20141109

सुशील कोइराला, केपी ओली, माधव नेपाल लगायत नेताहरु भन्छन 'प्रचण्डको बानी खाली थर्काउने र धम्क्याउने छ। अब डर धाक, करकापबाट समाधान हुदैन, उनले यो बानी छोड्नु पर्छ।'

कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सधैं डर, धाक, धम्की र करकापको शैली अपनाउदै आएको आरोप लगाएका छन्।  संविधानका विवादित विषयमा कांग्रेस, एमाले र राप्रपा लगायतले संवाद समितिमा पेश गरेको अवधारणाको विषयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री कोइरालाले
भने, 'प्रचण्डको बानी खाली थर्काउने र धम्क्याउने छ। अब डर धाक, करकापाबाट समाधान हुदैन उनले यो बानी छोड्नु पर्छ।' 
कांग्रेस, एमाले लगायतले पेश गरेको साझा अवधारणाको विरोध गर्दै सदन र सडकमा आन्दोलन गर्ने एमाओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति लक्षित गर्दै कोइरालाले भने, 'विगतमा शान्ति प्रक्रिया, सेना समायोजन र संविधानसभाको निर्वाचन समेत सहमति, सहकार्य र एकताका लागि वार्ताको टेबलबाटै सम्भव भएको थियो भने जनताको इच्छा अनुसार निर्धारित समयमा संविधान पनि भएसम्म सहमति र नभए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगोमा पुग्नुको विकल्प छैन।'
'डेमोक्रेटिक नर्म्स मानिसकेपछि धम्क्याउने र डराउने काम छाडे हुन्छ। हामीले जनतासामु प्रतिबद्धता गरेका छौ भने अब किन डराउने,' उनले प्रश्न गरे।
कांग्रेस एमालेको प्रस्तावको विरोधमा उत्रेका एमाओवादी लगायतका मधेसवादी दलहरु दुई प्रमुख दलले चाहेजस्तो प्रक्रियामा आउछन भन्ने प्रश्नको जवाफमा कोइरालाले भने, 'एमाओवादी आउछन्। सहमतिमा नआएर कँहा जान्छन?
बन्दुक लिएर शिवीर बाहिर जानु पर्छ भन्ने अवस्थामा त भएन भने अब कहा जाने? उनले प्रश्न गर्दै भने, सबैले डेमोक्रेटिक सिस्टम र प्रणाली मानीसकेपछि यसका नियमलाई त मान्नु पर्‍यो नि।'
उनले कसैले सहमतिको अड्डी लिएर बस्दैमा सहमति हुन नसक्ने बताउदै पत्रकारहरुलाई भने, 'प्रेसले पनि भनोस सहमति भएन भने प्रक्रियामा नगएर के गर्ने? तपाईहलाई पनि प्रेस स्वतन्त्रता चाहिएको छैन? मुलुक फेरी लडाइमा जाने?'
कोइरालाले माघ ८ को सट्टा पटक पटक जनवरी २२ मा मुलुकमा जनताले चाहे जस्तो शान्ति, विकास र स्थायित्वका लागि नयाँ संविधान आउने कुरामा आफू ढुक्क रहेको बताए।
उनले संवाद समितिको बैठकमा केही नयाँ विवादित विषयमा प्रस्ताव आयो भन्दैमा छलफल नै रोक्ने कार्य नगरी नियमवाली अनुसार संविधानसभा मार्फत जनताको राय संकलन गरी पुन संवाद समितिमा पुन छलफल गरेर मात्रै संविधान बनाउने बताए। उनले अब धेरै दिन गतिरोध जारी राख्न नहुने बताए।
नयाँ संविधानमा धर्म निरपेक्षताको विषयमा के गर्नु हुन्छ भन्ने प्रश्नको जवाफमा अलि झर्कदै कोइरालाले यी सबै विषयमा पार्टीको सिद्धान्त र नीति अनुसार हुन्छ।
पत्रकारहरुको प्रश्नको जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै राजनीतिक दलले माघ ८ गतेभित्र संविधान जारी गरीसक्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउदै कस्तो संविधान भन्ने कुरा पनि जनताको विचमा निर्वाचनपूर्व नै स्पष्ट पारिसेको बताए।
आन्दोलनका सहयात्रीहरु कसैलाई पनि आफूहरुले नछाडेको बताउँदै ओलीले उनीहरु नै कहिले पाँचथर त कहिले बाह्रविसे पुगेर अनेक थरी कुरा गरी स-साना कुरामा आवेश र उत्तेजना फैलाउने कार्य गरिरहेको आरोप लागए।
'नेपालको संविधान जारी गर्नु पर्छ भनि हस्ताक्षर गर्ने सबैलाई साथ लिएर जान चाहन्छौ,' उनले भने।
संवाद समितिमा आफूहरुले पेश गरेको प्रस्ताव छलफल र निर्णयका लागि सभामा पठाउनु पर्ने बताउदै ओलीले भने,'हामीले हाम्रो प्रस्ताव संवाद समितिमा पेश गरेका छौ। अहिले सभापतिलाई कुनै दिर्घ रोग लागेको होइन। उहाँको शारीरिक विमारी मात्रै हो जस्तो ठान्छु त्यसैले त्यो प्रस्तावमा समितिमार्फत सभामा छलफल हुन्छ।'
सभापति भट्टराईले उनीहरुको प्रस्ताव प्रक्रियामा आगडि बढाउलान भन्ने प्रश्नकेा जवाफमा ओलीले भने, 'कुनै पनि चिजको नियम, तौर तरिक हुन्छ। मलाई कुनै अमूक व्यक्ति भन्दा पनि अमूक पदले त्यो जिम्मेवारी पूरा गर्नु हुन्छ भन्ने विश्वस्त छु।'
एमाओवादी लगायतका दलहरुको अडानप्रति लक्षित गर्दै ओलीले सहमतिमा पनि कुनै हालतमा नआउने र प्रक्रियामा पनि अगाडि बढ्न सकिदैन भन्ने अडान तर्क हिन भएको दाबी गरे।
राज्य पुर्नसंरचनामा प्रदेशको संख्या र सिमांकनको विषयमा उठेको विवादबारे ओलीले प्रतिबाद गर्दै भने अहिले तर्कहिन ढंगले कसैले भन्यो भन्दैमा केही व्यक्तिको चित्त बुझाउन अहिलेका लागि गरेको निर्णयले देशलाई दूरगामी असर पार्ने काम गर्न नसकिने बताए।
'धेरै प्रदेश प्रादेशिक सरकार भन्ने नबुझेर नै उठेको विषय हो। सात प्रदेशभन्दा माथि जान कुनै हालतमा जान मिल्दैन,' उनले भने।
संविधान निर्माणको विषय वा संसदको बैठक सञ्चालनको विषय राजनीतिक संयन्त्रको विषय नभएको भन्दै यस्ता असान्दर्भिक विषयमा छलफल गर्ने भनि बैठक डाकेर गोलमाल गर्न नमिल्ने भएकोले आफूहरु संयन्त्रको बैठकमा आफूहरु शुक्रबार नगएको बताए।
साढे दुईबजेका लागि तय गरिएको पत्रकार सम्मेलनमा एमालेका अध्यक्ष ओलीसहित नेता माधवकुमार नेपाल, विद्या भण्डारी, राप्रपा संसदीय दलका नेता दिपक बोहोरा समयमै पुगे पनि प्रधानमन्त्री कोइराला लगायत कांग्रेसका नेताहरु आधाघण्टा ढिलोगरी पुगेका थिए।
दलहरुबीच गृहकार्य नहुँदा कार्यक्रमको सञ्चालक एमाले उपाध्यक्ष भीम रावलले संयुक्त प्रेस विज्ञप्ति कस्ले पढ्ने भन्ने अलमल भएको थियो। पछि प्रधानमन्त्री कोइरालाले सञ्चारमन्त्रीको नाम लिएपछि नेता रावलले संचारमन्त्री मिनेन्द्र रिजाललाई विज्ञप्ति पाठ गर्न समय दिएका थिए।
कार्यक्रममा अबधारणा पत्रमा हस्ताक्षर गर्ने दुई दलका अतिरिक्त राप्रपा नेपाल, दलित जनताति पार्टीका बहुजन शक्ति पार्टी विश्वेन्द्र पासवान, स्वतन्त्र सभासदद्धय अतरहर कमाल मुसलमान र चन्द्रश्वर झाको पनि उपस्थिती रहेको थियो। 

 - source Setopati



_________________________________

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक