20131021

सेनाको गोली छातीमा थाप्ने धम्की, चुनाव प्रचारमा हिंडेका राप्रपा नेपालका दुईजना कार्यकर्ता बेपत्ता, कांग्रेसको चुनावी कार्यक्रममा वैद्य माओवादीका कार्यकर्ताले आक्रमण गरी अवरोध, नेपाल प्रहरी र म्यादी प्रहरीबीच झडप, कसरी होला चुनाव ?

चुनाव प्रचारमा हिंडेका राप्रपा नेपालका दुईजना कार्यकर्ता सोमबार फावाखोला क्षेत्रबाट बेपत्ता भएका छन् । चुनाव प्रचारका लागि तिरिङ्गे गाविसबाट सिकैंचा गाविस जाँदै गरेका राप्रपा नेपाल क्षेत्र नंबर १ की अध्यक्ष गायत्री थेबे र जिल्ला कमिटि सदस्य इन्द्र कार्की फावाखोला गाविसबाट सम्पर्कविहिन भएको राप्रपा नेपाल ताप्लेजुङले जनाएको छ । अरु नेता कार्यकर्ता सागै हिंडेका उनीहरु फावाखोला गाविसबाट हिंडेको केहीबेरमै सम्पर्कविहिन भएपछि प्रहरीलाई जानकारी गराइएको राप्रपा नेपालको युवा मोर्चाका जिल्ला अध्यक्ष हाङ्नारायण लिङ्खिमले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक गोविन्दप्रसाद आचार्यले राप्रपा नेपालका कार्यकर्ता बेपत्ता भएको जानकारी पार्टीले गराएपछि घटना विवरण संकलन गरी अनुसन्धान सुरु गरिएको बताउनुभयो । पाँचथरको रानीटार गाविसमा नेपाली कांग्रेसले सोमबार दिउँसो गरेको चुनावी कार्यक्रममा वैद्य माओवादीका कार्यकर्ताले आक्रमण गरी अवरोध पुर्याएका छ्न । रानीटार उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा कांग्रेस क्षेत्र नं. १ ले गरेको चुनावीसभा करिव २ सय जनाको समूहमा आएका वैद्य माओवादीका कार्यकर्ताले दिउासो २ बजे ढुंगामुढा प्रहार गरेर अवरोध गरेका हुन् । सदरमुकामबाट तीन घण्टा पैदल दूरीमा रहेको सो स्थानमा पाँचथर क्षेत्र नं. १ का कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङको उपस्थितिमा आमसभा शुरुहुने वित्तिकै वैद्य माओवादीका कार्यकर्ताले आक्रमण गरेका थिए । आमसभाको सुरक्षामा थोरै संख्यामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिन नसकेपछि सदरमुकाम फिदिमबाट थप सुरक्षाबल पठाएर स्थितिलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभयो । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको छ । केही बेरको घम्साघम्सीपछि प्रहरीले वैद्य माओवादीका कार्यकर्तालाई लखेटेर स्थिति नियन्त्रणमा लिएको थियो । चुनावी आमसभामा आक्रमण गर्ने वैद्य माओवादीका कार्यकर्ताको खोजी जारी रहेपनि अहिलेसम्म कसैलाई पक्रन नसकिएको प्रहरीले जनाएको छ । वैद्य माओवादीका कार्यकर्ताले सभामा भाग लिन हिंडेका कांग्रेस
कार्यकर्तालाई बाटैमा अवरोध गरेका थिए । सदरमुकामबाट थप सुरक्षाबल पुगेर स्थितिलाई नियन्त्रणमा लिएपनि आजको कांगे्रसको चुनावी आमसभा भने स्थगित भएको छ । सक्रिय चुनाव बहिस्कारको घोषणा गरेको ३३ दलीय मोर्चामा आवद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेनले निर्वाचनमा सेना परिचालन गरिएकोमा आपत्ति जनाउँदै सेनाको गोली छातीमा थाप्न तयार रहेको बताउनुभएको छ । चुनावको सुरक्षाका लागि नेपाली सेना फिल्डमा खटिएको भोलिपल्टै सोमबार लिङ्देनले प्रेस वक्तव्यमार्फत् यस्तो धम्की दिनुभएको हो । लिङदेनद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘नेपाललाई बचाउन संघीय सहअस्तित्ववादी बिचार धारा र सबै दल सहभागी हुनको लागि चैत्रमा चुनाब गरौं भन्ने आवाज उठाउँदा नै सेना ,सशस्त्र, प्रहरीको गोली खानु पर्ने हो भने ती गोलीहरु छातीमा थाप्न र गोली, बारुदलाइ चिर्दै नौ जिल्ला लिम्बुवानको आन्दोलनलाइ अझ उचाइका साथ अघि बढाउन सदा तत्पर रहेको उद्घोष गर्दछौं ।’ लिङ्देनले मंसिर ४ को चुनाव सक्रियरुपमा बहिस्कार गर्ने जनाउनुभएको छ । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले सोमबार बिहान सुर्खेतमा निर्वाचन शिक्षा सामाग्री लुटेर जलाएका छन् । माओवादी कार्यकर्ताले सुर्खेतको घोरेटा, आग्रीगाउँ र राकमका लागि लगिएको निर्वाचन शिक्षा सामाग्री नियन्त्रणमा लिएर जलाएको हो । ‘हामीले ३ वटा गाविसको निर्वाचन सामाग्री नियन्त्रणमा लिएर जलाएका छौं’ माओवादी सुर्खेत सेक्रेटरी लोकेन्द्र राना प्रशान्तले अनलाइनखबरसँग भन्नुभयो-’हामीलाई बाहिर राखेर षड्यन्त्रपूर्वक चुनाव गराउन लागिएको छ । अब यो क्रम -बहिस्कार आन्दोलन)अझ बढ्छ ।’ पोष्टर, हाते पुस्तिका, नमुना मत पत्र माओवादी कार्यकर्ताले लुटेर लगेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । संविधानसभा निर्वाचनको सुरक्षाका लागि भर्ति भएका म्यादी प्रहरी र नेपाल प्रहरीबीच सोमबार बाराको सदरमुकाम कलैयामा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय बाराले दुई महिनाको तलब दिने आश्वासन दिएर डेढ महिनाको मात्रै उपलब्ध गराउन लागेको भन्दै म्यादी प्रहरी प्रदर्शनमा उत्रिएका थिए । कलैयास्थित सिद्धेश्वर मन्दिर परिसरमा भेला भएर म्यादी प्रहरीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो । उनीहरुलाई रोक्ने क्रममा नेपाल प्रहरीले लाठी चार्ज गरेको थियो । म्यादी प्रहरीहरुले कार्यालमा ढुंगा प्रहार गरेपछि लाठी चार्ज गर्नु परेको प्रहरीले जनाएको छ । लाठी चार्जबाट १० जना भन्दाबढि म्यादी प्रहरी घाइते भएका छन् । घाइतेहरुको कलैया अस्पताल र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कार्यालयमा ढुङ्गा हान्न आएका म्यादी प्रहरीलाई लखेटिएको प्रतिक्रिया दिनु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरिक्षक रामनाथ घिमिरेले नाराजुलुस गर्दै प्रहरी कार्यालयमा पुगेका म्यादी प्रहरी र प्रहरीबीच धकेलाधकेल मात्र भएको बताउनुभयो । संविधानसभा निर्वाचनको सुरक्षाका लागि बारामा १५ सय म्यादी प्रहरी भर्ना भएका छन् । सैन्य विज्ञहरुले संविधानसभा निर्वाचनमा सेना परिचालनले देशमा दीर्घकालीन द्धन्द्व बढाउने बताएका छन् । राजधानीमा सोमबार संवाद डबलीले गरेको अन्तरसंवादमा उनीहरुले सो विचार ब्यक्त गरेका हुन् । सैन्यविद् डा. इन्द्रजीत राईले संविधानमा उल्लेखै नभएको विधिबाट सेना परिचालन भएकाले सेना व्यारेकमा र्फकने वा नर्फकने टुंगो नभएका बताउादै भन्नुभयो, ‘अहिले जुन ढंगबाट सेना परिचालन गरिएको छ । त्यसले देशमा द्वन्द्व दीर्घकालीन द्धन्द्ध बढाउने खतरा बढेको छ ।’ sambad-dabali-photoसेनाले देशको सुरक्षा गर्न सक्छ भन्ने कुरा सही नभएको बताउादै सैन्यविद डा. राईले प्रजातान्त्रिक देशमा सेनाको भूमिका कति बेला आउँछ भन्ने नबुझि परिचालन गरिएको बताउनुभयो । सैन्यविद राईले साउथ ब्लकको आदेशमा चार दल र रेग्मी सरकारले सेना परिचालन गरेको दावी गर्नुभयो । पूर्व सभासद समेत रहनु भएका राईले सेनालाई हतियारको रुपमा प्रयोग गरिएको संविधानसभा चुनावलाई नाटक भन्दै असंवैधानिक सरकारले गरेको चुनावी नाटकबाट देश असफल हुने बताउनुभयो । कार्यक्रममा बोल्दै द्वन्द्वविद् विष्णुराज उप्रेतीले सेना परिचालनले सैनिकीकरणको खतरा बढेको बताउनुभयो । वहाँले भन्नुभयो, ‘जसरी पनि चुनाव गर्ने र जसरी पनि बहिस्कार गर्नेहरुका कारण सेना परिचालन भएपछि आम जनतामा त्रास छाएको छ ।’ राज्यले ठूलो धनराशि खर्च गरेर सेना परिचालन गर्दा समाज विभाजित भएर दीर्घकालीन असर पर्नसक्ने वहाँको भनाई थियो । डा. उप्रेतीले भन्नुभयो, ‘जुन तदारुकतासाथ संविधान बनाउन चाहेका थियौं, त्यो अनुरुप दलहरुले काम गरेनन्, वातावरण नबनाई गरिने चुनावले अन्ततः द्वन्द्व नै निम्त्याउँछ।’ कार्यक्रममा बोल्दै नेपाली सेनाका पूर्व उपरथी अनन्तबहादुर थेवेले सेना परिचालन नागरिक प्रशासनलाई सहयोग र राष्ट्रिय स्वार्थको हितमा गर्न भएकोले त्यो कुरामा नेपाली जनताले विश्वास गर्नपर्ने बताउनुभयो । ‘यतिबेलाको चुनाव निष्पक्ष रुपमा भयो भने पनि संविधान बन्छ कि बन्दैन भन्ने स्थिति कायमै छ’ वहाँले भन्नुभयो । नेपाली सेना आफ्नो कमाण्डमा रहने भएकाले यसबारे कुनै द्वन्द्व सिर्जना गर्ने विधि अपनाउन नहुनेमा जोड दिदै पूर्व उपरथी थेवेले माओवादी पनि जिम्मेवार राजनैतिक दल भएकाले चुनावलाई आधार बनाएर द्धन्द्ध निम्त्याउने काम गर्न नहुने बताउनुभयो ।
एमाओवादीको युवा समूह वाइसीएल र अन्य भाडाका कार्यकर्ता समेत प्रयोग गरी नेकपा एमालेका कार्यकर्तामाथी मरणसन्न हुनेगरी कुटपीट भएको छ । युवासंघ नेपाल मकवानपु–२ का अध्यक्ष किरणमान बल, जिल्ला सदस्य संग्राम खड्का र एमाले टिष्टुङ गाउ कमिटी अध्यक्ष राजेन्द्रकुमार लामा राजुको आइतबार धादीङको थाक्रे गाविस स्थीत फट्पुरमा दुई वटा बसमा आएका वाइसीएल कार्यकर्ताले बाटो ढुकेर कुटेपछि गम्भीर अवस्थामा पुगेका उनीहरुको मनमोहन मेमोरीयल अस्पतालमा उपचार भइरहेको छ । धादीङको भुमेस्थान गावीसमा भएको युवासंघको अधिवेशनमा भाग लिएर फर्कदै गरेको छिमेकी जिल्ला मकवानपुरको टिष्टुङका कार्यकर्तालाई शालिकराम जमरकट्टेलको संरक्षणमा रहेका वाइसीएल कार्यकर्ता धादीङ तसर्पुको बहादुर, हाप्सेचौरको विकास, महादेववेशीको राजेश र वीर सींह लगायतले आक्रमण गरेको घाइते बलले बताए । उनीहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । धदीङ–३ का एमाओवादी उमेद्वार जमरकट्टेलको दादागीरीले आक्रान्त भएपछि एमाले उमेद्वार राजेन्द्र पाण्डेको सुरक्षाका लागि युवाहरु धादीङ गएका थिए । छिमेकी जिल्ला भएकाले एक आपसको कार्यक्रममा आउने जाने प्रचलन अनुरुप गएकोमा फर्के २३ वटा मोटरसाइकल पार भइसकेपछि बाटोमा छेकेर आफूहरुलाई एक्लै पारेर इट्टा तथा खुकुरीले आक्रमण गरीएको युवासंघ नेपाल मकवानपु–२ का अध्यक्ष किरणमान बलले जानकारी दिए । ‘म¥यो भनेर नालीमा फालेछन,पछी स्थानीयले थाहा पाएर उदर गरी एम्बुलेन्समा हालेर काठमाडौं ल्याए’–बलले भने । मकवानपुर–२ मा एमालेको विजय सुनीश्चीत बनीसकेकोमा अत्तालीएर मकवानपुरका वाइसीएलको समेत आग्रहमा कार्यकर्ताको मनोबल गिराउने हिसाबले आक्रमण गरीएको हुनसक्ने आशंका गरीएको छ । बल मकवानपुर–२ का स्वयमसेवक परीचालनका संयोजक समेत थिए । केही दिन अघि मात्र टिष्टुङ गावीसमा एमालेको भव्य सभा र त्यसमा एमाओवादीका कार्यकर्ता समेत एमालेमा प्रवेश गरेपछि उनीहरु अत्तालीएका थिए । यसैबिच घाइते बलले मार्ने नियतले आक्रमण गरेपनि बाच्न सफल भएको र पार्टीको अभियानमा रत्तीभर नडराई जुट्ने भन्दै ठिक भएपछि इट्टाको जवाफ पत्थरले दिने बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक