(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140909

यस्तो लाग्छ नेताहरुलाई देश लुटेर, जनता लुटेर खरानी बनाउने अधिकार छ, जनतालाई कंगाल बनाउने अधिकार छ !


 



- दिल निशानी मगर

मूलगेटमा कुकुर भुक्यो। अतिथि देवो भव:को नयाँ संस्करण ठानिकन म मुख्यद्वार प्रवेश गरेँ। प्रवेशद्वारबाट प्रवेश गर्नुभन्दा पहिले थुप्रै लक्ष्मणरेखा पार गर्नुपर्ने हुन्छ। यस्तो 
जग्गालाई 'हाइ-प्रोफाइल' आवास भनिँदो रहेछ। बगैँचाभित्र 'जिकज्याक' बाटो आउँछन्। शिशाको ढोकामा लेखिएको 'पुल' र 'पुस' मा झुक्किनु हुँदैन। मानिसले देखे भने बडो सरम हुन्छ। कर्तव्यपालनाको शिलशिलामा खटिएका प्रहरीले म्याद नसकिएको परिचयप्रत्र  माग्छन्। पढाइ सकिएको वेरोजगार युवासँग पनि कुनै परिचय पत्र हुन्छ र? खैर, उक्त जग्गाकोपेरिमिटरमा कार्यालय सहयोगीको 'रवाफ' यस्तो हुन्छ कि मानौँ कि ऊ मंगल ग्रहबाट उछिट्टिएर भर्खरै पृथिवीमा खसेको मनुवा हो। आवास हाताभित्र धुम्रपान निषेध हुन्छ। हदैसम्मको झन्झट झेलेर नेताजीको 'बैठक' कोठामा पुग्न मैले विजय प्राप्त गरेँ।
नेताजी नातिनीसँग खेलिरहनु भएको रहेछ। आज्ञाबमोजिम सरासर मैले आफ्नो बिन्ती बिसाएँ-
'म दिले मगर हजुर! राष्ट्रवादी केटा, यसपाली पनि नायब सुब्बामा नाम निकाल्न सकिन। चोकमा किराना दोकान थियो, त्यो पनि घाटा लाग्यो। एक बारको जुनीमा धेरै हन्डर खाइयो। हजुरको कृपाले कहिँ-कतै अस्थायी भए पनि नोकरीमा झुन्ड़ाइदिनु पर्‍यो हजुर...
केही बेर नेताजी बोल्नु भएन। अक्सर उहाँको आदत यस्तै थियो। यद्यपि म उहाँको उत्तर सुन्न घन्टौँ भए पनि कुर्न राजी थिएँ। आपतविपतको घडीमा मानिसले धैर्यताको बाँध
टुटाउनु हुँदैन। सबै पीडादायी कुरा झेल्न राजी हुनुपर्दछ।
केही बेरपछि नेताजी को मुखारबिन्दुबाट 'महावाणी' फुत्त निस्क्यो-
हेर भाइ, यो मुलुकमा विकासको मूल फुट्न अझै बाँकी छ। तिमीजस्ता युवाको बिन्ती भाउ गनेर साध्य लाग्दैन। एक दिन विकासको मूल अवश्य फुट्ने छ। जुन दिन तिमीहरु रुपैयाँको खोलामा बग्ने छौँ। अहिले म केही पनि गर्न सक्ने अवस्थामा छैन। मसँग समय पनि छैन। चिया पिएर जाऊ।
मलाई यस्तो लाग्यो- म पहिलोपटक आफ्नो जीवनमा नातावाद र कृपावादको असफल नजिर बसाउन पुगे। चिया त के पिउनु नि, चिन्ता थपिएको बेला।
यो माथि उल्लेखित संस्मरण केही वर्षअगाडिको थियो, जुन वर्ष खाध्य संस्थानले म्याद सकिएर फ्याँकेको कुहिएको चामल खोसाखोस गर्दा कर्णालीका सयौँ मानिस घाइते भएको समाचार बाहिर आएको थियो।
प्रसंग बदलौ,
हरेक महान विचार झुपडी र गरीबको आँगनबाट माथि उठ्छन् तर किन ती महान भनिएकाविचार माथि उठ्दा-उठ्दै पनि कुनै महलको कोठामा पुगेर हराउँछन्? भोकमरी नियन्त्रण
बापतको दुई किलो चामल पाउन दुई दिन पैदल यात्रा गर्नुपर्ने हाम्रा पहाडका पैतालाहरु बिहानीपख उदाएको सूर्यझैँ उँभो लाग्ने कैले होला? मलाई यो पनि अनुमान छैन कि तुइनमा झुन्डिएर नदीको भेलमाथि आफ्नै मृत्यु जित्ने कलिला स्कुले नानीहरुको नमस्कार गर्ने हातमा फोका उठ्न कैले बन्द होला? गाउँघरमा सारंगी रेट्ने दाइहरुले खुसीको गीत कुन युगमा पुगेर गाउँछन् होला है?
म गम खान्छु- कैले फुट्छ यो विकासको मूल? कस्तो अनुहार बोकेर आउँछ यो विकासको मूल ?दुई सय पचास वर्षदेखि विकासको मूल, केवल विकासको मूल...। विकासको मूल भनेको दन्त्यकथा हो वा सत्यकथा? म आफ्नो आवेश आफैँ कम गर्छु। मेरो देशमा विकासको मूल फुट्न बाँकी छ वा देश दुनियाँ बदल्ने कसम खाएका नेताको दिमाग बदलिनु आवश्यक? केही न केही त जरुर शंकास्पद छ। संसारकै अग्लो सगरमाथाको काखमा जन्मेका हामी नेपालीको इमान होचो हुनु हुँदैन थियो। छातीमा कर्णाली र भेरी बगाउने हामी मैनबत्ती र लाल्टिनको उज्यालोमा बस्नु पर्दैन थियो। काठमाडौँको सडकमा मेलम्ची बग्नुपर्ने थियो। काठमाडौँ काकाकुल किन भयो?कर्णाली आकुलब्याकुल कसरी भो? ए! नेताजी विकासको मूल कहिले फुट्छ?
राज्यको योजना बनाउने भनेको राज्यले नै हो। राज्यको योजनामा युवाहरु कम्मर कसेर लाग्नुपर्ने थियो। यहाँ, कोरिया जाने निवेदकको लाइन पाँच किलोमिटर लामो हुन्छ। कति बेहोस हुन्छन्। कति त मानसिक सन्तुलन पनि गुमाउँछन्।अलि पढेलेखेका युवाहरुलाई नोकरीको ग्यारेन्टी छैन, न प्रतिष्पर्धाको बजार नै खडा हुन सकेको छ। चोरदुलाबाट पसेर अर्को दुलाबाट पूजारी बनेर निस्कने संस्कार किन हट्न सक्दैन यहाँ? कतिन्जेल रेमिट्यान्सले मुलुक धान्ने 
होला? कतिन्जेल बाकसमा लासहरुको लाम लाग्ने होला कतिन्जेल हाम्रा चेलीहरु घरमा बन्धक बनेर सुगाको जीवन बिताउने होला? कसरी जिउँदै-मर्दै जिजीबिषा चलाउने होला? 
यहाँ हरेक रात लाखौं मानिसहरु नयाँ नयाँ सपना देखेर निदाउने गर्छन् र दिवासपना बोकेर उठ्छन्। ए! नेताजी विकासको मूल कहिले फुट्छ?
हाम्रा विद्वान प्रोफेसरहरु पनि अमेरिकामा कुखुराको 'अण्डा' टिपेर बसेका छन्। कवि, कलाकार पत्रकार युरोप पुगे भने उतै लुक्छन्। आफ्नो नागरिकलाई विकासको मूल प्रवाहमा ल्याउने काम नेताको होइन र? किन यति सारो कठोर बन्छ काठमाडौँ। यस्तो लाग्छ- काठमाडौँमा चार्ल्स शोभराजहरु, दाहाल बन्धुहरु बसोबास गर्छन्। काठमाडौंसँग लिनु हुँदैन, दिनुहुन्छ। काठमाडौंसँग विपना हुँदैन, सपना हुन्छ र काठमाडौं पुर्छ सपनाहरुलाई। फेरि पनि भन्छु ए! नेताजी विकासको मूल कहिले फुट्छ?
विकास र परिवर्तनको नाममा रगतको खोला बग्यो। सात साल, छयालीस साल, बाउन्न साल र बैसठी-त्रिसठी साल। नेपाली इतिहासको यी कुन सालमा नेपालको कायापलट गर्ने कसम खान बाँकी थियो? बिपी कोइरालाको समाजवादले एउटा दुहुनो गाई, सानो खेत र घर भए जनतालाई पुग्छ भन्यो। जनता मोटा भए दरबार भत्काउँछन् भन्ने मान्यतामा दरबार बस्यो। गरिब जनताको भोक मेटाउने प्रयास कोही कसैबाट हुन सकेन। युगको विरासत भनौँ वा कठोर सजाय भनौँ। बोल्ने मानिसको जिब्रो थुतियो। बोल्न नसक्ने निमुखा जति लाइ आजीवन दास बनाइयो। के विकासको मूल फुटाउने भनेको यही हो? नेतालाई जनता र देशको माया हुँदो हो त कर्णालीमा नुनको दोकान हुनुपर्ने थियो। मुगुमा मोटर पुग्नुपर्ने थियो। किनकिन विकासको मूल फुट्न सकेन। ए! नेताजी, विकासको मूल कहिले फुट्छ?
बाउन्न सालको आँधिहुरी वा बाह्र वर्षको महान भनिएको जनयुद्धले दुई-चार जना मानिस अरबपति हुन सके। तिनले आफ्नो खाता स्विस बैंकमा खुलाउन सफल भए। दुई चार जना मानिसका छोरीज्वाइँ करोडपति पनि बने। तिनका नालनाताले सहरको चोकमा घर बनाउन सफल भए। तिनका नातिनतिना भान्जाभान्जी विदेश पढ्न जान सके। तिनका श्रीमतीलाई खोकी लाग्दा उपचार गर्न विदेश लैजानसक्ने भए। जनतामा फेरबदल त न प्रजातन्त्रमा आयो न यो गणतन्त्रमा। पञ्चायतमा आउने कुरै भएन, बरु राणाकालीन समयमा मठ मन्दिरबनेका कारण सबैलाई पूजा गर्न सजिलो भएको छ। म सधैँ यही भन्ने गर्छु- देशलाई बचाउनका लागि पशुपतिनाथबाहेक कोही पनि बाँकी रहेन। विकासको मूल फुट्न मात्रै बाँकी रह्यो।
सन्तनेता किसुनजीले सिंहदरबारमा पानी पिउने लोटा र छाता बोकेर के गर्ने, काठमाडौंको सडकमा मेलम्ची बगाउन सकेनन्। न बाघझैँ गर्जने प्रचण्डले रुकुमलाई पेरिस बनाए। मेलम्ची सपना र दिवासपना उस्तै लाग्छ मलाई। मेलम्चीको पानी त वर्षायाममा बग्छ काठमाडौंमा। काठमाडौँको लागि मैनबत्तीको शिखा नै दस हजार मेगावाटको हाइड्रोपावर हो। मैनबत्ती त नाम मात्र को न हो। आखिर जीवन पनि त मैनबत्तीको शिखाजस्तै छ, ठिकै लेखेछन भूपिले पनि। हाम्रो देशमा अनेक राजनीतिक परिवर्तन आयो,राणादेखि राजा सम्म र महेशपाल, गोपालपालदेखि प्रचण्ड र हिसिलासम्म भोग्यो मुलुकले। राजनीतिक परिवर्तन भए पनि देशको मुहार बदल्न सकिएन। काठमाडौँलाई लाजधानी बनाउने अनि केवल आफूलाई महान सम्झने। ए! नेताजी विकासको मूल कहिले फुट्छ?
यस्तो लाग्छ नेताहरुलाई देश लुटेर जनता लुटेर खरानी बनाउने अधिकार छ। जनतालाई कंगाल बनाउने अधिकार छ। सबैभन्दा ठूलो अधिकार त तिनलाई काठमाडौँको कोठामा बसेर कर्णालीको भाषण गर्नु छ। सुदूरपूर्व र सुदूर पश्चिमलाई अझै टाढा बनाउनु छ। के विकासको मूल फुटाउनेभनेको यही थियो?
हाम्रो देशमा राजनीतिक संस्कार बस्न सकेन वा नेता र नागरिक मा अनुशासन कायम हुन सकेन। जे होस्, मुलुक आमूल प्रगतिमा लम्किन सकेन। केवल खिचातानी र उपदायताबिहिन राजनीतिको डंगुरमात्रै भयो। हाम्रो देशमा ढुंगा पनि राजनीति गर्छ। ढुंगाले राजनीति गरेपछि माटोको कुरा गर्नु महान काम भएन। हलो, जुवा, अनौ, रुख, गाई, मादल, सूर्य, गिलास, झोला,कलम, खरायो, खुर्पेटो सबै–सबै राजनीति गर्छन् मेरो मुलुकमा। ए! नेताजी विकासको मूल कहिले फुट्छ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक