(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140818

कुन इतिहासको विरासतबाट गुज्रेका छन् बाबुरामहरु ?

"यो बुर्जुवा पढाइ पढेर काम छैन, किताबमा आगो लगाऊ पछि सबैलाई मार्क्सवादी बिश्वबिद्यालयबाट हातहातमा डिग्रीको प्रमाण पत्र मिल्ने छ" भन्ने स्कुलिङका जन्मदाता बाबुराम भट्टराईलाई सोध्न मन लागेको छ- नेपालको कुनकुन ठाउँमा मार्क्सवादी विश्वबिद्यालय खोलिएको छ र डिग्रीको प्रमाणपत्र वितरण भइरहेको छ ? 
 यो संसारमा कमै मात्र बा-आमाका सन्तान भाग्यमानी हुन्छन्। बधाई छ, मानुषी तिमीलाई भाग्यशाली छोरी भएर जन्मेकोमा।

- दिल निसानी मगर



मैना सुनुवारकी आमा देवी सुनुवारले आफ्नो आँखामा बगाइरहने आँसु र मानुषी यमिकी आमा हिसिला यमिको चेहरामा चम्कने मुस्कान शब्दमा व्याख्या गर्न म सक्दिन। खैर, समान पहाडको हावा खाएर बाँचेका यी नेपाल आमाका भिन्न प्रतिविम्बहरूको बयान म कसरी गरूँ?
यो संसारमा कमै मात्र बा-आमाका सन्तान भाग्यमानी हुन्छन्। बधाई छ, मानुषी तिमीलाई भाग्यशाली छोरी भएर जन्मेकोमा। आफूले चाहेको युनिभर्सिटीमा, चाहेको बिषय पढ्न पाएकी छौ। साँझ-बिहान पेटभरि खान पाएकी छौ। बस्ने घरको समस्या छैन तिमीलाई। न छ एकसरो लुगाको पिर नै।   स्मरण रहोस् डा. बाबुराम भट्टराईले पनि अहिले मानुषी भर्ना भएको जवाहरलाल नेहरु विश्वबिद्यालयबाटै पिएचडी गरेका थिए। मलाई मानुषीको उच्च अध्ययनसँग कुनै गुनासो छैन।  त्यो उनको अधिकार हो। हरेक नेपाली छोरा-छोरीको अधिकार हो। मलाई त केवल बाबुरामले हामीलाई सिकाएको मार्क्सवादी चिन्तनसँग आपत्ति हो। 
  मानुषी राजनीतिशास्त्रमा पिएचडी गर्न भारतको नयाँ दिल्ली प्रस्थान गरेको दिन मलाई अलि पुरानो कुराको याद आयो। धेरै पहिले बाबुराम भट्टराईले जोडदार भाषण गर्दा म पनि स्रोता थिए। उनले भनेका थिए, 'गरिब किसानका छोराछोरीहरूलाई समान अध्यनको अवसर नदिएसम्म कुनै पनि नेताका छोराछोरी विदेश पढ्न जाने छैनन्।' हामीले करिब एक मिनेट ताली बजाएका थियौं। सोही स्पिरिट कायम गर्न विद्यार्थी नेता हिमाल शर्माले आफ्ना छोरा सरललाई चीनको साउथ इस्ट युनिभर्सिटिबाट फिर्ता बोलाए। छात्रवृत्तिमा एमबिबिएस पढ्न गएका सरल पाँच महिना पनि नबित्त्दै नेपाल फर्किएका थिए। मानुषी पढ्न भारत गएको खबर सुनेपछि अहिले सरल आफैँलाई धिक्कार्दै होलान्। मलाई लाग्छ यो एउटा ठूलो बहस
बन्नुपर्दछ। तर योबीच बागमतीमा धेरै पानी बगिसकेको छ।
संयोग पनि कस्तो भने कालिकोटकि क्रान्तिकारी बहिनी गोरीकला बिक घाँस काट्न खोज्दा रुखबाट खसेर मरेकै दिन मानुषी नयाँ दिल्ली पढ्न गइन् । यो त केबल उदाहरण मात्र हो, अरबको आगोमा खजुरको बुटाबाट खसेर मर्नेको त कुरै नगरौं। त्यही दिल्लीमा पनि दिनभरि भाँडा माझ्ने पूर्व क्रान्तिकारीहरूको घुइँचो छ।
मानुषीले कुनै प्रतिगामी काम गरेकी होइनन्। म फेरि दोहोर्‍याउँछु, मानुषीको पढाइसँग मलाई कुनै आपत्ति छैन। यहाँ सवाल के हो भने, कलमको निभबाट गरिबको सत्ता सम्भब छैन भनिकन बन्दुक थमाइएको हातहरुलाई भुसुक्कै बिर्सेर कुन नैतिकताको आधारमा बाँचेका छन् नेताहरु? कुन इतिहासको विरासतबाट गुज्रेका छन् बाबुरामहरु? 
कलिला केटाकेटीको हातबाट कलम खोसेर किलोसेरा माइक सिकाउने मात्र होइन, बोर्डिङ स्कुलमा बम पड्काउन लगाउने त्यो एउटा योजना थियो। यो बुर्जुवा पढाइ पढेर काम छैन, किताबमा आगो लगाऊ पछि सबैलाई मार्क्सवादी बिश्वबिद्यालयबाट हातहातमा डिग्रीको प्रमाण पत्र मिल्ने छ भन्ने स्कुलिङका जन्मदाता बाबुराम भट्टराईलाई सोध्न मन लागेको छ- नेपालको कुनकुन ठाउँमा मार्क्सवादी विश्वबिद्यालय खोलिएको छ र डिग्रीको प्रमाणपत्र वितरण भइरहेको छ?  
जनवादी ब्यबस्थाको खातिर आफ्नो पढाइलाई छाडेर वर्षौसम्म जंगल अभियानमा दौडेकाहरु अझै उस्तै छन्। झुपडीमा आगो बलेको छैन। पँधेरीमा पानी बगेको छैन। 'जनयुद्धको' गाउँ पनि सुकेको छैन।
हाम्रो गाँउतिर त टुहुरा-टुहुरी बग्रेल्ती छन्, जो आफ्ना बाबाको बलिदानीको बदलामा रोग, शोक र भोक बोकेर धुलोमा खेलिरहेका छन्। सायद सहिद भएर मर्नु र नेता भएर बाँच्नुको भिन्नता यही होला। एक गाँस मानोको त के कुरा, बर्खामा झरी थाम्ने छानो छैन गामतिर त।
 खालि पेटमा केवल अज्ञात बाबाको निरन्तर बाटो हेरेर बसिरहेका छन् ती टुहुरा-टुहुरीl लुगाको अभावमा फाटेको मजेत्रो नै काफी छ चिसो सिरेठो छेक्न। तिनलाई पनि भोक लाग्दो हो, पढ्न मन लाग्दो हो।
कहिल्यै नहारेको गाउँलाई जितियो भनेर पहाडभरिका युवा संकलन गरेर बसको छतमा कोचियो र काठमाडौंको सडकमा छायाँजस्तो सपना देखाइयोl गाउँ त बल्ल अचेल हारेको छ।
अहिले शहरका चोकहरुमा क्रान्तिकारीहरु पश्चिमा पुस्तकको दोकान थापेर बसेका छन्। गाउँघरमा किन संस्कृतको किताब जलायौ?  हामीले किन बोर्डिङ स्कुलको बिरोध गर्यौ?  हामीले किन विदेश पढ्न जाने प्रथाको अन्त्य भन्यौँ? अनि अहिले किन, सहरका हजारौँ बोर्डिङ स्कुलमा माओवादीहरुको सेयर छ? 
एउटा भनाइ छ भन्छन्- बीस वर्षसम्म कम्युनिस्ट नहुने मान्छेको 'मुटु' हुदैन, अनि बीस वर्षपछि पनि कम्युम्निस्ट भइराख्यो भने ऊ पागल हुन्छ।'  कैलेकाहिँ म आफैँलाई हो कि जस्तो लाग्छ।
(मगर जनयुद्धकालका माओवादी विद्यार्थी नेता हुन्।)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक