(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140903

अयोग्य लडाकुुकाे अरब कथा : "छविलाल (प्रचण्ड)ले बाख्रा पालेर बस्न भने, बाख्रा त मेरा बाजेले पनि पालेका थिए !"

"नेताको उक्साहटमा लागेर मजस्ता हजारौं युवाको जीवन बर्बाद भयो दाइl देशले पनि कतै रगत माग्छ र ?" 
- दिल निसानी मगर
म अयोग्य लडाकु यार दिल दाइ! यो संसारमा गरिबको योग्यता नाप्ने यन्त्र कुन युगमा बन्छ होला खै? खजुरको बिरुवा उमार्न खाडल खनिरहेका मेरा मित्र मनोज घर्ती मगरलाई मैले सोधेँ- ‘मेसिन गन खेलाउन सजिलो थियो कि काँटा गैची खेलाउन सजिलो छ बड्डाउ? उनी केही बोलेनन्। खैनी थुप्रिएको गिजा देखाउँदै मुसुक्क हाँसेमात्र l उनको यो अस्थायी हाँसो लामो समय टिकेन l चुरोटको खिल्ली सल्काउँदै मनोजले थपे- ‘यो पाखुरामा लागेको तातो गोली ड्याम्म छातीमै लागेको भए पनि त आज अरबमा तातो हावा खानु पर्ने थिएन नि!' उनको दाहिने पाखुरामा गोलीको छर्रा थियोl बेनी भिडन्तमा लागेको रहेछl गहभरि आँशु निकालेर उनी बोल्छन्-‘दिनभरि काँटा गैची खेलाउँदा पाखुराको घाउ रातभरि दुख्छ यार दाइ... । लामो ‘खुइ’ तानेर टाउकोमाथिको बालुवा टकटकाउँदै उनी चप्पलमाथि बसेl उनको दुखेसो थियो- मेरो जुनी त खाल्डो खनेरै बित्छ कि क्या हो? उति बेला खाराको लडाइँमा रातभरि खाल्डा (बंकर) खनियोl अहिले खजुरको बिरुवा उमार्न पनि दिनभरि खाल्डा खन्छु। उनी निरास मुद्रामा प्रस्तुत हुन लागे-‘छविलाल (प्रचण्ड)ले बाख्रा पालेर बस्न भनेl बाख्रा त मेरा बाजेले पनि पालेका थिएl दुई सय गोटा जतिl'  'म छामामार बनेको बाख्रा पाल्न पाउनु पर्ने माग गर्दै थिएनl आफूले अभिभावक सम्झेको मानिसले घरबाट लखेटेपछि आफूलाई जे काम आउँछ, त्यही काम गर्नैपर्यो नि! खाल्डो खनियो, खनिँदैछ, खनिनेछ।’ म गलल्ल हाँसेl म हाँसेको देखेर उनको मुहारमा पनि एक प्रकारको
कान्ति छायोl मैले गम खाएँ- यस्तै छ यो, अयोग्यको अरब.... ।
कुरा अघिल्लो शनिबारको होl म अबुधावीदेखि ओमन जाने रेगिस्तानको बालुवा पहाड मुनि आगो फुकेको ‘लहबाब’ मरुभुमिमा गएथेँl त्यहाँ मेरा मन मिल्ने साथी छन्l तिनै मनोजl उनी त्यहाँको मरुभुमिमा खजुरको हेरचाह गर्ने इलम गर्छन्l हाम्रो पहिलो भेट परराष्ट्र मन्त्रालयको बाहिर गेटमा भएथ्योl 
हामी दुवै जना लाइनमा थियौँl उनी आफ्नो घर रुकुम बताउँथेl हाम्रो मन र विचार मिल्न लामो समय लागेनl विदेश भासिनुअघि नेपाल प्रहरीले हाम्रो अनुसन्धान गरेको थियोl कागजमा मन्त्रालयको तोक लगाउनु थियोl यी मान्छे इमान्दार छन्l यी मान्छे अरब जान हिँडेका हुन्l यी मान्छे सोझा-साझा हुन्l यी मान्छे गरिबका छोरा हुन्l अन्तत: छानबिन पास भयोl तोक लाग्योl अनि जहाज उड्योl
मलाई देख्नेबित्तिकै अँगालो मार्न आइपुगे मनोज भाइl
अरे यार, लाल सलाम गर्न भुल्यौ कि क्या हो?
उनले भने- अब त यो ठट्टा भैगयो नि दिल दाइl
हो, मलाई पनि लाग्यो, त अब लाल-सलाम ठट्टा भैगयोl
सुरुमै उनले कुरा खोले- 'सेतोपाटीमा हाम्रो कुरा पढेर कम्ता रुन मन लागेन यार दाइl साउदीबाट भाइले फोन गर्यो l ऊ पनि रुन्छ कि झैँ गर्योl'
उनले यस बखत भने अलि उचाइको कुरा थपे- नेपालको छापामाध्यम हामी पूर्व छापामारको जीवन कसरी बित्दैछ भन्नेमा चिन्तित छैनl छापामाध्यम पनि खालि छविलाल (प्रचण्ड) को पछाडि कुद्नेमात्र गर्छन्l ती छविलाल (प्रचण्ड) दुई सय कुरामा दुई मात्र साँचो बोल्छन्l उनको साम्राज्यको राज्य केवल झुटमा उभिएको छl के हामी छापामार नेपाली युगले थोपारेको भारी थिएनौँ र? के हामी नेपाली समाजको अवयव थिएनौँ र? के नेताहरु खोला तरेर लौरो बिर्सेका होइनन् र? खैर, जे होस् उनी मनोजले मुहारबाट बगेको पसिना कमिजको बाहुलाले पुछेर आफ्नो आक्रोश शान्त पारेl त्यतिन्जेल उनको गहमा आँशुको ढिक्का खसिसकेका थियोl मैले पनि मन थाम्न सकिनl यो कविता-सविताको मनl
म उनको टेन्टकोठा भित्र छिरेँl एउटा पानी खाने जर्किनl पुरानो मोडलको स्टोभl दुई थान तिउन खाने बटुकाl एउटा सुइ नचल्ने भित्ते घडीl खोल च्यातिएको सिरकl भित्तामा आफ्नै लडाकु साथीहरुसँग खिचेको ठूलो रंगिन फोटो र फोटोको फ्रेमभित्र कोरिएको जनमुक्ति सेना जिन्दावादको पुरानो हरफl
उफ! म खाटमाथि बसेँl
गुलियो खजुर खान दिएl उँटको ताजा छुर्पी दिएl मैले खाएँl 
केही सम्झेजस्तो गरी उनी आफ्ना संस्मरण बताउन लागे- यो भित्तामा छ नि दाजु, यो फोटो चुलाचुली शिविरमा बस्दाको होl नापजापमा अयोग्य भएपछि कमान्डरले घर जाऊ भनेl घर त कहाँ हुनु नि मेरो? बनाएको भए पो, जो थियो भत्कियोl त्यहीँ पनि शिबिरबाट निस्कने बेलामा सम्झनाको लागि साथिभाइसँग खिचेकोl के गर्ने दाइ क्रान्तिको खोक्रो नारा रहेछl जीवनको बाटो बिराइयोl न आमालाई सेवा गर्न सकेँ, न बाबालाई खुसी राख्न सकेl जीवनमात्र खेर फालियोl युवा जोशलाई लिलामी गराइयोl
गहिरो चिन्ताबाट हामी दुवै मुक्त भयौँl धन्न! अरबमा आएर नोकरी पाइयो दाइl खाल्डो खन्ने काम भए पनि काम नै हो नि, उसले भन्यो l खन्न त बलिदानीको खाल्डो पनि खनियोl तर आजको खाल्डो खनाइमा जीवनको रंग पोतिएको छl जिजीबिषा मिसिएको छl नुन छl पानी छl परिवारको खुसी छl ऊ बेला भनियो- एक बारको जुनीमा मरिलानु के छ र? मर्छु देशको लागिl तर यो गलत रहेछl देशको लागि बाँचेर केही गर्नु पर्दोरहेछl एक दिन बाँचेर देखाउन कति मुस्किल रहेछl काम गरेर खान कति आनन्द रहेछl 
नेताको उक्साहटमा लागेर मजस्ता हजारौं युवाको जीवन बर्बाद भयो दाइl देशले पनि कतै रगत माग्छ र? अहिले म सेक्सन कमान्डरबाट पद बढेर कुल्ली भएको छुl छविलाल (प्रचण्ड) ले आफ्नै छापामार अयोग्य भने हाम्रो बुई उक्लेर सत्तामा गए अनि उल्टै हामीलाई अयोग्य बिल्ला लगाए। हामी कसरी अयोग्य भयौँ? उनले देखाएको सपनाको निम्ति आफैँ मर्न अनि अरुलाई मार्न तयार भएका होइनौँ र? म कसरी अयोग्य भएँ?
तर पनि- ‘आइ एम प्राउड विथ माई लाइफ के दाइ।’
मैले भनेँ- 'आइ सी, म्यान। थम्प्स अप!' 
ऊ खिस्स हास्योl
उनी मसँग सधैँ खुलस्त बोल्छन्- शिविरको बसाइ खत्तम थियो दाइl बरु यो बालुवाको टेन्ट शान्त छ। सरकारले लडाकुलाई पैसा बाँड्यो भन्थेl कमान्डर तहकालाई मात्र बाँडेको होलाl मलाई त थाहा भएनl एक सुका पनि नथापी म निस्केँl बरु भोकै मर्छु तर म कमान्डरको अगाडि रुदिनँ भन्ने लाग्योl खाओस् मेरो पैसा उसैलेl सपना र युवा जोश त निलेकै थियोl म पैसा पाइएला भनेर छापामार बनेको थिइनl गरिबको दिन आउला केही परिवर्तन होला भनेर ज्यानको बाजी राखेको हुँl त्यति जाबो पैसा पाउन किन रगत बगाउनु पर्थ्यो? पसिना बगाए पैसा पाइदैन र?
शक्तिखोरमा प्रचण्डले जे बोले त्यही सत्य थियोl हामीलाई बेच्न क्यान्टोनमेन्ट बनाइएको रहेछ, बाठामानिस!
तिनले लडाकुको नाममा पैसा मागेर खान लामो समयसम्म सेना समायोजन नहुँदा उसै त डिप्रेसन भएको थियोl झनै अयोग्य भएपछि त पागल नै भैयोl सेनाका राम्रा कमान्डर दाइहरुलाई बिद्रोह गर्न भनेर बाहिर लाने पनि छविलाल प्रचण्ड हुन्l अहिले दाइहरु घर न घाटको कंगाल बन्नु भाछl विदेश आउने उमेर पनि सकियोl न रह्यो बाँस न बज्छ मुरली भनेजस्तै भयोl छविलाल प्रचण्डलाई पाप लाग्छ यार दाइ!
म मुटुभरि चोट बोकेर अबुधाबी फर्किएँl

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक