20140226

दिलसोभा र आमाको घर प्रकरण इति ब्रितान्त हेर्नुस : एन्जिओ वालाहरुको टाउको दुखाइ बनेकी दिलसोभाका बिरुद्ध सबै एन्जिओ वालाहरु एक हुने छन र उनलाई दोसी साबित गर्न अनेकौँ खेल हुने छन !

* दिलसोभाले यदी गलत काम गरेको प्रमाणित भए हदै सम्मको
कार्वाहीको भागी हुनुपर्छ यदी होइन भने आमा घर सँचालनको लाइसेन्स नभएको, आमाघर भित्र फोहोर, दुसित पानी, गुणस्तरको खाना नभएको बहनामा उनलाई फसाउनु ठुलो अपराध हुने छ । सरकारले कहाँ दिएको छ सुद्ध पानी ? कहाँ छ ब्यबस्थित ? कहाँ छ नियम कानुनको पालना ? सरकार आफुले नि नगर्ने अनी दिलशोभाले मात्र कानुन पालना गर्नु पर्ने किन ??
* बाल बालिका तथा महिला र अधिकारको कुरा गर्ने अनी डलर कुम्ल्याउनेहरुले षड्यन्त्र गरेर दिलशोभा लाई फसाउन लागेका त होइनन ?? त्यसैमा एक बोतलमा बिक्ने केही पत्रकारहरु पनि प्रयोग भएका त होइनन ?? भनेर अहिले जनमानस बाट प्रश्न उठ्न थालेको छ । 
* यो घटना पछी अब ........................ 
 - दिलशोभा उनकै भनाइमा एक अनपढ तर दिल भएकी र सेवाकी खानि हुन उनले बालबालिका, महिला, बुढाबुढिको सेवा गर्न लाइसेन्स चाहिन्छ भन्ने जानिनन त्यसैले आमा घरको लाइसेन्स लिएकी थियिनन । 
 - हुन सक्छ त्यहा भित्र फोहोर होला, सफा पानी नहोला, भद्रगोल बसाइ होला, गुणस्तरको खाना नहोला, के त्यो कुनै सरकारी अनुदान मा चलेको संस्था हो र ? सरकारले के गरेको छ दिलशोभाहरु को आमा घर लाई ??
- समाजसेवामा आफ्नो जिबन समर्पण गरेकि एक अबोध अशिक्षित दिलशोभाले हिसाब किताब अडिट गराउन जानिनन रे के अब उनलाई कार्वाही गर्ने ?? 
 - यदी उनि माथि अन्याय गरियो भने नेपाल मा पछील्लो पटक अलिकती देखिएको सामाजिक भावना पनि मरेर जाने खतरा छ नेपाल मदर डट कमलाई यस्तो लाग्यो । अब उनी सँग सम्बन्धित बिभिन्न समाचार टिप्पणी हरु हेर्नुस् :

आफूलाई लागेको आरोपबारे दिलशोभाको सार्वजनिक साविती 'हो, म काम गर्नेलाई राति सुत्न पठाउँथे, तर एउटी अशक्त बृद्धासँग'


काठमाडौँ रविभवनस्थित आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठले यौनदुराचार गर्न बाहिर मान्छे पठाउने गरेको खबर पत्रिकामा छापिएपछि उनले पत्रकार सम्मेलन गरेर आफूले त्यसो गरेको भए प्रमाणित गर्न चुनौती दिएकी छन्।
जुन अडियोलाई प्रमाण मानेर समाचार लेखिएको छ, त्यो कुराकानी सही भएको तर आफूले यौन दुराचार गर्न नभई राधिका
मानन्धर भन्ने वृद्धालाई रातीमा हेरविचार गरी सँगै सुत्न पठाउने गरेको बताइन्। पत्रकार सम्मलेनमा दिलशोभाले यस्तो भनिन्:
'आजको पत्रिकामा जे आएको छ बालबालिकालाई क्राइटेरिया पुर्‍याएर मैले राख्न सकिन, मलाई केही कानुनका कुरा थाहा छैन,' उनले भनिन्,  'तर मैले बुझिन यौन दुराचार गरेको भनेको के हो? मलाई यौनदुराचार गरेको भनेकोमा साह्रै दुख लागेको छ।त्यस्तो लेख्ने को हो मलाई चिनाइदिन पर्‍यो। मैले आफूले आश्रय दिएर राखेका कसैलाई पनि काम गर्न बाहिर पठाएको छैन तर काम गर्ने धर्मकुमारी थापाले भने एकजना धनी आमा छ, राधिका मानन्धर उनैकोमा गएर काम गर्छ। यी नानी यहाँ काम गर्न आएकी थिइन, ८ हजार तलब मागेकी थिइन् तर मैले पाँच हजारभन्दा बढी दिन सकिन। त्यो राधिका आमाका छोराछोरीले यहीँ कोही मान्छे पठाएर हेरविचार गरिदेउ भने अनि मैले यसलाई पैसा दियौ भने काम गर्छे भनेर पठाएकी हुँ। उनले यसलाई पठाउँदा उसले माया गर्छ त भनेर सोधिन अनि मैले तपाईँले यसलाई माया गरेर पैसा दिनु भयो भने तपाईँलाई बेलुका खाना खुवाउन आउँछ, राति सँगै सुत्छ र बिहान पनि चिया खुवाएर आउँछ पनि भनेकी हुँ।उनीहरुले यिनलाई नचिनेको भएर मैले उसले कस्तो कपडा लगाएर आउँछ भनेर टेलिफोन गरेकी थिएँ।'
त्यसपछि राधिका मानन्धरकहाँ काम गर्न जाने गरेकी धर्मकुमारी थापाले बोलिन्, जो पहिले सिंहदरबार बैद्यखानामा सुरक्षा गार्डको काम गर्ने गर्थिन्। उनले आफू राधिका मानन्धरकहाँ स्याहार गर्न जाने गरेको यसरी बताइन्:
'पत्रिकामा यस्तो झुटो आरोप छापेकोमा दुःख लागेको छ, सरकारले जे लेखे नि हुन्छ भन्देको छ कि?' हाम्रो चाहिँ इज्जत हुँदैन? जसले जे लेखे नि हुन्छ? मैले यहाँ काम गर्न थालेको एक महिना भयो कालिमाटी त्यो आमाकहाँ जान थालेको माघ १६ गते देखि हो। जे पायो त्यही लेख्न त भएन नि। जस्ले त्यस्तो लेखेको हो उसले माफी माग्न पर्छ, खुट्टा ढोगेर माफी माग्न पर्छ।'
उनले यसो भन्दा दिलशोभाले माफी र खुट्टा ढोगेर मात्र नहुने भनेकी थिइन्। फेरी दिलशोभाः
'राधिका मानन्धर जहिले पनि यहाँ आउँथिन, १५ दिन कहिले एक महिना बस्ने गर्थिन। यहाँ आएपछि उनी जानै मान्दिनन्। उनीहरु धनी छन् मैले गरिबआमाहरुलाई त राम्रो व्यवस्थासहित राख्न गाह्रो भैराखेको छ त्यो धनी आमालाई मैले कसरी राख्न सक्छु? अनि उनीहरु धनी भएकाले यहाँ राख्दा इज्जत पनि हुँदैन, बरु म त्यहीँ मान्छे पठाइदिन्छु भनेर यी नानीलाई पठाएकी हुँ। जहाँ गएर गरे नि, हामीले सेवा गर्ने त हो नि। आफूले त्यस्तो यौनदुराचार गर्न कसैलाई कतै पठाएको छैन। टेलिफोनमा त्यो आमाकहाँ यी नानीलाई कुराकानी हुँदा आफूकहाँ काम गर्ने संगीता तामाङ, अप्सरा गुरुङ भएको र तिनैले मिडियामा यस्तो खबर पुर्‍याइिदएको हुनसक्छ। मलाई त यसरी फोनमा बोलेको आउँछ भन्ने नि थाहा छैन, यसमा (पत्रकारका रेकर्डर देखाएर) बोलेको आउँछ भन्ने चाहिँ थाहा थियो।'
'हो, बालबालिकालाई मैले राम्रोसँग राख्न सकिन। के के क्राइटेरिया पुगेन। मैले नितिनियम थाहा पाइन।त्यसमा मलाई दुख लागेको छैन। तर यौन दुराचार भनेको के हो र मैले कहाँ कैले गराएँ त्यो मलाई चाहिन्छ।'
'हो मैले बढीभएको चामल बेच्थेँ र अरु सामान किन्थेँ अरुले दिएका यस्ता सामान कुहीने डर हुन्छनी। बच्चाहरुको कपडा त नयाँ आएकै छैन त्यस्ता सामान मैले कहिले बेचेको छैन।'
'उँहाहरु आएर राम्ररी पाल्छु तपाईँकोमा राम्रो भएन भनेर बच्चाहरु लगे त्यो पनि मेरै राम्रोका लागि होला। मलाई त्यसमा त्यति दुख छैन। मैले सडकमा सुतेका बच्चाहरुलाई, आमाहरुलाई उठाएर ल्याएकीँ हुँ। मैले त्यसरी सडकमा सुतेका बच्चा र बुढीआमाहरुलाई देख्न सक्दीन। यहाँ बस्नलाई कसैको सिफारिस चाहिँदैन नागरिकता चाहिँदैन। आमाकोमा आउन कुनै धर्म जातको मान्छे भनेर भेदभाव हुँदैन तर मान्छे सडकमा सुत्न चाँही भएन। त्यस्तो देखे मैले लिएर आउँछु।'
यहाँ दुईजना स्टाफ थिए, संगीता तामाङ र अप्सरा गुरुङ। अप्सरा गुरुङ त खै कुन एनजीओ छोडेर यहाँ काम गर्छु भनेर आएको हो। उ आउने बेला मलाई दशपन्ध्रहजार देउ मैले एनजीओमा धेरै पैसा कमाउँथे तर यहाँ म सेवा गर्छु भनेर आएकी हुँ भन्थिन्। तर मैले बढीमा ८ हजार भन्दा दिन सक्दैनथिएँ। दिइन। पछि त उसले म यहाँ डाटा कलेक्सन गर्न आएको हुँ भन्थी। पैसा बढाइदे पनि भनेको थियो। पछि त्यो बाल कल्याण समितिको अफिसरले मलाई काम गर्ने बैनीलाई पनि काम गर्न नदिएर निकाल्नु भो भनिन। उसले व्यवस्थित गर्छु भनेर आएको थियो तर राम्रोसँग काम गर्न भने नसकेर गएको हो।' - प्रस्तुति: शोभा शर्मा /तस्विर प्रकाश लामा/ सेतोपाटी

‘आमा घर’की सञ्चालिका दिलशोभा श्रेष्ठले आश्रमका नाममा यौन दुराचार गरेको प्रमाण ल्याउन चुनौती दिएकी छिन् ।
बृद्धाश्रममा रहेकाहरुलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात विताउन पठाएको समाचार सार्वजनिक भएपछि दिलशोभाले पत्रकार सम्मेलन गरेर खण्डन गरेकी छिन् । उनले भनिन्-’यौन दुराचार भनेको मैले कुरा बुझिँन । त्यो कुराले मलाई साह्रै चित्त दुख्यो । लेख्ने मान्छे र रिपोर्ट दिने मान्छेलाई जसरी भएपनि भेटाइदिनुपर्‍यो । गरेको हो भने प्रमाण चाहियो । अरु केही थाहा छैन ।’
आफ्नो आश्रममा खाना पकाउने काम गर्ने धर्मकुमारी थापा क्यान्सरले थलिएकी ८९ राधिका मानन्धरलाई राति साथी बस्ने काम गर्न गएको उनले बताइन् । ‘यो नानीले म आजै जान्छु भनेपछि मैले आमालाई फोन गरेर रातो लुगा लगाएको नानी आउँछ । तपाईलाई धेरै माया गर्छ । तर, १०००/१५०० दिनुपर्छ नि भनेर फोन गरेको थिएँ’ उनले भनिन्-त्यसलाई नै भरेर-रेकर्ड गरेर) राखेछन् । मोबाइल भरिन्छ भन्ने समेत थाहा थिएन ।’
उनका अनुसार मानन्धर आफ्नो आश्रममा बस्न रुचाउने तर, छोरा छोरीले हाम्रो बेइजत हुन्छ भनेपछि फकाएर घरमा लगिएको हो । ‘राधिका आमाको कान्छी छोरी डाक्टर छिन् । छोराहरु व्यापार गर्छन्’ उनले भनिन्-आमा भने म कहाँ आएपछि जानै नमान्ने । छोरा छोरीले हाम्रो बेइजत हुन्छ भनेपछि मैले फकाएर पठाएकी हुँ ।’
हाम्रो चाहीँ इज्जत हुँदैन
उनीसँगै रहेकी थापाले आफू माघ १६ गतेबाट राधिकाकोमा काममा गएको बताइन् । ‘मैले नै भनेर काममा गएकी हुँ’ उनले भनिन्-’क्यान्सरको विरामी भएकाले राति बाहिर भित्र गर्न साथी बस्न गएकी हुँ ।’

केही पहिलेसम्म बैद्यखानामा सुरक्षा गार्डको काम गरेकी उनकी छोरी छन् । ‘छोरीलाई पढाउन यो दुःख गरिरहेकी छु’ उनले भनिन्-’यो कुराले मन दुःखेको छ । हाम्रो चाहिँ इज्जत हुँदैन ?’
उनले समाचार लेख्ने र उजुरी दिनेले आफूहरुसँग माफी माग्नु पर्ने बताइरहँदा सँगै रहेकी दिलशोभाले भनिन- माफी मागेर मात्र हुन्छ ? प्रमाण चाहिन्छ मलाई प्रमाण ।’
दिलशोभाका अनुसार आफूले थापालाई काममा पठाउने कुरा फोनमा गरिरहँदा आश्रममा काम गर्ने अप्सरा गुरुङ र संगीता तामाङ नजिकै थिए । उनीहरुले आफ्नो कुुराकानी रेकर्ड गरेको हुन सक्ने आशंका गर्दै उनले भनिन्-’संगीता भनेको बसमा सामूहिक बलात्कार भएकी आनी हुन् । दुःख पाएको मान्छे भनेर काममा राखेँ ।’ दिलशोभाको भनेर सार्वजनिक गरिएको अडियो टेपमा उनको एकतर्फी मात्र आवाज छ ।
एनजीओ र बालकल्याण समितिको षड्यन्त्र 

अप्सरा गुरुङ भने कुनै एनजीओ वा बालकल्याण समितिले खटाएको मान्छे हुन सक्ने उनको आशंका छ । ‘मलाई २५ हजार तलब चाहिन्छ भनेर आएकी थिइन् । मैले सक्दिन बा ८ हजारभन्दा भनेँ । १५ दिन पनि काम गरिन्’ उनले भनिन्-’पछि बाल कल्याण समितिमा जाँदा हामीले पठाएको मान्छेलाई पनि काममा राख्नु भएन् भने ।’
उनका अनुसार अप्सराले प्रतेक बच्चाको १ लाखका दरले पैसा दिन्छु भन्ने बार्गेनिङ समेत गरेकी थिइन् । ‘म त डाटा लिन आएकी हुँ भनिन’ दिलशोभाले सुनाइन-’मलाई बच्चा देऊ समेत भनेकी थिइन् । तर, आफूले ५-६ वर्ष लगाएर हुर्काएका बालबच्चा दिन्न भनेँ ।’
दिलशोभाले आफ्नो आश्रमबाट एक जना क्यानडा, अर्को बेलायत अध्ययन गर्न गएको स्वीकार गरिन् । दुई जना पोखरामा र एक आफ्नो माइतिको भाईले लगेर पालेको पनि जानकारी दिइन । ‘सडकमा कोही रोइरहेको देखेपछि म उनीहरुलाई नल्याइ आउन सन्दिन्’ उनले भनिन् ।
आफूले बालबालिकाहरुको आश्रम व्यवस्थित बनाउने भन्दै दुई महिना समय मागेको बताइन् । आफूलाई आएको सहयोगको बैंक स्टेटमेन्ट दिएको भन्दै उनले भनिन्-’कहिले काँही चामल धेरै हुँदा बेचेर दालसम्म ल्याएकी छु । तर, बच्चाको लुगा बेच्यो भन्ने गलत हो ।’






दिलशोभाले रुँदै भनिन्, 'यो सत्य होइन'





दिलशोभा श्रेष्ठ
दिलशोभा श्रेष्ठ

काठमाडौं : आमा घरकी सञ्चालक दिलशोभा श्रेष्ठले आफूमाथि लागेका आरोपको खण्डन गरेकी छन्। बुधबार रविभवनस्थित आमा घरमा पत्रकार सम्मेलन गरेर उनले आफू र आफ्नो संस्थामाथि लागेका यौनदुराचार आरोप असत्य रहेको दाबी गरिन्।
'क्यान्सर पीडित वृद्धा आमाको सेवाका लागि यही काम गर्ने बहिनीलाई पठाएकी थिएँ', पत्रकार सम्मेलनमा रुँदै उनले भनिन्, 'बालबालिका पठाएकी हैन।'
श्रेष्ठले रविभवनमा संचालन गरेको 'वृद्धावस्था व्यवस्थापन तथा समाजिक कल्याण गुठी' (आमा घर) को आडमा यौन दुराचार गरेको गम्भीर आरोप सहितको उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा परेको छ।
प्रशासनले बुधबार बिहान आमाघरबाट ३४ बालबालिका सहित एक सुस्त मनस्थिति भएकी १ महिलालाई उद्भार गरेको छ।
६९ वर्षीया क्यान्सरपीडित कालिमाटी बस्ने राधिका मानन्धरलाई सेवा गर्न २९ वर्षकी धर्मकुमारी थापालाई पठाएको श्रेष्ठले बताइन्।
धर्मकुमारी थापा आमा घरमा नै खाना पकाउने काम गर्छिन्। मानन्धरकहाँ रातमा साथी बसिदिनमात्र थापा गएको उनले बताइन्।
६९ वर्षीया राधिका मानन्धरले आफैले दिलशोभालाई रातमा आफूलाई कुरिदिने कोही मान्छे भए खोजिदिन आग्रह गरेको अन्नपूर्णलाई बताइन्। 'म आफैले रातमा साथी पठाइदेउ भनेकी थिएँ', उनले भनिन्, 'यस्ती असल मान्छेलाई म नराम्रो भनेको मान्दिन।'
थापाले पनि मानन्धरलाई साथी बसिदिनमात्र आफू जाने गरेको अन्नपूर्णलाई बताइन्। 'बेलुका साथी बस्दिन्थेँ। तातो पानी दिन्थेँ', उनले भनिन्, 'यस्तो नचाहिने कुरा आइपर्छ भन्ने पत्तो भएको भए जान्नथेँ।'
उनले खाना पकाएबापत आमा घरबाट पाँच हजार पाउँछिन्। रातमा वृद्धाकहाँ साथी बसेबापत १५ सय दिने सहमति थियो।
'कानुन बुझिनँ'
वृद्धाश्रम सञ्चालन अनुमति लिएपनि बालबालिका सञ्चालनका लागि अनुमति नलिनु आफ्नो कमजोरी भएको उनले स्वीकार गरिन्।
'मैले कानुन बुझिन', उनले भनिन्, 'सरकारबाट बालबालिका राख्नका लागि छुट्टै अनुमति लिइएन। वृद्धाश्रम चलाउन अनुमति लिएका थियौँ।'

यदि यो आरोपको पुष्टि भएमा कानुन बमोजिम दोषीलाए सजाय हुनु पर्छ यदि भएन भने समाचार प्रकाशन गर्ने पत्रिकालाइ के सजाय हुन्छ?
- प्रेम फ्याक 
नागरिक दैनिकमा प्रकाशित दिलशोभा दिदीमाथि लगाइएका आरोपको पुष्टि हुन बाँकी नै छ। तर एउटा कुरा के बुझ्न जरुरी छ भने उहाँको रेकर्ड गरिएको एकतर्फी आवाजले "बाल यौन दुराचार" गरेको पुष्टि हुन सक्दैन। पहिलो कुरा को ब्यक्तिसँग र केको उद्देश्यका लागि गरिएको कुराकानी हो, त्यो बुझ्न जरुरी थियो। दिलशोभा दिदीको खण्डन र पत्रिकामा छापिएको समाचार पढ्दा उहाँले प्रयोग गर्नु भएका वाक्यहरु जस्तै "रातभरि तपाईंसँग सुत्छ, माया माया माया गरेर बस्छ'" लाई यौन दुराचारको रुपमा ब्याख्या गरिएजस्तो देखिन्छ। होला, उहाँको आमा घरमा पर्याप्त सुबिधा छैन, तर यो सबै अनाथालयको समस्या हो।
धेरै सेवा भावले खोलिएका अनाथलयहरू सुबिधा सम्पन्न छैनन्। साथै उहाँले अनुमतिबिनै बालबालिका राखेको कुरा कानुन नबुझेको कुरा स्वीकार्नु पनि भएको छ। तर "बाल यौन दुराचार" जस्तो गम्भीर प्रकृतिको आरोप सँग यसको कुनै सम्बन्ध छैन। अब कि त पत्रकारहरुले "बाल यौन दुराचार" पुष्टि हुने तथ्य ल्याउनु पर्यो। होइन भने 'राती सुत्दैमा" यौन दुराचार हुन सक्दैन। यदि यो आरोपको पुष्टि भएमा कानुन बमोजिम दोषीलाए सजाय हुनु पर्छ यदि भएन भने समाचार प्रकाशन गर्ने पत्रिकालाइ के सजाय हुन्छ?

कम्तीमा अनुसन्धानलाई कुरौं



बाइबलमा जिसस क्राइस्टले भन्नु भएको छ-'किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केहि छैन । 'मत्ती १०:२६'
आज बिहानैदेखि सबैजसो संचारमाध्यमहरु दिलशोभा श्रेष्ठ अनि उहाँद्वारा संचालित आमाघरका विषयमा विभिन्न चर्चा परिचर्चा गर्न मै ब्यस्त रहे।
 कोहि कसैले गरिदिएको उजुरीकै आधारमा प्रमाणित कुरा झैं गरेर पत्रकारहरुले आफ्नो परिचय दिन पनि भ्याए।
निश्चय नै कानुन भन्दा माथि कोहि पनि छैन, मानवता बिरोधि काम गर्ने जो कोहि पनि दण्डित हुनु नै पर्छ।
नागरिकले प्राप्त गरेको अडियो टेपमा सुनिएका एकतर्फी सम्बादहरु आफैंमा स्पस्ट छैनन् । अहिलेसम्म आएको समाचारहरु अनुसार मुख्य दुईवटा कुराहरु प्रकाशमा आएका छन् ।
पहिलो दिलशोभाले यौनकार्यमा लगाउन आफूकहाँ आश्रितहरुलाई अरुकोमा पठाउने गरेको र दोस्रो त्यहाँका बच्चाहरुलाई उचित बातावरण र सेवासुविधा प्रदान नगरेको। 
यौन शोषणको कुरा विस्तृत छानबिनपछि पत्ता लाग्ने कुरा भयो। यदि यो सत्य रहेछ भने कसलाई कसकहाँ पठाएको हो त्यो पनि खुलस्त होला, पीडितहरुले यथार्थ साक्षि देलान् र दिलशोभा श्रेष्ठको गल्ति पत्ता लाग्ला र उहाँलाई आवस्यक कारबाही होला ।  
त्यतिबेला पत्रकारले पनि खुलेर लेख्दा कसैको चित्त दुखाइ नहोला, दिलशोभा श्रेष्ठका गतिबिधिका बिरोधमा कमेन्ट गर्दा पनि कसैले चित्त दुखाउने ठाउँ नरहला, तर अहिले नै नानाभाती टिप्पणी गर्दा अलि हतार नै हुन पनि सक्छ।
दोस्रो कुरा आयो उचित सेवासुविधा नदिएको भन्ने बारेको ।
त्यसमा चाहिं सबैले ध्यान पुर्‍याउनुपर्छ।
कुनै बाबाको आश्रमलाई करोडौं अनुदान दिन सक्ने सरकारले त्यस्ता सामाजिक संस्थाहरुलाई किन सहयोग गर्न सकेन ? आमा घर मात्रै नभएर अरु दर्जनौं सामाजिक संघसंस्थाहरुलाई उचित सहयोग गरेर समय समयमा छड्के अनुगमन
गर्न नसक्नुमा पनि सरकार तथा केन्द्रीय  बालकल्याण समितिको दोष छ । एकै ठाउँमा ७०/८० जना मान्छे बस्ने गरेको कुरा त सबैलाई थाहा भएकै हो पहिले देखि नै ।
पक्कै पनि ४-५ जनाको परिवार बसेको जस्तो अवस्था त हुँदैन नै ।
बाइबलले भने जस्तै सत्य कुरा पक्कै पनि मेटिएर जाँदैन, त्यो केहि समय ढाकिएला, छोपिएला तर सधैंको निम्ति बिलाएर  जाँदैन ।  दिलशोभाले गल्ति गरेकै हुन् भने उनि स्वतस् कारबाहीको भागिदार पनि हुन्, त्यसको निम्ति भैराखेको

अनुसन्धानलाई कुरेर मात्रै आफ्नो तर्फको टिप्पणी गर्ने हो कि ? 


दिलशोभाबारेको समाचार सुख्खा जंगलको आगो झै‌ फैलिएको छ। दिलशोभाको छोटो अन्तरवार्ताwww.onsnews.com ले छापेको छ। यति गभ्भिर विषयमा आरोपितको धारणा पढ्दा राम्रै हुन्छ:


"जहाँ भएपनि सेवा नै त हो भन्ने सोचेर मैले उहाँको घरमै गएर सेवा गरौ भनेर ती बहिनीलाई त्यही पठाए । त्यस दिन बेलुका बहिनी ती वृद्ध आमाको घरमा जानु भएको थियो । त्यति बेला मैले आमालाई फोन गरेर रातो लुगा लगाएर आउने नानी छन् । मन्दिरमा आएर बस्नु ,दिनभर म कहाँ बस्छिन् राती तपाईकोमा राखेर हजार पन्ध्रसय दिनु पनि भनेको थिए ।"

घरबाट फालेका मान्छेलाई पालेर समाजसेवाका रुपमा राम्रो नाम कमाएकी दिलशोभा श्रेष्ठबारे अचानक यौन दुराचारको आरोप लागेको छ । सन्चार माध्यममा समाचार आएपछि प्रशासनले पनि छानविन सुरु गरेको छ । बुधवारमात्रै बालबालीकालाई त्यहाँबाट निकालीएको छ । उनले गरेको टेलिफोन कुराकानी र सन्चार माध्यममा आइरहेको समाचार के हो ? हामीले श्रेष्ठसँग टेलिफोनबाट छोटो कुराकानी गरेका छौ ।

के छ सन्चै हुनुहुन्छ ?

अहिले अलि सन्चो छैन ।

के भयो ?

खै मलाई के के नचाहिने आरोप आइलाग्यो म केही जान्दिन ।

तपाईले गर्नु भएकै कुरा भनेका त होला नी ?

मैले यौन दुराचार भनेको थाहा नै पाएको छैन । मैले केही जानेको छैन न्यानो कुरा न्यानो मायामात्रै जानेको छ । तपाईलाई विश्वास लाग्दैन भने हेर्न आउनुहोला ।

अनि तपाईले केही नगरेको भए किन प्रशासनले छानविन सुरु गरेको त ?

मैले नियम कानुन नजानेर भूल गरे । मैले त न्यानो माया मात्र गर्न जानेको छु । प पढेको छैन । ५ वर्ष भैसक्यो मैले बच्चा पालेको तर अनुमति लिएको थिइन । नियम कानुन त भर्खर आएको रहेछ केही थाहा पाइन ।

आश्रयमा बसेका बालिकालाई यौनदुराचारमा लगाउनु हुन्छ भन्ने आरोप त्यसै लगाएका हुन उसो भए ?

यहाँ श्रीमानले छोडेको भनेर बिहान बेलुका खाना बनाउन आउने एक जना महिला छन् । उहाँका बालबच्चाको लागि ८ हजार चाहिन्छ भन्नु भएको थियो मेलै ५ हजार दिएको हो, उहाँको राम्रो होस् भनेर । कालिमाटीकी एक जना धनी आमा हुनुहुन्छ जो हामी कहाँ आइरहनु हुन्थ्यो । पछि उहाँका परिवारले इज्जत जान्छ भनेपछि आउँन गाह्रो मान्नुभयो ।

जहाँ भएपनि सेवा नै त हो भन्ने सोचेर मैले उहाँको घरमै गएर सेवा गरौ भनेर ती बहिनीलाई त्यही पठाए । त्यस दिन बेलुका बहिनी ती वृद्ध आमाको घरमा जानु भएको थियो । त्यति बेला मैले आमालाई फोन गरेर रातो लुगा लगाएर आउने नानी छन् । मन्दिरमा आएर बस्नु ,दिनभर म कहाँ बस्छिन् राती तपाईकोमा राखेर हजार पन्ध्रसय दिनु पनि भनेको थिए । ती आमासँग फोनमा गरेको कुरालाई म सँगै बसेका दुई जना कर्मचारीले रेकर्ड गरेर यस्तो झुटो आरोप लगाएका रहेछन् । पछि थाहा पाएपछि निकै चित्त दुख्यो ।

फोनमा तपाईले गरेको कुरा प्रष्ट नै छरे ?

(रुँदै)..होइन बाबा म माथि लागेको त्यस्तो यौन दुराचारको आरोप एकदमै झुटो हो । मैले नियम जानिन त्यत्ति हो मरो अपराध भनेको । मैले बालबच्चा पाल्ने कानुन थाहा नपाएर गल्ति गरेछु । मलार्ई यो कुरा कसैले पनि सिकाई दिएनन । मैले रोडमा सुतेको बच्चालाई ल्याए पाले । उनीहरुलाई राख्ने ठााउ थाहा पाएको भए । मैले माया गरेर त्यहि पुर्याईदिन्थे ।

तपार्ई माथि धेरै मुद्धा लागेको छ, समाचार पनि प्रकाशित भैसकेको छ ,के भन्नु हुन्छ ?

एकदुई जना पागल आमाहरुले भन्दैमा यो कुरा साँचो हुदैन । यहाँ आएर सबैसँग सोधेपछि तथ्य कुरा बाहिर आउँछ । नखाएको विष त लाग्दैन नी । पछि सत्यतथ्य कुरा बाहिर आएपछि सबैले थाहा पाउँछन् । हामी पनि मुद्दामा जान्छौँ । मैले कसलाई के गरे थाहा भै हाल्छ नी ।

अब तपाई के गर्नु हुन्छ ?

उहाँहरुले मैले पालेको बच्चाहरु लिएर जानु भएको छ । मैले सल्लाहले नै लैजान दिएको छु । उहाँहरुलाई मेरो बच्चा मात्र होइन आमा नै लगे पनि दिन्छु । पछि अरुलार्ई ल्याएर पाल्छु भनेकी छु । मलार्ई यौन आरोप लगाउदाँ निकै चित्त दुखेको छ । मैले नियम थाहा पाइन त्यसमा भने केही गुनासो छैन ।
 

दीलशोभाको बदनाम किन ?

- श्रीकमल द्विवेदी 


कुनै वृद्द महिलाले 'म एक्लै छु,  छोरा छोरी त छन् तर, सबै विदेशमा छन्। खाना पकाउन पनि सक्दिन,  तपाईँकहाँ भएकी मध्येबाट कोहि महिलालाई मेरोमा साथी बस्न रातिलाई पठाईदिनु भए म एक छाक तातो खान पाउँथेँ, खाना पकाएर खुवाउन सक्ने मानिस भए मलाई सजिलो हुने थियो। बरु म पैसा दिन पनि तयार छु , नत्र म पनि तपाईँकहाँ नै बस्न आउँछु, अस्तिनै आएकी महिला पैसा पुगेन भनेर झगडा गरीन्' भनेर कुनै महिलाले उता पट्टीबाट भनेको रहेछ भने यो घटनाले कुन रुप लिएला?
बिवाद उठेपछि अनुसन्धान हुनै पर्छ।
गल्ती वा कमजोरी होकी होईन? निष्पक्ष छानबिनले अवस्य देखाउँला।
समाजसेवीको रुपमा चिनिएकी दीलशोभा दिदीले अंग्रेजीमा बाक्लो प्रोपोजल लेखेर भाडामा भुराहरु जम्मा गरि डलर कमाउने वर्गकी त पक्कै हुनुहुन्न होला।
न त कुनै गैरसरकारी संस्था खोलेर सम्पत्ति थुपार्ने वर्ग कि हुनुहुन्छ। सोझो हिसाबले मानवीय कार्य गरेकी महिला हुनुहुन्छ।
आफ्नो निजी घरमा सकेको जति अनाथ र बेसहारालाई समेटेर मागेरै भएपनि पनि वर्षौदेखि पालेर  बस्नु भएको छ, त्यो पनि कुनै स्वार्थबिना।
हामीलाई आफ्नो कमाईबाट चार पाँच जनालाई पालिन त यति धौ धौ छ, उहाँले त पचासौं जनालाई पालेर बच्चाहरुलाई पढ्नसमेत पठाएर सरकारले गर्नु पर्ने काम गरिरहनु भएको छ। म त एउटा अपुष्ट आरोप लाग्ने वित्तिकै हाम्रो समाज उहाँप्रति खनिएको देखेर मर्माहत भएँ।
केही अगाडि सरकारी बालमन्दिरमा दुध खान नपाएको खबर आएकै हो, एकदिन उद्दार गरेर समस्या समाधान पक्कै हुँदैन, लामो समय ति बालबालिकाहरुलाई पाल्न गार्‍है होला। सस्तो प्रचारप्रसारको लागि एक दिन तदारुकता देखाउन त सजिलो छ, तर बाँकी ३ सय ६४ दिन ति बालबालिका र वृद्दबृद्दालाई फेरि सडकमा पुर्‍याउने काम चाँही नहोस।
राज्यले असाहय नागरिकप्रति आफ्नो दायित्व पूरा गरेको भए दीलशोभा जस्ता समाजसेवीले आफ्नो घरलाई आश्रम बनाउनै पर्ने अवस्था आउने थिएन।  
सँधै षडयन्त्र मात्र खोतल्ने नेपालका पत्रकारले साधारण कुरामा पनि षड्यन्त्र नै देखेको पनि हुन सक्छ। त्यसैले केहि समय कुरौं, सत्यकुरा बाहिर आउँछ, गल्ती भएको हो भने पनि नियतवस नै गरेको हो कि परिवन्धले परेको हो पहिल्याउँ।
गलत उद्देश्यनै राखेर गरेको प्रमाणित नभएसम्म एकै पटक दानविकरण पनि हतारमा नगरिँहालुँ।
मैले प्रत्यक्ष त भेटेको छैन ।तर, उहाँका अन्तर्वाताहरुमा उहाँको आँखामा नाटकीयपन देखेको छैन। कि कुनै ठूलो नाटकबाजले मात्र यस्तो अभिनय गर्न सक्छ नभए एउटा सरल मानिसले यति लामो समयसम्म नाटक गर्न असम्भब छ।
उहाँबाट पक्कै पनि यस्तो गलत काम भएको छैन, कसैलाई मद्दत गर्न खोज्दा कसैले कुनै परिबन्दमा पारेर गलत काम हुन गएको रहेछ भने पनि उहाँले गरेको पुण्यको अगाडि त्यो गल्तिलाई माफी दिनु पर्छ।
फोन रेकर्ड गर्दा उता पट्टी महिला थिईन कि कुनै पुरुष?  फोनको कुराबाट मात्र एकै पटक सबै उहाँ बिरुद्द खनिएको देखेर मनमा एउटा संका उब्जियो।
केही बुद्दिजिवि साथीहरुले खबर आउनासाथ दीलशोभा जस्तो उच्च मानवीय भावना भएकी मानिसलाई वेश्यालय चलाएर सम्पत्ति थुपारेको जस्तो गरी टिप्पणी गरेको देख्दा दुःख लाग्यो।
केहि साथीहरुले उनले बिस्कुट बेचेको देखेको कुरा पनि गरे, म त यस्मा कुनै गल्ति देख्दिन, बढि भएको बिस्कुट सँग आफूलाई चाहिएको ग्यास साट्नुलाई खराव भन्न सकिँदैन। सबैले खाने कुरा मात्र ल्याएर हैरान पारेपछि खानेकुरा राख्ने ठाउँ अभाव होला, आफूलाई ग्यास सकिएको होला वा पानी चाहिएको होला, बच्चाहरुको लागि कापी कलम चाहिएको होला। खानेकुरा फ्याँक्नु पनि त भएन अनि के गर्नु त्यो बढी भएको खानेकुरा?
हिजो रमेश खरेलको खबर, आज दीलशोभाको खबर, के यो प्रायोजित त हैन? “नेपाली समाजमा कुनै राम्रो मानिस छैन- त्यसैले खरावनै ठीक” भन्ने मान्यता बनाउँदै “जय भ्रष्टाचार” प्रमाणित गर्न खोजिएको त हैन?
कान्तिपुरको समाचार :

दिलशोभाको 'आमाघर' बाट ३१ बालबालिकाको उद्वार

Dilshova.jpg
मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेर उनले प्रमुख जिल्ला अधिकारीलाई ३८ जना बालबालिका छन् भनेकी थिइन् । तर, बुधबार उद्धार टोली आमाघरमा पुग्दा ३१ जना मात्रै बालबालिका भेटिए ।
काठमाडौ, फाल्गुन १४ - जिल्ला प्रशासन कार्यालय र क केन्द्रीय बालकल्याण समितिको पहलमा रवी भवनस्थित दिलशोभा श्रेष्ठको आमाघर बाट ३१ बालबालिकाको उद्धार गरिएको छ । आमाघर मा रहेका बालबालिकालाई न्युनतम आधारभूत आवश्यकतासमेत पूरा नगराई अत्यन्तै फोहोर दुर्गन्धित घरमा राखेको जानकारी पाएपछि बुधबार उद्धार गरिएको हो ।
बालबालिकालाई स्कुल नपठाई घरेलु काममा लगाउने, धर्मपुत्रपुत्रीका रुपमा विदेश पठाउने गरेको उजुरीहरु बिभिन्न निकायमा परेपछि जिल्ला प्रशासन कार्यालय र केन्द्रीय बालकल्याण समितिले सुधार्न श्रेष्ठलाई निर्देशन दिएका थिए ।
'श्रेष्ठले निर्देशन नमानेको, बालगृह सञ्चालनको स्वीकृतिसमेत नलिएको र बालबालिकालाई उच्च जोखिममा राखेकाले उद्दार गरेका हौं', समितिकी कार्यक्रम व्यवस्थापक नमुना भुषालले भनिन् ।
श्रेष्ठले सञ्चालन गरिरहेको आमाघर मा असहाय बृद्धा र अनाथ बालबालिकालाई राखिने भनिएको छ । श्रेष्ठले आश्रय दिएका बालबालिकालाई घरेलु काममा पठाउने गरेको, बालबालिकालाई सडेगलेको खानेकुरा, दुषित पानी खुवाएको र बाहिरबाट आउने सहयोगको लेखाजोखा नभएको लगायत गुनासाहरु उल्लेख गर्दै बिभिन्न कार्यालयमा उजुरी परेका थिए ।
प्रशासन कार्यालय, समिति लगायत महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, मानब अधिकार आयोग, महिला तथा बालबालिका विभागमा उजुरी परेको थियो ।
'यसैका आधारमा केही दिनदेखि अनुसन्धान गरेर उद्धार गरेका हौं,' भुषालले भनिन् ।
संस्थाको ०६८/६९ को प्रगति विवरणमा ४९ जना बालबालिका रहेको देखाइए पनि हाल संस्थामा ३८ जना मात्रै बालबालिका रहेको श्रेष्ठले बताउँदै आएकी थिइन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेर पनि उनले प्रमुख जिल्ला अधिकारीलाई ३८ जना बालबािलका छन् भनेकी थिइन् ।
तर, बुधबार उद्धार टोली आमाघर मा पुग्दा ३१ जना मात्रै बालबालिका भेटिए । '२८ बालक र ३ बालिका भेटिएका छन् बाँकी सात जना कहाँ गए भन्नेबारे श्रेष्ठलाई नै  थाहा छैन', भुषालले भनिन्, 'बालिबालकाको भर्ना प्रक्रिया लगायत बिस्तृत विवरण केही रहेनछ ।'
भुषालका अनुसार उद्दार गरिएका बालबालिकालाई केही समय आवास गृहमा राख्ने र उनीहरुका अविभावक र परिवार खोजेर परिवारमा पुर्नस्थापना गराउने, कोही नभएका बालबालिकालाई मात्र आश्रयस्थलमा राख्ने जानकारी दिइन् । श्रेष्ठलाई यौन दुव्र्यवहारको आरोप समेत लागेको छ ।
setopati को समाचार : दिलशोभाले वृद्धाश्रममा रहेकाहरूलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात बिताउन पठाएको खुलासा
आमाघर'को नाममा वृद्धा र अनाथ बालबालिकाको स्याहारसुसार गरेर चर्चामा आएकी समाजसेवी दिलशोभा श्रेष्ठ ‘आश्रयको आवरणमा यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको' तथ्य फेला परेको छ। उनको आश्रममा वृद्धासहित ५३ बालबालिका छन्।
उनले राजधानीको रविभवनस्थित आफ्नो वृद्धाश्रममा रहेकाहरूलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात बिताउन पठाउँदै आएको खबर आजको नागरिक दैनिकमा छापिएको छ।
नागरिकलाई प्राप्त ३ मिनेट ३९ सेकेन्डको अडियो रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘१५ सय जति पैसा दिने, बेलुका पकाएर खुवाउने एक छाक, बिहान खुवाउनुपरेन, तपाईंलाई माया लाग्छ भने एक कप चिया खुवाएर पठाउनू, बेलुका आएर तपाईंलाई पकाएर खुवाउँछ, रातभरि तपाईंसँग सुत्छ, माया माया माया गरेर बस्छ।'
मोबाइलबाट रेकर्ड गरिएको उक्त संवादमा दिलशोभाको मात्र स्वर सुनिन्छ। ‘हजुर यहाँ आउनुपरेन, हजुरको सेवा गर्न त्यहीँ पठाएको छु मैले, फरक पर्दैन भोलि आउँछ,' अडियो रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘पहिलाको बूढीको कुरा नगर्नू, अहिलेको बुढीको कुरा गर्नुस्।' उनले कसैलाई मन्दिरमा पठाइदिने र लुगा लगाएका आधार चिनजान गर्नूसमेत भनेकी छन्। 
नागरिकलाई अडियो रेकर्ड उपलब्ध गराउने स्रोतका अनुसार दिलशोभाको गतिविधि शंकास्पद देखिएपछि उनको फोनसंवाद रेकर्ड गरिएको थियो। स्रोतले यही रेकर्ड जिल्ला प्रशासन कार्यालय, प्रहरी र केन्द्रीय बाल कल्याण समितिलाई बुझाएको छ। त्यसै आधारमा दिलशोभामामाथि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दियो।
जिल्ला प्रशासनले केही दिनदेखि दिलशोभासँग लगातार बयान लिइरहेको छ। बाल यौन दुराचारको आशंकामा जिल्ला प्रशासन, प्रहरी र बाल कल्याण समितिको संयुक्त टोलीले बुधबार आमाघरमा आश्रित बालबालिकालाई उद्धार गर्ने निर्णयसमेत गरेको छ। अनुसन्धान जारी रहे पनि बच्चाहरूलाई सुरक्षित राख्नुपर्ने देखेर उद्धारलाई प्राथमिकता दिएको अनुगमनमा संलग्न बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बताए।
आमाघरसँग जोडिएको यौन दुराचारबारे केही कुरा आएकाले अनुसन्धान भइरहेको पुष्टि गर्दै उनले मंगलबार नागरिकसँग भने, ‘न्यूनतम आधारसमेत पूरा नगरेर बालगृह चलाएको पाइएकाले बुधबार त्यहाँ आश्रित बालबालिका उद्धार गर्न लागेका छौं।'
‘अनुसन्धान क्रममा अनुमतिबिनै बालबालिका राखेको पाइयो, उनीहरूको अवस्था एकदमै दयनीय थियो,' उनले भने, ‘अरू अनुसन्धान चल्दै गर्दा उनीहरूको उद्धारलाई हामीले पहिलो प्राथमिकता दियौं।'
काठमाडौंका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले पनि आमाघर अनुगमन गर्दा गम्भीर त्रुटी देखिएकाले अनुसन्धान प्रक्रिया अघि बढेको बताए। फोन रेकर्डको विषयमा भने उनी प्रवेश गर्न चाहेनन्। ‘हामीले अनुगमन गर्दा अनुमति नै नलिई बालगृह सञ्चालन गरेको पाइएकाले पहिलो काम त्यसलाई कानुनी दायरामा ल्याउने हो,' उनले नागरिकसँग भने, ‘अन्य विषय पनि देखिएका छन्, त्यसको छानबिन भइरहेको छ।'
श्रेष्ठले आफ्नो आश्रममा रहेका बालबालिका तथा वृद्धामाथि अमानवीय व्यवहार गरेको र यौन दुराचारसमेत गर्दै आएको भन्दै १० दिनअघि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो। त्यही आधारमा अनुगमन थालिएको हो। अनुगमन टोली उजुरीको वास्तविकता बुझ्न आमाघर पुग्दा दिलशोभाले अनुमति नै नलिई बालगृह खोलेर बालबालिका राखेको खुलेपछि थप अनुसन्धान अघि बढाइएको छ।
‘घरभित्र छिर्नासाथ दुर्गन्धको बास बाहिरैसम्म आइरहेको थियो, भित्र त गन्धले बस्नै नसक्ने अवस्था थियो, निकै बिजोग रहेछ,' अनुगमनमा खटिएका एक अधिकृतले भने, ‘वृद्धाहरूको सेवाका लागि भनेर धेरै स्थानबाट राम्रै सहयोग आएको देखिन्छ, तर आश्रम हेर्दा त्यस्तो केही देखिएन।'
प्रारम्भमा आमाघरको सुविधा अवस्था अवलोकन गरेर सुधारको सुझाव दिने योजनासहित त्यहाँ पुगे पनि अनुमति नै नलिई बालगृह चलाएको खुलेपछि टोली झस्किएको थियो। त्यससँगै दिलशोभाले दोस्रो व्यक्तिसँग गरेको फोन संवादको रेकर्ड नै प्राप्त गरेपछि केन्द्रीय बाल कल्याण समिति, जिल्ला प्रशासन कार्यालय र प्रहरी टोली गम्भीर बनेको थियो।
‘फोन संवादले वृद्धाश्रमको आवरणमा गलत गतिविधि भइरहेको प्रस्ट हुन्छ,' एक अुनसन्धान अधिकारीले भने, ‘यो अतिगम्भीर विषय भएकाले विस्तृत अनुन्धानमा छौं।' अनुसन्धान चल्दै गर्दा अनधिकृत रूपले बालगृह चलाएर राखिएका बालबालिकालाई उद्धार गर्न जरुरी ठानेर अन्यत्र सार्न लागेको उनले जानकारी दिए। ‘ती केटाकेटीलाई सुरक्षित राखेपछि थप अनुसन्धान अघि बढ्छ,' उनले भने। 
दिलशोभाले भने आफू शुद्ध मनले समाजसेवा गरिरहेको बताउँदै यौन दुराचार लगायत कुनै पनि किसिमको अनधिकृत कार्यमा संलग्न नरहेको दाबी गरेकी छन्। 

आमाघरकी दिलशोभाविरुद्ध गम्भीर आरोप, सिडिओमा उजुरी, बालबालिकालाई सुरक्षित राख्न रेस्क्यु गरिने

आफ्नै परिवारबाट अपहेलनामा परेर अलपत्र अवस्थामा जीवन बिताउन बाध्य बूढी आमाहरुलाई आश्रय दिएर प्रशंसनीय काम गर्ने व्यक्तित्वका रुपमा दिलशोभा श्रेष्ठको समाजसेवी छवि कायम छ। थुप्रै मिडियाले उनीबारे धेरै प्रशंसाका शब्द लेखिसके। आफन्तबाटै तिरस्कृत वृद्धाहरुलाई आश्रय दिने काम सजिलो हैन, जोकोहीले यस्तो काम गर्न सक्दैनन्। तर यही आमाघरको आवरणमा वृद्धा तथा बालबालिका शोषणमा परेको भन्दै तत्काल उद्धार गर्न अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा उजुरी परेको छ। अनुमति नलिई बालगृह सञ्चालन गरेको, बालबालिकालाई घरेलु कामदारका रुपमा पठाउने गरेको, गालीगलौज गर्ने गरेकोदेखि महिलालाई अनैतिक काममा लगाउने गरेकोसम्मका गम्भीर आरोप त्यसमा लगाइएका छन्। महिलालाई अनैतिक काममा लगाइएको प्रमाण भन्दै माइसंसारलाई एउटा अडियो पनि प्राप्त भएको छ। प्रशासनले यो उजुरीलाई लिएर छानबिन गरी कारबाही अघि बढाउने भएको छ। यसै क्रममा त्यहाँ रहेका बालबालिकालाई सुरक्षित राख्नुपर्ने देखिएकोले त्यहाँबाट ‘रेस्क्यु’ गरिने भएको छ। बुधबारका दैनिक पत्रिकाले यसबारे महत्वका साथ पहिलो पेजमा समाचार छापेका छन्।
के थियो उजुरीमा ?
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय, काठमाडौं।
बिषय—शोषणमा परेका बृद्धा तथा बालबालिकाको तत्काल उद्धार गर्नेबारे
महोदय,
उपरोक्त सम्बन्धमा काठमाडौं रविभवनस्थित ‘वृद्धावस्था व्यवस्थापन तथा समाजिक कल्याण गुठी’ (आमा घर) २०५६ सालमा स्थापना भई हाल संचालन रहिरहेको छ। यस संस्थाको स्थापनाकालदेखि हालसम्म अध्यक्ष दिलशोभा श्रेष्ठ रहनु भएको छ र उहांकै सक्रियताले संस्था संचालन हुँदै आएको छ।
संस्थाको स्थापनाकालमा नै जेष्ठ नागरिक तथा वृद्ध व्यक्तिहरुको लागि एकिकृत रुपमा कल्याकाणकारी कार्यक्रमहरु संचालन गर्ने मुख्य लक्ष्य राखिएको छ। मूलतः सामाजिक रुपमा अपहेलित, बहिष्कृत भएका जेष्ठ नागरिकहरुलाई संस्थामा ल्याएर आश्रय दिएर राख्नु आफैमा सराहनीय काम हो।
समाजबाट बहिष्कृत भएका, हिंसामा परेका, घरपरिवारबाट अपहेलित भएका जेष्ठ नागरिकलाई आश्रय दिइ उनीहरुको जीवनरक्षा गर्ने काम आमरुपमा सबैले गर्न सक्दैनन्। सामाजिक पुण्यको यस्तो काम सामान्य नभएर असाधारण काम समेत हो। राज्यले संरक्षण गर्न नसकेको असहाय वृद्धा र बालबालिकालाई संस्थाले संरक्षण दिँदै आएको छ।
त्यसैले पनि आम मिडिया र सामाजिक क्षेत्रमा यस आमा घर र त्यसलाई नेतृत्व दिने दिलशोभा श्रेष्ठको नाम अपिरिचित छैन। संचारमाध्यमबाट भइरहेको सतही प्रचारप्रसारले आज स्वदेश तथा विदेशबाट यस संस्थालाई प्रशस्त सहयोग समेत आइरहेको छ। संस्थाको उद्देश्य र लक्ष्य आफैमा राम्रो भए पनि यथार्थमा यस संस्थाभित्रको व्यवहारिक पाटो भने भिन्न छ। जसलाई आज सार्वजनिक रुपमा भन्नुपर्दा कतिपयलाई विश्वास नलाग्न पनि सक्छ। बाहिर देखिने आवरण र संस्थाभित्रको भित्री यथार्थ अर्कै छ।
पहिलो कुरा संस्था जेष्ठ नागरिकका लागि आश्रय दिनका लागि मात्रै स्थापना भएको हो। तर, पछिल्लोपटक संस्थाले बालगृह समेत संचालन गरेको छ। यसका लागि सम्वन्धित निकायबाट अनुमति समेत नलिई बालगृह संचालन भइरहेको छ। जुन विषय सम्वन्धित निकायको जानकारीमा आइसकेको छ।
जेष्ठ नागरिकलाई आश्रय दिने संस्थाका लागि भन्दा बालगृह संचालन गर्दा बाहिरी सहयोग बढी लिन सकिने कारणले बालगृह संचालन गरिएको हो।
जेष्ठ नागरिक र बालबालिकालाई आश्रय दिने आवरणमा यस संस्थाले कमाउ धन्दा गर्न थालेको महशुस हामीले गरेका छौ। विभिन्न कालखण्डमा यसै संस्थामा रहेर स्वयंसेवकको रुपमा काम गर्ने र संस्थामा आश्रय लिई हाल बाहिर रहेका हामी हाम्रै आंखाले देखेको अन्याय र शोषण सहन नसकी आज यो निवेदन दिन आएका हौँ।
संस्था र त्यसको नेतृत्व गर्ने दिलशोभा श्रेष्ठको सामाजिक प्रतिष्ठामा आंच पुर्‍याउने हाम्रो उद्देश्य होइन। तर, जेष्ठ नगारिक र बालबालिकालाई आश्रय दिने आवरणमा भइरहेको गलत कर्तुत र शोषणबाट उन्मुक्ति दिलाउने हाम्रो अभियान हो। यहाँ भएका गलत काम र शोषणको प्रमाण हामीले यसै निवेदनसाथ पेश गरेका छौ। संस्थाले गरेका गलत कामको बूंदागत रुपमा उल्लेख गर्दै सम्वन्धित संस्थाको नियमन गरी शोषणमा रहेका बालबालिका र जेष्ठनागरिकको उद्दारका लागि हामी माग गर्दछौँ।
१) अनुमति नै नलिई संस्थाले पांच वर्षदेखि बालगृह संचालन गर्दै आएको छ। बालबालिका राख्नुमा हाम्रो आपत्ति होइन। तर, बालबालिकालाई पेटभरी खाना नदिने, दुषित पानी प्रयोग गर्ने, नुहाउन नपाउने, सरफाईमा ध्यान नदिने। बालमैत्री वातावरण नदेखिएको, समय र परिस्थिति अनुसार बालबालिका र बृद्धाहरु माथि फरक व्यवहार गर्ने गरिएको छ।
संस्थाको ६८/६९ को प्रगति विवरणमा ४९ बालबालिका रहेको देखाइएको छ। तर, हाल संस्थामा ३३ जना मात्रै छन्। तर, १६ जना कहाँ गए भन्ने कुनै रेकर्ड छैन। उनीहरुलाई घरेलु काममा पठाइएको बताइन्छ।
२) संस्थामा सम्पर्कमा आएका बालबालिकाको कुनै रेकर्ड नभएको। संस्थामा आएका बालबालिकालाई घरेलु कामदारको रुपमा विभिन्न ठाउँमा पठाउने गरेको हो।
३) बासी खाना खुवाउने गरेको, संस्थामा आउने खाद्यान्न तथा जिन्सी सामानहरु बेच्ने र मिति नाघेका खाना प्रयोग गर्ने गरेको पाइएको। जस्तै बिस्कुट, जुस, हर्लिक्स, मिठाई, चकलेट, चामल, दाल आदि।
४) बाहिरबाट संस्थामा आश्रय लिएका जेष्ठ नागरिक तथा बालबालिकाको नाममा आएको सहयोग—लगाउने, ओड्ने, ओछ्याउने कपडा, स्टेशनरीको सामाग्री आश्रितहरुलाई नदिई बेच्ने गरेको। (बेच्नका लागि बच्चाहरुलाई नै प्रयोग गर्ने गरेको। आवश्यक परेमा बच्चाहरुले समेत बेच्ने पसलहरु देखाउन सक्ने)
५) आश्रितहरुका लागि औषधउपचारको नाममा थुप्रै सहयोग आउने गरे पनि वर्षमा एकपटक पनि उनीहरुको स्वास्थ्य परीक्षण नगरिने। बिरामी भएको अवस्थामा संस्थामा उपलव्ध औषधिहरु समेत नदिई मानसिक तनाव दिँदै आएको।
६) संस्थाले बालबालिकाको सरसफाई नगरेको, स्टेशनरी उपलव्ध नगराएको, अभिभावकको भूमिका निर्वाह नगरेको जस्ता कारण जनाउँदै विद्यालयले बारम्बार संस्थाप्रति असन्तुष्टि जनाउँदै आएको।
७) संस्थाका काममा आश्रितहरुलाई नै प्रयोग गर्ने गरिएको। बालबालिकालाई बालुवा गिटी बोकाउने, चामलका बोरा बोकाउन लगाउने, बृद्धाहरुलाई संस्थाका सबै भाँडा माज्न लगाउने, भुई पुछ्न लगाउने, काम नगरेमा गालीगौलज गर्ने र हातपात समेत गर्ने गरेको।
८) बालबालिकाकालाई आफ्ना परिवार तथा संरक्षकसँग सम्पर्क गर्न नदिने, फोनहरु आउँदा समेत गालीगलौज गरी मानसिक तनाव दिने। जसले कतिपय बालबच्चाहरु लामो समयसम्म परिवार र अभिभावकसँग सम्पर्कविहीन भएको।
९) केही समयअघि संस्थामा ल्याएर छाडेको एक नाबालक विदेशीलाई दिएको। केही समयपछि विदेशमै उसको निधन भएको। (यसको प्रमाण आवश्यक भएमा विदेशीलाई दिन सहयोग गर्ने व्यक्तिको नाम र सम्पर्क नम्बर समेत उपलव्ध छ)
१०) संस्थाको गतिविधि थाहा पाएर सार्वजनिक गर्लान् भन्ने डरले लामो समय कुनै पनि बालबालिका तथा आमाहरुलाई नराखी उनीहरुलाई निकाल्ने गरेको। निकाल्दा विभिन्न गालीगलौज गरी जर्वरजस्ती निकाल्ने, त्यसरी निकाल्दा कतिपयलाई घर पठाउने गरेको छ।
११) संस्थामा आएको सहयोग रकम समेत व्यक्तिगत रुपमा प्रयोग गर्ने र आश्रय लिनेहरुमाथि शोषण गर्ने गरेको। जस्तै केही महिना अघि आमा घरकी अध्यक्ष दिलशोभाले बाहिरबाट प्राप्त ४० लाख रुपैयाँ त्यही संस्थामा आश्रय लिइरहेकी संगिता तामाङलाई बोकाएर आफू निकटका व्यक्तिलाई दिएको। आवश्यक परेमा तामाङले यसबारेमा खुलस्त बताउन सक्छिन्।
१२) एउटै समस्या देखाएर स्वदेशी तथा विदेशी सहयोगी दाताहरुसँग रकम लिँदै आएको छ। यस्तो रकम लाखौँमा आउने गर्छ। तर, संस्थाका लागि खर्च नगरी आफू निकट तथा परिवारका सदस्यहरुलाई दिने गरेको।
१३) स्वयंसेवक तथा संस्थामा आश्रय लिएर बसेका व्यक्तिहरुमाथि चोरको आरोप लगाएर आमाचाकरी गाली गर्ने, मानसिक तनाव दिने गर्दै आएको छ। तर, पुलिसलाई खवर गरेर वास्तविक अनुसन्धान गर्न पटक—पटक आग्रह गर्दा दिलशोभा आफै नमान्ने गरेको।
केही समयअघि संस्थाबाट २२ तोला सुन हराउँदा पनि पुलिस आएर अनुसन्धान गर्दा उल्टो आफै परिएला भनेर उजुरी नदिएको। संस्थाको वास्तविकता बाहिर आउने डरले पुलिसमा खबर नगर्ने गरेको।
१४) संस्थामा दिनहुँ लाखौँको सहयोग आउने गर्दछ। तर, संस्थामा आश्रय लिएका वृद्धा र बालबालिकाको आवास र खानाका लागि न्यूनतम आवश्कता समेत पूरा नगरी अचल सम्पति जोड्ने काम गरिएको छ। (उनी, उनका परिवार र आफन्तको नाममा रहेको अचल सम्पतिको अनुसन्धान गरेमा उनले जोडेको सम्पतिको पर्दाफास हुनेछ)। तर, फर्जी बिल बनाएर बाहिरबाट प्राप्त सहयोगको सदुपयोग भएको देखाउने गरिएको छ।
१५) संस्थामा आउने आगुन्तकहरुका माझ भावुक भई सहयोग दिन बाध्य बनाउने गरेको। (कुनै सहयोगी दाता जांदा उनी रुने र भावुक भई सहयोग दिन बाध्य बनाउने नाटक रच्ने गर्दछिन्)
१६) संस्थाको सम्पर्कमा आउने कतिपय महिलाहरुलाई अनैतिक काममा समेत लगाउने गरेको पाइएको छ। जसको अडियो क्लिप हामीले यसै उजुरीका साथ पेश गरेका छौँ। त्यो अडियो नै दिलशोभाको कर्तुतको पर्दाफास हुनेछ।
गुठीमा हाल ३३ बालबालिका छन। गुठीमा आश्रय लिन आएका कतिपय बालबालिकालाई घरेलु कामदारको रुपमा समेत पठाइएको छ। शोषणका कारण कतिपय भागेर आफ्नै गाउँ फर्केका छन्।
संस्थामा भइरहेका माथि उल्लेखित तथ्य कुनै बनावटी नभई यथार्थ हुन्। जसको बारेमा नियमन निकायले अनुसन्धान गर्दा समेत पुष्टि हुनेछ। संस्थाका अध्यक्ष दिलशोभाका सामुन्ने बालबालिका र वृद्धाहरु यथार्थ भन्न डराउँछन्। तर, उनको अनुपस्थितिमा सोधपुछ गर्ने हो भने हामीले यहां पेश भएका तथ्य र विवरणहरु आफै बोल्छन्। बाहिरी आवरणमा सामाजिक काम गरेर अर्न्तराष्ट्रिय रुपमा ख्याती कमाए पनि उनको भित्री वास्तविकता अपराधको रुपमा देखिन्छ। जसलाई अहिलेसम्म सम्वन्धित निकायले समेत अनुसन्धान गर्न सकिरहेको छैन। सामाजिक कामको आवरणमा भइरहेको यस्तो शोषण र अनैतिक धन्दालाई रोक्नुपर्ने हाम्रो जोडदार माग छ। साथै उनले वृद्धा र बालबालिकाको नाममा आएको सहयोग आफ्नो व्यक्तिगत सम्पति जोड्ने माध्यम बनाउँदै आएकी छिन्। जसको अनुसन्धान गरी उनको सम्पतिमाथि पनि छानबिन होस् भन्ने हामी जोडदार माग गर्दछौ। तत्काल शोषणमा परेका वृद्धा र बालबालिकाको उद्धार गरी उनीहरुको यथोचित व्यवस्थापन गर्न समेत हामी आग्रह गर्दछौँ।
हाम्रो यो अभियान कुनै व्यक्ति वा संस्थामाथि लान्छना र आरोप लगाउने उद्देश्यबाट गरिएको होइन। सामाजिक कामको आवरणमा कमाई खाने माध्यम बनाएर बृद्धा र बालबालिकामाथि भइरहेको सवैखालको शोषणको अन्त्य गर्नका लागि सहजकर्ताको भूमिका मात्रै हामीले निर्वाह गरेका हौँ। हाम्रो बुझाईमा यस्तो गतिविधि गर्ने आमा घर एउटा मात्रै छैन। यो एउटा प्रतिनिधि संस्था मात्र हुनसक्छ। तत्काल आमा घरमा दयनीय अवस्थामा राखिएका बालबालिका र बृद्धाहरुको तत्काल उद्धार गरियोस्।साथै यस्ता अन्य संघसंस्थाहरुमाथि पनि अनुसन्धान होस् भन्ने हाम्रो माग छ।
संलग्न प्रमाणहरु
१) अडियो र भिडियो क्लिप्स (यसमा बालबालिका र बृद्धाहरुसँगको कुराकानी समावेश छ। साथै गुठीकी अध्यक्ष दिलशोभा श्रेष्ठको विभिन्न भ्वाइस रेकर्ड समेत संलग्न छ)
२) तस्बिरहरु
३) आवश्यक परेको खण्डमा गुठीमा आश्रित बालबालिकासँग समेत कुरा गरेर यथार्थ जानकारी लिन सकिन्छ।
बोधार्थ
१) केन्द्रीय बालकल्याण समिति
२) महिला तथा बालबालिका मन्त्रालय
३) महिला विकास आयोग
४) राष्ट्रिय मानव अधिकार आयोग
अडियो क्लिप
यसमा दिलशोभाले फोनमा गरेको भनिएको कुराकानी छ। फोनमा उनले आफूमार्फत् अनैतिक काममा लगाउने गरेको बुझ्न सकिने संवाद छन्। कसैलाई मन्दिरमा पठाइदिने र लुगाको आधारमा चिन्न भन्नेदेखि लिएर हजुरको सेवा गर्न पठाइदिएको छु र रातभरी तपाईँसँग सुत्छ, माया माया माया गरेर बस्छ भनेको पनि सुनिएको छ।
के छ यसमा, आफै सुन्नुस्- click below link for audio 
https://www.youtube.com/watch?v=lv8bQcl8iqs 

Face book मा यस्ता प्रतिकृया देखिए :










No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक