20141208

हाम्रो देश नेपाल जहाँ प्रधानमन्त्रीका मान्छे, सत्तारुढ दलका सभासद समयमै उपचार नपाएर मर्नुपर्छ, त्यहाँ जनताको हालत के होला ??

‘न्याय दिनुहोस्, नत्र म संसदमै आएर आत्महत्या गर्नेछु’
जब प्रधानमन्त्री सुशील कोइरालाले सभासद हरि खड्काको पार्थिव शरीरमा नेपाली कांग्रेसको चार तारे झण्डा ओढाउँदै थिए, श्रीमती चम्पा खड्काले शवलाई गम्ल्याङ्ग अंगालो हालिन्। अनि प्रधानमन्त्रीलाई छेक्दै शवमाथि घोप्टो परेर भक्कानिइरहेकी चम्पा बर्रबराउँदै थिइन् ‘यिनीहरू हत्यारा हुन्, यिनीहरूको कारण मेरो राजाको प्राण गयो। यो दुर्घटना हैन यो
हत्या हो, यसको छानविन गरी न्याय नदिए कसैको भलो हुनेछैन।’ 
पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवा अनि महामन्त्री कृष्ण सिटौलाको बीचमा प्रहरी घेरमभित्र थिए सुशील कोइराला। सोमवार दिउँसो कांग्रेसको केन्द्रीय कार्यालयमा निकै भीडभाड थियो, सभासद खड्कालाई श्रद्धाञ्जली दिनेको।
गत बुधबार जीप दुर्घटनामा परी घाइते भएका बाग्लुग क्षेत्र नं. १बाट निर्वाचित नेपाली कांग्रेसका सभासद खड्काको आइतवार राती न्यूरो अस्पताल बाँसवारीमा निधन भएको हो। 
सभासद खड्काको पार्थिव शरीरमा अन्तिम श्रृद्धाञ्जली अर्पण गर्न सोमबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म पार्टी मुख्यालय सानेपामा राख्ने कार्यक्रम रहेको थियो।
तर, न्यूरो अस्पतालमा निधन भएका खड्काको पोष्टमार्टम गर्न र आँखा दान गर्न अस्पतालमा समय लागेपछि झण्डै डेढ घण्टा ढिलो उनकोे शब सानेपा कार्यलयमा ल्याइएको थियो। 
पूर्वनिर्धारित कार्यक्रमअनुसार, प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवालगायतका नेताहरूदेखि सरकारका मन्त्रीहरू, एमाले अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल पनि १२ बज्नु पहिले नै त्यहाँ पुगेका थिए।
खड्काको शव अपरान्ह साढे १२ बजे पार्टी कार्यालयमा पु¥याई श्रृद्धाञ्जलीका लागि बनाइएको पालभित्र राखियो। त्यसपछि कार्यालयमा आफ्नो कार्यकक्षमा रहेका प्रधानमन्त्री कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवालगायत केन्द्रीय नेता, कार्यकर्ता र सभासदहरू खड्काको पार्थिव शरीरनजिक पुगेका थिए। 
शवमाथि घोप्टो परेर बिलौना गरिरहेकी श्रीमती चम्पालाई कुनै सान्त्वना दिन सकेनन्, प्रधानमन्त्री कोइरालाले। उनी मलिन थिए, अरु नेताहरू पनि उस्तै थिए। प्रधानमन्त्री केही बोलेनन्, मौन भएर अरु नेताहरूसँगै फूल अवीर चढाएर श्रद्धाञ्जली दिए अनि कार्यालय भित्र छिरे। 
चम्पा र उनकी बृद्ध आमालाई चम्पाकी बुहारी सोफियासहित केही सहयोगीले अलि पर लगेर कुसीमा राखे। रुँदारुँदा सुकेको चम्पाको घाँटी बुहारी सोफियाले थोरै पानीले भिजाईदिइन्। 
शवसँगै उभिएका दुई छोरा सुदीप र सुनेशमध्ये कान्छो छोरा सुनेश आमालाई सम्झाउन पुगे। तर, पतिकोे निधनमा विक्षिप्त भइसके पनि  चम्पाले छोरालाई उल्टै सम्झाउन थालिन् ‘बाबु तिमी कायरको सन्तान हैनौ, म पनि कायरकी श्रीमती हैन। हामी मर्दका सन्तान हौँ। तिम्रो बुबा सहिद भएका छन्। हामी सहिदका परिवार हाँै। तिमीले अब रुन हुँदैन।’ त्यतिञ्जेल सम्हालिएर बसेका सुनेश त्यतिबेला झन् भक्कानिए।  
भाई सुनेश पनि आमा र हजुरआमासँगै रोइरहेको थाहा पाएपछि आमा र भाई भएको ठाउँमा गएर सुदीपले सबैलाई सम्झाउँदै भाईलाई बाबुको शव भएको ठाउँमा लगे। 
कांग्रेस कार्यालयमा चम्पाले विलौना गरिरँहदा पार्टीका नेताहरू सुजाता कोइराला, प्रकाशशरण महतबाहेक अरु कोही नजिक जाने हिम्मत गरेनन्। 
महतलाई आफ्नो श्रीमानको साथी भन्ने थाहा पाएकी चम्पाले भनिन्, ‘मेरो श्रीमानको षडयन्त्र गरी हत्या भयो। दुर्घटनामा परी मेरो श्रीमान् घाइते हुँदा पनि मलाई पार्टीका नेताहरूले समयमा खबर गरेनन्। म विजुलीको बिल बुझाउन जाँदा बाटोमा छिमेकीले भनेपछि मात्र थाहा पाएर घटनास्थल पुगेँ।’ 
त्यो बेलाको घटना उनले रुँदै सुनाउँदै थिइन् ‘पछि हेलिकप्टरमा ल्याउने बेलामा पनि मलाई हेलिकप्टरमा सँगै ल्याउन खोजिएन। जर्बजस्ती हेलिकोप्टरमा चढेर आएँ। हेलिकप्टरले हामीलाई पोखरा विमानस्थलमा झा¥यो अनि अर्को हेलिकप्टर आउँछ भनियोे। तर, तीन घण्टासम्म चिसो भँुइमा मेरो श्रीमान अचेत अवस्थामा लडिरहे। मैले सबैलाई गुहारे। तर, कसैले मेरो पुकार सुनेनन्। मैले पाइलटलाई खुट्टा समातेर विन्ती गरे। तर, उनले माथिको आदेश नभइ काठमाडौं लान सक्दिन भने। त्यो माथिको आदेश भनेको कस्को हो? बाग्लुगबाट सिधै काठमाडौ ल्याउन मौसमको खराबी पनि थिएन। हेलिकप्टर बस्न नसक्ने अवस्था पनि थिएन। तर, मेरो श्रीमान तीन घण्टासम्म पोखरामा बेवारिसे राखिदिँदा आज यस्तो अवस्था आयो। मेरो भाई (डा. यमबहादुर रोक्का) न्यूरोको डाक्टरले सयौं सर्वसाधारणको ज्यान बचाएर भगवान जस्तै मानिएको थियो। तर, आज समयमै ल्याउन नसक्दा आफ्नै भिनाजुलाई बचाउन सकेन। 
सक्दिनँ भनेको भए मेरो आफ्नै सम्पत्ति खर्च गरेर भएपनि काठमाडौं ल्याउन सक्थँे। तर, प्रधानमन्त्रीकै कार्यक्रममा जाँदा भएको दुर्घटनामा उनकै कार्यकर्तालाई समयमा उपचारका लागि हेलिकप्टर उपलब्ध गराइएन। मेरो श्रीमान पोखरा विमानस्थलको चिसोभूइमा लडिरहँदा मिडियामा समाचार आउँछ सामान्य घाइते भएका सभासद् खड्काकोे पोखरामा उपचार भइरहेको छ। यो सबै षडयन्त्र नभए के हो? यस्को विषयमा छानविन गरिनुपर्छ।
त्यसैगरी सभासद खड्काको पार्थिव शरीरमा श्रृद्धाञ्जली दिन गर्न पुगेका सभामुख सुवासचन्द्र नेम्वाङ र एमाले उपाध्यक्ष विद्या भण्डारी पनि चम्पालाई हेर्न पुगेपछि यस्तै विलौना गरिन्। 
उनले सभामुख नेम्वाङलाई आग्रह गर्दै भनिन् ‘यो हत्याको निश्पक्ष छानविन हुनुपर्छ। तपाइँ सभामुख हो। तपाईकै सभासदको यस्तो अवस्था भयो। अब तपाईले पार्टीगत भावना नराखी निश्पक्ष न्याय दिनु भएन भने म संसदमै आएर आत्मदाह गरिदिन्छु।’ चम्पालाई सान्त्वना दिँदै सभामुख नेम्वाङले भने, ‘उहाँ मेरो सदस्य हो। मैले गर्न सक्नेजति गर्नेछु।’
त्यसैगरी एमाले नेतृ विद्या भण्डारीले खड्काको विषयमा आफूहरूले सदनमा कुरा उठाउने बताइन्।
पार्टीको निर्णयअनुसार खडकाको शब अपरान्ह २ बजेसम्म राख्ने भन्दै सबै दलका सभासदहरूलाई एसएमएस पठाएको भएपनि उनको पार्थिव शरिर गृहजिल्ला बाग्लुग लैजानुपर्ने भन्दै आधा घण्टा अगावै कार्यालयबाट निकाली हेलिकोप्टरमा लैजान त्रिभुवन विमानस्थलतर्फ लगिएको थियो।
त्यसको पाँच मिनेटमा प्रधानमन्त्री कोइराला कार्यालयबाट आफ्नो गाडीमा बसी कार्यालय परिसरमा रहेका कार्यकर्तालाई नमस्कार गर्दै बाहिरिए। 
उनी बाहिरिँदै गर्दा कतिपय नेता तथा कार्यकर्ताले कोइरालाको कार्यशैलीप्रति तितो पोख्दै आलोचना गर्दै थिए, ‘यस्तो पनि सरकार हुन्छ?’ - source : setopati

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक