20140824

सडकबाट नयाँ संविधान घोषणा गर्ने चेतावनी दिए प्रचण्डले, उच्चस्तरीय राजनीतिक समिति गठन गरी कांग्रेस र एमालेले प्रचण्डलाई अध्यक्ष बनाउनु पर्‍यो रे अनी प्रचण्डले जे जे भन्छन त्यही त्यही मान्नु पर्‍यो रे !

कांग्रेस र एमाले उच्चस्तरीय राजनीतिक समिति गठनका लागि सहमत नभएपछि प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादीले बालुवाटार बैठक बहिस्कार गरेको छ । तर, कांग्रेस र एमालेले भने एमाओवादीले भन्दैमा राजनीतिक समिति गठन गर्न नसकिने बताएका छन् । नयाँ संविधानका अन्तरवस्तुबारे छलफलका लागि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । शीर्ष नेताहरु सम्मिलित बैठकमा एमाओवादी नेताले चारबुँदे सहमति कार्यान्वयन गर्न माग गरेका थिए । तर, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले चारबुँदे सहमति नमान्ने कांग्रेस र एमालेवीच सहमति भएको बताए पनि प्रचण्ड, बाबुरामलगायतका माओवादी नेताहरु बैठक छाडेर बाहिरिएका छन् । ‘कांग्रेस र एमालेका नेताहरु संविधान निर्माणप्रति इमान्दार देखिएनन्, तीन दलको बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डले भने-’चार दलीय सहमति कार्यान्वयन नगरिएसम्म अब एमाओवादीले कांग्रेस र एमालेसँग कुनै पनि वार्ता गर्दैन ।’ दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि प्रमुख दलहरुवीच भएको सहमतिमा सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, चुनावमा भएको धाँधलीबारे संसदीय छानविन समिति बनाउने र उच्चस्तरीय राजनीतिक समिति बनाउने लगायतका विषयमा सहमत भएका थिए । सो सहमतिका बेला उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डलाई दिने ‘जेन्टलमेन एगि्रमेन्ट’ भएको एमाओवादी दावी छ । बालुवाटारमा बैठकमा एमाओवादी नेताहरु आफ्ना कुरा राखेर बाहिरिएको एमाले महासचिव ईश्वर पोखरेलले  बताए । ‘उहाँहरु आफ्ना कुरा राखेर हिँड्नुभयो’ पोखरेलले भने- ‘उच्चस्तरीय राजनीतिक समिति बनाएर त्यसको नेतृत्व प्रचण्डलाई दिइनुपर्छ भन्ने उहाँहरुको माग छ, तर यो सम्भव छैन ।’ माओवादीको बहिस्कारपछि साँझ
कांग्रेस र एमाले नेताहरुको बैठकमा समीक्षा भएको छ । तर, उसले भने जस्तो उच्चस्तरीय राजनीतिक समितिको आवश्यकता र औचित्य नभएको दुई दलको ठहर छ । ‘बिहानको बैठकको सामान्य समीक्षा भयो’ एमाले नेता अग्नि खरेलले  भने-’माओवादीले भनेको माग अघि बढ्दैन । त्यस्तो समितिको संवैधानिक, राजनीतिक र कानुनी औचित्य सिद्ध गर्न सकिँदैन ।’ कांग्रेस र एमालेले संविधानका अन्तरवस्तुबारे सहमतिका लागि सरकारका रहेका र नरहेका दलहरुसँग छलफल सुरु गर्ने निर्णय गरेको छ । बैठकले कांग्रेस र एमालेबीच राजनीतिक नियुक्ति, सातबुँदे कार्यान्वयनसहितका विषयमा देखिएको विवाद अध्ययन गरी समाधानका लागि कार्यदल बनाउने सहमति गरेको नेता खरेलले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित तीन दलीय बैठकमा शुरुमा राज्य पुनसंरचना र शासकीय स्वरुपमा विषयमा छलफल भएको थियो । छलफलका क्रममा डा. बाबुराम भट्टराईले चार बुँदे सहमति कार्यान्वयन गर्न र उच्चस्तरीय राजनीति समिति बनाएर त्यसको नेतृत्व एमाओवादी अध्यक्षलाई दिन आग्रह गरेका थिए । बाबुरामलाई जवाफ दिँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले चारबुँदे सहमति कार्यान्वयन नगर्ने सत्तारुढ दलवीच सहमति भैसकेको भनेपछि माओवादी नेताहरु सो सहमतिबाट पछि हट्ने हो भने कांग्रेस एमालेसँग वार्तामा नबस्ने भन्दै बैठक बहिस्कार गरेर हिँडेको स्रोतले बतायो ।
प्रचण्डले सत्तारुढ कांग्रेस-एमाले सहमतिमा नआए सडकबाट नयाँ संविधान घोषणा गर्ने चेतावनी दिएका छन् । उनले विगतमा भएको सहमति अनुसार परिर्वतनकारी संविधान बनाउने सहमतिका लागि कांग्रेस-एमालेलाई भदौ मसन्तसम्मको अल्टिमेटम दिए । संघीय गणतान्त्रिक मोर्चाले शनिबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने-’भदौंमहिनाभित्र परिर्वतनकारी संविधान बनाउने सहमति भएन भने हामी शान्तिपूर्ण जनविद्रोह गरेर क्रान्ति सम्पन्न गरौं ।’ आफूले जनविद्रोह भन्दा ठूला सञ्चार माध्यमहरुले गलत अर्थ लगाउने गरेको भन्दै उनले फेरि हतियार उठाउँ भन्न नखोजेको प्रष्ट पारे । कांग्रेस र एमालेका नेताहरुले शक्तिको भाषा मात्र बुझ्ने भन्दै उनले संविधानसभाभित्र र बाहिरबाट सशक्त दबाव आवश्यक रहेको बताए । उनले भने-’कांग्रेस एमालेका नेताहरुले जनयुद्ध केही होइन, मधेस आन्दोलन पनि केही होइन भन्ने जस्तो ठान्नु भएको छ । भेडा गोठाला जस्ता हुन् । पेलपाल गरिन्छ भन्ने ठान्नु भएको छ ।’
 सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले उच्चस्तरीय राजनीतिक समिति गठन गरेर एमाओवादी अध्यक्ष प्रचण्डले सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईमाथि सौता हाल्न खोजेको आरोप लगाएका छन् । संविधानसभाभित्रै संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति भएकाले संविधानसभा बाहिर अर्को उच्च स्तरीय समितिको आवाश्यकता नभएको दुई दलको भनाइ छ । रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले अनावाश्यक बखेडा झिकेर संविधान निर्माणमा अवरोध नगर्न एमाओवादीलाई चेतावनी दिए । उनले भने-’फेरि पनि उच्चस्तरीय समिति बनाउने हो भने संविधान निमार्णको कामलाई प्रभावित पार्नु भन्दा अरु केही हुँदैन् । त्यसैले यस्तो गल्ती नगरौं ।’ कांग्रेस तोकिएकै मितिमा संविधान जारी गर्न लागिपरेको भन्दै उनले कसैलाई पनि शंका नगर्न आग्रह गरेका छन् । ‘कार्यतालिका अनुसार काम भइरहेको छ । प्रधानमन्त्रीले सवै दलका नेताहरुसँग छलफल गरिरहनुभएको छ’-श्रेष्ठले भने । कार्यक्रममा एमाले सचिव प्रदिप ज्ञवालीले माओवादीले माग गरेको उच्चस्तरीय राजनीतिक समितिको औचित्य नरहेको बतँए । समिति बनाउँदा प्रचण्डको व्यक्तिगत मनशाय पूरा गर्नु शिवाय अरु केही पनि नहुने भन्दै उनले भने-’संविधानसभाभित्रै वैधानिक एवम् शक्तिशाली समिति हुँदाहुँदै फेरि अर्को समिति बनाउने कुरा कुनै हालतमा सान्दर्भिक छैन ।’ एमाओवादी नेता भट्टराईले सम्वाद समितिको नेतृत्व गरिरहेका वेला प्रचण्डले संविधान बाहिर अर्को उच्चस्तरीय राजनीतिक समिति बनाएर नेतृत्व गर्न खोज्नु भनेको बाबुराममाथि सौता हाल्ने प्रयास भएको उनको भनाइ छ । कार्यक्रममा एमाओवादी नेता अग्नि सापकोटालेे चारबुँदे सहमति कार्यन्वयन नभए कांग्रेस-एमालेसँग वार्ताको टेबलमै नबस्ने चेतावनी दिए । सहमति कार्यन्वयन नगरेर कांग्रेस र एमालेले संविधान नबनाउने बखेडा झिकेको उनको आरोप छ । नयाँ जनादेश पाएपछि कांग्रेस र एमाले पछाडी फर्केको आरोप लगाउँदै सापकोटाले भने-’सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाउने जस्ता कुराहरुमा पनि कांग्रेस-एमालेले आलटाल गरिहरेका छन् । अनि कहाँबाट माघ गतेभित्रै संविधान जारी हुन्छ ?’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक