20141127

काठमाडौं मा सम्पन्न सार्क सम्मेलनको चिरफार : शुरु देखी अन्त्य सम्म के के भयो हेर्नुस् सम्पूर्ण विवरण !

सार्क शिखर सम्मेलनमामा भाग लिन आएका विशिष्ट अतिथिहरू स्वदेश फर्किएका छन्। शीतल निवासमा राष्ट्रपति रामवरण यावदले दिएको रात्रि भोज सकिनासाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश प्रस्थानका लागि भारतीय वायू सेनाको बोइङ बिजनेस जेट ७३७ बाट नयाँ दिल्ली उडेका छन्। मोदीलाई लिएर आएका
भारतीय वायू सेनाका २ जहाज र ४ हेलिकोप्टर मंगलबारदेखि काठमाडौंमा थिए। यस्तै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ पनि मोदी पछि पाकिस्तानी वायू सेनाको निजी विमानबाट स्वदेश फर्किएका छन्। सरिफलाई लिएर वायु सेनाका दुई जहाज इस्लामावाद उडेका छन्। त्यस्तै अफगानीस्तानका राष्ट्रपति असरफ घानी पनि आफ्नो विशेष विमानबाट स्वदेश फर्किएका छन्। श्रीलंकाली राष्ट्रपति महेन्दा राजापाक्ष आफ्नो विशेष विमानबाट केही बेर अगाडी स्वदेश फर्किए। उनी फर्किँदा माल्दिभ्सका समकक्षी अव्दुल्ला यमीन अव्दुल गयुमलाई पनि लिफ्ट दिएर लगेका छन् । श्रीलंकन एयरको विशेष विमानले राष्ट्रपति गयुमलाई माल्दिभ्स राजधानी मालेसम्म लगिदिने भएको छ। त्यहाँबाट माल्दिभ्सको विमानमार्फत उनी माले प्रस्थान गर्नेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वदेफर्किएका पाहुनाहरूलाई उपप्रधानमन्त्रीद्वय बामदेव गौतम र प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य, मुख्यसचिव लीलामणि पौड्याल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव वसन्तकुमार गौतम, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागीले बिदाइ गरे। बंगलादेशी प्रधानमन्त्री शैख हसिना भने शुक्रबार बिहान साढे १० बजे बंगलादेश विमानको नियमित उडानबाट फर्किनेछन्। यस्तै शुक्रबार दिउँसो १ बजे काठमाडौं छाड्ने अन्तिम पाहुनाका रूपमा भुटानी प्रधानमन्त्री ल्योन्छेन छिरिङ तोव्गाय ड्रुक एयरको नियमित उडानबाट पारो उड्नेछन्।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) १८औंँ शिखर सम्मेलनको उद्घाटनसत्र झैंँ समापनसत्र पनि विविध रोचक प्रसङ्गका साथ सम्पन्न भएको छ । आकर्षक बनाइएको राष्ट्रिय सभागृहमा आठै सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको प्रवेश र बाहिरिएका दृश्य जति हेर्नलायक थियो, समयअनुसार त्यसलाई व्यवस्थापन र सुरक्षित बनाउनु आयोजक मुलुकलाई उत्तिकै चुनौतीपूर्ण थियो । समग्र सम्मेलनलाई नै विशेष स्मरणीय बनाउने गरी समापनसत्रमा भारतीय प्रधानन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले हात मिलाएपछि उत्साहको वातावरण पैदा भयो । सम्मेलनको सुरुआतदेखि नै मोदी र सरिफबीचको सम्बन्ध मित्रवत् हुन्छ कि हुँदैन भनेर उत्सुकतापूर्वक हेरिएको थियो । सम्मेलनको दोस्रो दिन आज बिहान काभ्रेको धुलिखेलमा भएको विश्रामका अवसरमा दुवै प्रधानमन्त्रीले हात मिलाएको भन्ने समाचारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चा पाएको थियो । दुई देशका प्रधानमन्त्रीको मिलनलाई लिएर सार्क सदस्य राष्ट्र मात्र नभई पर्यवेक्षक राष्ट्रले पनि उत्तिकै चासो लिएका थिए । समापनका अवसरमा भने दुई देशका प्रधानमन्त्रीले हात मिलाउनाका साथै आपसमा निकै सौहार्द्रपूर्वक भलाकुसारी पनि गर्नुभयो । मोदीले त्यतिबेला सरिफको काँधमा थुम्थुम्याउँदा सभाकक्ष ताली र खुसीका स्वरले गुञ्जायमान भयो । समापनको सो दृश्यले आठै सदस्य राष्ट्रबीच एकापसमा भाइचारा, मेलमिलाप र सद्भावका साथ सम्मेलन सम्पन्न भएको स्पष्टै भयो । समापनमा कसको कति सम्बोधन समापन समारोह निर्धारित समयभन्दा झन्डै आधा घन्टा ढिला सुरु भयो । समापन समारोह औपचारिक रुपमा अपराह्न ४ बजे सुरु भएर ४ः२२ मा सम्पन्न हुने तय भए पनि समापन समारोह ४ः२८ मा नेपाली राष्ट्रिय गान बजाएर सुरु भयो । अठारौँ शिखर सम्मेलनको अध्यक्षता गर्नुभएका प्रधानमन्त्री सुशील कोइरालाले एक मिनेटपछि (४ः२९) मा समापन समारोह सुरु गर्नुभयो । सार्क ऊर्जा व्यापार सम्झौतामा आठै सदस्य राष्ट्रबीच हस्ताक्षर भयो । आगामी सम्मेलनको आयोजक राष्ट्रको हैसियतले पाकिस्तानी प्रधानमन्त्री सरिफले सम्बोधन गर्नुभयो । सामूहिक तस्बिर खिंचेर करिब पाँच बजे (४ः५९) बजे सम्मेलन सम्पन्न भयो । सम्मेलनस्थलका दृश्य सम्मेलनस्थल राष्ट्रिय सभागृहभित्र मुख्य मञ्चमा आठ सदस्य राष्ट्रका प्रमुख बस्ने कुर्सी राखिएको थियो । दायाँतर्फ पोडियम, देब्रेपट्टि सार्कका महासचिव अर्जुनबहादुर थापा, मुख्य मञ्चको दायाँबायाँ सार्कसहित आठ सदस्य राष्ट्रका रङ्गीचङ्गी झन्डा राखिएका थिए । मञ्चको अगाडि नेपालका दुई झन्डा राखिएका थिए । त्यसका माथि सार्कको ठूलो प्रतीकचिह्न थियो भने त्यसका माथि ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नारा लेखिएको थियो । मुख्य मञ्चलाई रङ्गीचङ्गी फूलमालाले सजाएर निकै आकर्षण बनाइएको थियो । मञ्चको दायाँपट्टि मञ्चमा पर्यवेक्षक बस्ने स्थान थियो । मञ्चको अगाडि आठ सदस्य राष्ट्रका विदेशमन्त्रीको आसनस्थान थियो । त्यसमाथि विभिन्न देशबाट आएका प्रतिनिधि र अगाडिको देब्रे स्थानमा प्रथम महिला बसेका थिए। त्यसभन्दा माथिल्लो स्थानमा सभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दहाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी थिए। सबैभन्दा माथि दलका नेता, पूर्व मन्त्रीलगायतले आसन गरेका थिए।सम्मेलन चलिरहेका समयमा चराचुरुङ्गीको आवाजले सम्मेलनस्थललाई सुनमा सुगन्ध थपिदिएको थियो । अतिथिलाई स्वागत उद्घाटन र समापन समारोह दुवै अवसरमा प्रधानमन्त्री सुशील कोइराला र प्रथम महिला सुजाता कोइरालाले सबै अतिथिलाई स्वागत गरेका थिए। सम्मेलनस्थलमा रहेको मुख्यद्वारदेखि नै सार्क सदस्य राष्ट्रका सदस्यलाई वर्णानुक्रमअनुसार अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका राष्ट्र तथा सरकार प्रमुखले आआफ्नो स्थान आसन गरे। सम्मेलनस्थलको सौन्दर्य शिखर सम्मेलनस्थल रहेको सभागृहको चोला नै फेरिएको थियो । पाहुनाका स्वागतका लागि पानीको सुन्दर फोहराले सम्मेलनस्थल निकै आकर्षक थियो । सम्मेलनको उद्घाटन र समापन समारोहमा भृकुटीमण्डप, पुतलीसडक, सिंहदरबारलगायत स्थानमा कडाइका साथ सुरक्षा व्यवस्था मिलाइएको थियो । त्यस समयमा यातायातको साधन र सर्वसाधारणलाई समेत सुरक्षाका कारण आवतजावतमा रोक लगाइएको थियो । सार्क राष्ट्रध्यक्ष/सरकार प्रमुखका व्यस्तता बिहानदेखि नै सार्क सदस्य राष्ट्रका राष्टा«ध्यक्ष/सरकार प्रमुख बिहान ८ बजे सोल्टी होटलबाट विशेष सुरक्षाका साथ अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट नेपाली सेनाको विशेष हेलिकप्टरबाट विश्रामका लागि काभ्रेपलाञ्चोकको धुलिखेल गएका थिए। बिहान ९ः१५ मा प्रधानमन्त्री कोइराला र १०ः१५ मा सबै देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख धुलिखेल पुगिसकेका थिए। त्यहाँ उनीहरू करिब साढे चार घन्टा रहे। त्यसपछि आठै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकारप्रमुख सोल्टी होटलमा पुगेर केही समय आराम गरी समापनस्थलमा अपराह्न ३ः४० देखि ४ः२१ बजेसम्म पुगिसकेका थिए। समापनका अवसरमा सबैभन्दा पहिला भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र पाकिस्तानका प्रधानमन्त्री सरिफ सम्मेलनस्थल पुगेका थिए। त्यसपछि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भारतीय प्रधानमन्त्री मोदी, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन गैयम र सबैभन्दा अन्तिममा श्रीलङ्काका राष्ट्रपति महिन्द राजपक्ष ४ः२१ बजे पुगेका थिए। प्रथम महिला भक्तपुरमा सदस्य राष्ट्रबाट सम्मेलनका अवसरमा आएका प्रथम महिलाहरूको अगुवाइ नेपालका प्रथम महिला कोइरालाले गरेकी थिइन्।आज उनीहरू सांस्कृतिक सहर भक्तपुर पगेका थिए। सामूहिक छायाङ्कन समापनका अवसरमा सम्मेलनस्थल आउने सबै राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत गर्ने क्रममा प्रधानमन्त्री सुशील कोइराला र प्रथम महिला कोइरालाले अन्य सात राष्ट्रका प्रमुखसँग छुट्टाछुट्टै तस्बिर लिए। सम्मेलनको उद्घाटन र समापनका दुवै अवसरमा आठै राष्ट्राध्यक्ष/सरकार प्रमुखहरू सामूहिक तस्बिर खिँचेर हातमा हात मिलाउँदै सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा हुने १९औँ सार्क सम्मेलनमा भेट्ने वाचा गर्दै छुट्टिए।
बुधबारदेखि शुरु भएर बिहिबार ३६ बुँदे काठमाडौं घोषणापत्र जारी गरी समापन गर्नुु पूर्व सार्क राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको उपस्थितिमा भएको सार्क क्षेत्रीय उर्जा सहकार्य तथा विद्युतीकरण सम्बन्धी ढाँचाको सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सबै सदस्य राष्ट्रका विदेशमन्त्रीहरुले हस्ताक्षर गरेको यो सझौता पत्र नै १८ औं शिखर सम्मेलनको पहिलो र एकमात्र महत्वपूर्ण उपलब्धी मानिएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालका अनुसार सम्मेलनमा सहभागी सबै सदस्य राष्ट्रहरुको सहमतिमा भएको यो सम्झौता बृहत क्षेत्रलाई समेटेर गरेको सहमति पत्र हो। ‘यसैको आधारमा सदस्य राष्ट्रहरुले उर्जा ग्रीड, ट्रान्समिसन लाइन स्थापना गर्ने, उर्जा उत्पादन तथा त्यसको सार्क राष्ट्रमा व्यापार गरी समग्र सार्क क्षेत्रलाई नै फाइदा पुर्‍याउन यो सम्झौता अत्यन्त महत्वपूर्ण मानिएको छ,’ उनले भने। त्यसको कार्यान्वयनका लागि सार्कका सदस्य राष्ट्रहरुले त्यससँग सम्बन्धित विज्ञहरुको कार्यदल गठन गरी विस्तृत कार्य योजना तयार पार्नु पर्नेछ। परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले यो सम्झौताको दुईवटा पाटाहरु रहेको उल्लेख गर्दै पहिलो सार्क क्षेत्रमा सरकारी र निजी क्षेत्रका निकायले विद्युत खरिद विक्री गर्न सक्ने बताए। ‘त्यसका लागि कुनै पनि सदस्य राष्ट्रमा उत्पादित विद्युत अर्को सदस्य राष्ट्रको उपभोगका लागि लैजान आवश्यक ट्रान्समिसन लाइनको स्थापना गरी ल्याउन र लैजान सक्ने वातावरणको आधार यो सम्झौताले तयार पारेको छ,’ अधिकारीले भने, ‘यसले विजुली पनि एउटा व्यापार विनिमयको बस्तु जस्तै भएको छ।’ यसअघि नेपालमा भएको जलस्रोतबाट उत्पादित विद्युत खरिद गरी बंगलादेश, पाकिस्तान जस्ता राष्ट्रहरुले आफ्नो मुलुकमा भएको उर्जा संकट कम गर्न उपयोगी हुनसक्ने भन्दै आएपनि त्यसका लागि क्षेत्रीयस्तरमा उर्जाको खरिदबिक्रीमा आवश्यक सम्झौता पत्रको अभावमा कार्यान्वयनमा आउन सकेको थिएन। सार्क सम्मेलनको पूर्व तयारीका क्रममा काठमाडौंमा सम्पन्न सार्क कार्यक्रम समिति तथा स्थायी समितिको बैठकमा प्रस्तुत तीनवटा मुख्य सम्झौताका विषयमा उर्जा सम्बन्धि सम्झौतामा पाकिस्तानले आफ्नो आन्तरिक गृहकार्य बाँकी रहेको भन्दै सहमतिका लागि तयार देखिएको थिएन। अन्य दुईवटा विषय सडक यातायात तथा रेल मार्गबाट सार्कका सबै मुलुकलाई जोड्ने सम्झौता पत्रमा सचिवस्तरीय बैठकले समेत सहमति जुटाएपनि त्यसमा विदेशमन्त्रीस्तरीय बैठकमा सहमति हुन सकेको थिएन। सडक यातायात तथा रेल सेवामार्फत सार्क क्षेत्रका सबै सदस्य राष्ट्रको सम्बन्ध विकास गर्ने विषयमा खासगरी पाकिस्तानले असहमति जनाउदै त्यसका लागि कुन कुन देशको कुन कुन शहरलाई जोड्ने भन्ने विषयमा स्पष्ट कार्ययोजना नबनाई सहमति गर्दा कार्यान्वयनमा कठिनाई पर्ने धारणा राखेको थियो। शिखर सम्मेलनमा कुनै पनि विषयमा सम्झौता नहुँदा त्यस्ले पार्न सक्ने नकारात्मक प्रभावलाई ध्यानमा राख्दै नेपाली पक्षले आग्रह गरेपछि धुलिखेल रिट्रीटमा पुगेका राष्ट्र प्रमुखहरूले विदेश मन्त्रीहरूलार्इ सहमतिका विषयमा लचिलाे भएर निकास खाेज्न निदेर्शन दिएका थिए। त्यसपछि सम्मेलनको समापन कार्यक्रम शुरु हुनु पूर्व केही समय अघिमात्रै पाकिस्तान सडक यातायात तथा रेल सेवालाई तत्काल छाडी उर्जा सम्झौताको लागि तयार भएको थियो। त्यसपछि सबै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले बससेवा तथा रेलवे सम्बन्धि प्रारम्भिक सम्झौतामा सहमति जनाउँदै तीन महिनाभित्र सबै राष्ट्रका यायायात मन्त्रीको बैठकमा यो विषयलाई टुंगोमा पुर्‌‍याएर त्यसपछि बस्ने विदेशमन्त्रीस्तरीय बैठकले अनुमोदन गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए।
दक्षिण एसियाका भारत र पाकिस्तानका दुई कार्यकारी प्रमुखले छ महिनाको अन्तरालमा दुईपटक हात मिलाएको दृष्यले यस क्षेत्रमा दिगो शान्तिका लागि नयाँ उचाइ प्राप्त गरेको छ । गौतमबुद्धको जन्मभूमी नेपाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले दोस्रोपटक हात मिलाउने संयोग बन्यो । काठमाडौँमा भव्यताका साथ सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) १८ औँ शिखर सम्मेलनलको समापनसत्र सकिएर बाहिरिने क्रममा ती दुई शीर्ष नेताले हात मिलाएको क्षण सम्मेलनका प्रतिनिधिको मात्र होइन, विश्वकै लागि अनुपम बनेको छ । ती दुई नेताले समारोहस्थलमा हात मिलाइरहँदा यसको तरङ्ग विश्वभर परेको छ । लामो सयमदेखि यी दुई मुृलुकबीच विभिन्न विवादका कारण आपसी चिसोपना देखिँदैआएको छ । झण्डै एक मिनेटको हात मिलाउने क्रममा उनीहरूबीच कुराकानीसमेत भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले मुस्कानका साथ सरिफलाई धाप मारेका थिए। सरिफले टाउको हल्लाएका थिए। त्यसबेला सम्मेलन स्थल राष्ट्रिय सभागृह तालीको गड्गडाहटले गुञ्जयमान बन्यो । सम्मेलनको उद्घाटन सत्रमा बुधबार ती दुई प्रधानमन्त्रीको हात मिलाएको नदेखिँदा तथा काठमाडौँमा रहँदा आपसी भेटवार्ता भएको नपाइँदा उनीहरूबीचको सामिप्यताबारे आम चिन्ता जागेको थियो । आजै बिहान काभ्रेको धुलिखेलमा आयोजित रिट्रिटमा मोदी र सरिफबीच हात मिलेको र केहीबेर अनौपचारिक कुराकानी भएको चर्चा बाहिर आएको थियो । उनीहरूबीचको हात मिलाउने अवसरका लागि आयोजक मुलुक नेपालका प्रधानमन्त्री तथा सार्कका अध्यक्ष सुशील कोइरालाले अप्रत्यक्षरुपमा वातावरण तयार गरिदिएका थिए। यसअघि मोदीले २६ मे २०१४ मा भारतका १५ औँ प्रधानमन्त्री पदको सपथ ग्रहण गर्ने समारोहमा उनले आमन्त्रण गरेका सार्क मुलुकका अन्य कार्यकारी प्रमुखसँगै पाकिस्तानका प्रधानमन्त्री सरिफले उनीसँग हात मिलाउनुका साथै भेटवार्तासमेत गरेका थिए। आजको दृष्य नेपालका सञ्चार माध्यमका साथै सार्क मुलुक र विश्वका अन्य सञ्चार माध्यमका लागि पनि मोदी र सरिफको उक्त हात मिलाइएको दृष्य प्राथमिकतामा परेको थियो। भारतीय सञ्चार माध्यमले यसलाई विशेष महत्व दिएका थिए । सम्मेलनको सुरुवातदेखि नै भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी प्रधानमन्त्री सरिफबीचको सम्बन्ध कस्तो देखिन्छ भनेर उत्सुकतापूर्वक हेरिएको थियो । रिट्रिटका अवसरमा दुवै प्रधानमन्त्रीले हात मिलाएको भन्ने समाचारले राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यममा चर्चा सेलाउन नपाउँदै शिखर सम्मेलन समापनमा उनीहरूले हात मिलाएपछि अन्य मुलुकका राष्ट्र÷सरकार प्रमुख पनि उहाँहरूसँगै तस्बिर खिचाउन नजिएका थिए । मोदीले माल्दिभ्सका राष्ट्रपति अब्दुल गैयुम, अफगानिस्तानका राष्ट्रपति असरफ घानी र श्रीलङ्काका राष्ट्रपति महेन्द्रा राजपाक्षसँग हात मिलाएपछि सरिफसँग हात मिलाएका थिए। उद्घाटन सत्रमा हिजो मोदीले सन् २००८ को २६ नोभेम्बरमा भारतको व्यस्त सहर मुम्बईमा भएको बम हमलामा परी ज्यान गुमाएका नागरिकलाई स्मरण गरेका थिए। सो घटनामा पाकिस्तानी भूमिगत समूह लस्करे ए तोइबाको हात रहेको भारतीय पक्षको आरोप छ । यसअघि काठमाडौँमा सन् २००२ को जनवरी ४ देखि ६ मा भएको ११औँ सार्क शिखर सम्मेलन हँुदा भारत र पाकिस्तानको आपसी सम्बन्ध सुमधुर नहुँदा त्यसको प्रतिकूल असर देखापरेको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन राष्ट्रपति जनरल परवेज मुसर्रफ चीनको हवाई मार्गबाट काठमाडौँ आउनुले यी दुई देशबीचको आपसी बेमेल प्रदर्शन गरेको थियो भने भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीसँग नेपालमा १३ वर्षअघि सम्पन्न ११औँ शिखर सम्मेलनमा मञ्चमै अचानक बाजपेयीसँग हात मिलाएको घटनाले विश्वभर चर्चा पाएको थियो
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेपाली सर्वसाधारणसँग भलाकुसारी गरेका छन्। सार्क शिखर सम्मेलनस्थल सभागृहबाट सोल्टी होटेल फर्कने क्रममा गाडीबाट झरेर कालीमाटीमा उनले सर्वसाधारणसँग भलाकुसारी गरेका हुन्। उक्त अवसरमा उनले केही समय पैदलयात्रा गरेका थिए। यसअघि प्रधानमन्त्री मोदीको गत साउनको नेपाल भ्रमणका क्रममा काठमाडौँमा नयाँ बानेश्वर, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा गाडीबाट झरेर सर्वसाधारणसँग भलाकुसारी गरेको कुरालाई सञ्चारमाध्यमले प्राथमिकता दिएका थिए ।





 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक