दिल्लीले गोपीकृष्ण कहो चाँडै र सहजै अनुकरण गर्न सक्ने राम्रो क्वालिटीको सुगाका रुपमा लिने गर्दछ । सायद नक्कलका बान्की कपी गर्दैछन् उनको पेष्ट कस्तो हन्छ, चार दिनपछि थाहा भइहाल्छ ।
यसरी दिल्लीले हाम्रा नेताहरुको एक-एक गरी नाडी छाम्ने हेतुले दौडको आयोजना गरेको छ । स्पष्ट छ, खिलराजपछि स्थान सुरक्षित गर्ने आ-आफ्ना एजेण्डा कुनैले छुटाउने छैनन् दिल्लीसमक्ष त्यही एउटा अवसरका लागि पालैपालो दिल्ली पुगेका हाम्रा नेताहरु दक्षिण एशियामा शक्तिशाली बन्ने केमिकल मिश्रीत दिल्ली ब्राण्डेड ललीपप चाटेर फर्किदैछन् र भन्दैछन् नेपालको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताका लागि हामी ज्यान दिन तयार छौं ।
आखिर के हो दिल्ली दौडको मूल उद्देश्य ?
१. दिल्लीले ज्ञानेन्द्रलाई हटायो, के अब फेरि ज्ञानेन्द्रलाई राजगद्दीमा फर्काउन चाहन्छ ? पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रको देश दौडाहा र राहत वितरण जस्ता चलखेलले त्यही कुराको पुष्टि गर्छ ।
२. दिल्ली संविधानसभाको निर्वाचनबारे मुखमा रामराम बगलीमा छुरा भनेझै व्यवहार गरिरहेको त छैन ? खास अर्थमा दिल्ली नेपालमा संविधानसभाको निर्वाचन पक्षमा स्पष्ट छैन तर खुलेरै निर्वाचनको विपक्षमा बोल्न नमिलेपछि नेपालका प्रमुख दलहरुलाई बोलाएर आफ्नो इन्ट्रेस्ट क्रमिक शेयर गरिरहेको पो छ कि ? साँचों अर्थमा नेपाली राजनीतिमा जति संक्रमणकाल तन्किइरहन्छ, दिल्ली मिशनलाई त्यति नै अनुकूल बन्ने छ ।
३. संविधानसभाको निर्वाचन भयो भने नेपाल संघीय राज्य बन्नेछ । तर, नेपाल संघीय राज्यबन्दा दिल्लीलाई बेफाइदा छ । त्यसकारण पनि संघीय राज्य निर्माणको मुहान भनेको संविधानसभाको निर्वाचन भएकाले यसको मुहानलाई थुन्ने प्रयास दिल्ली दौडको रुपमा मुखरित भइरहेको त छैन ?
दिल्ली लामो समयदेखि जोडघटाउ गरिरहेको छ कि केन्द्रीकृत नेपालका नेताहरुलाई नियन्त्रण गर्न जति सहज छ, संघ राज्यका प्रमुखहरुलाई एकमुष्ठ नियन्त्रण गर्न दिल्लीलाई चुनैतीपूर्ण हुनेछ । चीनको पायक पर्ने नेपालका संघहरु त झन दिल्लीका लागि अभिशाप हुनेछन् ।
४. आफ्नो स्वार्थ पूरा गर्ने दिल्लीको उत्तम माध्यम नेपालका मधेशवादी दलहरु थिए । त्यहीबाटो भएर दिल्ली दलाली नेपालको राजनीतिसम्म प्रबाहित भइरहेको थियो । नेपालमा संघ राज्य निर्माणको बहस चलिरहँदा मधेशवादी दलहरुले समग्र मधेश एक प्रदेशको असम्भव माग तेस्र्याएका थिए । त्यो अरु कुनै बाटो नभई दिल्लीको बाटो भएर आएको गलत माग थियो । तर, लोभ र डाहाले ग्रस्त मधेशी नेताहरुकै कारण मधेशवादी दलहरु विभिन्न टुक्रामा छिन्नभिन्न भएपछि दिल्लीको सहज बाटा असजिलो भएको छ । त्यही भएर पनि दिल्लीले मधेशी नेताहरुलाई नबोलाई अन्य दललाई मात्रै दिल्ली दौड प्रतियोगितामा सामेल गराएको त होइन ? मधेशी नेतालाई मात्रै बोलाउँदा दिल्लीको गोप्य पोल खुल्ने डरले पनि दिल्लीले अहिलेसम्म मधेशीको नाम टिपेको छैन । अब निर्वाचनको मितिअगावै कुनै मधेशी नेतालाई दिल्ली बोलाइएछ भने कुनै अनर्थ नमाने हुन्छ ।
नेपाली राजनीतिमा दिल्लीको प्रभाव
भारतीय समर्थन र विरोधविना नेपाली राजनीतिको सिन्को ओल्लो छेउबाट पल्लो छेउसम्म सरेको छैन । ००७ सालमा राणा शासन अन्त्य गर्न राजा त्रिभुवनलाई दिल्लीले साथ दियो । ०१७ सालमा राजा महेन्द्रले दिल्लीकै समर्थनमा कु गरेका थिए । ०४६ सालको प्रजातान्त्रिक आन्दोलनको सफलतादेखि लिएर कम्युनिष्ट र कांग्रेसलाई एक ठाउँमा उभ्याउने काम पनि दिल्लीले नै गरेको हो । दिल्लीले सेल्टर नदिएको भए १० वर्षे माओवादी विद्रोह सम्भव नै थिएन । ०६३ सालको परिवर्तनको जग सात राजनीतिक दलहरुबीचको. १२ बँुदे सहमति हो, जुन दिल्लीमै भएको थियो ।
सतहमा हेर्दा नेपालको लोकतान्त्रिक परिवर्तनका लागि दिल्लीले लामो समयदेखि साथ दिँदै आइरहेको देखिन्छ । साँचो अर्थमा भने त्यस्तो होइन भन्ने बुझ्न जरुरी छ । कुनै विषयमा साथ दिएको जस्तो गर्ने र साँच्चिकै परिवर्तनको दिशामा पुग्दा त्यसलाई रोकेर परिवर्तनका बाधक शक्तिलाई अप्ठ्यारो पार्ने दिल्लीको नकारात्मक भूमिका नेपालका लागि सर्वथा बाधक र घातक सावित भइसकेको छ । यति हुँदाहँुदै पनि निकट भविश्यमा हुन लागिरहेको संविधानसभाको दोस्रो निर्वाचनमा पनि नेपालका सबै राजनीतिक दलहरुलाई दिल्लीकै साथ चाहिएको छ । यो दौडलाई नियाल्दा लागिरहेको छ, इमान्दार भएजस्तो अभिनय गरिरहेको बिरालोका सामु मुसाहरु ताँती लागेर दर्शन गर्न गइरहेका छन् र भन्दैछन् प्रभो हाम्रो जीवनदाता ।
दिल्ली दौड एकसाथ नभएर फरक-फरक छ । नतिजा कस्तो आउँछ र कसको पक्षमा आउँछ, यसै भन्न सकिन्न । तर, नेपाली जनताले ००७ सालदेखि बुझ्दै आएको कुरा के हो भने परिणाम नेपाल र नेपाली जनताको पक्षमा हुनेछैन । नेपालको स्वाधिनता र राष्ट्रिय अखण्डताका पक्षमा हुने छैन । नेपाल र नेपालीको अहितमा हुने त्यही कुटिल प्रतियोगितामा नेपालका राजनीतिक दलका नेताहरुले दिल्लीका उस्ताद सामु किनाराका साक्षी बनेर स्वीकारोक्तिको हस्ताक्षर धस्काएर आउने गरेका छन् । यसपटकको दौडको उद्देश्य पनि शायद त्यही नै हो ।
नेपालको तालाचाबी आफ्नो धोतीको फेरोमा पोको पारेर करिव सात दशकदेखि दिल्ली नेपालमाथि हावी भइरहेको छ । सरकार ढाल्नुपर्‍यो दिल्लीको साथ, सरकार बनाउनुपर्‍यो दिल्लीको सहयोग । प्रधानमन्त्री, मन्त्री बन्नु बनाउनुपर्‍यो दिल्लीको समर्थन । यहाँसम्म कि मन्दिरको पुजारी नियुक्त गर्नु पर्दासमेत दिल्लीको स्वार्थ । संविधानसभाको दोस्रो निर्वाचनको मिति नजिकिँदैछ निर्वाचन सम्पन्न गर्ने काम राजनीतिक दलहरुको हो, तर दिल्लीले के भन्छ ? नेताहरुलाई त्यही चिन्ता छ र त दिल्ली दौडमा छन् । उनीहरु क्रमशः सोध्दैछन् प्रभो के गरौं ?
राष्ट्रियताका सवालमा दलहरु एक भइदिएका थिए भने नेपालको यो दुर्दशा हुने थिएन कम्तीमा पराधीनताको मानसिकताबाट मुक्त हुन्थे र देश र जनताको भविश्य आफैंले कोर्ने हिम्मत गर्थे भने पनि राष्ट्रिय स्वाधीनता दिल्लीको गुलाममा लिलाम हुने थिएन ।
लेखक एमाले सुनसरीका नेता हुनुहुन्छ 

भाजपा अध्यक्षले कोइरालालाई भने-नेपाल हिन्दु राष्ट्र होस्

२२ साउन, नयाँदिल्ली । भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले नेपाल पुनः हिन्दु राष्ट्र होस भन्ने आफ्नो चाहना भएको बताउनु भएको छ ।
भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँगको भेटमा सिंहले भारतीय जनता पार्टीले नेपालमा निर्वाचन भएर स्थायीत्व सहित लोकतन्त्र संस्थागत भएको र हिन्दु राष्ट्र कायम भएको हेर्न चाहेको स्पष्ट पार्नुभयो । यद्यपि उहाँले हिन्दु राष्ट्र होस भन्ने आफूहरुको चाहना भए पनि त्यसको लागि नेपालमा कुनै पनि किसिमको हस्तक्षेप गर्ने पक्षमा नरहेको बताउनु भयो । उहाँले भन्नुभयो-’हामी नेपालमा राजनीतिक स्थायीत्व, विकास र अखण्डता चाहन्छौं ।’
मंसिर ४ मा कुनै पनि हालतमा निर्वाचन हुनु पर्नेमा जोड दिदै भाजपा अध्यक्ष सिंहले निर्वाचनबिना नेपालको राजनीतिक गतिरोधले निकास नपाउने र नेपालमा स्थायीत्व नहुने बताएको थियो ।
प्रतिउत्तरमा कोइरालाले नेपालका राजनीतिक दलहरुवीच निर्वाचनलाई लिएर सकारात्मक छलफल भइरहेकोले सबै दलहरु निर्वाचनमा जाने विश्वास ब्यक्त गर्नै निर्वाचन भएरै छाड्ने बताएको छ ।
 निर्वाचनपछि सहयोगमा बढाउने आश्वासन
भारतीय विदेशमन्त्री सलमान खुर्सिदले निर्वाचन भएर राजनीतिक स्थायीत्व भएपछि नेपालको आर्थिक विकासका लागि भारतले दिदै आएको सहयोगमा बृद्धि गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँगको दिवाभोजसहितको भेटवार्तामा खुर्सिदले नेपालमा राजनीतिक स्थायीत्व नभई विकास नहुने भएकोले निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।
उहाँले प्रमुख दलहरु लचक भई असन्तुष्टहरुलाई निर्वाचनमा ल्याउन प्रयास गर्नु पर्ने तर, कुनै दल नआउँदैमा नेपालको भविष्य र राजनीतिक गतिरोधको निकाससँग जोडिएको निर्वाचन रोकिन नहुने बताउनु भयो । नेपालको लोकतन्त्रको स्थायीत्वको लागि समेत निर्वाचन अपरिहार्य भएकोले निर्वाचनकालागि लोकतान्त्रिक दलहरु मिलेर अघि बढ्नु पर्ने उनको सुझाव थियो । भेटमा नेपाल र भारतीय सीमा क्षेत्रमा देखिएका डुबानको समस्या समाधान गर्न दुबै देशको संयुक्त संयन्त्र निर्माण गरेर अघि बढ्ने सहमति भएको छ ।
भेटमा कांग्रेस सभापति कोइरालाले असन्तुष्ट दलहरुसँग सकारात्मक छलफल भएकोले निर्वाचनको बातावरण निर्माण भएर मंसिर ४ गते नै निर्वाचन हुने बताउनु भएको छ ।
भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सत्तारुढ काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको छ । मंगलवार भएको भेटवार्ताको क्रममा कोइरालाले भारतको सबैभन्दा घनिष्ठ छिमेकी नेपालको भ्रमण अहिलेसम्म नगरेको भन्दै गान्धीलाई नेपाल भ्रमणमा आउन निम्तो दिनु भएको हो ।
जवाफमा गान्धीले आफू नेपाल भ्रमणमा आउन लालायित भएको भन्दै नेपालमा संविधानसभाको निर्वाचन भएर संविधान बनेपछि आफू नेपाल भ्रमणमा आउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कोइरालाले नेपालका राजनीतिक दलहरुवीच सहमति र सहकार्यको वातावरण बन्दै गएकोले आमसहमतिमा आगामि मंसिर ४ गते संविधानसभाको निर्वाचन हुने भन्दै गान्धीलाई आश्वस्त पार्ने प्रयत्न गर्नु भएको थियो । उहाँले नेपालको निर्वाचनको लागि भारतीय सहयोग र सदभाव आवश्यक रहेको भन्दै त्यसकोलागि समेत अपिल गर्नु भएको थियो ।
कोइरालाले भारतीय स्वतन्त्रता संग्रामदेखि नै नेपाली काँग्रेस र भारतीय काँग्रेस आईवीच सुमधुर सम्बन्ध रहँदै आएको भन्दै त्यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको थियो । उहाँले नेपाली काँग्रेस र काँग्रेस आईका संस्थापक नेताहरुवीचको सम्बन्ध पनि स्मरण गराउनु भएको थियो । गान्धीले नेपालको राजनीतिक गतिरोधको अन्त्य र लोकतन्त्रको संस्थागत विकासकोलागि निर्वाचन अपरिहार्य भएको भन्दै जसरी पनि मंसिर ४ मा घोषित निर्वाचन हुनु पर्ने धारणा राख्नु भएको थियो । भारत शान्त, स्थायित्व भएको समृद्ध नेपालको पक्षमा रहेको भन्दै उहाँले त्यसकोलागि सबै खाले सहयोग गर्न तयार रहेको स्पष्ट समेत पार्नु भयो । कोइरालाले मंगलवार नै भारतीय जनता पार्टीकी संसदीय दलकी नेतृ शुष्मा स्वराजसँग पनि भेटवार्ता गर्नु भएको थियो ।

दिल्लीले छाम्दैछ नेपाली नेताहरुको नाडी !

dipesh-kc- दीपेश केसी
नेपाली कांग्रेसका सभापति सुशील कोइराला दिल्ली भ्रमणमा निस्कनुभएको छ । कोइरालाभन्दा अघि माधव नेपाल, शेरबहादुर देउवा र प्रचण्डलाई दिल्लीले छुट्टाछुट्टै बोलाएर नाडी छामिसकेको छ । आखिर किन बोलाइरहेको छ दिल्लीले यसरी नेपाली नेताहरुलाई ?
वीपी पुत्रहरू पिताको विचारबाट यताउता हुन चाहँदैनन् । विचारलाई व्यवहारमा लागू गर्न र विकसित गर्न खासै योगदान दिन नसकेका प्रकाश कोइराला र सशांक कोइराला दुवै सक्रिय राजनीतिमा छन् । भारतले राजा फाल्यो र भारतले फर्काउने दाबी गर्छन् प्रकाश । काँग्रेसप्रति भारत नरम छैन भन्ने बुझाइ सशांकमा छ । वीपीलाई जवारहरलाल नेहरूले पेलेकै हुन् । नेहरू स्वयं वीपीका साथी थिए । त्यसबाहेक भारतका नाम चलेका राजनीतिज्ञहरूको वीपीसँग सुमधुर सम्बन्ध थियो । ०१७ सालमा राजा महेन्द्रले कू गरी वीपीलाई जेल हाल्दा राजनीतिक तहमा रहेको वीपीको सम्बन्धले काम गरेन । देशको स्वार्थलाई हेरेर भारतीय नेताहरूले प्रतिक्रिया देखाए । महेन्द्रको कदमलाई भारतले विरोध गरेको भए कू सम्भव थिएन । २००७ सालयता भारतको समर्थन र सहयोगविना नेपालमा ठूला परिवर्तनकारी घटनाहरू भएका छैनन् । यो तीतो सत्य हो ।
भारतीय समर्थनविना आफ्नो पल्ला भारी नहुने भूराजनीतिक यथार्थलाई वीपी पुत्रहरूले जस्तै अरूहरूले स्वीकारिसकेका छन् । माओवादीले दश वर्षे ‘जनयुद्ध’ भारतमा आधार बनाएर लड्यो भन्नेहरू छन् । एसडी मुनीले पुस्तकमार्फत् तथ्यहरू उजागर गरिसके । राजा त्रिभुवनले राणाशासन अन्त गर्न भारत पसी ऊर्जा प्राप्त गरेका हुन् । ०४६ सालको परिवर्तनका लागि काँग्रेस र कम्युनिष्ट मिलाउन भारतले नै भूमिका खेल्यो । ०६३ सालको परिवर्तनको आधार १२ बुँदे सम्झौता भारतको रहोवरमा दिल्लीमा भएको थियो । गणतन्त्र घोषणामा भारतीय भूमिकाबारे जिम्मेवार नेताहरू स्वयं बोल्छन् । भारत नेपालको राजनीतिमा विगत सात दशकयता हावी भइरहेको छ । अबको चुनावमा सबैलाई उसैको साथ चाहिएको छ ।
देशमा चुनावभन्दा चुनावका लागि साथ लिन नेताहरू दिल्ली धाइरहेका छन् । यसै वर्ष एनेकपा माओवादीका अध्यक्ष प्रचण्डबाट शुरू भएको दिल्लीयात्रा नेपाली काँग्रेसका सभापति सुशील कोइरालासम्म पुगेको छ । प्रचण्डले दिल्ली आउन निकै कसरत गरेका थिए । भारतसँगको तिक्तता मेट्न लचकता देखाए । भारतीय राजदूत जयन्तप्रसादसँग बाक्लो भेट गरे । यतिसम्मकी चीन जानुभन्दा पहिला भारत जाने बेवस्ता मिलाउन आग्रह गरे । प्रसादले चीन गएर आउनुहोस् केही फरक पर्दैन भनेपछि मात्र गए । प्रचण्डको भ्रमणले उच्च महत्व पाएपनि काँग्रेस आइकी अध्यक्ष सोनिया गान्धीलाई भेट्न पाएनन् । ६ अर्ब १ करोड मान्छेहरूमध्येमा १२ औं र महिलाहरूमा जर्मन चान्स्लर एन्जेला र्माकरपछिकी शक्तिशाली सोनियालाई नभेट्नुले भ्रमण खल्लो भयो । यद्यपि उनले कर्मचारीतन्त्र हावी भएको भारतका शक्तिशाली कर्मचारी र पूर्व कर्मचारीसँग विगतको गल्तीप्रति माफी दर्शाएर फर्के । उनको भ्रमणले एउटा आइसब्रेक गर्‍यो ।
त्यसपछि आए शेरबहादुर देउवा । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री देउवाले उच्च राजनीतिक भेटको मौका पाए । सोनियासँग भेटे । उनी दिल्लीमा रहँदा निर्वाचनको मिति घोषणा भयो । देउवा दिल्ली आएकाले चुनावको मिति घोषणा भएको हौवा पिटाउनेहरू थिए । सुशील कोइराला नडाकी देउवा किन डाकिए ? अब काँग्रेसमा मुख्य शक्ति देउवा नै हुन् भन्ने तर्कहरू बजारमा सुनिए । देउवा दंग परी फर्किए ।
माधवकुमार नेपाल आए । उनले मनमोहन सिंह, सोनिया गान्धीलगायतसँग भेटे । झलनाथ नडाकी किन माधव नेपाल ? प्रश्नहरू उठाइए । झलनाथलाई प्रधानमन्त्री हुँदा समेत भारतले बोलाएन । उनी अमेरिका हानिए । माधव नेपालको भ्रमणले नेपालभित्र निकै चर्चा पायो । भेटघाटको समाचार र तस्वीरले पत्रपत्रिका भरिए । प्रचारप्रसारको व्यवस्थापनमा माधव नेपाल अग्रस्थानमा देखियो । तर, उनको भ्रमण हल्ला गरिए जत्तिको महत्वको होइन भनी भारतीय अधिकारीले खुलासा गरे ।
लामो प्रतिक्षापछि सुशील कोइरालाले भारत भ्रमणको निम्तो पाए । उनको भ्रमणलाई उच्च महत्वका साथ प्रस्तुत गरिएको छ । कोइरालालाई राजनीतिक तहको सम्बन्ध विकसित गर्ने सुझाव छ । वीपी, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको राजनीतिक तहको सम्बन्धबारे सम्झाइएको छ । ती सम्बन्धहरूले अन्तगत्वा काम नगरेको बारे हेक्का छैन । गिरिजाप्रसादको राष्ट्रपति बन्ने धोको भारतीय सहयोग नहुँदा पूरा नभएको हो । सुशील नेपालसँग ठूलो क्षेत्रफल जोडिएको उत्तर प्रदेश र विहारका मुख्यमन्त्रीहरू क्रमशः अखिलेश यादव र नितिश कुमारलाई समेत भेट्छन् । नितिश उनको पुराना साथी हुन् । सँगै जेल बसेका थिए । अन्य भारतीय नेताहरूलाई प्राथमिकतामा राखेर भेट्नेछन् । कर्मचारीतन्त्र हावी भएको देशमा नेतातहको सम्बन्धले मात्र काम गर्दैन । नेपाल मामलामा कर्मचारी र विज्ञहरूले बुझाएको रिपोर्ट र सुझावले विशेष अर्थ राख्ने हो ।
भारतले एक-एक गरी नाडी छाम्ने हेतुले निम्तो गरेको छ । राष्ट्रिय हितको नाम दिए पनि नेताहरूले पहिले व्यक्तिगत, पार्टीगत अनिमात्र देशहितको कुरा गरेर फर्किएका थिए । सुशीलको प्राथमिकतामा काँग्रेसलाई आगामी चुनावमा पहिलो स्थान दिलाउन भारतीय सहयोगको आग्रह पर्ने निश्चितप्रायः छ । उनले आउनुअघि अन्य दलका नेता र विज्ञहरूलाई भेटेर चाहिं राम्रो गरेका छन् । जो जसरी आए पनि भारतीय आशिर्वाद थाम्न आएको सन्देश देशभित्र प्रवाह भइसक्यो । भारतले दिएको निम्तो र क्रमैसँग आएका नेताहरूबाट त्यस्तै सन्देश गएको छ । नेताहरू तलाई ठूलो फूलको गुच्छाले स्वागत गर्‍यो कि मलाई भनी ढोल पिट्दैछन् । 
(केसी दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्छ ) - Onlinekhabar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक