20140830

सहमति जुटाएर संविधान निर्माणको कामलाई तीव्र बनाउनुपर्ने बेलामा संसद् अवरोध गरेर निकास ननिस्कने : प्रधानमन्त्री सुशील कोइराला

प्रचण्डजी तगारो तेर्साउन खोज्दै हुनुहुन्छ : विद्यादेवी भण्डारी

 प्रधानमन्त्री सुशील कोइरालाले सहमति जुटाएर संविधान निर्माणको कामलाई तीव्र बनाउनुपर्ने बेलामा संसद् अवरोध गरेर निकास ननिस्कने बताउनुभएको छ ।     प्रधानमन्त्री कोइरालासँग राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्ले र समितिका समाचारदाताहरुले आज समसामयिक विषयमा राखेको जिज्ञासामा उहाँले संसद्मा हुने अवरोधले संविधान निर्माणको कामलाई बाधा पुग्ने धारणा राख्नु भयो ।     “संसद् अवरुद्व गर्न हुँदैन त्यसले संविधान निर्माणलाई बाधा पु¥याउँछ अपजस उहाँहरुमाथि ( प्रतिपक्षी दल) जान्छ, मैले एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग अनुरोध गरेको छु कि यस्तो नगरौँ भनेर किनकि तपाईंहरुको र हाम्रो पनि संविधान चाँडो आओस् भन्ने नै चाहना छ”, प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।     शान्ति प्रक्रियालगायत हालसम्मका काम वार्ता र सहमतिका आधारमा समाधान भएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले वार्ताका माध्यमबाट किन समाधान गर्न सकिँदैन भन्ने प्रश्न गर्नुभयो । “त्यसैले म आग्रह गर्छु, संसद्मा व्यवधान गर्नुहुँदैन, यसबारेमा मेरो उहाँहरुसँग कुरा भइरहेको छ”, प्रधानमन्त्रीले भन्नुभयो । 
    उहाँले संविधान लेखनको महत्वपूर्ण कार्यलाई तोकिएको समयमै सम्पन्न गर्न सबैलाई साथै लिएर जान र विपक्षी दलबाट भएको मागलाई भने छलफल गरेर निकास निकाल्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 
    चारबुँदे सहमति कार्यान्वयनका लागि विपक्षी दलहरुले उठाएको मागको सम्बन्धमा सोधिएको एक प्रश्नमा प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “निकास त दिनुपर्छ, यसैमा हामी अल्झेर बसिराख्न हुँदैन, छलफल गरेर निकास निकाल्नुपर्छ सबैलाई
लिएर जानुपर्छ ।” 
    शान्ति प्रक्रियाका कतिपय कुरा पूरा भएका र संविधान निर्माणको प्रक्रियासमेत नियमित तबरले दु्रत गतिमा अघि बढेको बताउँदै प्रधानमन्त्रीले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी काम सुरु भइसकेको सन्दर्भ उल्लेख गर्नुभयो । 
    “एनेकपा (माओवादी) लगायतका दलहरुको पनि सबै पार्टीलाई समेटेर लिएर जानुपर्ने भन्ने भनाइ छ त्यसमा राजनीतिक दलहरुबीच वातावरण निर्माणका लागि छलफल भइरहेको छ”, प्रधानमन्त्री कोइरालाले भन्नुभयो । 
    छिटो संविधान निर्माणको काम पूरा गरेर आफूले मुक्ति लिन चाहेको बताउँदै प्रधानमन्त्री कोइरालाले संविधान घोषणा हुनेबित्तिकै प्रधानमन्त्रीले राजीनामा गर्ने हुँदा मुलुकलाई नयाँ गतिका साथ अघि बढाउन लोकतन्त्रमा विश्वास राख्ने दलहरुले संविधान निर्माणको कामलाई तीव्र तुल्याउन कुनै कसर बाँकी राख्न नहुने धारणा व्यक्त गर्नुभयो ।  एकदम ठीक छु र नियमित सबै काम गरिराखेको छु 
    सो अवसरमा प्रधानमन्त्री कोइरालाले आफ्नो स्वास्थ्यलाई लिएर सञ्चार माध्यममा आएको टीकाटिप्पणी गलत भएको स्पष्ट पार्नुभयो । 
    उहाँले भन्नुभयो, “पत्रपत्रिकामा जुन कुरा आएको छ त्यो गलत कुरा हो, म एकदम ठीक छु, सबै काम गरिराखेको छु,” 
    पाँच पाँचवटा रेडियो थेरापी लिएकाले धेरै काम र धपेडी नगर्नुस् भन्ने सल्लाह र सुझाव हुँदाहुँदै पनि मन्त्रिपरिषद्को बैठक, विभिन्न कार्यक्रम र साथीहरुसँगको भेटघाटजस्ता कार्यलाई नियमितता दिइराखेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । 
    उहाँले भन्नुभयो, “पाँच पाँचवटा रेडियो थेरापी लिएकाले धेरै काम नगर्नुस् भन्ने छ, यस्तो थेरापी लिएको मानिसले बिरलै आफ्नो काम यसरी निर्वाह गरिराखेको हुन्छ तर मलाई त एकदम ठीक छ ।” 

एमाले नेत्री विद्यादेवी भण्डारी भन्नुहुन्छ -  "संविधानका अन्तर्वस्तुमा सहमति जुट्ने सम्भावना छ तर नेताहरु एक ठाउँमा जुट्नुप¥यो । प्रधानमन्त्री निवासमा पनि हामीले पटक पटक बसेर छलफल गरेका छौं । संविधानसभाको संवाद समितिमा पनि छलफल जारी छ । समितिका सभापति डा. बाबुराम भट्टराईले नेताहरुसँग अनौपचारिक ढंगले र उपसमितिले संविधानसभाभन्दा बाहिर रहेका सरोकारवालासँग वार्ता गरेर सहमति आएको छ । यस हिसाबले एक हप्ताभित्र सबै नेताहरु जुटेर लाग्ने हो भने सहमति जुट्छ । एकपक्ष मात्रै सहमतिमा लागेर भएन । अर्को पक्षले भाँजो हाल्न थाल्छ भने सहमति जुट्न कठिन छ । त्यस्तो अवस्थामा सात दिनमा होइन, सातवर्षमा पनि सहमति जुट्दैन ।"

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक