(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150201

प्रचण्डको लोकप्रियता घट्दो, ओलीको बढ्दो ! नेपाली जनमानसमा नेपालका राष्ट्रप्रमुख तथा सरकार प्रमुख भन्दा भारतीय प्रधानमन्त्री लोकप्रिय रहेकोसमेत मतसर्वेक्षणले देखाएको छ !

संघीयता र धर्मनिरपेक्षताको विपक्षमा जनमत !

- गुणराज लुइँटेल 


संविधान निर्माणमा जतिजति ढिलो हुँदै गइरहेको छ त्यतित्यति नै संघीयता र दलका नेताहरूप्रतिको विश्वास नागरिकमा घट्दै गएको देखिएको छ। डा. सुधिन्द्र शर्मा र टोलीले इन्टरडिसिप्लिनरी एनालिस्टस्का लागि गरेको सर्वेक्षण प्रतिवेदनले यस्तो तथ्य अगाडि ल्याएको हो। 'यो सर्वेक्षणले नागरिकको प्राथमिकता र चाहनासँग दलले उठाएका विषयबीच तादात्म्य नभएको देखाएको छ,' सर्वेक्षण सार्वजनिक गर्दै शर्माले भने। तपाईंको विचारमा नेपाल संघीय राज्य हुनुपर्छ कि एकात्मक राज्य (विना संघीयताको राज्य) भन्ने प्रश्नमा २०७१ असोजमा २६ प्रतिशतले मात्र समर्थन जनाएका छन्। एक वर्षअघि असार २०७० मा यसको पक्षमा ३४ नागरिक रहेका थिए।
संघीय हुनु हुँदैन भन्ने पक्षमा क्रमशः २०७० असार र २०७१ असोजमा ३९ र २९ प्रतिशत रहेको छ। संघीयताका बारेमा थाहा छैन भन्नेहरू गत वर्षभन्दा यो वर्ष थपिएका छन्। अघिल्लो वर्ष यो संख्या २७ थियो भने यो वर्ष ४५ प्रतिशत रहेको छ।
 
 
सर्वेक्षणका क्रममा संघीयताप्रतिको मापन गर्न शून्य (०) देखि १० अंक दिइएको थियो। शून्यले संघीयताको विपक्ष, ५ ले तथष्ट र १० ले संघीयताप्रति पूर्ण समर्थन हुने संकेत गरिएको थियो। संघीयताको बारेमा समर्थन भदौ २०६७, फागुन २०६७, असार २०६८ र चैत २०६९ मा क्रमशः ३.८, ४.२, ४.१ र ४.१ रहेको छ। यस तथ्यांकले संघीयताको पक्षमा जनमत औसतभन्दा कम देखिएको छ।  
 
 
संघीय राज्य हुनुपर्छ भन्ने जवाफ दिने व्यक्तिहरूलाई यसको आधारबारे प्रश्न गरिएको थियो। हिमाल, पहाड, तराईलाई जोडेर भूगोलका आधारमा संघीयता हुनुपर्छ भन्ने पक्षमा ५३ प्रतिशत उत्तरदाता रहेका छन्। त्यस्तै हालको विकास क्षेत्रको आधारमा १२, जातीयताको आधारमा १२, भूगोलको आधारमा हिमाल, पहाड, तराई छुट्याएर १० र पहिचान र क्षमताको आधारमा ९ प्रतिशतले आफ्नो अभिमत जाहेर गरेका छन्।
 
 
सर्वेक्षणमा यसलाई ट्रेन्डका आधारमा पनि देखाइएको छ। चैत २०५९, असार २०७० र असोज २०७० मा हिमाल, पहाड र तराई जोडेर संघीयता बनाउनु पर्छ भन्ने मत क्रमशः ९, २७ हुँदै ५३ प्रतिशतमा पुगेको देखिएको छ।
 
 
अझ संघीयताले मुलुकमा के ल्याउँछ भन्ने नसकिने पक्षमा ४६ प्रतिशत उत्तरदाता रहेका छन्। संघीयताले खतराभन्दा अवसर धेरै ल्याउँछ भन्ने २६ प्रतिशत, अवसरभन्दा खतरा धेरै ल्याउँछ भन्ने २८ प्रतिशत छन्।
 
 
संघीयताले के ल्याउँछ भन्ने थाहा नभएको संख्या ४६ प्रतिशत हुनुमा दलहरूले यो सन्देश नागरिकसम्म पुर्‍याउन नसकेको अर्थमा लिइएको छ। अहिले पनि नागरिकमा सूचनाको पहिलो माध्यम रेडियो रहेको देखिएको छ। र, दलहरूबाट संघीयता थाहा पायौं भन्ने संख्या अत्यन्तै सानो छ।
 
अझ संघीयता आएपछि देश टुक्रिन्छ भन्ने संख्या २४ प्रतिशत छ। स्थानीय तहमा धेरै विकास हुन्छ, नेपाल कमजोर हुन्छ, विभिन्न जात/जातीय समूहहरू एक अर्कासँग झगडा गर्न थाल्छन्, नेपालमा रहेका विभिन्न समूहहरूको पहिचान निश्चित हुन्छ भन्ने क्रमशः १९, १७, १५ र ८ प्रशित रहेका छन्। संघीयता आएपछि देश कस्तो हुन्छ भन्ने थाहा नभएको समूह भने ४६ प्रतिशत रहेको छ।
 
 
हिन्दू अधिराज्यबाट धर्म निरपेक्ष संघीय गणतन्त्र बनेको मुलुकमा 'हिन्दू राज्य' हुनुपर्छ भन्ने मत ७१ प्रतिशतको छ। धर्म निरपेक्ष राज्य हुनुपर्छ भन्ने २२ र थाहा छैन/भन्न सक्दिन भन्ने ७ प्रतिशत छन्।
 
 
हिन्दू राज्यको पक्षमा रहेकाहरूलाई सोधिएको थप प्रश्नमा यो परम्परासँगै गाँसिएको छ, सुरुदेखि नै नेपाल हिन्दू राज्य रहिआएको छ भन्ने पक्षमा ६९ प्रतिशत रहेका छन्। त्यसै गरी नेपालमा हिन्दू राष्ट्रकाृ नाममा विश्वमै चिनिएकोले भन्ने ६३ प्रतिशत, नेपाल हिन्दू नरहने हो भने यसले धर्मको नाममा द्वन्द्व बढाउँछ भन्ने १० प्रतिशत, राज्य हिन्दू नरहने हो भने अधर्म बढ्नेछ, विधर्मी बढ्ने छन् भन्ने ९ प्रतिशत छन्। त्यस्तै जन देश धर्म निरपेक्ष हुन्छ धर्म परिवर्तन अनियन्त्रित रुपले बढ्छ र हिन्दू राज्य हुँदा अल्पसंख्यकहरूको धार्मिक अधिकार संरक्षित थियो भन्ने क्रमशः पाँच/पाँच प्रतिशत रहेको छ।
 
 
सर्वेक्षणकर्ताहरूले यसलाई आफ्ना परम्पराप्रति नेपाली समाज अझै गौरव गर्ने तर आधुनिकताप्रतिको उत्सुकता पनि उत्तिकै रहेको रुपमा विश्लेषण गरेका छन्। 'यस हिसाबमा नेपाली समाज अझै पनि परम्परावादी रहेको देखाउँछ,' शर्माले भने– 'परम्परा नबिर्से पनि विकास उनीहरूले चाहेका छन्।'
 
हिन्दू राज्य हुनुपर्छ भन्ने संख्या क्रमशः बढ्दै गएको तथ्यांकले देखाएको छ। पुस २०६४, भदौ २०६७, फागुन २०६७, असार २०६८, चैत २०६९, असार २०७० र असोज २०७१ म्ाा हिन्दूको पक्षमा क्रमशः ५९, ५५, ५७, ५६, ५५, ६१ र ७१ प्रतिशत मत रहेको सर्वेक्षणले देखाएको छ।
 
 
अहिलेका दलका नेताहरूप्रतिको कसैले पनि उच्च मत दिएका छैनन्। सबैभन्दा लोकप्रिय राष्ट्रपति डा. रामवरण यादव देखिएका छन्। नेपाली समाजले बरु आलंकारिक राष्ट्रपतिलाई मन पराएको हो कि? भन्ने टिप्पणी पनि शर्माले गरे। अघिल्ला सर्वेक्षणहरूमा अगाडि देखिएका एमाओवादी नेता पुष्पकमल दाहालको लोकप्रियता निकै घटेको छ। पूर्व राजा ज्ञानेन्द्रको पनि लोकप्रियता सामान्य बढेको छ। 'सर्वेक्षणले कोही पनि उच्च नेता नभएको देखाएको छ,' शर्माले भने– 'त्यसैले कुनै एक नेताले मुलुकलाई हाँकेर लिएर जान सक्ने स्थिति छैन।'
 
अझ यो सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा समेत सोधिएको थियो। ६८ प्रतिशत नेपालीले उनलाई लोकप्रिय मानेका छन्, जुन अहिलेका जीवित नेपाली नेताहरूभन्दा अगाडि देखिएका छन्।
 
 
राष्ट्र प्रमुख र सरकार प्रमुखले गरेको 'ऐतिहासिक' योगदनको मूल्यांकन गर्न सोधिएको प्रश्नमा पृथ्वीनारायण शाहलाई ८६ अंक मिलेको छ भने राजा त्रिभुवन र महेन्द्रलाई ७६/७६ प्राप्त भएको छ। राजा वीरेन्द्रले समेत ८७ प्रतिशत अंक प्राप्त गरेका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई राजा महेन्द्रभन्दा कम ७४ अंक मात्र मिलेको छ। भीमसेन थापा (७८), जंगबहादुर राणा  (६५), मनमोहन अधिकारी (७२), कृष्णप्रसाद भट्टराई  (६८) र गिरिजाप्रसाद कोइराला (७१) लगायतलाई सर्वेक्षणमा सहभागीहरूले यथोचित मत दिएका छन्।
 
'जनताले बितेर गएको राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई समेत तिनका ऐतिहासिक योगदानका आधारमा सकारात्मक मूल्यांकन गर्न सक्दा रहेछन्,' शर्माले भने, 'राजा वीरेन्द्र र पृथ्वीनारायण शाहलाई दिइएको मतले यही संकेत गर्छ।'
 
 
पहिलेका राजा वा सरकार प्रमुखप्रतिको लोकप्रियता बढेको अनुपातमा पूर्व राजा ज्ञानेन्द्रको भने नदेखिएको शर्माले बताए।
 
सर्वेक्षणकर्ताले ४४ जिल्लाका ३ हजार उत्तरदातालाई समेटेको र घना जनसंख्या भएका तराईका धेरै जिल्ला यसमा समेटिएको जानकारी दिए। सर्वेक्षणमा सहभागीहरूको संख्या उनीहरूको जातीय प्रतिशतसँग मिल्दोजुल्दो भएको समेत शर्माले बताए।
setopati
************************************************

प्रश्न आफै सँग: के नेपाल म जस्तै जिउँदा लाशहरुको बास हो ??!! 

-रामप्रसाद खनाल
राणाहरुले राम्रो गरेका भए
२००७ साल किन आउँथ्यो ?
२००७ सालमा आएको प्रजातन्त्र
२०१७ सालमा किन जान्थ्यो ?
२०१७ मा आएको पञ्चायत
२०४६ मा लखेटिन किन मान्थ्यो ?
यि त भए पुराना कुरा
भनौंला उहिलेका कुरा खुइलिएर गए !
अहिलेका कुरा पो गर्नु !
पुराना दिन सम्झिएर हुन्छ ??
२०४६ मा बहुदल आयो
गणेशमान को कुर्सी त्याग
किशुनजी अन्तरिम प्रधानमन्त्री
संबिधान आयो, वाहवाही भयो
२०४८ मा चुनाव
नेपाली काङ्रेसले बहुमत पायो
किशुनजी हट्ना साथ
गिरिजाबाबुको शासन
काङ्रेस भित्र किचलो
एकाउन्नमा मध्याबधी चुनाव
काङ्रेस गयो, एमाले आयो
टिकेन एमाले ९ महिना पनि
त्यस पछी शुरु भए
सत्ता साझेदारीका कुरा
मिलिजुली भागबन्डाको राजनीति
कुर्सी तानातान
टिकाउने खेल
गिराउने खेल
मुसाहरु सिंहदरवार छिरे
कोही छेरपाटे लागेर
थाइल्यान्ड पुर्याइए
कोही शंकर होटलमा थुनिए
प्रजातन्त्रका नाममा
अनेक जालझेल बुनिए
मात्र कुर्सीको खेल
जन्मियो माओवादी
बाउन्न फागुन एकमा
कुर्सी नपाएको झोंकमा
काङ्रेस भित्र छत्तिस र चवत्तर
माधव केपी छाडेर बामदेब अलग
बाम घटकहरु फुट्दै जुट्दै देखेकै हो
सत्ताको लागि जे पनि गरेकै हो
कङ्रेस, एमाले, माले, रा.प्र.पा देखी
मधेशबादी गज्जु बाबु पनि भोगेकै हो
यि सबैको कुशासन
कमजोर राजा बीरेन्द्र
देश भताभुंग लथालिँग देखेकै हो
यसैको फाईदा उठाउँदै
छबिलाल र बाबुरामहरु
रोल्पा रुकुम पुगेर
सोझा साझा, गरीब, बेरोजगार,
अशिक्षित जनता भड्काउँदै
सिँहदरबारको फोहोरी राजनीति देखाउँदै
छबिलाल बाबुराम लिनुसम्म फाईदा लिए
मागेर खाए, लुटेर खाए, कुटेर खाए
अपहरणमा लागे, मान्छेका घाँटी रेट्न थाले
जँगली राज झांगिँदै गयो
काठमाडौंको फोहोरी राजनीति
सत्ताको लुछाचुँडी
छबिलालाई फलिफाप भयो
कयौँ निर्दोश काङ्रेस मारिए
एमाले चुपचाप राम हेरेर बसे
काङ्रेस पछी एमाले, एमाले पछी अरु हरु
सबै छबिलालको निशाना बन्दै गए
रक्त पिपासुहरुको शिकार भए
खसी काटे जस्तै मान्छे काटिँदा
बुच्चरले खसी रेटे जस्तै रेटिंदा
काठमाडौं लाई कहिलै दुखेन
जब छबिलाल र बाबुराम आतंकले
राजाधानी मै धावा बोल्न थाल्यो
प्रहरी सेना सबै भुत्ते साबित भयो
बीरेन्द्रको बम्श नाश
मदन आश्रित गुमाएको देश
गणेशमान गुमाएको देश
मनमोहन गुमाएको देश
बिपी र पुष्पलाल नहुँदाको देश
महत्वाकांक्षी राजा ज्ञानेन्द्र
उनका तुल्शी गिरी र किर्तिबाबुहरु
पुराना असफल अनुहारहरु
राजा एक स्तर तल झरेर
मन्त्रिमन्डलको अध्यक्ष भएको देश
राजा देखी रँक सम्म
काङ्रेस देखी एमाले सम्म
मधेशी देखी अन्य दल सम्म
स्वार्थमा चुर्लुम्म डुबेको देश
आफ्नो कुर्सी फर्काउन
गिरिजा बाबु तात्नुभयो
माकुने जि र अरुजीहरु
दिल्ली दरवार जानुभयो
महाराजको कुबुद्धी
जँगली छबिलालको आतंक
हेर्यो भारतले आफ्ना भक्त
प्रणब मुखर्जीले
पेन्शीलले गरेको १२ बुँदे खेस्रा
महाराजको काल भो
शहरिया देखी जँगली सम्म
सबैलाई माल भो
देशको यो हाल भो
अर्बौँ पैसा सकियो
दुई दुई चुनाव
६०१ औंठाछाप बने माननिय
देश लुटिँदैछ, जनता लुटिँदैछ
न छ संबिधान, न त शान्ती !
देश चिर्ने सुर सार
सानो देश !
ककसलाई भाग बिलो पर्ने हो
भाग बिलो नपाउने ले के गर्ने हो ?
बिबेक नभएका नेता
आत्मियता हराउँदै गएका जनता
आखिर अवस्था जहाँको तहीँ छ
बिकास निर्माण आकाशको फल
युवा जनशक्ती बिदेश पलायन
उस्तै छ नेताको छल
गाउँहरु खाली छन
न त खेत बारीमा बाली छन
बुढा बुढी बाउ आमाको बिजोग
देशको देखिंदैन राम्रो योग
प्रहरी भाँडेर
प्रशासन भाँडेर
सेना भाँडेर
छबिलाल र बाबुराम प्रधानमन्त्री बनेर
लुट्न सम्म लुटेकै हुन
देशको सम्पत्ती
लुटको धन फुपुको श्राध्दे गरेकै हुन
कुर्सी गुमेर बेहोस् यो जोडी
यिनका मितहरु
आतंकका प्रितहरु
फेरी जँगलको ध्वाँस दिँदैछन
थाहा छैन यिनिहरु
देश र जनता सँग
कुन युगको बदला लिंदैछन
यो सबै देख्दा लाग्छ, म किन चुप छु ??
म जिउन्दो मान्छे हुँं या मुर्दा ??!!
म जिउँदो भए किन बोल्दिन ??
यती हुँदा पनि आवाज किन खोल्दिन ??
यता उता हेर्छु सबै म जस्तै !!!
के नेपाल म जस्तै जिउँदा लाशहरुको बास हो ??
सोध्छु प्रश्न आफै सँग !
बिचरा म,
आफ्नो प्रश्नमा आफै अनुत्तरित छु !!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक