20150120

दिनमा एउटा कुरा अनि रात बितेपछि अर्को कुरा गर्न खप्पीस प्रचण्डसँग जनता आजित, नेपालको इतिहासमा सोमबारको मध्यरात प्रचण्डलाई धिक्कारिरहनेछ !

- गणेश पाण्डे, सम्पादक - दैनिक नेपाल
  एकीकृत नेकपा माओवादीले इतिहासमै एउटा महाभूल गरेको छ । नेपाली जनताको आशाको केन्द्र संविधानसभामा सोमबार मध्यरातमा एमाओवादीका सभासद्ले गरेका वितण्डाले आज हामी सम्पूर्ण नेपालीको शिर निहुरिएको छ । देश विदेशका संचारमाध्यम र सामाजिक सञ्जालका लागि नेपालको संविधानसभा सनसनीपूर्ण खबर बनेर छाइरहेको छ । जनताको अभिमत कुल्चने र संविधानसभा भवनमा लज्जास्पद कार्य गर्ने यस्ता सभासद् र तिनका नेतृत्वलाई कुरीकुरी भन्ने बाहेक अरु अब केही बाँकी रहेन् । अझ नेपाली राजनीतिको मियोका रुपमा देखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी, मोरङ क्षेत्र नम्बर १ का सभासद् ऋषि पोखरेल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र मर्यादापालकहरुमाथि संविधानसभा भवनमै गरिएको आक्रमणको त जति खेद व्यक्त गरे पनि पुग्दैन् ।
पटकपटक छलफलमा जुटेका प्रमुख दल र मधेशी मोर्चाका विषयमा सकारात्मक सन्देश सञ्चार भइरहेको थियो । कमसेकम राजनीतिक दलहरु मिल्छन् र माघ ८ गते नै संविधान नआए पनि केही सातामै संविधान आउँछ भन्ने आशा जनतामा थियो । युद्धबाट विस्तृत शान्ति सम्झौता हुँदै एमाओवादीलाई ठूलो पार्टी बनाउन समेत नेतृत्व लिएका प्रचण्डको पार्टी अहिले जुन हैसियतमा भएपनि उनको हैसियत भने
समकालिन नेताहरुको तुलनामा उच्च नै थियो । किनकी प्रचण्डसँग जनताका केही विश्वास कायमै थियो । तर, दिनहरु बित्दै जाँदा प्रचण्ड यतिसम्म गिर्दै गए कि, हुँदाहुँदै प्रतिकारका नाममा संसदमै तोडफोड र कुटपिटको वातावरण सिर्जना गर्न उक्साए ।
केपी ओली भन्दा प्रचण्ड नै बलिया होलान् । प्रतिद्वन्द्वीसँग लड्ने कला पनि प्रचण्डले युद्धका क्रममा सिकेर आएकै होलान् । तर, कपालमा टल्किने ‘जेल’ हाल्दै कोट पाइन्टमा ठाँटिए पनि प्रचण्ड भन्दा पछिल्ला दिनमा त्यही ‘रोगी’ केपी ओलीकै वरिपरि नेपालको राजनीति घुमेको थियो । अर्थात केपी ओली नेपाली राजनीतिको मियो बनेर उभिएका थिए । मानिसले तर्कले नजितेपछि गर्ने त्यही हो, जुन प्रचण्डले गरे । ओलीको तर्क र अडानसँग डराएका प्रचण्डले प्रतिकारका नाममा ओलीमाथि नै आक्रमण गर्दा उनको असली रुप जनताले फेरि एकपटक हेर्ने मौका पाएका छन् । ओलीको राजनीतिक उचाइ, तर्क र अडानका सामु जित्न नसकेपछि प्रचण्डले भौतिक आक्रमण रच्नुले उनको हैसियत प्रष्टै देखिएको छ । किनकी ओलीमाथिको आक्रमण नियोजित थियो भन्ने पुष्टि एमाओवादीको प्रचण्ड गुटकै नेता गोपाल किराँतीले संचारमाध्यममार्फत अभिव्यक्त गरिसकेका छन् ।
हुन त पुष्पकमल दाहालसँगको जनताको विश्वास यसअघि नै स्खलित भएको हो । तर, पछिल्लो समयमा वार्ताका नाममा आएका सकारात्मक सन्देशले जनतामा केही आशा भने पलाएको थियो । त्यो आशा पनि अब मरेको छ । एमाओवादीलाई थाहा थियो, संविधान बन्यो भने उसको समाप्ती नजिकिँदै थियो । किनकी एमाओवादी झन् पछि झन् जनतामा गिरेको थियो, त्यसको प्रमुख कारण एमाओवादीका अध्यक्ष प्रचण्ड नै थिए । दिनमा एउटा कुरा अनि रात बितेपछि अर्को कुरा गर्न खप्पीस प्रचण्डसँग जनता आजित छन् । जात–जातमा विभाजन ल्याउने, ‘एक मधेश प्रदेश’ को नाममा षडयन्त्रको भासमा प्रचण्ड यसरी भासिए कि अब कहिल्यै त्यो खाडलबाट माथि उठ्न नसक्ने गरी दबिए ।
सबैभन्दा ठूलो पार्टी र सरकारमा पनि आफ्नो नेतृत्व हुँदाहुँदै पहिलो संविधानसभाको विघटन एमाओवादीले नै गरेको थियो । संविधानसभाको दोस्रो निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने हुँकार पनि उसैले गरेको हो । तर, त्यो हुँकारलाई जनताले कुल्चिदिए । अर्थात एमाओवादीको एजेण्डालाई संविधानको दोस्रो चुनावबाट जनताले अस्वीकार गरिदिए । कहिले चुनावमा धाँधलीको नाटक रच्ने त कहिले जनताबाट अस्वीकृत दलहरुसँग घाँटी जोड्ने प्रचण्ड कुनै पनि हालतमा काँग्रेस र एमालेको हालीमुहाली हुँदा संविधान आएको देख्न चाहँदैनथे । दोस्रो संविधानसभामार्फत जनताले एमाओवादीलाई होइन्, काँग्रेस र एमालेलाई संविधान बनाउनका लागि अभिमत दिएका हुन् । अर्थात काँग्रेस र एमालेको एजेण्डालाई जनताले सदर गरिदिएका हुन् । तर, चुनावमा जाँदा दुई तिहाईको नारा लगाउने, चुनावी घोषणापत्रमा त्यही लेख्ने एमाओवादीले संविधानसभाको मतपरिणामपछि धाँधली भयो भन्दै गरेको रुबावासी पनि धेरै दिन टिकेन । केही मधेशी र जनताले नामै नसुनेका दलहरुको मोर्चा बनाएर एमाओवादीले गरेको ‘बाग्रेनिङ’ पनि कसैले सुनिदिनेवाला थिएन । चुनावमा जाने, तर हार नस्वीकार्ने, आफ्नो ‘साइज’ पनि थाहा नपाउने एमाओवादीले सहजै संविधान बन्न नदिने त यसअघिका उसका गतिविधिले नै छर्लङ पारिसकेको थियो ।
हुन त एमाओवादीले यसअघि पनि संसदमै बिफ्रकेस नखोसेको होइन् । युद्धकालमा जनतालाई प्रहरीका बन्दुक खोस्न सिकाउने माओवादीले एमालेका तत्कालिन वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री भएका बेला तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेको ब्रिफकेस खोस्दै संसदमै आक्रमण गरेको थियो । त्यतिबेला मन्त्री पाण्डेलाई जोगाउन खोज्दा तत्कालिन मन्त्री प्रकाशशरण महतमाथि समेत आक्रमण भएको थियो । आखिर एमाओवादी यो देशका जनतालाई कस्तो संस्कार सिकाउन चाहन्छ ? यही हो, नेपालबाट अन्य राष्ट्रले सिक्ने ? यही ताण्डवका लागि बलिदानी दिएका थिए ती हजारौं हजारौँ नागरिकले ?
अर्कोतर्फ, जनतालाई अहिले चाहिएको संविधान हो । बस् दलहरु मिलुन अनि संविधान ल्याइदिऊन, जनतालाई यत्ति भए पुग्छ । कस्तो संविधान आउँछ ? त्यसमा के–के शब्द लेखिएलान भन्नेमा अधिकांश जनताको त्यतिधेरै सरोकार छैन् । किनकी संविधान आएको भोलिपल्टै जनताको जीवनमा कायापलट आउने पनि होइन् । संविधान बनोस्, अनि देश एउटा गतिमा अघि बढोस्, अस्थिरता अन्त्य होस् भन्ने मात्र जनचाहना हो । यदि संविधानका विषयवस्तुमा चित्त नबुझे प्रचण्डले नयाँ जनमत लिएर संशोधन पनि गर्न सक्थे । चुनाव एकपटकका लागि मात्रै होइन् । ताजा जनमत लिने छुट त उनलाई जहिल्यै पनि छ । तर, जनचाहनालाई बुझ्ने चेष्टा प्रचण्डले कहिल्यै गरेनन् । परिणामतः नेपालको इतिहासमै एउटा कालरात्री मच्चाए । नेपालको इतिहासमा सोमबारको मध्यरात सँधै कलंक बनेर रहिरनेछ । जसले प्रचण्डलाई सँधै धिक्कारिरहनेछ । - दैनिक नेपाल


केपी ओलीमाथि फेरि आक्रमण हुन्छ: एमाओवादी नेता किराँती

काठमाडौँ, ६ माघ । एकीकृत नेकपा माओवादीका नेता गोपाल किराँतीले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि योजनाबद्ध रुपमै आक्रमण गरेको खुलासा गरेका छन् ।
केपी ओलीमाथि गरिएको आक्रमणका बारे प्रतिक्रिया दिँदै किराँतीले ओलीमाथि फेरि आक्रमण हुन सक्ने चेतावनी दिए ।
आफूले यसअघि नै जनजाति सभासदहरुलाई कुटनका लागि आग्रह गरेको दाबी गर्दै किराँतीले कुटपिट गर्ने योजना पहिल्यै बनेपनि अनुकुल परिस्थिति नआएका कारण कुट्न ढिलाइ बताए । ओलीमाथि भएको आक्रमणले आफूसहित पहिचान पक्षधर जनता खुसी भएको किराँतीको भनाइ छ ।
किराँतीले ओलीलाई पहिचान विरोधीको संज्ञा समेत दिए । ‘पहिचानविरोधी हर्कत’ कायमै राखे ओलीलाई फेरि आक्रमण गर्ने किराँतीले चेतावनी दिए ।
किराँती संविधानसभाको दोस्रो निर्वाचनमा झापा–७ बाट ओलीसँग पराजित भएका थिए । एमाओवादीका नेता किराँतीको नेतृत्वमा नेपालका लागि भारतका तत्कालिन राजदूत राकेश सुदमाथि सोलुखुम्बुमा जुत्ता प्रहार भएको थियो ।

प्रचण्ड पुत्र प्रकाश कुटिए

PRAKASH-DAHAL



काठमाडौँ, ६ माघ । नेपाल बन्दको प्रतिकारमा उत्रिएका युवाहरुलाई लेखेट्ने क्रममा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का छोरा प्रकाश दाहाल आफै कुटिएका छन् ।
काठमाडौंको माइतीघरमा बन्दकर्ता र बन्द विरोधीबीच भएको झडपमा प्रकाशले प्रहरीको लाठी खाएका हुन् ।
प्रकाशको नेतृत्वमा बन्दकर्ताहरु बन्द विरोधीलाई लखेट्न गएपछि झडपको अवस्था सिर्जना भएको थियो । प्रहरीको लाठीबाट प्रकाशको ढाडमा निलडाम छ । प्रहरीले प्रकाशमाथि दुई पटकसम्म लाठी बर्षाएको थियो ।

कार्यकर्ताबाटै प्रचण्ड असुरक्षित, प्रचण्डमाथि ढुंगा प्रहार, माओवादी नेता शर्मा घाइते

Prachanda-kutpit
काठमाडौँ, ६ माघ । सडक र सदन आन्दोलन एकसाथ चलाइरहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आक्रमणको प्रयास भएको छ ।
Prachanda-kutpit1
काठमाडौंको बिजुलीबजारमा प्रचण्डलाई लक्षित गरी ढुंगा प्रहार भएको हो । बानेश्वरबाट बबरमहल जाँदै गर्दा मंगलबार सवा ४ बजे बिजुली बजार पुल नजिकै प्रचण्डमाथि भीडबाट ढुंगा प्रहार भएको हो । संविधानसभा बैठक अवरुद्ध भएपछि प्रचण्ड जुलुसहित कोणसभामा सहभागी हुन जाँदै थिए । करिब १५ मिनेटसम्म ढुंगामुढाको शिकार बनेपनि प्रचण्ड भने जोगिएका छन् ।
janardan-Sharma1
सुरक्षा गार्ड प्रहरीका मनोज थापाले प्रचण्डलाई हानिएको ढुंगा आफै थापेका थिए । ढुंगा प्रहारबाट सुरक्षा गार्ड थापा घाइते भएका छन् । ढुंगा हान्नेको पहिचान भएको छैन । आक्रमण हुन सक्ने खतरा बढेपछि कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम स्थगित गरी प्रहरीको गाडी चढेर प्रचण्ड सिँधै निजी निवास लाजिम्पाट गएका थिए ।
सोहीक्रममा बन्दकर्ताले हानेको ढुंगा लागेर प्रचण्डसँगै आएका एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ र सभासद् अनिता परियार लगायत केही घाइते भएका छन् । शर्माको टाउको फुटेको छ । शर्माको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रचण्ड फर्किएपछि कोणसभालाई नेता बाबुराम भट्टराई, कृष्णबहादुर महरा, देव गुरुङ, जितेन्द्र देव लगायतले सम्बोधन गरेका थिए ।

संविधासभामा भएको घटना षड्यन्त्रपूर्वक: प्रधानमन्त्री


Sushil-Koirala-Samsad
काठमाडौँ, ६ माघ । प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा माओवादीसहितको मोर्चाले संविधानसभाको बैठकमा गरेको आक्रमण षड्यन्त्रपूर्वक भएको बताउनुभएको छ ।
संविधानसभाको बैठकपछि नयाँबानेश्वरस्थित संविधानसभा भवनमा सत्तापक्ष सभासद्लाई सम्बोधन गर्दै उहाँले सत्ता पक्षले संयमता अपनाएका कारण ठूलो क्षति नभएको बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “हिजोको घटना षड्यन्त्रपूर्वक भएको हो, हाम्रो संयमताका कारण थप क्षति हुन पाएन ।” उहाँले मुलुक प्रगतितर्फ उन्मुख भएकाले संविधान दिनुपर्नेमा जोड दिनुभयो ।
एनेकपा माओवादीले पटक–पटक कुरा फेरेका कारण सहमति गर्न अप्ठ्यारो परेको स्पष्ट पार्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “एमाओवादी कुरा फेर्न माहिर छन्, रातारात कुरा बदल्दा सहमति गर्न समस्या भयो ।”
संविधान जारी गरेर शान्ति र समृद्धिको बाटोमा नेपाल अगाडि बढोस् भन्ने अन्तर्राष्ट्रिय समुदायको सद्भाव र सदीक्षा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “हामी शान्ति, समृद्धि र विकासका लागि अघि बढ्नुपर्छ, यही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चाहना हो ।”
देशको साधन स्रोतको सदुपयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले राजनीतिक स्थायित्व कायम गरेर विद्यमान बेरोजगारीको अन्त्य गर्न पनि संविधान आवश्यक भएकाले त्यसतर्फ सबैको ध्यान जानै पर्ने बताउनुभयो ।
सोही अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति संविधानसभामा भएको तोडफोडको भत्र्सना गर्दै संविधान जारी गरेर देशलाई निकास दिनुपर्ने बताउनुभयो ।
उहाँले सत्तारुढ दलसँगको एकतालाई अझ बजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिँदै यस्ता घटनाबाट कोही पनि विचलित हुन नहुनेतर्फ सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष ओलीले संविधान नबन्ने हो कि भन्ने निराशालाई आशामा परिणत गर्नुपर्नेमा जोड दिँदै असहज अवस्थामा सबैलाई देशको पक्षमा एकताबद्ध हुनुपर्ने कुरामा जोड दिनुभयो ।

सिरहामा कान्तिपुरको गाडीमा आगजनी

Exif_JPEG_420
रामभरोसी महतो
सिरहा, ६ माघ । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा र बैद्य नेतृत्वको नेकपा–माओवादीले संयुक्त रुपमा आज गरेको बन्दको क्रममा बन्दकर्ताले सिरहामा कान्तिपुर पत्रिका बोकेको गाडीमा आगजनी गरेका छन् ।
कान्तिपुर पत्रिका लिएर विराटनगरबाट जनकपुरतर्फ जाँदै गरेको बा ९ च ५८५० नम्बरको भ्यान सिरहाको कर्जन्हा गाविस ८ स्थित परियागपुर चौकमा रोकि आगो लगाएका हुन् ।
बन्दकर्ताले गाडीको सिसा फुटाई गाडीमा आगो लगाएको गाडी चालक अमरबहादुर मगरले बताए । उनका अनुसार बन्दकर्ताले कान्तिपुर पत्रिकाले सामाचार छाप्नमा विभेद गरेको भन्दै संगै रहेको अन्नपूर्ण र नागरिक पत्रिका बोकेको गाडीलाई केही नगरी कान्तिपुरको गाडीलाई आगो लगाएका थिए । बन्दकर्ताले गाडीमा आगो लगाएपछि गाडीको भित्री भाग र गाडीमा रहेको ७ हजार थान पत्रिका मध्ये करिब १६ सय पत्रिका जलेको गाडी चालक मगरले बताए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले बन्दकर्ताले गाडी जलाएको पुष्टि गर्दै आगो लगाउनेको खोजी कार्य भइरहेको बताए । मोर्चाले गरेको बन्दका कारण सिरहामा कुनै पनि सवारी साधन चलेका छैनन् भने बजारका पसलहरु बन्द छन् । बन्दकर्ताहरु सडकमा विहानै देखि प्रदर्शन गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक