20140218

संविधानसभाको अध्यक्ष पदमा एमाले नेता सुवासचन्द्र नेम्वाङ मंगलबार निर्विरोध निर्वाचित

‘सुवास नेम्वाङ यस्ता शिक्षक हुन्, जसको क्लासमा विद्यार्थीहरु सुत्न, हल्ला गर्न, लाष्ट बेञ्चमा बसेर दोहोरी गाउन र पछाडिबाट केटीलाई चकले हान्न पाउँछन् ।’ :  कमल थापा
 संविधानसभाको अध्यक्ष पदमा एमाले नेता सुवासचन्द्र नेम्वाङ मंगलबार निर्विरोध निर्वाचित भएका छन् । पूर्वसभामुखसमेत रहेका नेम्वाङ दोस्रोपटक निर्विरोध चुनिन सफल भए पनि संविधानसभाभित्रै आलोचनाबाट
मुक्त चाँहि बन्न सकेनन् । ‘सुवास नेम्वाङ यस्ता शिक्षक हुन्, जसको क्लासमा विद्यार्थीहरु सुत्न, हल्ला गर्न, लाष्ट बेञ्चमा बसेर दोहोरी गाउन र पछाडिबाट केटीलाई चकले हान्न पाउँछन् ।’ राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंगलबार एक व्यक्तिको यस्तो टि्वट पढेर सुनाउँदा सभासदहरुमा हाँसो छायो । संविधानसभा अध्यक्षका उम्मेद्वार नेम्वाङ समेत असजिलो मान्दै हल्का मुस्कुराए । अन्तरिम व्यवस्थापिका संसद र पहिलो संविधानसभाको समेत अध्यक्षता रहेका नेम्वाङले पहिलो संविधानसभामा निर्वाह गरेको भूमिकालाई लिएर मंगलबार संविधानसभा बैठकमा प्रशस्तै टीकाटिप्पणी भयो । नेम्वाङले आफ्नो विषयमा उठेका सकारात्मक-नकारात्मक दबै टिप्पणीलाई गम्भीरतापूर्वक सुने । व्यक्तिगत रुपमा नेम्वाङलाई सबैले विद्वान एवं शालीन व्यक्तिको संज्ञा दिए पनि पहिलो संविधानसभाको अन्तिम दिन बैठक नबोलाएकोमा उनको आलोचना भयो । दोस्रो संविधानसभाबाट निर्वाचित सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई निर्विरोध निर्वाचित गर्ने बैठकमा बोल्ने अधिकांश नेताहरुले शालीन व्यक्तित्व भन्दै नेम्वाङका सदगुणहरुको मुक्तकण्ठले प्रशंसा गरे । तर पनि उनको पछिल्लो भूमिकामाथि भने प्रश्नहरु उठेका छन् । संविधासभामा ठट्यौलो टि्वट पढिसकेपछि राप्रपा नेपालका अध्यक्ष थापाले नेम्वाङको अघिल्लो कार्यकालको मूल्यांकन गर्दै भने, ‘गत संविधासभा र व्यवस्थापिका संसदमा जे-जस्ता किसिमका आरोह अवरोहरु यो सभाकक्षमा मञ्चन भए, कता-कता शिक्षककै भूमिका निर्वाह गरिरहेको पनि हामी देख्ने गथ्र्यौं । निश्चय नै आगामी दिनमा यसमा ध्यान दिनु नै हुनेछ ।’ नेम्वाङका प्रस्तावक एमाले नेता केपी ओलीले नेम्वाङलाई दलीय निन्त्रणभन्दा बाहिर रहेर सबै दलको अध्यक्ष बन्न सक्ने व्यक्तित्वको संद्दा दिएका थिए । कानून र राजनीतिका ज्ञाता, शालीन व्यक्तित्वको संज्ञा दिँदै ओलीले नेम्वाङमा ४० वर्षको कानूनी अनुभव भएको बताएका थिए । प्रस्तावका समर्थक कांग्रेस नेता केपी सिटौलाले पनि नेम्वाङको प्रशंसा गरेका थिए । तर, संविधानभा बैठकमा बोल्ने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले चाँहि नेम्वाङसँग आफ्नो राम्रो सम्बन्ध रहे पनि ०६९ जेठ १४ गते संविधानसभाको बैठक नडाकी कमान्ड नसम्हालेकोमा नेम्वाङको आलोचना गरे । संविधानसभामा दलित जनजाति पार्टीको विश्वेन्द्र पासवानले पनि नेम्वाङको कार्याकालमा नियमावली पीडादायक रहशेको भन्दै साना दलका नेताले कोल्ने अवसर नपाएको गुनासो पोखेका थिए । इलाममा न्यायाधीशको परिवार जन्मिएका एमाले नेता नेम्वाङको सबैभन्दा सकारात्मक गुण भनेको उनी असाध्यै मृदुभाषी छन् । नेम्वाङ कसैलाई पनि बिझाउने र मन दुखाउने गरी बोल्दैनन् । आफ्ना आलोचकलाई तुरुन्तै प्रतिक्रिया दिइहाल्ने नेम्वाङको बानी छैन । लामो समय कानून व्यवसायी पेशामा रहेका नेम्वाङ पहिलो संविधानसभा विघटन भएपछि पनि आफ्नै पेशामा सक्रिय भएका थिए । नेम्वाङका कमजोरी व्यक्तिगत रुपमा सर्वगुण सम्पन्न भए पनि छिटो निर्णय गर्न नसक्ने, कमाण्ड नसम्हाल्ने र अन्तिम घडीमा नेकपा एमालेको स्वार्थलाई ‘क्रस’ गर्न नसक्ने जस्ता आरोपहरु नेम्वाङमाथि लागेका छन् । पछिल्लो समयमा संविधानसभा भवनमा सभासदहरुले बैठकको माग गर्दै नाराबाजी गरिरहँदा पनि नेम्वाङले बैठक नबोलाएको भन्दै उनीमाथि असक्षमको आरोप लागेको छ । मंगलबार एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभामा बोल्दै नेम्वाङलाई पहिलो संविधानसभाका ‘असफल’ सभामुखको संज्ञा दिका छन् । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले संविधानसभामा पुरानै असफल नेता र सभाध्यक्ष हुँदा संविधान नबन्ने खतरा बढेको बताएका छन् । अघिल्लो र अहिलेको संविधानसभामा रहेका प्रमुख दलहरुको सिट हेरफेर भए पनि पत्र चार वर्ष लगाएर संविधान बनाउन नसक्नेहरु नै भएको भन्दै उनले पुरानै भूल दोहोरिने खतरा औंल्याए । संविधानसभा अध्यक्ष चयनका लागि मंगलबार बसेको संविधानसभाको मंगलबारको बैठकमा प्रचण्डले भने-’हामी सबै असफल नेताहरु हौं । दुई वर्ष भनेको चार वर्ष लगाएर पनि संविधान बनाउन नसक्ने नेताहरु अनि संविधानसभाको अध्यक्ष सुभास नेम्वाङ पनि सफल नभएको, संविधान बनाउन नसक्ने अध्यक्षका रुपमा पनि उहाँ हुनुहुन्छ । यो कुरा हामी बिर्सन सक्दैनौं ।’ प्रचण्डले अघि थपे-’हामीले यदि निर्मम ढंगले इतिहासको समिक्षा गरैनौं भने हाम्रा कमीहरु कहाँ भए भनेर समिक्षा गरेनौं र अबको दिनमा हामी यसो गर्ने छैनौं भन्ने संकल्प गरेनौं भने हामीबाट हुन जाने कुरा पुरानै हुन्छ । पुरानै भूल दोहोरिने र संविधान नबन्ने खतरा छ ।’ अघिल्लो संविधानसभा विघटन हुनुको कारण कोट्याउँदै प्रचण्डले ०६९ जेठ १४ गते संविधानसभाको बैठक नै नबसी सविधानसभा विघटन हुनुमा शीर्ष नेताहरुसँगै नेम्वाङ पनि जिम्मेवार रहेको बताए । त्यतिबेला सभाध्यक्षले हाउसमै जाउँ भनेको भए सायद एउटा नयाँ कमाण्डर हुनुहुन्थ्यो भन्दै उनले भने-’अब त्यस्तो विवाद आएछ भने पनि हामी त्यसको निर्णय यही सार्वभौम संविधानसभामा आएर गर्नेछौं र कुनै नेताको कोठामा बसेर गर्ने छैनौं, यो प्रतिज्ञा गर्न जरुरी छ ।’ कांग्रेस र एमालेले संख्याका बलमा पेल्न खोज्यो एमाओवादी अध्यक्ष प्रचण्डले ठूलो दल भएपछि कांग्रेस र एमालेले सहमतिको कुरा गर्ने तर, बहुमतले पेलेर जान खोजेको भन्दै यसले दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिए । उनले भने- विहानले दिउँसो देखाउँछ, बिहान कुहिरोले ढाकेजस्तो भयो भने अस्ति हवाइ दुर्घटना पनि भयो, त्यस्तो परिघटना हुन्छ भनेर अनुमान गर्न सकिन्छ ।’ आफूहरु शान्ति प्रक्रियाको प्रमुख पक्ष र देशलाई संविधानसभाबाट संविधान बनाउने अवस्थामा लैजाने प्रमुख पक्ष भएको भन्दै उनले भनेका छन्-तर, जतिबेला सहमति भयो । दुई ठूला पार्टीहरुले तेस्रो दललाई थाहा पनि नहोस् भने झै गरी अलिकति रहस्यमय, अलिकति परम्परागत शैलीलाई कायम राख्दै, संख्याको बलमा पेले हुन्छ भने झै गरी सातबुँदे सम्झौता गर्नुभयो ।’ आफूहरु १२ बुँदे सहमति पक्षबीच सहमतिको प्रयासमा रहेका बेला सातबुँदे सम्झौताले सहमतितिर नभई दुई पार्टी मिलेर बहुमत भएपछि जे गरेपनि हुन्छ भन्ने मनसाय देखिएको र यसको परिणम समेत नराम्रो भएको बताए । ‘हामीलाई त्यहाँनिर नमीठो लाग्यो’ लोकतन्त्रको मूल्य मान्यता अनुसार प्रतिपक्षलाई सभामुख दिइने, अघिल्लो पटकको नजिर र यो समग्र प्रक्रियाको साझेदार भएकाले सभामुखमा आफूहरुको दावी थियो भन्दै प्रचन्डले भने, तर त्यस्तो भएन, त्यहाँनिर नमीठो लाग्यो, हामीलाई अब के होला भन्ने चिन्ता छ ।’ प्रचण्डले यसो भनिरहँदा प्रधानमन्त्री सुशील कोइराला मुस्कुराएका थिए । संविधानसभालाई सहमतिबाटै अघि बढाउनुपर्छ भनेर सभाध्यक्षमा उम्मेदवारी नखिएको भन्दै उनले यसलाई कमजोरी नठान्न कांग्रेस र एमालेलाई चेतावनी दिए । एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ संविधान बनेको भोलिपल्टबाट त्यसविरुद्ध गतिविधि नहोस् भनेर बाहिर रहेकालाई समेत समेटेर लानुपर्ने बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक