20140114

प्रधानन्यायाधीश नै सरकार प्रमुख भएको बेलामा उहाँहरुमाथि यस्तो ज्यादती देखेर मलाई मन नै थाम्न गाह्रो भइरहेको थियो !

अधिकारी दम्पतीलाई भेट्न जाँदा !

- शारदा भुसाल झा 


गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दम्पतीले छोरा कृष्णप्रसाद अधिकारीका हत्यारामाथि कारबाहीको माग गर्दै पछिल्लोपटक अनशन बसेको अहिले तीन महिना पूरा भएको छ। यो अवस्थामा उहाँहरुको स्वास्थ्य स्थितिबारे चिन्ता लागेर मलाई साह्रै छट्पटी भइरहेको थियो। उहाँहरुलाई अब जे पनि हुनसक्ने, अवस्था एकदमै चिन्ताजनक भएको जानकारी मैले पाएकी थिएँ। मलाई देशमा न्याय नै मरेको र अन्यायमात्र भइरहेको आभास भएपछि म उहाँहरुलाई भेट्न मंगलबार बिहान ११ बजे वीर अस्पताल गएँ। इमरजेन्सी वार्डमा गई उहाँहरुको अवस्थाबारे चिकित्सकहरुलाई सोधेँ, ‘उहाँहरुलाई कसले हेरिरहेको छ र उहाँको स्वास्थ्यस्थिति कस्तो छ?’ 
मलाई कसैले कुनै जवाफ दिएन। कसैले पल्लो बिल्डिङको दुई तलामाथि उहाँहरुलाई राखेको छ, त्यहीं गएर सोध्दा हुन्छ भन्ने जवाफ दिएपछि म त्यत्तै गएँ। धेरै खुसामद गरेपछि बल्ल सुरक्षागार्डले मलाई त्यहाँ जान दिए। दोस्रो तलामा पुग्दा उहाँलाई सुरक्षा दिइरहेका प्रहरीलाई देखें। मैले सोधेँ, ‘के यो कोठामा अधिकारी दम्पती हुनुहुन्छ?’
ती प्रहरीले भने, ‘उहाँलाई भेट्न त पाइँदैन।’
मैले भनेँ, ‘म उहाँलाई भेट्न बेलाबेला आइरहन्छु, अहिलेसम्म यसरी रोकिएको थिएन, म त जसरी पनि नभेटी नजाने।’ प्रहरीले भने, ‘भित्र सई साहेब हुनुहुन्छ, म उहाँलाई सोधेर आउँछु।’ मैले भनेँ, ‘मेरो परिचयपत्र यो हो, उहाँलाई देखाउनुस्। अधिकारी दम्पतीलाई नै सोध्नुस्, मलाई उहाँले राम्ररी चिन्नुहुन्छ। म उहाँकी बैनी हो। उहाँले भेट्न आएको
जानकारी पाएपछि मलाई भेट दिनुहुन्छ।’
प्रहरी भित्र गए।
ढोका अलि खुल्लै थियो। मैले भित्र हेर्दा चारजना पुलिस सुतेका थिए। १५ मिनट उभिएपछि ती प्रहरी बाहिर आए र ‘हुन्छ आउनुस्’ भनेर भित्र लगे।
म भित्र जाँदा उहाँहरुको अवस्था सोचेभन्दा चिन्ताजनक पाएँ। उहाँहरुलाई देखेर भक्कानो छोडेर रुन मन लाग्यो। देशमा साँच्चै कानुन मरेको यो ज्वलन्त उदारण होजस्तो भान भयो। प्रधानन्यायाधीश नै सरकार प्रमुख भएको बेलामा उहाँहरुमाथि यस्तो ज्यादती देखेर मलाई मन नै थाम्न गाह्रो भइरहेको थियो तर म रुन सकिन। त्यहाँ ती पुलिसका अगाडि म आँसु बगाउन र रोएर उहाँहरुलाई झन् कमजोर बनाउन चाहन्नथें।
मैले ‘दाइ, म शारदा भुसाल’ भनेपछि नन्दप्रसाद दाइले आँखा खोल्नुभयो। बिस्तारै बिस्तारै उघ्रेका ती आँखा देख्दा एकदमै पीडा भएर आयो।
‘मलाई चिन्नुभयो’ भनी सोध्दा विस्तारै ‘अँ’ भन्नुभयो। मैले नन्दप्रसाद दाइकी श्रीमतीलाई पनि ‘दिदी’ भनेर बोलाएँ। उहाँले त आँखासम्म खोल्नुभएन। उहाँको अनुहार पहेँलो देखिन्थ्यो। हात र अनुहार चिसो थियो। खुट्टा छुन खोजेको छुन दिनुभएन। अलि तातैजस्तै थिए।
उहाँले भन्नुभयो, ‘मेरो चिन्ता छ भने हाम्रो समस्या समाधानतिर लाग्नु।’
नन्दप्रसाद दाइले भन्नुभयो, ‘अब हामी लाचार भयौं, हामी हत्यारालाई कारबाही गर्न सक्दैनौँ, हामी उनीहरुलाई कारबाही नगर्न लाचार भयौं भनेर यदि लिखित रुपमा सरकारले माफी मागे हामीले अनशन तोड्छौँ, हैन भने हत्यारालाई कारवाही गर्नुपर्यो। अब हप्ता दिनमा पनि सरकार पक्षले हाम्रो माग सुनुवाइ गरेन भने हामी यो स्लाइन पनि चढाउँदैनौँ। अब यो अनशनलाई निरन्तरता दिई यसै मर्छौँ।’
मैले उहाँहरुको तस्बिर खिचेँ। उहाँको अनुहारको भावमा तस्बिर खिच्नसमेत मनाही गरेको महसुस हुन्थ्यो। पछि पुलिसले ‘किन नसोधी तस्बिर खिचेको’ भन्दै थिए। मैले भनेँ, ‘तपाईंहरुको खिचेकी छैन, दाइको मात्र खिचेकी हुँ।’
नन्दप्रसाद दाइले मलाई भन्नुभयो, ‘मलाई यहाँ भेट्न आउनुभन्दा सरकारलाई मेरोबारे जानकारी गराइदिनू। भनिदिनू लिखित माफी मागे हामी अनशन तोड्न तयार छौँ।’
 - Setopati

मुखमा पानी र पेटमा अन्न नपरेको मंगलबार ८३ दिन भयो । 
वीर अस्पतालको स्पेसल वार्डमा एउटा शय्यामा नन्दप्रसाद अधिकारी मूढोजस्तै लडिरहेका छन्, अर्कामा उनकी पत्नी गंगामाया अचेत प्रायः छिन् ।
उनीहरूको मुख सुख्खा छ । र्‍याल र थुक आउन छाडेको धेरै भइसक्यो । चिकित्कसले स्लाइन दिएर प्राण जोगाइदिएका छन् । छोराको हत्या गर्नेमाथि कारबाहीको माग राखेर उनीहरू आमरण अनशनमा पटक-पटक बसेका भए पनि यति लामो अवधि भएको यो पहिलो हो ।
ज्यानै जाने खतरा देखिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा केही अधिकारकर्मीले आयोग अधिकारीसँग मंगलबार छलफल पनि गरे । त्यसअघि सोमबार अधिकारी दम्पतीलाई भेटेर उनीहरूले ज्यानै जोखिममा पारेर अनशन जारी नराख्न आग्रह गरेका थिए । तर उनीहरूले अनशन तोड्न मानेनन् । 'जहिलेसम्म हाम्रो माग पूरा हुन्न तबसम्म अनशन तोडिँदैन,' इसाराको प्रयोग र सासका भरमा नन्दप्रसादले मुस्किलले भने, 'छोराको हत्यारालाई कारबाही होस् ।'
अस्पतालको रेखदेखका कारण मात्रै सास धानिरहेका उनीहरू पहिले पनि पटक-पटक अनशन बस्दै आएका थिए । महिनौंदेखि वीर अस्पताल बस्दै आएका उनीहरूले पछिल्लो अनशन कात्तिक ७ गतेबाट थालेका थिए ।
अनशनमा उनीहरूको स्वास्थ्य बिग्रँदै गएपछि केही दिनअघि सरकारले छानबिन समिति पनि गठन गरेको थियो । चितवन प्रहरीले उनका छोरामाथि गोली चलाउनेको पहिचान गरेको पनि बताएको छ । यी सबै विकासक्रम अनशनकै उपलब्धि मानेर त्यसलाई तोड्न उनीहरूलाई सरकारका तर्फबाट पनि दिनहुँजसो अनुरोध भइरहेको छ । तर दम्पतीले त्यसलाई 'कुरा मात्रै भएको अर्थमा' लिएकाले अनशन तोड्न मानेका छैनन् ।
उनीहरूका १७ वषर्ीय छोरा कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले २०६१ जेठ २४ गते अपहरण गरी हत्या गरेका थिए । हत्या माओवादीले नै गरेको पुष्टि भएपछि उनीहरूले अभियुक्तहरूविरुद्ध कारबाही हुनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए, ९ वर्षअघि ।
तर प्रहरीले कुनै पनि अभियुक्तहरूविरुद्ध अनुसन्धान नथालेपछि आन्दोलनमा उत्रेका अधिकारी दम्पती गोरखाकै नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि 'न्याय पाऊँ' भन्दै उनलाई भेट्न काठमाडौं आएका थिए । भेट नपाएपछि प्रधानमन्त्री निवास बालुवाटारमै अनशन बस्न थालेका थिए ।
प्रहरीले कहिले उनीहरूलाई समातेर गोरखामै पुर्‍याई छाडिदिने, कहिले अस्पताल लगेर भर्ना गरिदिने गर्दै आएको थियो । गत जेठ ३१ गते प्रहरीले उनीहरूमा पागलपन भएको भन्दै मानसिक अस्पतालमा भर्ना गरिदिएको थियो । त्यसको सर्वत्र आलोचना भएपछि अस्पतालले उनीहरू मानसिक हिसाबले स्वस्थ्य नै भएको भन्दै असार ७ गते डिस्चार्ज गरिदिएको थियो । अस्पतालबाट निक्लेको केही क्षणमै उनीहरू अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटेर आफ्ना कुरा राख्न बालुवाटार पुगेका थिए । त्यहाँ पहिलेजस्तै प्रहरीले रोकेपछि उनीहरू सडक पेटीमै आमरण अनशनमा बसेका थिए । अनशनमा बसेको आठौं दिन अधिकारी दम्पतीको हालत नाजुक बन्दै गएपछि उनीहरूलाई प्रहरीले वीर अस्पताल लगेर छाडिदिएको थियो ।
अस्पतालमा पनि उनीहरू थुप्रै साता अनशनमै बसेपछि स्लाइन दिएर उनीहरूको ज्यान जोगाइएको थियो । मन्त्रिपरिषद् अध्यक्ष रेग्मी आफैं भेट्न गएर उनीहरूको माग पूरा गर्न कुनै कसरी बाँकी नराख्ने आश्वासन दिएर अधिकारी दम्पतीलाई अनशन तोड्न आग्रह पनि गरेका थिए । सरकारकै निर्देशनमा प्रहरीले रामप्रसाद अधिकारीलाई भदौ २० मा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
अधिकारीविरुद्ध अनुसन्धान भएको भन्दै सरकारले आग्रह गरेपछि उनीहरूले अनशन बसेको ४५ दिनपछि भदौ २२ मा त्यसलाई तोडेका थिए । प्रमाण नपुगेको भन्दै अधिकारीलाई सरकारी चितवनका वकिलले मुद्दै नचलाई असोज १६ मा छाडिदिएपछि रुष्ट अधिकारी दम्पतीले न्याय नपाएको भन्दै फेरि अनशन सुरु गरेका हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक