(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150130

हरेक नेपालीले पढ्न भुल्नै नहुने एउटा बिशेष लेख ! छबिलाल उर्फ प्रचन्डले कमसेकम ३ पटक पढ्न र मनन गर्नु पर्ने यो लेखका लेखक श्रीकृष्ण अनिरुद्ध गौतमलाई नेपाल मदर सलाम गर्दछ ! यो उनको लेख होइन वास्तविक यथार्थ हो !

प्रचण्डका दुर्दशाको शृंखला !

    प्रचण्ड समयको सन्देश बुझ्दैनन् भन्ने कुरा धेरैले प्रथम संविधानसभाको निर्वाचनको परिणामबाट उनी हौसेको देखेरै लख काटेका थिए । : 

    श्रीकृष्ण अनिरुद्ध गौतम

    श्रीकृष्ण अनिरुद्ध गौतम
    anirudhaपछिल्लो समयमा सर्वाधिक प्रयोग गरिएको शब्द हो, सहमति । जतिसुकै सुन्दर भए पनि जब कुनै शब्द अत्यधिक प्रयोग गरिन्छ, त्यो वाक्कलाग्दो हुन्छ । सक्खर धेरै खाए तीतो हुन्छ भनेझैं सहमति सुन्दै धेरैलाई वाकवाकी लाग्न थालेको छ । यसै सन्दर्भमा एकजना गनिएका त्यसमाथि एमाओवादीकै नेताले कुरैकुरामा भनेको सम्झन्छु, 'सुन्दै दिक्क लाग्छ, यो शब्द ।' तर विडम्बना, उनकै पार्टी आज कथित सहमतिका लागि दबाब दिन संविधानसभाजस्तो लोभलाग्दो भवन छोडेर सडकको बास रोज्नुपर्ने अवस्थामा पुगेको छ । नेपालकै इतिहासमा सबैभन्दा व्यापक जनविद्रोहका प्रमुख कमाण्डर 'कमरेड' प्रचण्ड आफ्नो रहेसहेको प्रभाव र इज्जत जोगाउन आफ्नै कर्मक्षेत्रमा तिरस्कृत दलहरूका नेताहरूका दौरा र कुर्ताको बाउलो समातेर यताउता दगुरिरहेका देखिन्छन् । यी तिनै प्रचण्ड हुन्, जसलाई हेर्न लाखौंको भीड जम्मा हुन्थ्यो, यिनले के बोल्छन् भनेर सुन्न जगत् उत्सुक हुन्थ्यो । आज उनै प्रचण्ड सडक प्रदर्शनका लागि खेताला भेला गर्न चुनाव र मुद्दा दुबै हारेका नेताहरूको ढोका-ढोका कुर्नुपर्ने अवस्थामा पुगेका छन् । तर यसो भनिरहँदा देशमा मुद्दै छैनन् भनेको किमार्थ होइन । समय साक्षी छ, जनहितका मुद्दा र मागलाई सम्बोधन नगरेर सत्ताकै चक्करमा विगतको संविधानसभाको कार्यकाल बितेको प्रसंग कोट्याउँदा कसैले तीतो मान्नुपर्ने कुनै कारण छैन । किनभने प्रचण्ड आफैं पनि आम कार्यकर्ताबीच
    रमाउन छाडेका छन् । सर्वसामान्य नेपालीको अवस्था देखिने ठाउँबाट उनी धेरै टाढा पुगिसकेका छन् ।
    अहिले नै हेरौं, देशमा खाना पकाउने ग्यासको हाहाकार छ । खुलेआम कालोबजारी चलिरहेको छ । सहरमा धेरैका घरमा चुलो बल्न छाडेको छ । राजधानीमै चिउरा र दालमोठ खाएर छाक टार्न धेरै परिवार बाध्य भएका छन् । अभावका बेला अर्को विकल्प हुनसक्थ्यो, विद्युत । तर विद्युतको दुर्दशा, लोडसेडिङको कथा, प्रतिवर्ष दोहोरिइरहँदा पनि यसको समाधान खोज्ने तत्परता छैन, बरु उल्टै कमिसन र चन्दाका लागि भइरहेको उत्पादनसमेत बन्द गर्न सबैभन्दा अघि सर्ने त एमाओवादीकै कार्यकर्ता छन् । राजधानीले खानेपानीको सहज आपूर्ति कुरेको वर्षौं बितिसक्यो । जमिन मुनिको जलस्तर घटेको घट्यै छ । तीव्र तर अव्यवस्थित सहरीकरणका कारण केही वर्षभित्रै सहरको जीवन अत्यन्त दुष्कर हुनेवाला छ । यी हुन्, समस्या जनजीवनका तथा यी लगायत अन्य पनि धेरै छन् समस्या । के राजनीतिक दल, विशेषगरी विपक्षीको ध्यान यी समस्या समाधान गर्नतर्फ हुनुपर्छ भन्ने ज्ञान एउटै पनि दललाई छैन । खाली मुड्की बटार्दै वर्ग, क्षेत्र, लिंग भनेको छ, दौडेको छ । केको तमाशा हो यो ?
    ग्यासका लागि लाम लागेका, लोडसेडिङको अन्त्यहीन मार खेपिरहेका, खानेपानीको अभावका कारण भौंतारिइरहेका मानिसको चाहिँ के वर्ग, क्षेत्र, लिंग हुँदैन ? मानिसले खोजेको हुन्छ, नियमित आयस्रोतको प्रत्याभूति । जुनसुकै वर्ग, क्षेत्र, लिंगको भए पनि एउटा किसानले आफ्नो खेतबारीमा सिंचाइ चाहन्छ । उसले मलखादको आपूर्ति निर्बाध होस् भन्ने चाहेको हुन्छ । बजारमा आफ्नो उत्पादनको यथोचित मूल्य पाउने अपेक्षा गरेको हुन्छ । खोइ किसानका आवश्यकताको सहजीकरणका लागि राजनीतिक सक्रियतामा आन्दोलन ? त्यस्तै एउटा मजदुर आफ्नो सीपको स्तरीयकरण होस् भन्ने चाहन्छ, आफ्नो ज्याला बढ्दै जाओस् भन्ने कामना गर्छ । यस्तो त त्यतिखेर हुन्छ, जब देशमा उद्योगहरू प्रचुर हुन्छन्, उसलाई उद्योग छानेर काम गर्ने अवसर प्रशस्त हुन्छ । मजदुरका विधाता भनाउँदा कम्युनिस्ट दलहरूको खोइ त्यसतर्फ ध्यान ? उल्टै भएका सीमित उद्योगलाई समेत धम्क्याएर उद्योगै बन्द गराएका उदाहरण छन् । कि वर्ग, क्षेत्र, लिंग भन्दै मुड्की देखाएकै भरमा हुन्छ मजदुरको कल्याण ?
    एकदिन एकाबिहानै एकजना समाजवादी नेताको फोन आयो । उनले चिन्तित हुँदै भने, 'समाजवादको बडो विजोग भयो, यसको उद्धार गर्नुपर्‍यो ।' तर यदि कोही उनको निवासमा पुग्यो भने अचम्भित हुन्छ, उनको फराकिलो बगैंचा छ । थरीथरीका गाडीहरू लहरै उभिएका छन् । प्रत्येक कोठा चिसोतातो ठ्याक्कै मिलेको वातानुकूलित छ । निर्वाध बिजुलीको आपूर्ति छ, प्राधिकरणको बिजुली जानासाथ स्वचालित, त्यो पनि साइलेन्सर भएको जेनेरेटर चलिहाल्छ । उनले लोडसेडिङ भोगेकै छैनन् । जबकि उनको सेरोफेरोमा बसेको बस्तीमा दैनन्दिनीका प्रत्येक आवश्यकताको हाहाकार छ । त्यहाँका वासिन्दाका सामु ती नेतालाई आफू बाबुसाहेब हुँदै ठिक्क छ । तथापि उनी समाजवादको विजोग भएकोमा चिन्तित छन् र उद्धार गर्न गुहार माग्दै हिँडेका छन् ।
    वर्तमान प्रचण्ड र ती नेतामा दलको भिन्नता बाहेक अरुथोक सबै समान छन् । प्रचण्ड पनि सबै सुविधाले सम्पन्न भव्य भवनमा बस्छन्, अत्याधुनिक गाडीमा गुड्छन् र राज्यप्रदत्त सुरक्षा घेरामा घुम्छन् । धन्य हो, यति हुँदाहुँदै पनि उनले मुड्की बटार्दै वर्ग, क्षेत्र, लिंग उच्चारण गर्न बिर्सेका छैनन् ।
    जबकि उनको आफ्नै पार्टी टुक्रा-टुक्रा भएको छ । मित्रहरू टाढिएका र हिजोका उनका विश्वासपात्र नराम्ररी कुँडिएका छन् । यद्यपि सात सालमा गायब भएको संविधानसभालाई उनैले फिर्ता ल्याएका हुन्, उनैले हाँकेको विद्रोहका पृष्ठभूमिमा देश गणतन्त्र भएको हो, तर आज संविधानसभा उनैलाई घाँडो र यस्तो प्रतीत हुन्छ, गणतन्त्र बिरानो भएको छ ।
    निश्चय नै समृद्धि सम्पन्न हुनु अत्यन्त राम्रो हो, भौतिक सुविधाले जीवन सजिलो हुन्छ । धनजन रवाफ, भोगविलास राजसी गुणहरू हुन् । यसमा कुनै विवाद छैन । तर प्रश्न के भने आफ्नो व्यक्तिगत जीवनदर्शन सामन्ती र पुँजीवादी भइसकेपछि उनले सर्वहाराको नेता भइरहने लोभ किन गर्नु ? साँच्चै भन्ने हो भने यो उनको मात्रै चालचलनमा आएको बदलाव होइन, प्रायः सबै आफ्नो महान इतिहासको वाचन गरेर नथाक्ने नेताहरूको यही दशा छ । तर यस आलेखलाई उनैमा केन्दि्रत किन गरिएको हो भने उनको पतन नेपालले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि अर्थात् गणतन्त्रका लागि स्वस्थकर छैन । फेरि आफ्नै प्रखर सक्रियतामा गराएको निर्वाचनबाट बनेको संविधानसभामार्फत गणतन्त्र संस्थागत गर्नु उनको प्रमुख जिम्मेवारी हो । अचम्म छ, यति पनि उनले किन नबुझेका वर्गीय विभेद, क्षेत्रका असमानता र लिंगका समस्या एकैचोटी होइन, क्रमशः व्यवस्थित र समाधान हुँदै जाने हुन् ।
    प्रचण्डले आफैंतर्फ फर्केर हेर्नुपर्छ । उनी एकपछि अर्को मोर्चामा पराजित भइरहेका छन् । उनका प्रत्येक योजना विफल भइरहेका छन् र अन्ततः उनी आफैं टुक्रा-टुक्रामा विभाजित मधेस केन्दि्रत दलहरूका शरणागत हुनपुगेका छन् । मधेसका मतदाताबाट तिरस्कृत नेताहरू र जातीयताको नाममा राजनीतिको मेसो समाउन खोज्ने पात्रहरूको भरोसामा उनी आज आफ्ना पुराना दिन फर्काउने उद्यम गर्दैछन् । तर यता आफ्नै पार्टीमा नराम्ररी एक्लिँदै गएका छन् । एमाओवादी नै हिजो जे थियो, आज त्यो छैन । जति बाँकी छ, त्यो पनि चिरा परेको छ । त्यो चिरा टाल्न उनले बाबुराम भट्टराईलाई थुमथुम्याएर राखेका छन्, किनभने अलिकति यताउता पर्नासाथ भट्टराई नयाँ शक्तिको खोजी गर्न दौडिहाल्छन् ।
    किन भयो यस्तो दशा, यसको उत्तर उनीसँग नभए पनि उनका शुभचिन्तकहरूसँग छ । उत्तर त सधैं शुभचिन्तकहरूसँगै हुने गर्छ । भनिएकै छ, जसले शुभचिन्तकहरूको सल्लाह सुन्छ र सुझाव लिन्छ, ऊ हमेसा मार्गभ्रष्ट हुनबाट जोगिन्छ । तर प्रचण्ड जनविद्रोहका जति चतुर कमाण्डर थिए, त्यति नै लाटा राजनीतिज्ञ बन्न पुगेका छन् । लाटा किनभने अलिकति माथि उठेको नेताले समयका पाइलाको चाप सुन्न सक्छ, समय के सन्देश दिन खोज्दैछ, त्यो बुझ्न सक्छ । उनी समयको सन्देश बुझ्दैनन् भन्ने कुरा धेरैले प्रथम संविधानसभाको निर्वाचनको परिणामबाट उनी हौसेको देखेरै लख काटेका थिए । त्यही हौस्याइँमा उनले आफूलाई शान्तिपूर्ण राजनीतिमा सुरक्षित अवतरण गराउने नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको प्रथम
    राष्ट्रपति बन्नबाट बञ्चित गर्न रामराजाप्रसाद सिंहलाई अगाडि सारेका थिए । प्रकारान्तरमा त्यसै परिबन्दमा रामवरण यादव राष्ट्रपति बन्न पुगे ।
    त्यतिखेर प्रचण्डले कोइरालालाई राष्ट्रपति बन्ने मार्गप्रशस्त गरिदिएका भए सम्भवतः उनकै प्रधानमन्त्रीत्वकालमा संविधान बन्ने थियो । उनी आज सडकमा आन्दोलन गुहारिरहेका हुने थिएनन्, नेपाली जनजनका सबैभन्दा पि्रय नेता हुने थिए । तर अवसर त्यहीं सिद्धिएको भने थिएन । कोइरालाको देहावसानपछि यदि कोही उनका उचाइको हाराहारीमा थियो भने ती प्रचण्ड नै थिए । तर देशको सर्वमान्य हुँदाहुँदै उनी आफू भने एकल जातीय पहिचानका प्रवक्ता भएर निस्के । यसैका कारण देशको जनमत उनका विपरीत गयो । परिणाम सामुन्ने छ, आफ्नै अग्रसरतामा गरिएको दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं १० मा उनी तेस्रो स्थानमा झरेर पछारिए । पार्टी कतै जोडा पनि नमिल्ने, अपहेलित र निमुखो हुन पुग्यो ।
    कुनै पनि नेता त्यति उँचो स्थानबाट यति तल झरेको एक दशकभित्रै देख्न पाउनु लरतरो अनुभव होइन, यस पुस्ताको । आउँदा दिनमा अझै वर्ग, क्षेत्र, लिंगको थेगोले उनलाई कहाँ पुर्‍याउने हो, त्यो हेर्न त बाँकी नै छ । - Source : ekantipur
    *******************************************

    कठै म ! 

    - रामप्रसाद खनाल 


    उता पनि हुन्छ भन्छु, यता पनि हुन्छ भन्छु !
    बिहान मन रुन्छ भन्छु, बेलुकी के हुन्छ भन्छु ?!
    २४ घण्टा चौबिस थरी बोल्न मलाई मन लाग्छ
    एकातिर टाल्छु भन्छु, अर्को खोल्न मन लाग्छ !
    अाजकल सबै गुम्दा आकाश टोल्न मन लाग्छ
    कुन्नी किन मलाई देशमा बिस घोल्न मन लाग्छ !
    बाठाहरु छोरी दिल्ली लगिकन पढाईराछन
    मेरो धुर्मुसेलाई यिनले चढाइ चढाइ सडाइराछन !
    ढिलो चाँडो तान्ने हुनकी ! डर लाग्न थालेको छ
    मेरो पुस्तै नाश हुन्छ कि डरले मन गालेको छ
    हात हेर्ने ज्योतिसीको पनि भर परेकै हुँं
    ग्रह दशा सोझ्याउन भैंसी पूजा गरेकै हुँं !
    सपनीमा सद्दाम र गद्दाफी नि आइरहन्छन
    श्रीलँकन प्रभाकरण मध्य रातमा बोलाइरहन्छन !



    "कुख्यात ढाडे र केही चोर बिरालाहरु !"
    - रामप्रसाद खनाल 
    मानब बस्तीमा नरूचाइए पछी
    केही चोर बिरालाहरु जम्मा गरेर
    जँगल पस्यो !
    दिनभर जँगलका झाडीहरुमा लुक्ने
    साँझ कती खेर पर्ला भनी ढुक्ने
    अनी सम्साँझै चोर बिरालाको जथ्था बनाएर
    मानब बस्तीमा छिर्ने
    मान्छेहरु लाई चिथोर्ने, कोपर्ने गर्दा गर्दै
    ज्यानै सम्म लिने ढाडे र उसको जथ्था
    शुरु शुरु का दिनमा
    मानब बस्ती छिरेर
    भोकाएको झै गरे
    रुझेको झै गरे,
    म्याउँ म्याउँ गर्दै
    राम्रै अभिनय पनि गरे !
    दुधको आशा गरे झै गरे
    कहिले रोए झै गरे
    कहिले हाँसेझै गरे
    कहिले दुध र खाना दिनेको
    खुट्टामै लडिबुडी गर्दै
    जुठो पुरो म्याउँ म्याउँ गर्दै
    माग्थे, खान्थे !
    ढाडे बिरालो रुन्थ्यो, कराउँथ्यो
    खाना नपाए घुर्की पनि लाउँथ्यो
    खान दिँदा दिँदा उ यस्तो हराम निस्क्यो कि
    बिस्तारै उ चोर बिराला जम्मा पारेर
    कहिले मानब बस्तीमा झ्यालबाट
    कहिले धुरीबाट
    कहिले पछाडि, त कहिले अगाडीबाट
    छिर्न थाल्यो
    चोरेर होइन उ धारिला नङ्रा देखाउँदै
    राक्षसको जस्तै रुप र दाँत देखाउँदै
    हाकाहाकी लुटेर खान थाल्यो
    लखेट्न खोज्ने मानबलाई
    उल्टै जथ्था बाँधेर लखेट्न थाल्यो
    जँगलबाट गाउँ छिर्यो
    यसै गर्दै शहर छिर्यो
    जङली बिरालोले
    घर बिरालोको बिल्ला पनि भिर्यो
    अहिले उ
    मानबहरुलाई उल्टै जँगल जाउ भन्छ
    मानब बस्तीमा मै खाउँ मै लाउँ भन्छ
    ढाडे र उसका पछी पछी लागेर आएका
    चोर लुटेरा अरु बिरालाहरु
    मानब बस्ती नै कब्जा गर्न खोज्दैछन
    ढाडेको ईशारामा आफै बस्ने घरमा
    बिरालाहरु कहिले मान्छे चिथोर्छन
    कहिले कपडा च्यात्छन
    कहिले छानो त कहिले झ्याल ढोका
    क्षत बिक्षत पार्छन
    आजकाल यस्तै छ !
    मानब बस्ती उजाड छ
    ढाडे र चोर बिलालाको राज छ
    मानबहरुको पऊँच दुर दराज छ ! दुर दराज छ !
    visit www.nepalmother.com



    म "जिउँदो मुर्दा" हुँ 

    -रामप्रसाद खनाल


    पशुपती आर्यघाटमा
    जलाइनु अघिको निसमन्न लाश 
    र म मा मात्र एउटा फरक छ
    लाश श्वास प्रश्वास गर्दैन
    तर म सेकेन्ड सेकेन्डमा
    श्वास लिन्छु श्वास फ्याँक्छु
    मात्र यत्ती फरक छ त्यो लाश र म मा !
    शुरुमा चन्दा माग्न आए
    मैले चन्दा दिएँ
    बास माग्न आए
    बास दिएँ
    लुटेर खान थाले
    मैले चुपचाप सहें
    कुटेर अँग भँग गरे
    घोप्टी परेर रुँदै बेदना सहें
    अपहरण गरेर बेपत्ता पारे
    म चुप चाप सहेर बसें
    गोठको लैनो भैंसी
    भर्खर ब्याएको माली गाई
    जोत्दा जोत्दै जुवाले
    काँध घोटिएका एक हल बुढा गोरु
    सबै लुटेर
    मेरै अगाडी तिनका जुलुसले
    काटेर खाँदा
    मेरै कलिलो छोरो, उसकी बहिनी
    युद्ध लड्न भन्दै जबर्जस्ती लाँदा
    मेरा यिनै फुटेका आँखाले
    ट्वाल्ल हेरेर बसें
    रोएर मन बुझाएँ
    गाई बस्तु त काटेरै खाएको देखेको हुँ
    तर मेरा लाला बाला कहाँ पुर्याए
    जिउँदा छन या मरी सके
    मलाई थाहा छैन अझै
    बुढी माउँ तिनै चिन्तामा जली
    घर तलको खोलामा हाम फालेर मरी
    मेरो सुख लुटे
    मेरो बैश लुटे
    सम्पत्ती लुटे
    म आर्यघाटमा जलाइनु अघिको लाश जस्तै
    शान्त भएर बसिरहेँ
    सोँचेको थिएँ
    ढिलै भए पनि न्याय पाउँला
    खोसिएको लुटिएको जायज्यथा पाउँला
    बुढेशकालमा त्यसैमा गरी खाउँला
    हेर्दा हेर्दै बसौँ बित्यो
    मेरा आँखाहरु रुँदा आशु नआउने भए
    चुनावहरु आए
    तिनैले भाग बिल्ला पाए
    मलाई जस्तै देश लुटेर खाए
    अहिले हड्डिमा लडेका कुकुरहरु जस्तै
    कोही लडेका देख्छु
    कोही फेरी पुरानै पेशामा फर्किएका देख्छु
    बिस बर्ष पछी फेरी उही घाऊ बल्झिएको देख्छु
    अस्ती भर्खर कोही कुर्सी भाँच्दै देखेँ
    कोही खुशीले त्यही नाच्दै देखेँ
    त्यसै त म लाश जस्तो जिउँदो मान्छे
    त्यो नाँगो नाच पछी
    झन मरे तुल्य भएको छु
    त्यहीँ बाट चुइटिएका एक हुलबाट
    फेरी धाक धम्की र चन्दाको पत्र बुझेको छु
    म त जिउँदो मुर्दा भएँ भएँ
    छन की कोही जिउँदा भनी
    वर पर तल माथि हेरें, खोजेँ
    अहँ मैले कोही जिउँदो मान्छे देखिन
    सबै म जस्तै जिउँदा मुर्दाहरु मात्र देखेँ
    अनी आफैले आफैलाई धिक्कार्दै
    यती हुँदा पनि नजाग्ने
    “थुक्क म जिउँदो लाश” भन्दै
    जे जस्तो देखेँ , यि दुई चार लाइन लेखेँ !
    visit www.Nepalmother.com

    No comments:

    Post a Comment

    बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक