(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20131110

पिउनु पिएपछि खगेन्द्र संग्रौला बुढाले पासाङलाई अंकमाल गर्दै भनेछन् ‘एकबारको जुनीमा एउटा भोट त तिम्लाई नै हो’

- मात्रिका पौडेल 
दशैंअघि साहित्यकार खगेन्द्र संग्रौला रुखछाप थिए । उनले काठमाडौं ४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट दिने बाचामात्र गरेनन्, गगनका लागि आफ्नो टोलमा भोट मागेर पनि हिँडे । खैर, उनले माग्दैमा मतदाताले भोट दिने नदिने अर्कै पाटो होला । दशैंपछि बुढा फेरि एमाओवादी भएछन् । खगेन्द्रले गगनको भोट मागेको झोकमा एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङ राजावादी चिकित्सक भोला रिजालको घरमा पुगेर भोट मागे । उनले पनि खगेन्द्रकै शैलीमा पुनका लागि भोट मागिदिए । यति भएपछि त संग्रौला बाजेको ओठ मुख नै सुकेछ । यसबीचमा कसैले संग्रौलालाई खुसी पार्ने सूत्र पासाङलाई सुनाइदिएछ । अनि त के चाहियो र, एक साँझ पुन एक बोतल विदेशी सिलबन्दी सोमरस बोकेर चावहिल गणेशथानको संग्रौला निवास पुगेछन् । पिउनु पिएपछि बुढाले पासाङलाई अंकमाल गर्दै भनेछन् ‘एकबारको जुनीमा एउटा भोट त तिम्लाई नै हो’ । गणेशथानतिरका रैथाने यी दाजैका जम्माजम्मी दुई भोट छन् घरमा । तर, हरेक चुनावमा यिनले यस्तो हल्लाखल्ला गर्छन् कि, तराइतिरका मुखिया जिम्मुवालको जस्तै त्यो टोलका भोट उनकै इशारामा र्झछन् जस्तै बनाउँछन् ।एकबारको जुनीमा खगेन्द्र संग्रौलाले यस्ता नौटंकी गरेको यो पहिलोपटक पनि होइन । यो मनुवाले पढे र सुनेअनुसार ०४८ सालदेखि नै यिनले यस्तै गरेका हुन् । उनको एक भोटको हक सिर्फ उनलाई
छ, त्यसमा कसैले हस्तक्षेप गर्न पाउँदैन । भलै उनले यसपटक गगन र पासाङ दुवैलाई भोट हालेर एमालेका निर्मल कुइकेललाई खुदो पार्दैछन् । तर, यसबीचमा उनले बुटबलमा गएर बाबुराम भट्टराईको भोट माग्दा चाँहि कमालै बोलेछन् । संग्रौलाका अनुसार एमाओवादी बेहुला हो रे, अनि एमाले चाहिँ जन्ती । त्यसैले उनले भनेछन् ‘म चाँहि जन्तीको होइन, बेहुलाकै पक्ष लिन्छु, किनकि बेहुलाले नै हो खर्चबर्च लगायतको जोहो गर्ने’ । उमेरले मेरा बुबाको उमेरका यी बिपात लेखकले पहिलोपटक सत्य कुरा ओकलेछन् । किनकि खगेन्द्र संग्रौला कहिल्यै पनि जन्तीको पछि लाग्दैनन् । किनकि उनी बेहुलाका भातखरुवा -भत्कौरो, भातखौरे पनि भन्छन् कतिपय ठाउँमा) हुन् । भातखरुवा हुनुको स्वाद खगेन्द्रले जति अरु नेपाली लेखकले सायदै चाखेका होलान् ।बेहुलाको दूत बनेर अघि अघि जग्गेमा जानु, बेहुलाको पत्र बुझाउनु र मिठो मसिनो खाएर फेरि जन्ति र बेहुलासंग मिसिएर सनई र टेम्कोको तालमा नाच्नु नै भातखरुवाको पहिचान हो । खगेन्द्र संग्रौलाले आफ्नो वास्तविक पहिचान बटौलीमा पुगेर त्यहाँका जनतालाई दिएछन्, क्याबात । २०६२/६३ को जनआन्दोलनताका यी मनुवाका बारेमा एउटा चर्चा निकै चलेथ्यो । त्यसबेला हामी नेपाल वान टेलिभिजनमा काम गथ्र्यौं । गगन थापा, कुन्दन काफ्लेलगायतका विद्यार्थी आन्दोलनका जोदाहा हस्तीहरु हामीलाई आन्दोलनको समाचार संकलनका लागि खबर गर्थे । हामी क्यामेरा बोकेर पशुपति क्याम्पसतिर दौडन्थ्यौं । किनभने विद्यार्थीहरु आन्दोलनलाई रमाइलो र धेरैको ध्यान खिच्न केही न केही नयाँ शैली निकाल्थे । त्यसमा खगेन्द्र संग्रौलालाई पनि समावेश गर्थे कहिलेकाहीँ । बुढालाई बेलुका भएपछि चाबहिल चुच्चेपाटीको टिफिन होममा लगेर एक क्वार्टर चढाएपछि झाक्री डांग्रे बकेजस्तै खुवाउने मनुवा -उनको शव्दमा जन्ती) को पक्षमा बक्न शुरु गरिहाल्दा रहेछन् । भोलिपल्ट हात्तीपाइले अखबारमा आफ्नै प्रशंसामा कुन्साङ काकाको बकपत्र पढ्न पाइने भएकाले पनि त्यो बेलाका आन्दोलनकारीले खल्ती टक्टक्याउँदै भए पनि बुढाको खातिरदारी गर्दा रहेछन् । यो क्रम त्यतिकै रोकिएन । ०६४ को संविधानसभामा यिनले परिवर्तनको आँधी ल्याउने एमाओवादीका उम्मेदवारलाई सघाउलान् भनेको त कांग्रेसकी शुप्रभा घिमिरेका लागि भोट मागेर हिँडे । कान्तिपुर लगायत ठूला अखबारमा उनको अक्षर बिक्ने भएकाले विद्या भण्डारीको चरित्र हत्या गरेर एकदुई थान लेख पनि छपाए । कुराको चूरो त अहिले आएर पो खुल्दै छ, त्यसबेला यी ठालू लेखकले शुप्रभाको भातखरुवा भएवापत हजारमा होइन, लाखमै गोज्याएका रहेछन् । यसपालि भने बिचरा बिलखबन्दमा परे जस्तो छ । गगनलाई धोखा दिउँ भने टिफिन होमदेखिको हृयाङओभर अझै छ, पासाङलाई धोखा दिउँ भनें विदेशी मालले आन्द्रा रसाइसकेको छ । त्यसैले होला, उनी बाबुरामको भातखरुवो बनेर तिनाऊ खोलातिर लागेछन् । कता कता प्रचण्ड बाबुराम दुवैको भातखरुवा बनेर राजमार्गका भट्टीमा पनि भेटिए रे, मेची महाकाली अभियानका क्रममा भन्छन् साथीहरु । जे भए पनि बुढाको स्वादे जिब्रोको राम्रो खातिरदारी भयो नै होला । र, अन्त्यमा यो पनि ..संग्रौला विचारले सर्वहारावादी र व्यवहारले पेटी बुर्जुवा वर्गमा पर्छन् । यीनीसँग जोडिएका केही किस्सा, जुन लेखक, पत्रकार माझ निकै चर्चित छन् : -नारायण ढकाल, गोविन्द बर्तमान, झलक सुवेदी, हरि रोकाहरु यिनका साथी संगी । यिनले आफ्ना एक सन्तानको विवाहको अवसरमा यी साथी संगीलाई एउटा सामान्य रेस्टुरेन्टमा बोलाएर पार्टी दिएछन् । तामझाम किन गर्ने भनेर त्यसरी सामान्य हिसाबले पार्टी दिएको उनको जिकिर थियो । भोलिपल्ट कुनै पाँच तारे होटलमा आयोजित भव्य पार्टीमा भने उनले समाजका धनाढय र हुने खाने वर्गलाई डाकेछन् । आफ्ना वामपन्थी लेखक साथी कसैलाई बोलाएनन् । -केही वर्ष पहिले खगेन्द्रले कान्तिपुर दैनिकमा माधवकुमार नेपाललाई ‘माकुने’ भन्दै तथानाम गाली गरेर लेखेछन् । त्यसको केही दिनपछि स्याङ्जाको पुतली बजारमा उनी गएका बेला त्यहाँएक होटलमा माधवसँग उनको भेटघाट र खानपिन भएछ । कसैले ‘संग्रौलाजीलाई रेड लेबल भए पुग्छ’ भनेपछि माधव कमरेडले रेड लेबलकै व्यवस्था गरिदिएछन् । अनि त के चाहियो, त्यो साँझको भेटघाटपछि कुन्साङ काकाले कान्तिपुर माधव कमरेडको बडो स्तुती गरेर लेखेछन् । -एक पटक कनकमणि दीक्षितले भारतविरोधी विषयवस्तुको एउटा सेमीनारमा सहभागी गराउन खगेन्द्र संग्रौला लगायतका लेखकलाई श्रीलंका पुर्‍याएछन् । नेपालका केही लेखकलाई होटलसम्म पुर्‍याएर कनकले भने ‘म यहाँ बस्न मिल्दैन’ भन्दै टाप कसेछन् । त्यही कारण खगेन्द्र दाइलाई लौनचौरले दरै स्पष्टीकरण सोध्यो रे । सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, खगेन्द्र संग्रौलाको भातखरुवा बानी कहिल्यै नजाला । ( पौडेल सूचना तथा सञ्चारमन्त्रीका प्रेस सल्लाहकार हुन् )

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक