20140815

हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको इबोला भाइरसको महामारी नियन्त्रणमा आउन कम्तीमा ६ महिना लाग्ने !

के हो त इबोला रोग ? कसरी सर्छ ? 
पश्चिम अफ्रिकामा एक हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको इबोला भाइरसको महामारी नियन्त्रणमा आउन कम्तीमा ६ महिना लाग्ने स्वास्थ्यसम्बन्धी एउटा अन्तर्राष्ट्रिय सहयोगी संस्था मेदिसाँ सँ फ्रँतियकी प्रमुखले बताएकी छन्। जेनेभामा बोल्दै जुआँ लुले विश्व स्वास्थ्य संगठनले थप नेतृत्वदायी भूमिका खेल्नुपर्ने र महामारी रोक्नका लागि लाइबेरियामा इबोला भाइरसको संक्रमण नियन्त्रण हुनु महत्वपूर्ण हुने बताइन्। अन्तर्राष्ट्रिय समुदायबाट महामारी रोक्ने प्रत्यक्ष अनुभव प्राप्त तथा विज्ञहरुको आवश्यकता रहेको उनको भनाइ थियो। लुले इबोला भाइरसबाट मृत्यु हुनेहरुमध्ये ८० जना स्वास्थ्यकर्मी
रहेको र एकसय ७० जना स्वास्थ्यकर्मी संक्रमित भएको बताइन्।  सबैभन्दा बढी ३ सय जनाको ज्यान गइसकेको लाइबेरियामा इबोला भाइरसको महामारी नियन्त्रण गर्नु महत्वपूर्ण हुने उल्लेख गरिन्। उनले लाइबेरियामा स्थितिलाई स्थिर तुल्याउन नसकिए पूरै क्षेत्रको स्थिति नियन्त्रणमा ल्याउन नसकिने जनाइन्। उनले भनिन्, ''समयसीमाको सन्दर्भमा हामी हप्ताको कुरा गरिरहेका छैनौं, हामी महिनाको कुरा गरिरहेका छौं। हामी महिनौंका लागि प्रतिवद्धता चाहन्छौं, कम्तीमा म ६ महिना भन्छु। म एकदम आशावादी भईरहेको छु।''  विश्व स्वास्थ्य संगठनको नेतृत्वमा अन्तर्राष्ट्रिय समुदायलाई थप कदम चाल्न उनले आह्वान गरिन्। इबोला भाइरसको महामारीलाई रोक्ने हो भने सबै सरकारहरुले मिलेर काम गर्नुपर्ने उनले बताइन्। यसअघि विश्व स्वास्थ्य संगठनले प्रकोप नियन्त्रणका लागि असाधारण कदम चाल्न आवश्यक रहेको बताएको थियो। गत फेब्रुअरिमा गिनीमा शुरु भएको इबोला भाइरसको महामारी लाइबेरिया, सियरा लियोन र नाइजेरियामा फैलिसकेको छ। उक्त भाइरसका कारण हालसम्म एक हजार ६९ जनाको मृत्यु भईसकेको छ। अफ्रिकामा महामारीका रुपमा फैलिएको इबोलाबारे नेपालमा पनि सतर्कता अपनाइएको छ । आखिर के हो त इबोला रोग ? यसैसन्दर्भमा इन्टरनेटमा उपलब्ध सामाग्रीका आधारमा गरिएको खोजीअनुसार इबोलाबारे यहाँ केही जानकारी दिने प्रयास
गरिएको छ :
इबोला जातका विभिन्न पाँच प्रकारका भाइरसको आक्रमणबाट लाग्ने इबोला रोग लाई रक्तश्राव ज्वरो समेत भनिन्छ । यो भाइरसको आक्रमणपछि रोगीको सरीरका आन्तरिक अंग तथा बाह्य भागमा समेत अनियन्त्रित रुपमा रक्तश्राव हुने भएकाले यसलाई रगत बग्ने ज्वरो भनिएको हो ।
पश्चिम अफ्रिकाका विभिन्न देशमा अहिले महामारीकै रुपमा रहेको इबोला रोगका कारण विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय स्वास्थ्य संकटकाल समेत घोषणा गरिसकेको छ ।
सन् १९७६ मा पहिलोपटक सुडानको नजरा र कंगोको याम्बुकुमा मानिसमा महामारीकै रुपमा देखा परेेको यो भाइरसको नाम इबोला रहनुका कारण कंगोको याम्बुकु गाउँ इबोला नदीको किनारमा रहेकाले हो ।
इबोला निकै प्राणघातक रोग हो र भाइरसको संक्रमण भैसकेपछि ५० देखि ९० प्रतिशत सम्मको रोगीको मृत्यु हुने गरेको छ ।
कसरी सर्छ ?
इबोला भाइरस विभिन्न जंगली जनावरबाट पहिलो पटक अफ्रिकामा मानिसमा सरेको हो । जंगली जनावरको मासु खाने तथा बढि सम्पर्कमा आउने मानिसहरुमा भाइरस संक्रमित जंगली जनावरको रगत, अन्य जैविक रस, मासु आदिबाट भाइरस मानिसमा सर्दछ । खासगरी चिम्पान्जी, गोरिल्ला, बाँदर, सुँगुर, मृग, दुम्सी तथा सबैभन्दा बढि चमेराबाट यो भाइरस मानिसमा सर्दछ ।
इबोला भाइरस मानिस बाट मानिसमा समेत निकै तिब्र रुपमा सर्दछ । खासगरी रगत, अन्य जैविक रस, काटिएका अंगहरुबीचको प्रत्यक्ष सम्पर्कबाट यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । साथै यौन सम्पर्कका बेला आउने विर्य तथा योनीरसको माध्यमबाट समेत इबोला भाइरस सर्दछ । यो रोगका कारण मरेको मानिसको अन्तिम संस्कारका बेला लासको सम्पर्कमा आउने मानिसमा समेत यो भाइरस सर्ने जोखिम हुने विज्ञहरुको भनाइ छ । साथै स्वास्थ्यकर्मी तथा रोगीको सुसारेमा समेत रोगको संक्रमणको जोखिम बढि हुन्छ ।
लक्षण
इबोला भाइरस रोग निकै खतरनाक तथा घातक विषाणुजन्य रोग हो । भाइरसको संक्रमणका कारण मानिसमा अत्यधिक ज्वरो आउने, निकै कमजोर बन्ने, मांशपेशी दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छन् । भाइरसले आक्रमण गरको २ देखि २१ दिनभित्रमा यसका लक्षण मानिसमा देखिन्छन् । ती लक्षणहरु सामान्यतया निम्न छन्-
· उच्च ज्वरो
· टाउको दुख्ने
· जोर्नी तथा मांसपेशीमा पीडा हुने
· घाँटी तथा पेट दुख्ने
· निकै कमजोरी महसुस हुने
· भोक हराउने
· सास फेर्न गाह्रो हुने
भाइरसको आक्रमण बढ्दै जाँदा संक्रमितलाई बान्ता आउने, पखाला लाग्ने, छालामा डावर तथा रातो धब्बा आउने, मृगौला तथा कलेजोले काम गर्न छाड्ने जस्ता जटिल लक्षण देखिन्छन् । रोग छिप्पिँदै जाँदा सरीरका भित्री अंग तथा बाहिरी भागबाट समेत रगत बग्न थाल्छ । नाक, आँखा तथा कान, योनी, गिजाबाट समेत रगत बग्छ भने खकारमा समेत रगत देखिन थाल्छ । आन्द्राबाट समेत रगत बग्न थाल्छ । धेरै रगत बगेर समेत रोगीको मृत्यु हुने खतरा हुन्छ ।
उपचार
रगतको परीक्षण पश्चात इबोला भाइरस पत्ता लगाउन सकिन्छ । यद्यपि भाइरसको कुनै प्रभावकारी औषधि भने छैन । धेरै भ्याक्सिनहरु परीक्षण गरिएका भएपनि अहिलेसम्म कुनैपनि खोप आधिकारिक रुपमा प्रयोगमा ल्याइएको छैन । त्यसैले रोगीलाई औषधि भन्दा पनि स्याहारको आवश्यकता हुन्छ । रोगीलाई ढाडस दिने, पर्याप्त मात्रामा पानी खुवाउने, पानीसँगै नुन, चिनी जस्ता लवणहरु समेत घोलेर खुवाउनुपर्छ ।
रोकथाम र नियन्त्रण
इबोला भाइरस मानिससँग बढी सम्पर्कमा आउने जंगली जनावर, जस्तै बाँदर तथा सुँगुर जस्ता घरपालुवा जनावरबाट सर्ने भएकाले यस्ता जिवसँगको सम्पर्कमा विशेष सावधानी अपनाउनुपर्छ । घरपालुवा जनावरको खोर सफा गर्दा सोडियम हाइपो क्लोराइड जस्ता डिटरजेन्टले सफा गर्नुपर्छ ।
भाइरस संक्रमण देखिएमा संक्रमित क्षेत्रलाई निर्मलीकरण गर्ने, रोगी पशुपक्षीलाई नष्ट गर्ने र मरेका तथा मारिएका संक्रमित पशुपक्षीलाई होसियारी पूर्वक गाड्ने वा जलाउने गर्नुपर्छ ।
इबोला रोगको कुनै प्रभावकारी उपचार नभएको हुँदा यसको रोकथाममै जोड दिनु आवश्यक छ । त्यसको लागि निम्न विषयमा सजगता अपनाउनुपर्छ-
१. जंगली जनावर तथा घरपालुवा समेतको मासु खाँदा होसियारी अपनाउने, काँचो तथा राम्ररी नपाकेको मासु नखाने, रोगी जनावरको मासु नखाने । मासु खाँदा राम्ररी पकाएर मात्र खाने ।
२.इबोला लागेको रोगी मानिसको सम्पर्कमा आउँदा होसियारी अपनाउने । रोगीको बढी नजिक नजाने, उसले प्रयोग गरेका वस्तुहरु निर्मलीकरण नगरेसम्म प्रंयोग नगर्ने, घरमै समेत यस्ता रोगीको स्याहार गर्दा पञ्जा तथा अन्य सुरक्षाका उपाय अपनाउने । व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
३. इबोलाबाट मरेका मान्छेको शवलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने, लासबाट समेत भाइरस सर्ने जोखिम भएकाले होसियारी पूर्वक गाड्ने वा जलाउने गर्नुपर्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक