20140801

के के भैरहेको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सन्दर्भमा !

राजकीय भ्रमणका क्रममा नेपाल आउन लाग्नुभएका बिशिष्ट अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक महत्वपूर्ण कार्यसूचीका रुपमा तय भएको पशुपतिनाथको विशेष पूजाको तयारी शुरु भइसकेको छ । मोदीको स्वागतका लागि पशुपतिमा सबै क्षेत्रबाट उत्साहसाथ पूर्व तयारीका कामहरु पनि भइरहेका छन् । पशुपति मन्दिरको पश्चिमतर्फको मूल प्रवेशद्वार बाहिर नेपाली कला तथा साँस्कृतिक जीवन्तता झल्काउने स्वागतद्वार राख्ने तयारी भइरहेको छ । पश्चिमद्वारसँग जोडिएको सबै
मार्गमा झारपात उखेल्ने र बगैँचामा सुन्दरता जगाउने कामहरु भइरहेका छन् । कुचिकारको महिला समूह अहोरात्र सरसफाइमा खटिएका छन् । स्थानीय सिर्जनशील, अमरकान्तेश्वर, नव अमरकान्तेश्वर, सुरेशकान्तेश्वर युवा क्लबका युवा मोदीको स्वागतका लागि सक्रीय रुपमा खटिएका छन् ।
कामदारहरुबाट मठ मन्दिर मर्मत र आवश्यक स्थानमा रङ्गरोगनकोे कार्य भइरहेको छ  ।
भारतीय प्रधानमन्त्री मोदीले भगवान शिवको स्तुति गर्न उत्तम मानिएको यो साउन महिनाको तेस्रो सोमबार (१९ गते) पशुपतिनाथमा पञ्चामृतसहितको बिशेषपूजा गर्नुहुने भएको छ ।
यसका लागि पशुपतिनाथका नवनियुक्त मूल भट्ट गणेश भट्टलाई पशुपति क्षेत्र विकास कोष प्रशासनले जानकारी गराइसकेको छ । पूजा मूल भट्टले नै गराउनुहुनेछ ।
पशुपति मन्दिर परिसरका जिम्मावाल एवं पशुपति क्षेत्र विकास कोषका मुख्य कानुन अधिकृत कमलबहादुर बोगटीका अनुसार पशुपतिनाथमा प्रधानमन्त्री मोदीबाट हुने बिशेष पूजाका लागि उहाँका साथमा वीसजना भारतीय पण्डित पनि पशुपति मन्दिर प्रवेश गर्दै हुनुहुन्छ । 
सो अवसरमा नेपाल बेदविद्याश्रमका वेदमा पारङ्गत १०८ बटुकवाट मन्दिर परिसरमा रुद्रिपाठ हुने भएको छ । 
प्रचलन अनुसार मूलभट्टले बिशेषपूजा गर्ने गराउने समय बिहान ९ बजेदेखि ११ बजेसम्मको बीचमा भारतीय प्रधानमन्त्रीको मन्दिर प्रवेश हुने अनुमान कोषका अधिकारीको छ । 
पशुपतिनाथका बिसेट (धार्मिक ओहोदा) अरुण श्रेष्ठले पशुपति क्षेत्रमा हुने भारतीय प्रधानमनत्री मोदीको आगमन र बिशेष पूजालाई धार्मिक क्षेत्रमा महत्वकासाथ लिइएको बताउनुहुन्छ । 
पशुपति क्षेत्रको मन्दिर प्रवेशद्वार बाहिर पञ्चकन्या, ज्यापू समाजको धिमे तथा बाँसुरीबाजा, लाखेनाच लगायत स्थानीय साँस्कृतिक झाँकी स्वागतका क्रममा प्रदर्शन गर्ने तयारीमा कोष छ । हामी अति उत्साहकासाथ स्वागतको तयारीमा जुटेका छौँ– पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.गोविन्द टण्डन भन्नुहुन्छ ।
उहाँका अनुसार प्रधानमन्त्री मोदीबाट बासुकी, गुप्तेश्वर महादेव, लाल गणेश, मन्दिर परिसरको बुढानीलकण्ठ, मुक्तिमण्डप परिक्रमा हुँदै मुक्तिमण्डपबाट आर्यघाटमा रहेकी गङ्गामाईको शीरको श्रीयन्त्र, भगवान श्रीकृष्ण, कीर्तिमुख भैरव, सितलामाई, ६४ महादेव, उन्मत्त भैरव, सन्तापहरेश्वर महादेव, सन्तानेश्वर महादेव, नवग्रह, हनुमानजी लगायतको दर्शन गर्नुहुने कार्यक्रम छ ।
भारतका पूर्व प्रधानमन्त्रीहरु जवाहरलाल नेहरु, राजीव गान्धी, अटलविहारी बाजपेयी, चन्द्रशेखर तथा ईन्द्रकुमार गुजरालले पनि पशुपतिनाथको दर्शन गर्नुभएको थियो । 
यसैवीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने औपचारिक नेपाल भ्रमणको पूर्वतयारीका क्रममा राजधानीमा सरसफाई तथा रंगरोगन कार्यक्रम विशेष अभियानकै रुपमा सञ्चालन भइरहेको छ । मुख्य प्रशासनिक क्षेत्र सिंहदरवार र नयाँबानेश्वरस्थित संसद भवनमा सरसफाई तथा रंगरोगन गर्ने र बृक्ष सजावट कार्यक्रम दु्रतरुपमा सञ्चालन भइरहेको छ । 
सडकक्षेत्रबाट डिभाइडर हटाइ किनारामा जमेको धुलो र फोहोर उठाउने काम भइरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख केशव अधिकारीले विशिष्ट पाहुनाको सुरक्षामा परिचालन हुने सवारी ‘कार्गेट’ नै नअट्ने भएपछि सडकको सम्पूर्ण डिभाइडर हटाइएको जानकारी दिनुभयो । 
सिंहदरवार आसपासको क्षेत्र, प्रधानमन्त्री कार्यालय वाहिर, बौद्धस्थित होटल हायात परिसरमा पनि सरसफाइ तथा रंग रोगन कार्यक्रम अभियानकै रुपमा चलेको छ ।  
भारतीय प्रधानमन्त्री मोदी यहाँ रहने आइतबार र सोमबारको दिन ट्राफिक ब्यवस्थापनका लागि वन वे सडकलाई टु वे बनाउनुपर्ने भएकाले पनि ट्राफिक प्रहरीले सवारी चाप कम गर्न आवश्यक ब्यवस्था मिलाइसकेको महाशाखा प्रमुख अधिकारीले गोरखापत्रलाई बताउनुभयो । 
यसैबीच, प्रधानमन्त्री मोदीको सुरक्षाब्यवस्था मिलाउन भारतको स्पेसल प्रोटेक्सन ग्रुप ‘एसपीजी’ को टोली काठमाडौं आइपुगेको छ । सो टोलीले नेपालका सुरक्षाकर्मीसंग छलफल गरी प्रधानमन्त्री मोदीको मजवुत र प्रभावकारी सुरक्षाका वारेमा जानकारी लिएको जनाइएको छ । 
त्यस्तैं, मोदी सवारमा प्रयोग हुने बुलेटपु्रफ गाडी एकजोडा र अत्याधुनिक प्रविधि जडित सुरक्षा गाडी पनि बिहीबार नै आइपुगेको छ । सरकारले मोदीको भ्रमणलाई सफल, सुरक्षित प्रभावकारी बनाउन आवश्यक तयारी पुरा गरेको जनाएको छ । 
संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ वटा राजनीतिक दलको सर्वदलीय बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई अधिकतम सदुपयोग गर्न सरकारलाई सुझाव दिएको छ ।  
प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागी ती दलका नेताहरूले भ्रमणमा दुवै देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन जोड दिएका छन् ।  
सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा. रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मोदीको भ्रमणको तयारी र नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका समझदारीबारे नेताहरूलाई जानकारी गराउनुभएको थियो ।  
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले मोदीको भ्रमणमा विद्युत् व्यापार सम्झौता र अन्तरदेशीय विद्युत् प्रशारण लाइनसम्बन्धी सम्झौता गर्ने विषयमा दलहरूबीच छलफल भएको बताउनुभयो ।  
समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले माथिल्लो कर्णाली जलविद्युत् परियोजना, मध्यपहाडी र हुलाकी राजमार्गलगायत बृहत् आयोजनामा भारतीय सहयोग जुटाउन पहल गर्न सरकारलाई सुझाव दिइएको जानकारी दिनुभयो ।  बैठकपछि दिइएको जानकारीअनुसार, यसअघि भारतले विद्युत् व्यापारसम्बन्धी गरेको प्रस्तावको ३ र ४ बुँदामा संशोधन गर्न नेपालले भारतसँग आग्रह गर्ने भएको छ ।  यहाँ उत्पादित विद्युत् नेपालले भारतबाहेक अन्य देशलाई बेच्नसक्ने छ र नेपालमा विद्युत् उत्पादनका लागि भारतबाहेकका अन्य देशले पनि लगानी गर्न पाउने छन् ।  
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले २३ वर्षपछि नेपाल भ्रमण गर्नुभएको र विगत १७ वर्षपछि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हुनलागेकाले यस भ्रमणलाई नेपालले उच्च महत्वका साथ लिएको छ ।  
बैठकमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता सुरेश आचार्यलगायतका नेता तथा दलका प्रतिनिधिहरूको सहभागिता थियो । 
यसैबीच, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति कोइराला र पार्टीका शीर्ष नेताहरू एवं नेकपा (माओवादी) का अध्यक्ष मोहन वैद्यबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण र समसामयिक राजनीतिक विषयमा बिहीबार नै कुराकानी भएको छ ।  प्रधानमन्त्री निवास बालुटाटारमा भएको सो कुराकानीमा उहाँहरूबीच भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण र त्यसमा भइरहेको तयारीका बारेमा छलफल भएको थियो ।  त्यसअवसरमा प्रधानमन्त्री कोइरालाले द्विपक्षीय लगानीका बारेमा नेपाल सकारात्मक हुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।  भारतीय प्रधानमन्त्रीको भ्रमणलाई उच्च महत्व दिई यसको सदुपयोग गर्नुपर्ने भनाइ प्रधानमन्त्री कोइरालाले अध्यक्ष वैद्यसमक्ष राख्नुभएको प्रमका प्रेस संयोजक प्रकाश अधिकारीले बताउनुभयो । 
भारतीय प्रधानमन्त्री मोदीले गुजरातमा प्रस्तुत गरेको विकासको नयाँ मोडल र त्यसमा विदेशीहरूले समेत चासो देखाएको सन्दर्भ उल्लेख गर्दै त्यसबाट पाठ सिक्नुपर्नेमा प्रधानमन्त्री कोइरालाले जोड दिनुभएको थियो ।  भारतीय प्रधानमन्त्रीको भ्रमणलाई पूर्णरूपमा सफल बनाउन नेका नेताहरूले वैद्य नेतृत्वको ३३ दलीय गठबन्धनसँग आग्रह गरेको छ ।  नेका वरिष्ठ नेता शेरबहादुर देउवा र पार्टी उपसभापति रामचन्द्र पौडलसमेत सहभागी रहनुभएको सो बैठकमा उहाँहरूले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका विषयबस्तु सार्वजनिक भएकोले अनावश्यक शङ्का नगर्न आग्रह गर्नुभएको थियो ।  
त्यसअवसरमा नेता वैद्यले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका अवसरमा हतारमा कुनै खालको सन्धी सम्झौता नगर्न प्रधानमन्त्रीका साथै काँग्रेसका नेताहरूको ध्यानाकर्षण गराउनुभएको संयोजक अधिकारीले बताउनुभयो ।  
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही साउन १८ गते नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।  भारतका प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गर्न लागेको १७ वर्षपछि हो ।  प्रधानमन्त्री कोइरालाको मैत्रीपूर्ण निमन्त्रणामा आउन लाग्नुभएका प्रधानमन्त्री मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँले हार्दिक स्वागत गर्नुहुनेछ ।  
भारतीय प्रधानमन्त्रीले सोही दिन द्विपक्षीय भेटघाट गर्नुका साथै व्यवस्थापिका संसद्लाई अपराह्न ४ बजेपछि विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।  प्रधानमन्त्री मोदीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ तथा विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ ।  नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले पशुपतिनाथको दर्शन गर्नुका साथै नेपाल–भारतबीच हुने द्विपक्षीय बैठकमा सहभागी हुनुहुनेछ । 
यसैबीच, संविधानसभाका प्रमुख तीन दलले गठन गरेको तीन सदस्यीय कार्यदलले ऊर्जा व्यापार सम्झौता (पीटीए) बारे के कस्तो प्रावधान राख्ने भनेर आफ्नो प्रतिवेदन टुङ्ग्याएको छ ।  
अर्थमन्त्री डा. रामशरण महत, नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल र एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सम्मिलित कार्यदलले तयार गरेको प्रतिवेदनलाई बिहीबार नै सम्बन्धित दलका प्रमुखलाई दिइएको छ ।  एमाओवादी उपाध्यक्ष श्रेष्ठलले भन्नुभयो–‘‘हाम्रोतर्फबाट टुङ्गिएको छ, प्रतिवेदन सम्बन्धित पार्टीका प्रमुखलाई दिइसकेका छौँ । 
प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा दुई देशबीच प्रस्तावित ऊर्जा सम्झौता हुने बताउनुभएको छ । 
मुलुकको दीर्घकालीन हितमा नै भारतसँग ऊर्जा सम्झौता हुने स्पष्ट पार्दै उहाँले यसबारे प्रधानमन्त्री कोइरालाले राजनीतिक दलहरूसँग छलफल गरी जानकारी गराइसक्नु भएको बताउनुभयो ।  रिपोर्टर्स क्लब नेपालद्वारा बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा उहाँले भारतीय प्रधानमन्त्री मोदीको आसन्न भ्रमणलाई नेपालले अवसरको रूपमा लिनुपर्ने बताउँदै भ्रमणले केही वर्षयता दुई देशबीच साँघुरिएको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गर्नुभयो । 
नेपालको अधिकांश आयात–निर्यात तथा राजस्व सङ्कलन भारतसँग सम्बन्धित भएको चर्चा अर्थविद् नेपालले मुलुकको आर्थिक क्रान्तिका लागि भारतसँगको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 
मोदीको भ्रमणलाई नेपालले अवसरको रूपमा लिनुपर्ने बताउँदै उहाँले भ्रमणले केही वर्षयता दुई देशबीच साँघुरिएको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले ऊर्जा, जलस्रोत, जडीबुटी, आईटी र शैक्षिक क्षेत्रमा दुई देशबीच नयाँ ढङ्गले सहकार्यलाई अगाडि बढाउनुपर्ने आवश्यकता समेत औँल्याउनुभयो ।  परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले मोदी भ्रमणको क्रममा नेपाल–भारतबीच अहिलेसम्म भएका सन्धि–सम्झौताको पुनरावलोकन हुनुपर्ने बताउँदै २१औँ शताब्दी सुहाउँदो पञ्चशीलको आधारमा नयाँ सन्धि–सम्झौता हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
कालापानी र सुस्तालगायत भारतद्वारा अतिक्रमित भूमिलाई थाती राखेर भारतसँग गरिएको कुनै पनि सन्धि–सम्झौता नेपालको दीर्घकालीन हितमा हुननसक्ने बताउँदै उहाँले भ्रमणको क्रममा नेपालले मोदीसमक्ष पशुपतिनाथदेखि बनारससम्म रेल लाइन निर्माणको प्रस्ताव गर्नुपर्ने सुझाव दिनुभयो । 
पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले सन् १९५० लगायतका सन्धि–सम्झौताहरू विज्ञहरूलाई राखेर दुई मुलुकबीचको समानहितको आधारमा पुनरावलोकन गर्नुपर्ने सुझाव दिनुभयो ।  उहाँले मोदीको आसन्न नेपाल भ्रमण दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अवसर भएको बताउनुभयो ।  
भारतका लागि पूर्वनेपाली राजदूत डा. दुर्गेशमान सिंहले मोदीको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पु¥याउनका लागि ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो । 
नेपाल र भारतबीच भएका सन्धि–सम्झौतामा समयानुकूल पुनरावलोकन हुनुका साथै आवश्यकता अनुसार नयाँ सन्धि–सम्झौता गर्नुपर्ने बताउँदै उहाँले नेपालको दीर्घकालीन हितमा प्रस्तावित ऊर्जा सम्झौता हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।  उहाँले सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्न पूर्वप्रधानमन्त्री प्रचण्डको पालमा नै समिति गठन भइसकेको हुनाले त्यसलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । 
परराष्ट्रविद् डा. राजन भट्टराईले पूर्व तयारी र गृहकार्यबिना हतारमा अहिलेसम्मका सन्धि सम्झौताहरूलाई चलाउन नहुने बताउँदै पुराना सन्धि–सम्झौता पुनरावलोकन गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।  मोदीको भ्रमण दुईबीचको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर भएको बताउँदै यसलाई खेर फाल्न नहुने धारणा व्यक्त गर्नुभयो । 
परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले मोदीको भ्रमणलाई नेपालका लागि अवसर भएको बताउँदै सानातिना विषयमा नअल्झिएर दुई मुलुकबीचको दीर्घकालीन हीतको विषयमा छलफल गर्नुपर्ने सुझाव दिनुभयो । 
यसैबीच राससका अनुसार पूर्व परराष्ट्रमन्त्रीहरूले भारतसँग ऊर्जा व्यापार सम्झौता गर्नुपर्नेमा जोड दिनुभएको छ ।  
भारतका प्रधानमन्त्रीको आगामी आइतबार हुने नेपालको औपचारिक भ्रमणका सन्दर्भमा यहाँ बिहीबार आयोजित कार्यक्रममा उहाँहरूले व्यापारको सुनिश्चितता नभई लगानीकर्ताले बिजुली उत्पादनमा पुँजी लगाउँदैनन् भन्दै जलविद्युत् उत्पादनको अपार सम्भावना भएकाले आर्थिक विकासको ढोका खोल्ने विद्युत् विकासमा भाँजो हाल्न नहुने विचार व्यक्त गर्नुभयो ।  उहाँहरूले बजार सुनिश्चित गर्न पनि भारतसँग ऊर्जा व्यापार सम्झौता गर्नु उपयुक्त हुने बताउनुभयो ।  
ऊर्जा र परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालिसक्नुभएका डा. प्रकाशशरण महतले पहिलो पटक भारतीय राजनीतिक नेतृत्वले नेपालसहितका छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै विकासको साझा अभियानमा सहकार्य गर्न चाहेकाले त्यसलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।  
यसअघिको भारतीय सरकारले नेपालप्रतिको भारत नीतिको सञ्चालनको जिम्मेवारी कर्मचारी तन्त्रमा सुम्पिएकाले १७ वर्षसम्म त्यहाँबाट प्रधानमन्त्रीस्तरमा नेपालको भ्रमण हुन नसकेको बताउँदै उहाँले आशङ्काको सम्बन्धलाई विश्वासमा रूपान्तरण गर्न पनि प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई अवसरका रूपमा हेरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।  
पूर्वपरराष्ट्र एवं अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले मोदीको भ्रमणलाई आफ्नो पार्टीले सकारात्मक हरूपमा लिँदै स्वागत गरेको उल्लेख गर्दै राजनीतिक तहमा दुई देशबीच समस्या नभए पनि आर्थिक, सुरक्षा र सांस्कृतिक क्षेत्रमा देखिएका व्यवधान पारस्परिक लाभ र समानताका आधारमा निरूपण गर्नुपर्छ भन्नुभयो ।  
भारतसँग ऊर्जा व्यापार सम्झौता गर्नुपर्छ भन्दै उहाँले मुलुकको औद्योगिक विकासका निम्ति त्यो लाभदायक हुने भएकाले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले स्पष्ट ढङ्गले आफ्ना कार्यसूची भारतसमक्ष प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो । 
परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले हालै सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका सहमतिबारे व्यवस्थापिका–संसद्को बैठकलाई आज जानकारी गराउनुभएको छ । 
मन्त्री पाण्डेले यही साउन १८ र १९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुने र त्यसका लागि सरकारले सबै प्रकारका तयारी गरेको सम्बन्धमा अवगत गराउनुभयो । 
यही साउन १० गते भएको सो आयोगको बैठक २३ वर्षपछि भारतका विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका क्रममा काठमाडौँमा हुनु दुई देशको सम्बन्ध र सहयोग विस्तारका लागि दिशानिर्देश भएको धारणा राख्नुभयो ।
सभासद्हरुले आयोगको बैठकबारे जानकारी माग गरेपछि सभामुख सुवास नेम्वाङले त्यसबारे संसद्लाई जानकारी गराउन ‘रुलिङ’ गर्नुभएको थियो । 

    बैठकमा राजनीतिक सुरक्षा र सीमा तथा सन् १९५० को नेपाल–भारत शान्ति र तथा मैत्री सन्धिको पुनरावलोकलनका लागि दुई देशका सचिवस्तरमा छलफल गरी सिफारिस गर्नेलगायतका सहमतिका बुँदाबारे मन्त्री पाण्डेले जानकारी गराउनुभयो । 

    भारतमा नयाँ सरकार गठन भएपछि नेपालमा उक्त बैठक सम्पन्न हुनुले दुई देशबीचको सम्बन्ध प्रगाढ बढाउने, ऊर्जा र जलस्रोतमा थप सम्झौता गर्नेजस्ता सहमति हुनु उपलब्धिमूलक भएको पनि पाण्डेले बताउनुभयो ।

    मन्त्री पाण्डेले काठमाडौँ–तराई द्रूतमार्गमा निजी क्षेत्रको घाटापूर्तिका लागि सहयोग, पूर्व–पश्चिम राजमार्ग, महाकाली नदीमा मोटरयोग्य पुल निर्माण, व्यापार–पारवहनजस्ता आयोजना र कार्यका लागि सहयोग तथा सहजीकरण गर्न भारतीय पक्ष सहमत भएको बैठकलाई अवगत गराउनुभयो । 

    विदेश मन्त्री स्वराजको भ्रमणले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको वातावरण तयार गरेको तथा दुई देशबीचको सम्बन्धमा थप विश्वास तयार गरेको मन्त्री पाण्डेले बताउनुभयो । 

    उहाँले भारतीय प्रधानमन्त्रीले संसद्को बैठकलाई सम्बोधन गर्ने, उच्चस्तरीय भेटघाट गर्ने, पशुपतिनाथको दर्शन गर्ने जानकारी गराउनुभयो ।

    पाण्डेले १७ वर्षपछि भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमण हुनु वर्तमान सन्दर्भमा विशेष महत्वको भएको भन्दै दोस्रो संविधानसभापछि नेपालको दिगो विकासका लागि र राष्ट्रहितका लागि सक्षम सरकार रहेकाले पनि भ्रमणलाई नेपालको हितमा उपलब्धिमूलक बनाउन सरकार प्रयत्नशील रहेको स्पष्ट गर्नुभयो ।

    उहाँले १७ वर्षपछिको भारतीय प्रधानमन्त्रीको भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने, नेपाल र भारतबीचको उच्च राजनीतिक महत्व र सम्पर्क विस्तार हुने र मोदीले छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकता दिएको द्योतकका रुपमा भ्रमणलाई लिन आग्रह गर्नुभयो । 

    उहाँले सो भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक दलबीच परामर्श र छलफल जारी राख्नुभएको जानकारी पनि गराउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक