20131020

आजदेखि सबै निर्वाचन क्षेत्रमा सेना परिचालन

 नेपाली सेनासहित मुलुकको तीनवटै सुरक्षा निकायले आगामी संविधानसभा निर्वाचनमा मतदाताहरूले निर्भयका साथ मतदान गर्ने वातावरण सुनिश्चित गर्ने लगायतको सुरक्षा प्रवन्ध मिलाउन आफूहरू पूर्ण तयारी अवस्थामा रहेको जनाएका छन् ।    निर्वाचन हुन केवल एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप सुरक्षा निकायहरूले आफ्नो तयारीलाई पूर्णता दिएका हुन् ।  सरकारले मङ्सिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनलाई दृष्टिगत गरी एकीकृत सुरक्षा योजना तय गरेअनुरूप नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग निर्वाचन सुरक्षा प्रवन्धका लागि खटिनेछन् ।     सोअनुरूप नेपाल प्रहरी र निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका म्यादी प्रहरीले मतदान केन्द्रको भित्री सुरक्षा गर्नेछन । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । सो बलले नेपाल प्रहरी र नेपाली सेनासँग समन्वय गरी सहयोगीको भूमिका निर्वाह गर्नेछ ।     नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रहेर सुरक्षाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ । निर्वाचन प्रयोजनका लागि नेपाली सेना मुलुकका २४० वटा निर्वाचन क्षेत्रमा आइतबारदेखि परिचालन हुने सेनाका प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले राससलाई बताउनुभयो ।     सो क्रममा सुरक्षाका हिसावले अति संवेदनशील, संवेदनशील र सामान्य देखिएका निर्वाचन क्षेत्रमा आवश्यकतानुसार सेनानीको नेतृत्वमा १०० जनाको गुल्म र सहसेनानीको नेतृत्वमा ४० जना जनशक्ति रहेको प्लाटुन परिचालन हुने प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । निर्वाचन प्रयोजनका लागि नेपाली सेनाका ६२ हजार जनशक्ति
परिचालन हुनेछन् भने त्यसको ‘चेन अफ कमान्ड’ जङ्गी अड्डाले गर्नेछ । 
    सुरक्षाका हिसाबले अति महत्वपूर्ण र महत्वपूर्ण रहेका निर्वाचन क्षेत्रमा तीनवटै सुरक्षा निकायको सुरक्षा घेरा रहनेछन् । सामान्य मानिएका निर्वाचन क्षेत्रमा भित्री घेरामा नेपाल प्रहरी र अरू जिम्मेवारी नेपाली सेनाले लिने बताइएको छ ।
    सुरक्षित र भयरहित वातावरणमा निर्वाचन कार्यलाई सम्पन्न गर्न मतदानको तीन दिनअघि मतदान केन्द्र नजिक रणनीतिक विन्दु कायम गरी सुरक्षा प्रबन्धसहित सेना परिचालन हुनेछ । सेनाले तीनवटै सुरक्षा निकायसँग समन्वय गरी सूचना आदानप्रदान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । 
    यसका अतिरिक्त सेनाले आपतकालीन उद्धार, जगेडा जनशक्ति परिचालन, हेलिकप्टरको व्यवस्थापन, मतपेटिका र मतपत्र ढुवानी, हवाई वेस क्याम्प स्थापनालगायतका काममा पनि महत्वपूर्ण भूमिका खेल्नेछ । 
    त्यसका लागि नेपाली सेनाले जिल्ला, बाहिनी, पृतना र जङ्गी अड्डामा तुरुन्तै क्षेत्रगत तथा जुनसुकै ठाउँमा पनि परिचालन गर्न सक्ने जगेडा जनशक्ति पनि तयारी अवस्थामा राख्नेछ । 
    आउँदो मङ्सिर ४ को निर्वाचनमा देशभरका २४० निर्वाचन क्षेत्रमा दस हजार मतदान स्थल र १८ हजारको हाराहारीमा मतदान केन्द्र रहने छन् भने एक करोड २२ लाख मतदाता छन् । 
    समानुपातिक निर्वाचन प्रणालीमा १२२ राजनीतिक दलले भाग लिएका छन् भने प्रत्यक्षतर्फ १३० राजनीतिक दलका ६ हजार १४७ उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । त्यस्तै स्वदेशी÷विदेशी पर्यवेक्षकसमेत निर्वाचन पर्यवेक्षणका लागि खटिन थालेका छन् । 
    संविधानसभाबाटै संविधान जारी गर्ने नेपाली जनताको चाहनाअनुरूप सबैको सहभागितामा निर्वाचन भयरहित ढङ्गले सम्पन्न गर्न सरकारले आगामी निर्वाचनमा सुरक्षा व्यवस्था प्रभावकारी र सुदृढ बनाउन कुनै कसर बाँकी नराख्ने अठोटसमेत व्यक्त गरेको छ । 
    त्यसका लागि नेपाल प्रहरीका ४८ हजार र म्यादी ४५ हजार गरी नेपाल प्रहरी मातहत रहने ९३ हजार जनशक्ति मतदान केन्द्रको भित्री सुरक्षाका अतिरिक्त उम्मेदवार र मतदाताको सुरक्षाका लागि खटिने नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले जानकारी दिनुभयो । 
    “सुरक्षित र भयरहित वातावरणमा निर्वाध रूपले निर्वाचन सम्पन्न गराउने सिलसिलामा नेपाल प्रहरी पूर्ण रूपमा तयारी अवस्थामा रहेको छ, मतदान पूर्वको सुरक्षा योजना अनुरूप जनशक्ति खटिसकेको छ” – प्रवक्ता सिलवालले भन्नुभयो । 
    त्यस्तै सशस्त्र प्रहरी बलका प्रवक्ता सिंहबहादुर श्रेष्ठले पनि निर्वाचन प्रयोजनका लागि बलबाट २९ हजारभन्दा बढी जनशक्ति खटिने बताउनुभयो । 
    सशस्त्र प्रहरी बलका ६० जिल्लामा रहेका सुरक्षा शिविरबाट निर्वाचनका लागि जनशक्ति खटिने छन् । यो जनशक्तिले अन्य सुरक्षा निकायसँग समन्वय गरी सहयोगीको भूमिका निर्वाह गर्ने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 
    उहाँले निर्वाचन प्रयोजनका लागि सुरक्षा प्रत्याभूति दिलाउन बल पूर्ण तयारी अवस्थामा रहेको प्रष्ट पार्नुभयो । 
    निर्वाचनको सुरक्षाका लागि स्थानीय तहमा जिल्ला सुरक्षा समिति रहेनछ । गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति रहने व्यवस्था छ । एकीकृत सुरक्षा योजनाअन्र्तगत निर्वाचन हुनु एक महिनाअघि सुरक्षा निकायहरूको परिचालन गरिने व्यवस्था छ । 
    सरकारले केही दिनयता क्षेत्रगत रूपमा सुरक्षा निर्वाचन सुरक्षा योजना र चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजनाबारे राय, सल्लाह र सुझाव लिनाका साथै त्यसको प्रभावकारी परिचालनबारे छलफलसमेत गरेको छ ।
    ती छलफलमा गृहमन्त्री माधवप्रसाद घिमिरेले धेरैभन्दा धेरै जनताको सहभागितामा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने र निर्वाचनमा व्यवधान खडा गर्नेलाई कानुन मुताविक कारबाही गर्ने दृढतासमेत व्यक्त गर्नुभएको छ ।

सरकारले अर्को संविधानसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनका लागि सरकारले गर्नुपर्ने सबै तयारी पूरा गरेको बताउनुभयो ।
उद्धवप्रसाद भट्टराई ‘चैतन्यदीप’द्वारा लिखित ‘मुक्त हृदयको आवाज’ नामक पुस्तकको आज यहाँ सार्वजनिक गर्दै उहाँले भन्नुभयो– “एक महिनापछि हुने निर्वाचनका लागि सरकारले सबै तयारी पूरा गरेको छ, निर्वाचन सुरक्षाको पनि अन्तिम तयारी भइसकेको छ, निर्वाचन आयोगले मतपत्र छपाउने अन्तिम कार्य गरिरहेको छ, अब कुनै किसिमको द्विविधा, आशङ्का र सन्देह छ भने हटाउनुस् निर्धारित मितिमै निर्वाचन हुन्छ सरकार यसमा दृढ प्रतिबद्ध छ ।”
मन्त्री पौडेलले निर्वाचन तोकिएकै दिनमा हुने र त्यसका लागि सरकारले दिनुपर्ने सुरक्षाको व्यवस्था मिलाएको भन्दै मतदाताले आफ्नो घरदेखि मतदान केन्द्रमा पुग्ने र मत हालेपछि घरसम्म पुग्ने सुरक्षाको प्रत्याभूति सरकारले दिने उल्लेख गर्नुभयो । 
सञ्चारमन्त्री पौडेलले जीवनलाई चरित्रोपयोगी बनाउने र महत्वपूर्ण क्षणहरूलाई सम्बोधन गर्ने योग साधना र विविध आयामले भरिएको सो पुस्तक पठनीय र सङ्ग्रहणीय मात्र नभई यसका आलेखहरूले नेपाली बाङ्मयलाई सम्बृद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरेले ब्रह्मचिन्तन, आत्मचिन्तन र आत्मज्ञान, योग चिकित्सा तथा परम्परागत मूल्य मान्यता र धर्म साधनाका बारेमा उजागर गरिएको पुस्तक वहुउपयोगी हुने बताउनुभयो ।
वाल्मीकि क्याम्पसका प्राध्यापक डा सनतकुमार वस्तीले पुस्तक जीवनोपयोगी भएको चर्चा गर्नुभयो । लेखर्क चैतन्यदीप’ले योग अनुसन्धानात्मक लेख, वेदान्त, धार्मिक र सांस्कृतिक विषयवस्तुको साथै आध्यात्मिक साधनाका विविध पक्षलाई पुस्तकले उजार गरेको बताउनुभयो ।
रहस्यमय अज्ञात योगको खोजका विषयवस्तु समेटिएको पुस्तक आत्मज्ञानको सच्चा महातरङ्गहरू, योगचिन्तामणि, जीवन दर्शन र साधना, मानव जीवनमा ज्ञान र गुरुको महिमा, पूर्ण स्वस्थ्य जीवनको आधार एवम् चिन्तन, राष्ट्र, राष्ट्रियता, मानवता र स्वतन्त्रता तथा व्यक्ति र व्यक्तित्व गरी सात भागमा ७० वटा उपशीर्षक छन् । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक