20140909

आफ्ना साँगीतिक गुरु नारद गौतमको यो समाचार पढ्दा स्तब्ध भएर आयो मन ! धिक्कार छ यस्तो नियती बनाउने र सरकारमा बस्ने अन्धाहरु प्रति !

रामप्रसाद खनालको मन आज यो समाचारले निकै दुखाएको छ । आफुमा रहेको गीत संगीत साहित्यिक एबम   कलालाई भित्रबाट बाहिर निकाल्ने र बाटो देखाउने यि निरिह गुरुको यो समाचार यसरी शेयर गर्नुपर्दा स्तब्ध छ मन । तर शेयर गर्न वाध्य छु म किनकी यो मेरो गुरुले भोगेको वास्तविक नियती हो । म र म जस्ता कयौं विद्यार्थीलाई नेपाली बिषय पढाउने शिक्षक मात्र थिएनन नारद गौतम कबिता गीत संगीत र  साहित्य सिकाउने अशल गुरु पनि हुनुहुन्छ । वहाँले नै हो मलाई आदर्श मा.बि. दिगाम गुल्मीमा अध्यापन गराउनुभएको । वहाँको छन्द कबिता लेखन, साहित्यिक लेखन र क्षमताको कुरा गर्ने हो भने मैले मुख खोलेर
भन्नै पर्छ राष्ट्रिय अन्तरराष्ट्रिय छबी बनाएका नेपाल का कबि साहित्यकार गीतकारहरु नारद गौतमका अगाडी टिकिरहन अली बढी नै मेहनत गर्नै पर्छ । वहाँको गरीबी, गाउँले जिबनले मात्र पछाडि पारेको हो वहाँलाई । बामपन्थी राजनीतिमा कपाल फुलिसकेका उनलाई बामपन्थी नामका खामपन्थीहरुले सधैं प्रयोग मात्र गर्दै आएको देखेको एउटा साक्षी यो चेलो पनि हो । अहिले त झन मेरो गुरुको मन यसरी फाटेको देखेर म चेलो को मन कसरी सग्लो रहन सक्छ र ! यो काहानी मेरो गुरुको मात्र नभएर नेपालका थुप्रै शिक्षकहरुको भएको मैले सुनेको छु तर यो बेदना सुन्ने कोही छैनन नेपाल मा । गुरु पुरै फुलेको कपाल कन्याउदै घर बस्न र पिडक हरुले दिएको पिंडा सहन वाध्य देख्छु ।  कठै हाम्रो नेपाल !
अब समाचार बिस्तारमा । बुटवल बाट महेन्द्र थापा लेख्छन :  तिसवर्ष निरन्तर पढाए पनि स्थायी हुन नसकेकाले शिक्षक नारद गौतमले अवकाश लिँदा रित्तो हात घर फर्कनु परेको छ । गुल्मी जिल्लाको बम्घा–बलेटक्सार स्थित जनवोध उच्च माविका नेपाली विषय शिक्षक गौतमले हालै सेवाबाट अवकाश लिँदा सरकारबाट न उपदान पाए, न त पेन्सनपट्टा नै । यसवर्षको शैक्षिक सत्रको प्रारम्भमा राजिनामा दिई घर बस्न थालेपछि गौतम निराश र खिन्न भएका छन् ।  गौतमले भने–‘३०
वर्ष शिक्षा सेवा गरेँ, घर फर्कदा हात लाग्यो शून्य भएकाले बुढेसकालमा जिविका चलाउन दुःख भयो ।’
३० वर्ष सेवा र ५८ वर्ष उमेर पुगेपछि गौतमले स्वेच्छिक अवकाश लिएका हुन् । उनले २०४० सालमा गुल्मीको दिगाम माविबाट पढाउन थालेका थिए । २०४६ मा घर नजिकैको जनवोध माविको संस्थापक भएकाले सोही विद्यालयमा सरुवा भएका गौतमले २०७१ सालमा सोही विद्यालयबाटै अवकाश लिएका छन् ।
उनका शिष्य हरि ज्ञवालीका अनुसार उनी विद्यालय परिवारका यती प्यारा थिएकी उनको ठाउँमा पदस्थापनका लागी आउने स्थायी शिक्षकले उनको बारेमा जानकारी पाएपछि उनलाई हटाएर हाजिर हुन इच्छा नभएको भन्दै आफै अन्त सरुवा मिलाएर जान्थे । उनी एक समर्पित शिक्षक थिए । विहान ९ बजे नै विद्यालय आई विद्यार्थीहरुलाई निशुल्क साहित्य, गीतसंगीत बारेमा सिकाउँथे । उनी युग ज्योति प्राविका पनि संस्थापक हुन् ।
२०४८ सालमा एकवर्ष सेवा गरेका सबै शिक्षकलाई स्वतः स्थायी गर्ने सरकारी नीतिमा आफ्नो दरवन्दीमा अर्कै शिक्षकले जालझेल गरेकाले स्थायी हुन नसकेको गौतमले बताए । त्यसैगरि २०५२ सालमा शिक्षा सेवा आयोगमा लिखितमा नाम निकाले पनि शिक्षक संघको सदस्यता लिन नमानेका कारण आफूलाई अन्तवार्तामा फेल गराइएको उनको भनाई छ । आफू कम्युनिष्ट भएकाले चेपुवामा परेको दुःखेसो पनि उनले पोखे । त्यस्तै २०६० सालतिर सेवा आयोगमा जाँच दिने क्रममा आफूलाई हस्तकम्पनको रोग लागेका कारणले राम्रोसँग लेख्न नसकेर फेल भएको उनको भनाई छ ।
गुल्मी जिल्लामा आफूजस्ता शिक्षक इश्वरी मावि चारपालाका माधव अर्याल र इस्माका गुरुप्रसाद पन्थी गरी ३ जना भएको उनले बताए । सरकारले २०३७ सालमा उदार शिक्षा नीति लिएपछि गाउँमा विद्यालयको स्थापना गराई त्यहीँ निरन्तर सेवा गरेपनि स्थायी हुन नसकेका पूराना शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने उनको माग छ । त्यस्ता शिक्षक मुलुकभरीमा ३० हजारजति भएको उनको भनाई छ ।
अवकाश पछि उनी साहित्य सिर्जना र गीतसंगीतको माध्यमबाट गुल्मीको महिमा फैलाउने काममा जुटेका छन् । उनले हालै रचना गरेको गुल्मी गानबाट प्रभावित भई जिविसले नगद रु.३० हजारले पुस्कृत गर्नुका साथै गुल्मीमा हुने हरेक समारोहमा राष्ट्रिय गानपछि गुल्मी गान गाउने गर्न थालिएको छ । आफूले पढाएका धेरै विद्यार्थी राष्ट्र सेवाको विभिन्न फाँटमा प्रतिष्ठित भएका र अब उनीहरुबाट सहयोग लिएर साहित्य र गीतसंगीतको फाँटमा योगदान गर्ने सोंच बनाएको गौतमले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक