(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20131108

हाम्रा आफन्तहरुको रगतसंग साटिएको पैसा प्रचण्डले चुनाव प्रचारको लागि प्लेन चार्टरमा उडाईरहेका छन्

-लेखनाथ न्यौपाने 
सडकको एउटा गुमनाम मान्छे पुष्पकमल दाहाललाई जनयुद्ध र जनयुद्धमा बगेको पसिना, आँसु र रगतले प्रचण्ड बनायो । आश्चर्य, उनै प्रचण्ड अहिले जनयुद्धको अन्त्य र जनमुक्ति सेना विघटनको कारण बन्दै संसदीय व्यवस्थामा भव्य आर्थिक कमाउ बनेका छन् । प्रचण्ड–बाबुराम जनयुद्धभरि सपरिवार दिल्ली बसे । उनीहरूको विलासी जीवन चलाउन (भन्न त जनताको मुक्तिकै लागि भनिन्थ्यो) देशका अरू ठाउँ र राजधानीमा चन्दा उठाउँदा कैयौं कार्यकर्ता समातिए भने कैयौं आजसम्म बेपत्ता छन् । दिल्ली पुर्‍याउन बोरामा पैसाको भारी बोकेर हिंड्दा सयौं मारिएर शहीद भए । सीमा पार गर्दा र पार गरेपछि पनि भारतीय भूमिमा दर्जनौं समातिए र त्यहाँको जेलमा लामो समय थुनिए । जनताका छोराछोरीले उठाएको यस्तो जोखिम र बलिदानको कुनै लेखाजोखा छैन । मालिकको जीवन बिताएका प्रचण्डको परिवार भने सग्लै छ । हदैको स्खलन प्रचण्ड एशियाका धनीमध्येका राजनीतिक नेता हुन् भन्ने रिपोर्ट सार्वजनिक भएकै बेला राजधानी र राजधानी बाहिर उनको लगानीमा टावर (जस्तै मुक्ति, सीता टावर) हरू बन्दै गरेको खबरहरू सार्वजनिक भए । त्योअघि नै प्रचण्डको सुत्ने खाट, लगाउने घडी र केसमा दल्ने जेलको दामबारे चर्चा चलेको थियो । जुम्लाको चामल र जाजरकोटे च्याखुराको मासु उनको भान्सामा हुनैपर्ने चर्चा नसेलाउँदै छोरालाई सगरमाथा सयरमा दिएको रु.२ करोड र नातिको नाममा ब्याङ्कमा राखेको रु.२ करोडको समाचार सार्वजनिक भयो । त्यसपछि लाजिम्पाटको रातो बङ्गलाको मूल्य र स्वामित्व अनि लडाकू
शिविरमा भएको आर्थिक अनियमितताबारे एमाओवादीको भृकुटीमण्डप भेलामै प्रमाणसहित कुरा उठे । जनयुद्धका नायक, पीएलएका सर्वोच्च कमाण्डर र सर्वहारा वर्गका मुक्तिदाता क. प्रचण्डबारेका माथिका खबर र तथ्य विरोधीहरूको मिथ्या हर्कत मात्र हो भन्नेहरूलाई समेत लज्जित बनाउँदै उनी जहाज चार्टर गरेर संसदीय चुनाव (संविधानसभा भने पनि संसद्कै चुनाव हो) प्रचारको लागि बर्दिया पुगे, ज्ञानेन्द्र र ओवामा शैलीमा । तत्कालीन राजा बाहेक यस्तो घिनलाग्दो रवाफ अरूले नदेखाएकोमा कम्युनिष्ट, त्यसमा पनि सर्वहारा माओवादीमा २४० वर्ष शासन गरेका राजा जत्रै आर्थिक हैसियत कहाँबाट आयो भन्ने प्रश्न उठ्ने नै भयो । वास्तवमा, हाम्रा आफन्तहरूको रगतसँग साटिएको पैसा प्रचण्ड र एमाओवादीले संसदीय चुनाव प्रचारको निम्ति यो ढंगबाट छर्नु विकृति र स्खलन बाहेक केही होइन । गरीब किसान–मजदूरहरूलाई सत्ताको मालिक बनाउन गरिएको जनयुद्ध र यसले देखेको सपनाको हत्या यस्तो बीभत्स रूपले हुन्छ भन्ने कल्पना प्रचण्ड स्वयंले बाहेक शायदै कसैले गरेका थिए । त्यति ठूलो त्याग, समर्पण र बलिदानलाई प्रचण्ड र एमाओवादीले द्वन्द्वकाल र द्वन्द्वपीडित भनेका छन्, पुरानो सत्ताले जस्तै । जबकि, बाटो देखाउनेदेखि ज्यान फाल्नेसम्मका कामको योगबाट माओवादी यो ठाउँमा आइपुगेको हो र पुष्पकमल दाहाललाई प्रचण्ड पनि त्यसैले बनाएको हो । आफन्त र आफ्नै अंग गुमाउनेहरूको जीवन र दैनिकीलाई प्रचण्डको राजकीय ठाँटले नून–चूक छर्किरहेको देखाउँछ । तर, सतहमै देखिने यी पीडाले प्रचण्डको रौं पनि पोलेको देखिंदैन । पछुवाहरू भने फूलमाला लगाएर प्रचण्डलाई अझ् विकृतितिर जान उक्साइरहेका र थपडी बजाएर आफ्नै इतिहासको हत्यामा रमाइरहेका देखिन्छन् । त्यसैले यतिबेला प्रश्न उठ्छ, जनता र कार्यकर्ताले पसिना, आँसु र रगत प्रचण्डलाई कुवेर बनाएर विलासी जीवन जिउन सक्ने बनाउन बगाएका थिए कि जहाज चार्टर गरेर चुनावी नौटङ्कीमा नाच्न ? प्रचण्डको पछि लाग्नेलाई हेक्का छ? सिटामोल र जीवनजल खान नपाएर मरेका, सामान्य रोगले थलिएका छोराछोरीको उपचार गर्न नसकेर अस्पतालको छतबाट हाम्फालेर आत्महत्या गरेका र खाडीबाट दैनिक तीन चारवटा स्वदेश आउने लाश- यी घटना हिजो जस्तै आज पनि भई नै रहेका छन् । उनीहरूलाई छाड्दा पनि नदेखेका प्रचण्डको आह्वान र योजनामा ज्यान फाल्ने शहीदका बा-आमा र छोराछोरीको अभाव, बिचल्ली र विघटनको दैनिकीका ठूला ग्रन्थ बन्छन् । उनीहरूको जीवन र भविष्य डोरी छिनेको चङ्गा जस्तो छ । शरीरभरि गोली र पिप बगिरहेका घाउ बोकेका घाइतेहरूको उस्तै पीडा छ । जुन राज्य व्यवस्थाविरुद्ध ज्यान बाजी राखेर लड्न प्रचण्डले कासन गरे, आज त्यही व्यवस्थाको सुदृढीकरण गर्न जहाज चार्टर गरेर उनै दौडिरहेका छन् । यो बेइमानी हो कि योगदान भन्ने प्रचण्डको पछि लागेका द्वन्द्वपीडितलाई शायद हेक्का छैन । जहाज चार्टर गरेर प्रचण्डले गरेको चुनावी भाषणमा सुकुम्बासी, गरीब किसान र श्रमिक सर्वहाराहरू पनि थिए होलान् र भाषणमा उनले तिमीहरूकै लागि म जहाज चार्टर गरेर आएको हुँ पनि भने होलान् । सुकुम्बासी, गरीब किसान र श्रमिक सर्वहाराहरूको मनले त्यसो भन्ने प्रचण्डलाई स्वागत गरे कि दुत्कारे होलान् ? शहीद, बेपत्ताका परिवार र घाइतेहरूले ताली दिए होलान् कि गाली ? त्योभन्दा अचम्म यो छ कि, बुर्जुवाहरूले ढाँट्छन्, शोषण गरेर आफू धनी हुन्छन् तर देश र जनतालाई सधैं कङ्गाल बनाउँछन् भनेर कुनै बेला भन्ने प्रचण्ड नै आज त्यस्तै गरिरहेका छन्। नेपाली राजनीतिमा मुख्यतः कम्युनिष्ट पार्टीका नेताहरूले पटक पटक यस्तो धोकाधडी गरेका छन्, तर किन भन्ने प्रश्नको उत्तर खोज्न ढिला भइसकेको छ । जुन वर्गको निम्ति आन्दोलन (सशस्त्र वा निशस्त्र) संचालन हुन्छ त्यो वर्गको नेतृत्व नहुनु त्यसो हुनुको एउटा कारण हो । प्रचण्ड नै यसका उदाहरण हुन् । श्रमिक सर्वहारा मुक्तिको लागि भनेर थालिएको जनयुद्ध र यसको मुख्य नेतृत्व प्रचण्ड स्वयं भने मध्यम वर्गीय, बुर्जुवा बुद्धिजीवी थिए । सोच्ने तरिका इर्स्यालु हुने यो वर्गको मानिस सधैं माथिल्लो वर्गमा उक्लने उद्देश्य राख्छ । मौका पाउनासाथ आन्दोलन र वर्गलाई धोका दिने कारण त्यही हो । प्रचण्ड यसको जिउँदा उदाहरण हुन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक