20140815

बाढी तथा पहिरोले ६० भन्दा बढीको मृत्‍यु, कयौँ बेपत्ता, क्षतिको कुनै लेखाजोखा छैन !

लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोले मध्य तथा सुदूरपश्चिममा विनास मच्चाएको छ ।
शुक्रबार मात्र सुर्खेतमा २१ सहित देशका विभिन्न स्थानमा ६० जनाको मृत्यु भएको छ केही हराइरहेका छन् भने हजारौं विस्थापित भएका छन् । 
गृह मन्त्रालयका अनुसार सुर्खेतमा दाङमा ६, बर्दियामा ५, रोल्पामा २, गोरखामा २ र कालिकोटमा १ जनाको मृत्यु भएको छ । रुकुममा ३, कैलालीमा २, चितवनमा २ जनाको मृत्यु भएको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण २२ जिल्ला बढी प्रभावित भएको छ भने ६० भन्दा बढीले ज्यान गुमाएका छन् । स्थानीय प्रशासनका अनुसार सुर्खेतमा मात्र २१ जनाको मृत्यु भएको छ भने ५७
जना हराइरहेका छन् । हजारौं मानिस विस्थापित भएका छन् भने १३ सय ९९ घरमा क्षति पुगेको स्थानीय प्रशासनको प्रारम्भिक अनुमान छ । स्थानीय बुढापाकाहरुका अनुसार सुर्खेतमा आएको बाढी ७२ वर्षपछिको ठूलो हो । जिल्लाको इतराम खोला र खुर्के खोलामा आएको खहरेले वीरेन्द्रनगरमा १० जनाको मृत्यु भएको छ । सदरमुकाम आसपासबाट ३६ जनालाई पानीमा डुबेको अवस्थामा उद्धार गरिएको छ । सदरमुकामदेखि १६ कोष टाढा तातापानी भन्ने स्थानमा भेरी नदी आसपास ११ जनाको मृत्यु भएको छ भने ठूलो क्षति भएको छ । ‘भेरी नदी आसपासमा ठूलो क्षति भएको छ तर, सम्पूर्ण विवण आउन बाँकी छ’ सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले अनलाइनखबरसँग टेलिफोनमा भने–भोलि) शनिबार हेलिकोप्टर पुगेपछि मात्र थप क्षतिबारे भन्न सकिन्छ ।’
बबई नदीले दाङ र बर्दियामा विनास मच्चाएको छ । गृह मन्त्रालयका अनुसार दाङमा ६ र बर्दियामा ५ को मृत्यु भएको छ । सयौं घर डुवानमा परेको छ ।
वषर्ाका कारण घर भत्किँदा पश्चिम दाङको पुरन्धारा-९ गंगटेमा आमा छोरीको मृत्यु भएको छ । २७ बर्षीया देउकला कुँवर र उनकी ६ बर्षीया छोरी गंगा कुँवरको च्यापिएर मृत्यु भएको छ भने परिवारका अन्य भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
यस्तै बबई नदीमा आएको बाढी बस्तीमा पस्दा घर भत्किएर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उरहरी-६ मोतीपुरका ६० बर्षीय खुसीराम चौधरी र उनकी श्रीमती रहेको छन् । मोतीपुरमा एक सय बढी घर टहरा भत्किएको छ ।


यसैगरी बबई नदी डुरुवा-१ गनारीमा पस्दा २५ वर्षीया उर्मिला भुजेलको डुबेर मृत्यु भएको छ । बबईमा आएको बाढीले धर्ना, सौडियार, उरहरी, फुलबारी, गोल्टाकुरी, डुरुवा, श्रीगाउँ, पन्चकुले, धनौरी गाविस, घोराही नगरपालिका र देउखुरीका अधिकांश गाउँहरुमा गरी सैयौ घरहरु डुवानमा परेका छन् ।
यस्तै बर्दियामा ५ जनाको ज्यान गएको छ भने १ सय बढी वेपत्ता भएका छन् । हजारौं बिस्थापित भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिए । मृतक र वेपत्ताको संख्या बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।
बबई नदीमा आएको बाढीका कारण नदी आसपासका करिब हजार भन्दा बढी घर डुवानमा परेको छ । बबई नदीमा आएको बाढीले सदरमुकाम गुलरियाका १४ वटै वडासहित बगनाहा, पदनाहा, नेउलापुर, बनियाभार, मगरागडी, धधवार लगाएतका दर्जन बढी गाविस डुबानमा परेका छन् ।
कर्णाली नदीमा आएको बाढीका कारण ठाकुरद्धारा, शिवपुर, सुर्यपटुवा, ढोढरी गाविस डुबानमा परेका छन् । कर्णाली र बबई नदीमा पानीको बहाव घटेको छैन ।
अबरिल वर्षासँगै आएको पहिरोमा पुरिएर रुकुममा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रुकुमको चुन्वाङ्ग-८ सिन्चौरमा नन्दराम घर्तीको घर पहिरोले पुरिँदा उनका सात बर्षीय छोरा विजय घर्ती र १० वर्षीया छोरी विमला घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी १४ वर्षीय पूर्णिमा घर्ती र पाहुना आएका ६ वर्षीय कमला मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुखका प्रहरी नायव उपरीक्षक गौतमराज कट्टेलले जानकारी दिए ।
यस्तै स्यालापाखा-१ वतासेडाँडामा पहिरोले हिरालाल वस्यालको घर पुरिँदा उनका १० वर्षीया छोरी कल्पना वस्यालको मृत्यु भएको छ । राती करिव १ वजेतिर पहिरोले घर पुरिँएको थियो । पहिरोमा परी घाइते भएका ५ वर्षीय छोरा प्रकाश वस्याल घाइते भएका छन् ।
रोल्पामा दुई जनाको ज्यान गयो
रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । रोल्पाको राँक-२ न्याउलेखामा शुक्रवार विहान स्थानीय लालवहादुर ओलीको घर पहिरोले पुरिँदा छिमेकी ४६ वर्षीया लाली भण्डारी र कृष्णवहादुर ओलीकी छोरी ४ वर्षीया करुणा ओलीको मृत्यु भएको छ । ओलीको घरमा आगो लिन गएकी भण्डारी पहिरोमा परेका थिए ।
पहिरोमा परि लालबहादुर ओली, कृष्णवहादुर ओली, पवित्रा ओली र नितेश ओली घाइते भएका छन् । उनीहरुको स्थानीयबासीले उद्धार गरेका छन् ।
कैलालीमा दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण दुई जनाको ज्यान गएको छ भने एक हजार परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार पहलमानपुर गाविस १ का २२ बर्षिय आनन्दप्रसाद जोशीको पानीमा डुवेको अवस्थामा शव फेला परेको छ । बिहीवार राती खोलामा बगेर जोशीपुर ३ का ६५ वर्षका लालबहादुर धामीको मृत्यु भएको छ । कर्णाली नदीमा आएको वाढी टीकापुर नगरपालिकाको दौलतपुर छेउवाट भंगालो पसेपछि नारायणपुर गाविसमा १ सय ५०, धनसिंहपुर गाविसमा पनि १ सय ५० परिवार बिस्थापित भएका छन ।
यसैगरी थापापुर गाविसमा १ सय ९० परिवार,मनुवा गाविसमा १ सय १ परिवार,लालवोझी गाविसान २ सय परिवार, पहलवानपुर गाविसमा ५० परिवार विस्थापित भएका छन ।
टिकापुर २ र ३ मा १ सय ५० परिवार डुवानमा परेको नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले जानकारी दिनुभयो ।
गृहमन्त्रालयका अनुसार तीन दिनसम्म परेको पानीले २२ जिल्ला प्रभावित भएका छन् । त्यसरी क्षति पुगेका जिल्लाहरुमा जाजरकोट, रुकुम, सल्यान, बाँके, बर्दिया, सुर्खेत, कैलाली, बाजुरा, डडेलधुरा, गोरखा, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, उदयपुर, रौतहट,धनुषा, सर्लाही, महोत्तरी, सिराहा, धनुषा, महोत्तरी र सिन्धुली लगायत छन् ।
मन्त्रालयले संकलन गरेको प्राम्भिक तथ्यांक अनुसार बाढी, पहिरो र डुवानका कारण विस्थापित हुन पुगेका करिब ३५ सयभन्दा बढीलाई सुरक्षाकर्मीले देशभरिबाट उद्धार गरेका छन् ।
सबै ब्यारेजका ढोका खोल्न भारतसँग आग्रह
सुनकोशीमा थुनिएको जलासय शुक्रबार २ सेमी कम भएको गृहले जनाएको छ । तर, बाढीको प्रकोप बढेपछि शुक्रबार सरकारले नेपाल भारत सीमामा रहेका सप्तकोशी लगायत चारवटा नदीमा बनाइएका ब्यारेजहरुको ढोका खोल्नका लागि भारत सरकारसँग परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरेको छ ।


बाढी पीडितबारे छलफल गर्न प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनपछि शुक्रबार दिउँसो गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठक बसेको छ ।
उता मौसम विज्ञान विभागले भने अझै केही दिन वर्षा नरोकिने भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ ।
शुक्रबार बसेको उद्धार समितिको आकस्मिक बैठकलेे क्षतिको विवरण संकलन गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताएका छन् ।
समितिको बैठकमा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमानसिंह श्रेष्ठ, सहरी विकास मन्त्री डा. नारायण खड्का, सिंचाई मन्त्रीज्यू एनपी साउत, र मुख्य सचिव लीलामणि पौडेल सहभागी थिए ।
गृहमन्त्रालयमा आयोजित बैठकले घटनाबारे चौविसै घण्टा सूचना संकलन, समन्वय र सम्प्रेषण गर्ने व्यवस्थाका लागि केन्द्र र जिल्लामा कमाण्ड पोष्ट खडा गरी चौविसै घण्टा खोज, उद्धार र राहतका कार्यहरुको समन्वय गर्ने निर्णय गरेको छ ।

बाढी प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारका लागि हेलीकोप्टर र जनशक्तिलाई पूर्ण तयारी अवस्थामा राख्ने र मौसम अनुकूल हुनासाथ तुरुन्तै परिचालन गर्ने बताइएको छ ।
निजी क्षेत्रका हेलिकोप्टरलाई पनि आवश्यक परेका बेलामा उद्धार कार्यमा परिचालन हुने गरी तयारी अवस्थामा राख्न बैठकले निर्देशन दिएको छ ।
त्यस्तै विभिन्न विषयगत मन्त्रालयलाई विपदपश्चात् गर्नुपर्ने काम गर्न बैठकले निर्देशन गरेको छ । विपद् प्रभावितका लागि सहयोग गर्न चाहने ईच्छुक दाता, संघ संस्था वा व्यक्तिहरुले रकम जम्मा गर्न चाहेमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहात कोषको खातामा रकम जम्मा गर्ने गरी सूचना प्रकाशित गर्ने समितिको निर्णय छ ।

यसैवीच जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाले मनसून सक्रिय भएकोले अधिकांश जिल्लाहरुमा अझै केही दिन पानी पर्ने सम्भावना रहेको बताएको छ । वर्षा नरोकिने भएकाले सतर्क अवस्थामा रहन र त्यसका लागि आवश्यक पूर्व तयारी गर्न गृहमन्त्रालयबाट स्थानीय प्रशासनलाई निर्देशन भैसकेको प्रवक्ता ढकालले जानकारी दिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक