20140729

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका क्रममा नेपाली काँग्रेससँग भएको सात बुँदे सहमति तत्काल कार्यान्वयन हुनुपर्ने बताए

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका क्रममा नेपाली काँग्रेससँग भएको सात बुँदे सहमति तत्काल कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । स्वास्थ्य उपचार गरी सिङ्गापुरबाट आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “सात बुँदे सहमति
दराजमा थन्काउन गरिएको होइन, कार्यान्वयनका लागि गरिएको हो । एमाले यसको तत्काल कार्यान्वयनको पक्षमा छ ।” काँग्रेस र एमालेबीच गत माघ २६ गते भएको सात बुँदे सहमतिअनुसार वर्तमान सरकार गठन भएको हो । सो सहमतिमा वर्तमान राष्ट्रपति÷उपराष्ट्रपतिलाई संविधानसभाले अनुमोदन गर्ने र एक वर्षपछि राष्ट्रपति÷उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्ने उल्लिखित छ । त्यसका लागि नेपालको अन्तरिम संविधान, २०६३ मा संशोधन गर्नुपर्ने हुन्छ । एमालेमा अध्यक्ष निर्वाचित भएदेखि नै ओलीले सो सहमतिको कार्यान्वयनका लागि पार्टीको अडान दोहो¥याउँदै आउनुभएको छ । उहाँले संविधानसभामा २६ जना सभासद्को मनोनयन पनि निकट भविष्यमै हुने बताउनुभयो । सिङ्गापुरस्थित नेसनल युनिभर्सिटीका चिकित्सकले स्वास्थ्यमा थप समस्या नभएको र फर्कन सक्ने जनाएपछि आफू फर्केको ओलीले बताउनुभयो । अध्यक्ष ओली फङ्गल सङ्क्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले थप उपचार गराउन साउन ६ गते सिङ्गापुर जानुभएको थियो । उहाँको स्वागतका लागि उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, नेताहरू भरतमोहन अधिकारी, कर्णबहादुर थापा, डा. राजन भट्टराईलगायत विमानस्थल पुग्नुभएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक