20140717

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा गड्यौलाले पूरै ढाकेपछि आन्तरिक र बाह्य दुवैतर्फका उडान अवरुद्ध !

- केदार दाहालगड्यौलाले रोके जहाज
काठमाडौं, ३२ असार- मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा गड्यौलाका कारण दिनहुँजसो जहाज उडान तथा अवतरणमा समस्या आएको छ । मंगलबार र बुधबार बिहान गड्यौलाले पूरै धावनमार्ग ढाकेपछि १ घण्टासम्म आन्तरिक र बाह्य दुवैतर्फका उडान अवरुद्ध भए । हरेक दिन समस्या दिन
थालेपछि यतिबेला विमानस्थल कार्यालयका कर्मचारीलाई गड्यौला सोहोर्ने चटारो बढेको छ । राति धावनमार्ग खाली हुँदा गड्यौला भरिन्छन् । यसरी गड्यौला वा अरु कुनै पनि वस्तु धावनमार्गमा हुँदाहुँदै उडान÷अवतरण गर्दा दुर्घटनाको सम्भावना हुने भएकाले अनुमति दिइँदैन । गड्यौला धावनमार्गमा हुँदा पंक्षीहरू सिकारका लागि आउने भएकाले दुर्घटनाको थप जोखिम हुन्छ । “पहिले धावनमार्ग भत्किएर दिनहुँजसो समस्या हुन्थ्यो, यो वर्ष गड्यौलाले गर्दा समस्या देखियो,” विमानस्थल कार्यालयका महाप्रबन्धक ऋषिकेश शर्माले भने, “छेउछाउमा बाक्लो झाडी र घाँस रहेकाले गड्यौला थुप्रिएका हुन् । रसायन प्रयोग गर्दासमेत भएको छैन ।” उनका अनुसार बेलुकी पानी परेर बिहान केही घाम लाग्दा पूरै धावनमार्ग गड्यौलाले भरिन्छ, जसले आधादेखि डेढ घण्टासम्म उडान अवरुद्ध हुँदै आएको छ ।
कार्यालयले धावनमार्गवरपरको घाँस दिनहुँ कटान गरिरहँदा समेत गड्यौलाले दुःख दिइरहेको शर्माले बताए । “पहिले सामान्य असर पारे पनि उडान÷अवतरणै रोक्ने खालको थिएन,” उनले भने । कार्यालयले हिजोआज टोली नै खटाएर गड्यौला फाल्ने गरेको छ ।
देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्यसमा पनि हरेक दिन गड्यौलाले उडान÷अवतरण रोक्नु दुःखद भएको निजी वायुसेवा सञ्चालक बताउँछन् । “विदेशमा उड्डयनका ठूला–ठूला प्रविधि आइसके, नेपालमा भने वरपरका घाँस र झाडीसमेत सफा गर्न सक्दैनन्,” नाम उल्लेख नगर्न आग्रह गर्दै एक सञ्चालकले भने ।
विगत वर्षजस्तो धावनमार्ग भत्किने समस्या भने यसपालि नरहेको शर्माले बताए । गत वर्ष विमानस्थलको धावनमार्ग भत्किँदा २ सातामा ७ पटक उडान¬÷अवतरण अवरुद्ध भएका थिए । यो वर्ष कार्यालयले धावनमार्गमा ‘हट मिक्स कंक्रिट’ प्रयोग गरी मर्मत गरिरहेको छ ।
पर्यटकीय मौसममा दैनिक ४ सयदेखि साढे ४ सयसम्म उडान÷अवतरण हुन्छन् । हाल भने पर्यटनको अफसिजन चलिरहेकाले दैनिक अढाई सयजति उडान÷अवतरण हुने गरेको शर्माले बताए । हाल २७ वटा एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । एयर एसिया, इत्तेहाद, थाईलगायत कम्पनीले वाइडबडी जहाजमार्फत सेवा दिइरहेका छन् । आन्तरिकतर्फ पनि दैनिक साढे ३ सयजति उडान÷अवतरण हुन्छन् । -Karobar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक