20140507

के के खिचडी पाक्दैछ छ एमाओबादी भित्र प्रचण्ड र बाबुरामको ??

एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को राष्ट्रिय सम्मेलन मङ्गलबार सकिएको छ ।  सम्मेलनले केन्द्रीय अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः चयन गर्दै सम्मेलन सकिएको घोषणा गरिएको छ ।  सम्मेलन समापन घोषणा हुनुपूर्व नै एमाओवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर १४ जना नेताले
अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय समितिमा नबस्ने घोषणा गर्नुभयो ।  
नेतृत्व चयन, अध्यक्षको एकमनावादी पार्टी सञ्चालन, फरकमतप्रति असहिष्णुजस्ता विमति भट्टराई पक्षधर नेताले राख्नुभयो ।  बन्दसत्रमा अध्यक्षले पेस गर्नुभएको नाममा नेता भट्टराईले असहमति जनाउँदै आफू नबस्ने घोषणा गर्नुभएको थियो ।  उहाँले पार्टी सञ्चालनमा लेनिनवादी संस्कृतिको विकास गर्नुभन्दा अध्यक्ष प्रचण्डको समूहले स्टालिनको कार्यशैली अपनाएको बन्दसत्रमा बताउँदै आफू पार्टीको केन्द्रीय समितिमा नबस्ने तर पार्टी अनुशासनलाई मान्ने धारणा राख्नुभएको थियो ।  नेता भट्टराईले बोलिसक्नुभएपछि उहाँ पक्षधर नेता टोपबहादुर रायमाझीले आफ्ना धारणा राख्दै १२ जनाको नाम पढेर केन्द्रीय समितिमा नबस्ने जानकारी गराउनुभएको थियो ।  “फरक मतलाई निस्तेज गर्न खोज्नुभयो, अब हामी नहुँदा पार्टी सरर बढ्छ भन्ने लाग्या हो भने हामी केन्द्रीय समितिमा बस्ने छैनौँ,” रायमाझीले हलमा भन्नुभएको थियोे ।  
रायमाझीसहित, हिसिला यमी, देवेन्द्र पौडेल, नवराज सुवेदी, गङ्गानारायण श्रेष्ठ, बामदेव क्षेत्री, प्रभु साह, खिमलाल टेवकोटा, कुमार पौडेल, हेमराज भण्डारी, बलावती शर्मा, कल्पना धमला, रामरिझन यादव र देवी
खड्कले केन्द्रीय समितिमा बस्न अस्वीकार गर्नुभयो ।  
समितिमा बस्न अस्वीकार गर्नेको नाम अध्यक्ष प्रचण्डले केन्द्रीय समितिबाट फिर्ता लिएको बताउँदै, इतिहासको गम्भीर मोडमा पार्टी रहन पुगेको बताउनुभयो ।  भट्टराई पक्षधर नेता देवेन्द्र पौडेलले आफूहरूले पार्टी नछोडेको तर केन्द्रीय समितिको जिम्मेवारीमात्र छोडेको बताउनुभयो ।  उहाँले पार्टीको साधारण सदस्य रहेर पार्टी अनुशासनभित्रबाटै काम गर्ने बताउनुभयो ।  
यसैगरी, पार्टीका प्रवक्ता दीनानाथ शर्माले पार्टीमा नयाँ विधिको विकास हुने कुरामा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।  उहाँले नेता भट्टराईसहितको टिमले कार्यदिशाको मुल स्प्रिटसँग सहमति जनाए पनि नेतृत्वको विषयमा असहमति जाहेर गर्नुभएको बताउनुभयो ।  
यसैगरी, नेता हरिबोल गजुरेलले ‘हरेक नकारात्मकभित्र सकारात्मक र सकारात्मकभित्र नकारात्मक हुने’ भएकाले पार्टी बन्ने कुरामा यो सकारात्मक रहेको बताउनुभयो ।  बन्दसत्रमा अध्यक्ष प्रचण्डले पेस गनु्र््भएको ९९ सदस्यीय केन्द्रीय समितिलाई बन्द सत्रको हलले पारित गरेको थियो । 
राष्ट्रिय सम्मेलन गर्न विराटनगरमा जम्मा भएका एमाओवादीका नेता–कार्यकर्ता विभाजित मन लिएर फर्किएका छन् । बाबुराम भट्टराई पक्षले बहिष्कार गरेपछि पुष्पकमल दाहाल समूहले एकलौटी पुन: उनलाई अध्यक्ष निर्वाचित गरेको घोषणा गरेपछि एमाओवादी विभाजनतर्फ उन्मुख देखिएको छ । सुरुमा दाहालले ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भन्दै त्यसमा आफ्नो पक्षका ७४, भट्टराईका १५ र नारायणकाजी श्रेष्ठका १० जना सदस्य रहने गरी सर्वसम्मतिका लागि नाम प्रस्ताव गरेका थिए । तर, त्यसमा असहमति जनाएर सोमबार सम्मेलन हलमै नगएका भट्टराईले मंगलबार ११ मिनेट बोलेर आफ्ना असहमति राखेका थिए । फरक विचार राख्नेप्रति नेतृत्व सहिष्णु नभएको र आफूहरूलाई लगातार पेलिएको भन्दै उनले कुनै पनि पदमा नबस्ने घोषणा गरेका थिए । उनले त्यस बेला बरु कम्युनिस्ट पार्टी कसरी पतन भए भनेर अनुसन्धान गरेर बस्ने तर दाहालको नेतृत्वमा नबस्ने बताएका थिए । उनीलगत्तै उनको समूहका टोपबहादुर रायमाझी, प्रभु साह, हिसिला यमी, देवेन्द्र पौडेल, गंगानारायण श्रेष्ठ, कुमार पौडेल, हेमराज भण्डारी, देवी खड्का, वामदेव क्षेत्री, खगराज भट्ट, खिमलाल देवकोटालगायतले पनि नेतृत्वमा नबस्ने घोषणा गरेका थिए । उक्त समूह हलबाट बाहिरिएपछि दाहालले बाँकी ७२ जनाको नाम पढेर सुनाएका थिए । गत संविधानसभाको चुनावमा नराम्रो पराजय भोगेपछि अत्तालिएका एमाओवादीका नेताहरूले आफ्ना कमजोरीहरू निर्ममताका साथ केलाएर पार्टी पुनर्गठन गर्ने उद्घोषसहित राष्ट्रिय सम्मेलन बोलाउने निर्णय गरेका थिए । पार्टीमा तलबाट प्रतिनिधि निर्वाचित भएर आउने र तिनले नेता निर्वाचित गर्ने प्रस्ताव गर्नेमध्ये भट्टराई स्वयम् एक थिए । तर, प्रतिनिधि छान्दा नै भट्टराई पक्षलाई १० प्रतिशतमा सीमित गरिएपछि उनी सम्मेलनबाट केही निष्कर्ष ननिस्किनेमा ढुक्क जस्तै थिए । त्यही भएर उनले बीचमा नयाँ शक्तिको आवश्यकताका बारेमा सार्वजनिक
रूपमा अभियान चलाएका थिए । तर, महाधिवेशनमा भने उनले त्यसबारेमा सामान्य चर्चा पनि नगरेपछि कार्यकर्तासमेत अचम्भित भएका छन् । अध्यक्ष दाहालले भट्टराईको चित्त बुझाउनका लागि १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने, अहिले ९९ जनाको निर्वाचन गर्ने र बाँकी ५२ जना पछि मनोनीत गर्ने प्रस्ताव पनि गरेका थिए । तर, भट्टराईले उक्त कुरामा पनि सहमति नजनाएपछि सोमबार एक बजेदेखि मंगलबार १ बजेसम्म सम्मेलन नै स्थगित भएको थियो । बाबुराम अब कता ? चीन भ्रमणमा जानुछ भन्दै विराटनगरबाट हिँडेका भट्टराईसँग कता जाने भन्ने अन्योल छ । यति धेरै पेलिँदै एमाओवादीमै बस्ने कि आफूले भनेझैं नयाँ शक्तिको निर्माणमा लाग्ने भन्ने अन्योलमा भट्टराई छन् । सम्मेलन बहिष्कारपछि विराटनगरमा उनको समूहको बैठक बसेको थियो । त्यसमा तत्कालै ठोस निष्कर्ष ननिस्के पनि अहिलेकै अवस्थामा दाहालसँग मिलेर जान नसकिनेमा भने एकमत भएको थियो । फराकिलो सार्वजनिक छवि र कमजोर सांगठनिक पकड भएका डा. भट्टराईका अघि एउटै विकल्प छ– आफूले भन्दै आएको नयाँ शक्ति निर्माण । तर, उनका वरिपरि रहेका सीमित नेता–कार्यकर्तालाई हेर्दा पनि त्यो काम भइहालेमा पनि सफल होला भन्ने विश्वास स्वयम् त्यसै समूहमा रहेका नेता–कार्यकर्तामा पनि छैन । उनीनिकट एक कार्यकर्ताले भने– ‘तर त्यसबाहेक अरू विकल्प होला जस्तो देखिएको छैन ।’ नारायणकाजीको दाउ सत्याग्रह भन्दै सार्वजनिक बस चढेर चर्चामा आएका अर्का नेता नारायणकाजी श्रेष्ठले भने भट्टराईलाई टाढा राख्नका लागि दाहाललाई उक्साएको अनुभव गरिएको छ । भट्टराई टाढिँदा त्यसबाट आफूलाई फाइदा हुने विश्लेषणसहित उनले पहिला भट्टराईलाई उचालेर पछि पछारेको नेता–कार्यकर्ता बताउँछन् । भट्टराईले बहिष्कार गर्नासाथ गठन गरिएको केन्द्रीय कमिटीको विराटनगरमै बसेको बैठकमा उनै श्रेष्ठले दाहाललाई अध्यक्ष बन्न प्रस्ताव गरेका थिए भने दाहालका सदाबहार सहयोगी पोष्टबहादुर बोगटीले समर्थन गरेका थिए । बाबुराम भट्टराई बाहिरिएपछि दाहालको टोलीमा नारायणकाजी समूह र नवप्रवेशीहरूको बलियो उपस्थिति देखिएको छ । रामचन्द्र झा, उर्मिला अर्याल, धर्मदत्त देवकोटालगायतले मौका पाएका छन् । पहिला बाबुरामकै समूहमा रहे पनि अहिले दाहाललाई साथ दिएका दीनानाथ शर्मा, राम कार्कीलगायत पनि नेतृत्वमा बसेका छन् । दुई वर्षअघि एमाओवादीबाट बाहिरिएका मोहन वैद्यकै नियतिमा भट्टराई अहिले पुगेका छन् । त्यतिबेला धोबीघाट गठबन्धनका नाममा मोर्चाबन्दी गरेर उनलाई प्रधानमन्त्री बनाइए पनि पछि मन्त्रीमण्डल विस्तारमा चित्त नबुझेपछि वैद्यको नेतृत्वमा एमाओवादी विभाजन भएको थियो । विभाजनका बेला वैद्य समूह दाहालभन्दा पनि भट्टराईप्रति बढी आक्रामक थियो । त्यसपछि हेटौंडामा सम्पन्न सातौं महाधिवेशनबाट कार्यदिशा परिवर्तन गर्दै एमाओवादीले आफूलाई शान्तिपूर्ण राजनीतिमा रूपान्तरण गर्ने नीति लिएर वैद्य समूहसँग सैद्धान्तिक रूपमा भिन्नता देखाएको थियो । तर, यसपटक दाहाल र भट्टराईबीच भने कुनै सैद्धान्तिक विषयमा विवाद छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक