20140724

नक्कली बिल भर्पाइ पेस गरी लाखौँ रुपियाँ अनियमितता गरेको आरोपमा स्वास्थ्य सेवा विभागका निर्देशक डा. आनन्दकुमार श्रेष्ठसहित १० जना निलम्बित !

नक्कली बिल भर्पाइ पेस गरी लाखौँ रुपियाँ अनियमितता गरेको आरोपमा स्वास्थ्य सेवा विभागका निर्देशक डा. आनन्दकुमार श्रेष्ठसहित १० जना निलम्बित भएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल निलम्बन गर्न निर्देशन दिएपछि मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० जनालाई निलम्बन गरेको हो ।  निलम्बित सबैलाई बयानका लागि अख्तियार जानसमेत मन्त्रालयले पत्राचार गरेकोे छ ।  निलम्बनमा पर्नेहरू क्रमशः पुनर्जागरण महाशाखाका निर्देशक श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य अधिकृत रत्नलाल श्रेष्ठ, शाखा अधिकृतद्वय डोलराज शर्मा र रूपनारायण खतिवडा, लेखा अधिकृत यदुराज शर्मा नेपाल, फर्मासिस्ट भरतमणि मरहट्ठा, जनस्वास्थ्य निरीक्षकद्वय रामशरण अधिकारी र रामजी घिमिरे तथा खरिदार कविराज सुवेदी हुनुहुन्छ ।  टेकूस्थित स्वास्थ्य सेवा विभागअन्तर्गत पुनर्जागरण महाशाखामा कार्यरत उहाँहरूले विभिन्न कार्यक्रम सञ्चालनका लागि लिएको पेश्की रकम फछ्र्योट गर्ने क्रममा नक्कली बिल भर्पाइ पेस गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।  अनुसन्धानका क्रममा भ्रष्टाचार गरेको पाइएको बताउँदै अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले आफूविरुद्धको प्रमाण नष्ट गर्ने सम्भावना भएकाले सबैलाई तत्काल निलम्बन गर्न मन्त्रालयलाई लेखी पठाइएको बताउनुभयो ।  अख्तियारको पत्रबमोजिम आरोपित १० जनालाई निलम्बन गरिएको र बयानका लागि अख्तियारमा जान मन्त्रालयले पत्राचार गरेकोसमेत उहाँले जानकारी दिनुभयो ।  जनसरोकारसँग गाँसिएको स्वास्थ्यजस्तो संवेदनशील विषयमा लापरवाही गरी वदनियतपूर्वक सरकारी सम्पत्ति हानिनोक्सानी पु¥याएको बताउँदै प्रवक्ता एवं सहन्यायाधिवक्ता सापकोटाले त्यस विभागअन्तर्गतका अन्य महाशाखाहरूका उजुरीहरूउपर समेत छानबिन भइरहेकोे बताउनुभयो ।  आर्थिक वर्ष २०६८÷६९ तथा २०६९÷७० मा विभिन्न कार्यक्रम सञ्चालनार्थ लिएको पेश्की फछ्र्योट गर्दा हल नै नभएको होटलमा हल भाडाको बिल पेस गरेको, सामान नै खरिद नगरी होटल तथा स्टेसनरी पसलहरूको बिल पेस गरेको, भ्रमण आदेश बनाई कार्यालयमै हाजिर रहेर हवाईजहाजको नक्कली टिकट पेस गरी दैनिक भ्रमण भत्ताको बिल पेस गरेको, वास्तविक भाडाभन्दा दोब्बर मूल्य उल्लेख गरी हवाईजहाजको ई–टिकेट पेस गरेको र एकै दिनको कार्यक्रममा १०÷१० पटक एकै होटलबाट सहभागीहरूलाई खाजा र खाना सेट खरिद गरेको बिल पेस
गरिएको र ती सबै बिल भर्पाइहरू अनुसन्धानका क्रममा नक्कली पाइएको अख्तियारले जनाएको छ । 
यसैबीच, विद्यालयको रकम हिनामिना गरेको आरोपमा रौतहट जिल्ला भसेढवा गाउँ विकास समिति वडा नम्बर ८ झौवास्थित राम प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम मिकीप्रसाद यादवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  
आर्थिक वर्ष २०६४÷६५ देखि २०७०÷७१ सम्म पाठ्यपुस्तक, छात्रवृत्ति, पीसीएफजस्ता विभिन्न शीर्षकका लागि निकासा भएको २६ लाख ७१ हजार ८१० रुपियाँ झूटो विवरण पेस गरी वदनियतपूर्वक हिनामिना गरेको आरोपसहित विद्यालयका प्रधानाध्यापक वाल्मीकिप्रसाद यादव र स्रोत व्यक्ति रामवचनप्रसाद यादवसमेत विरुद्ध मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सापकोटाले बताउनुभयो । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक