(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140429

मिडिया भनेको वास्तवमा पासा नै हो, कहिले उल्टिन्छ गिरिजाप्रसादहरूका लागि, कहिले पल्टिन्छ रामवरणहरूका लागि - उमेश चौहान


umesh-chauhan
 ‘मिडिया र पब्लिक रिलेसन भनेको संगठित झुट हो’ भारतीय वरिष्ठ पत्रकार विनोद मेहताले आफ्नै पत्रिका आउटलुकमा गत डिसेम्बरमा यस्तो लेखेपछि पत्रकारिताका धेरै विद्यार्थी स्तब्ध भए । उनको भनाइ जति विष्मयकारी छ, उनले दिएको उदाहरण त्यत्तिकै जोडदार छ । प्रधानमन्त्री डा. मनमोहन सिंहको निमन्त्रणामा गत डिसेम्बरको तेस्रो साता भारत भ्रमणमा आएका थिए बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन । दिल्लीमा राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री डा. सिंहलाई भेटेपछि क्यामरुन सीधै कोलकातातिर लागे । इस्टइन्डिया कम्पनीले कोलकातामा पहिलो पाइला राखेर तथा पछि चालेर सिंगो भारतमाथि शासन गरेको थियो भन्ने बिर्सिएजस्तो गरी कोलकातामा क्यामरुनको भव्य स्वागत भयो । राता–पहेँला बत्तीले जगमगाउँदा दर्जनौँ गाडीका बीचमा कोलकाताको सहरमा हुइँकिएका क्यामरुनले आफ्नो गाडी बीचबाटोमै रोक्न चालकलाई आदेश दिए । शक्तिशाली देशको पाहुना प्रधानमन्त्रीको गाडी अचानक बीचमै रोकिएपछि अगाडि बढिसकेका सुरक्षाकर्मीका गाडीका लस्कर सेकेन्डमै ब्याकगेयर फर्किए । अपशकुनको सन्त्रासमा सुरक्षाकर्मीले हतियार सोझ्याए, ब्रेकिङ न्युजको आशमा पत्रकारले क्यामरा तेस्र्याए । कोलकाताको पार्क स्ट्रिट क्षणभरमै संसारभरिको सबैभन्दा ‘ह्यापेनिङ स्पट’ बनिसकेको थियो । त्यहीबीचमा क्यामरुन महोदय गाडीबाट टक्क झरेर फुटपाथतिर लम्किए, फुटपाथमा अनुराग चौहान सधैँजस्तै स्ट्रिट फुड बेचिरहेका थिए । प्रधानमन्त्री महोदयले चौहानको भेण्डरमा सबै परिकार हेरेपछि दालबडा अर्डर गरे । माहोल स्तब्ध थियो, जब क्यामरुनले पुदिनाको चट्नीमा चोबेको दालबडा खाएर चट्ट जिब्रो पड्काए, एकैपटक पचासौँ क्यामराका फ्ल्यास झलल्ल बले । क्यामरुनले १० पाउन्डको नोट दिएर
चौहानको यो जुनी सार्थक बनाउँदै गाडीमा फर्किए, उनको लावालस्कर अगाडि बढ्यो । उनले गाडीबाटै ट्विट गरे, ‘कोलकातामा दालको मसलादार केक निक्कै मनपर्यो ।’
क्यामरुनको ट्विटभन्दा केही सेकेन्डअघि नै उनले दालबडा खाएको तस्बिर एपी, एएफपी, बिबिसी, रोयटर्स र पिटिआईमार्फत संसारभर फैलिसकेको थियो । अघिल्लो साँझ दिल्लीको हैदरावाद हाउसमा ह्विस्कीको चुस्की लिएका प्रधानमन्त्रीले अर्को दिन कोलकाताको फुटपाथमा चट्नी खाएर जिब्रो पड्काएको समाचार वास्तवमै असाधारण थियो । त्यसैले क्यामरुनले दालबडा खाएको तस्बिर केही घन्टामै सोसल मिडियामा सबैभन्दा बढी सेयर भएको तस्बिरमा दर्ता भयो । अनुराग चौहानको दालबडा जुन रफ्तारमा मिडिया र सोसल मिडियामा भाइरल बनिरहेको थियो, त्योभन्दा चर्को रफ्तारमा क्यामरुनको तारिफ र भारतीय नेताको गाली–बेइज्जती भइरहेको थियो । भारतीय टेलिभिजनका प्रस्तोताहरू भनिरहेका थिए, ‘नेता हुनु त क्यामरुनजस्ता, हेर्दै कति सरल, कति भलाद्मी । बाटोमा हिँड्दा–हिँड्दै रोकिन सक्छन्, गरिबको छाप्रोमा खान सक्छन् । बरु हाम्रा नेता, गरिब जनताको भोट पाएर नेता बन्छन् र सडकका जनता देखेर घिन मान्छन् । क्यामरुनलाई खोइ घिन लागेको ? सिक नेता, केही त सिक ।’
रातभरि डेभिड क्यामरुनलाई बेचेपछि बिहानै मिडियाको ताँती अनुराग चौहानलाई बेच्न पार्क स्ट्रिटतिर सोझियो । पत्रकारहरूको भीडले चौहानका छिमेकी सडक व्यापारीहरू विस्थापित भए । मिडियाको सबैभन्दा ठूलो सेलिब्रेटी बनेका अनुरागसामु पत्रकारका प्रश्न बर्सिन थाले ? ‘डेभिड क्यामरुनले दिएको १० पाउन्डले के किन्ने योजना बनाउनुभएको छ ? तपाईंलाई सानोमा छिमेकीका छोराछोरीले के भनेर होच्याउँथे, तर तपाईं कसरी संघर्ष गरेर आजको स्थानमा आइपुग्नुभयो ? तपार्इं सानोमा के खानुहुन्थ्यो, कस्तो लगाउनुहुन्थ्यो ? त्यो चट्नी बनाउने पुदिना कुन खेतको हो ?’ यस्तै यस्तै दर्जनौँ प्रश्न । केही चल्तीका पत्रकारहरू त अनुरागको अन्तर्वार्ता लिइसकेर अनुरागजस्ता हस्तीलाई जन्माउने बाबुआमा कहाँ बस्छन्, के खान्छन् भनेर पनि पत्तो लगाउँदै थिए । यो सब देखेर अनुरागले हाँसो थाम्न सकेनन् । उनको हाँसो देखेर एकजना पत्रकारले प्रश्न गरे, ‘क्यामरुनले तपाईंको मुहारमा यस्तो हाँसो ल्याए, आफूलाई हर्षित बनाउने क्यामरुनलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?’ जवाफमा अनुरागले भने, ‘म क्यामरुनलाई सम्झिएर होइन, तपाईंहरूको काम सम्झिएर हाँसिरहेको छु । वास्तवमा क्यामरुनको गाडी अचानक रोकिएको होइन । दुई दिनअघि नै बेलायती दूतावासका उच्चआयुक्त आएका थिए । उनले प्रधानमन्त्रीले तिम्रो दुकानमा दालबडा खानुहुन्छ, स्टिलका भाँडा पनि सफा राख्नु भनेर गएका थिए । नेताहरू अचानक यस्तो नाटक गर्दा रहेछन्, मिडिया त्यसैको पछि लाग्दा रहेछन् र जनतालाई बेबकुफ बनाउँदा रहेछन् । यो विचित्र देखेर मलाई हिजैदेखि हाँसो लागिरहेको छ ।’
प्रधानमन्त्री क्यामरुनको ‘न्युज फिक्सिङ’बारे चुप लागेर अनुराग चौहान अझै केही दिन मिडियामा छाउन सक्थे, तर सत्य बोलेर उनले मिडियाको आवेगपूर्ण प्रचारमा ब्रेक लगाइदिए । मिडियाबाजी गर्न १० पाउन्ड भए पुग्छ भनेकै कारण क्यामरुनको प्रोपगण्डा तत्कालै पर्दाफास भयो, तर दुर्भाग्य मिडियामा हल्ला गर्न दशौँ लाख पाउन्ड, डलर र क्रोनर खर्च भइरहेको छ, त्यसैले पर्दाफास हुन समय लागिरहेको छ ।
मिडियाले समाजमा शान्ति र विकास प्रवद्र्धन गर्ने हो । तर, आफ्नो देशमा शान्ति र समृद्धि प्रवद्र्धन गर्न हामीलाई विदेशीको डलर र क्रोनर चाहिन्छ भने हाम्रो खास काम के हो भन्ने प्रश्न उठ्छ । वास्तवमा जनतालाई सत्य र तथ्य पस्कने कसम खाएको मिडिया आफैँ छद्मभेषीको चंगुलमा छ । छद्मभेषीले मिडियालाई र मिडियाले जनतालाई कसरी उल्लु बनाउँछन् भन्ने अर्को उदाहरण यहाँ सान्दर्भिक छ । सन् २००१ मा अगफानिस्तान पसेको अमेरिकी सेनालाई अर्को रोजगारी सिर्जना गर्न राष्ट्रपति जर्ज बुसले २००३ मा इराकमाथि हमला गरे । राष्ट्रपति बुसले तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीलाई फोन गरेर भने, ‘आतंकवाद र घातक हतियार हामी सबैका लागि चुनौती हो । त्यसैले मिलेर लडौँ, म बग्दादमा भारतीय सेनाको परेडको प्रतीक्षामा छु ।’
अमेरिकी राष्ट्रपतिको प्रस्ताव इन्कार गरेर जोखिम लिने पक्षमा वाजपेयी थिएनन् । उनले यो विषयमा आफ्ना सहयोगीसँग छलफल गरे । लगत्तै मिडियामा समाचार आयो, ‘अमेरिकी गठबन्धनमा भारत पनि सहभागी हुँदै, भारतीय सेना बग्दाद जाँदै ।’ समाचार आएकै दिन राजधानी दिल्लीलगायत प्रमुख सहरमा प्रधानमन्त्री अटलबिहारी वाजपेयीविरुद्ध प्रदर्शन भयो । वामपन्थी दलहरूको अगुवाइमा सडकमा नारा लाग्यो, ‘बुस–वाजपेयी गठबन्धन मुर्दावाद, अमेरिकी कठपुतली वाजपेयी–राजीनामा दे, साम्राज्यवाद मुर्दावाद ।’
तीन दिनसम्म सडकमा प्रदर्शन भएपछि वाजपेयीले वामपन्थी दलका नेताहरूलाई भेट्न बोलाए । रामलीला मैदानमा वाजपेयीको पुत्लामा आगो सल्काएर उनैलाई भेट्न सेभेन रेसकोर्स रोड पुगेका वामपन्थी नेता हरकिसनसिंह सुरजित र एबी बर्धनलाई वाजपेयीले सोधे, ‘कस्तो हुँदै छ आन्दोलन ?’ दुवै नेताले एकै स्वरमा भने, ‘आन्दोलन चर्कंदै छ ।’ वाजपेयीले भने, ‘कहाँ चर्कंदै छ खोइ ? म त त्यस्तो खासै केही देख्दिनँ ।’ वाजपेयीले यो पनि भने, ‘के–कस्तो सहयोग चाहिन्छ, मलाई भन्नोस्, तर यस्तो आन्दोलनले काम चल्दैन, आन्दोलन भनेपछि ठट्टा गर्न पाइँदैन ।’
वाजपेयीले के–कस्तो सहयोग गरे खुलेको छैन, तर सो भेटको भोलिपल्ट भारतभर वाजपेयीका एक सय ५० पुत्ला जले, प्रहरी कारबाहीमा सयौँ प्रदर्शनकारी घाइते भए, संसारभरिका मिडियाले भारतमा बढ्दै गएको आन्दोलनको तस्बिर छापे । अनि वाजपेयीले बुसलाई खबर पठाए–‘आन्दोलन हिंसात्मक बन्दै गयो, तत्काल सेना पठाउन सकिएन ।’ जनतालाई उल्लु बनाउन वाजपेयी र वापमन्थीले मिडियालाई प्रयोग गरे, यो उदाहरण असाधारण हो, तर न पहिलो हो न अन्तिम नै ।
मिडिया वास्तवमै ‘टुल्स’ हो, त्यो बेलायतमा, त्यो भारतमा र त्यो नेपालमा पनि । नेपालमा किनभने ०६२/६३ को आन्दोलनको सफलतापछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालालाई फेरि प्रधानमन्त्री बनेर कुनै रेकर्ड बनाउनु थिएन । देशभरिका मालपोत कार्यालयका साइनबोर्डमा आन्दोलनकारीले रातो पेन्टले लेखिसकेका थिए, ‘गणतन्त्र नेपाल– जिन्दावाद ।’ यता कास्कीको सिकलेसबाट हेलिकोप्टरमा काठमाडौं आएका माओवादी नेताहरूले कोइरालालाई भनिरहेका थिए, ‘देशमा गणतन्त्र घोषणा गरौँ, राष्ट्रपति हुन तपाईंभन्दा वरिष्ठ नेता अरू को छ र ?’ गिरिजाप्रसादलाई आफ्नो वरिष्ठतामा कुनै शंका थिएन, शंका थियो त माओवादी प्रस्ताव र जनताको प्रतिक्रियामा । त्यसैले ०६३ को चैतमा विराटनगर पुगेर उनले भने, ‘राजतन्त्रको नाममा बेबी किङ राख्न (हृदयेन्द्रलाई राजा बनाउन सकिन्छ) कि भनेर सल्लाह भइरहेको छ, तर के हुन्छ भनेर प्रस्ट भन्न म सक्दिनँ ।’ कोइराला चढेको जहाज विराटनगरबाट एक घन्टाभित्रै काठमाडौंमा अवतरण भयो, तर बेबी किङबारे उनले दिएको भाषणमाथि आक्रामक प्रतिक्रियाको लहर तीन दिनसम्म चर्कियो । मिडियामा समाचार पनि आयो, ‘हृदयेन्द्रमार्फत ज्ञानेन्द्रलाई फेरि स्थापित गर्ने षड्यन्त्र, कोइराला बने प्रवक्ता ।’ प्रतिक्रिया यति जबर्जस्त थियो कि कोइराला मिडियासामु बोल्नुपर्ने भयो, उनले आफैं मिडिया बोलाएर भने, ‘मुलुक गणतन्त्रमा गइसक्यो, राजतन्त्रका कुडाकर्कट हटाउन केही समय त लागिहाल्छ ।’ वास्तवमा गिरिजाप्रसाद गणतन्त्र घोषणा गरेर देशको पहिलो राष्ट्रपति बन्ने योजनामा स्पष्ट थिए, तर उनी जनताको मनमा कतै राजतन्त्रको कुडाकर्कट छ कि छैन भनेर जान्न चाहन्थे, त्यसैले उनले मिडियामा ‘बेबी किङ’को पासा फालेका थिए । मिडिया भनेको वास्तवमा पासा नै हो, कहिले उल्टिन्छ गिरिजाप्रसादहरूका लागि, कहिले पल्टिन्छ रामवरणहरूका लागि ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक