20150228

सत्ता हातमा लिने चेतावनी दिँदै प्रचण्डले भने 'अबको कार्यक्रम घोषणा भएपछि जनताले पूरै सत्ता हातमा लिने अवस्था आउनसक्छ।'

मान्नुस् ३० दलको कार्यक्रममा २ लाख जनता नै आए रे ! २ लाखको नाममा नेपालका ३ करोड जनताको ब्ल्याकमेल गर्न मिल्छ ?? हुतिहारा सत्तारुढहरु, आतंक अनी भिडतन्त्रको पर्याय माओवादी, अनी उसका पिछलग्गुहरु सबैले जबाफ देउ !
mainphotoएनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तारुढ दल सहमतिमा नआए देशभर जिल्ला जिल्लामा जनताले कब्जा गर्ने चेतावनी दिएका छन्। उनले वार्ताका लागि बहुमतीय प्रक्रियालाई रद्द गरी बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद समितिबाटै संविधानका अन्तर्वस्तुमा सहमति खोज्ने प्रक्रिया सुरु गर्नुपर्ने शर्त राख्दै भने, बल अब कांग्रेस-एमाले कै कोर्टमा छ। संवाद समितिमा फर्काए भोलि नै वार्ता हुन्छ।' बहुमतीय प्रक्रिया नसच्याए परिणाम भोग्न तयार रहन उनले चेतावनी दिए। 'अझै पनि एमाओवादी र प्रचण्डलाई देखाउँछौँ भन्नुभयो भने कसले देखाउँछ हेर्नुहोला भोलि', आफू उत्तेजित नभएको भन्दै गरे पनि उनले आक्रोशपूर्ण अभिव्यक्ति दिने क्रममा भने, सहमति नभए 'अब राजधानीमा सभा होइन, जिल्ला जिल्लामा जनताले आफ्नो अधिकारको प्रयोग गरी कब्जा गर्न थाल्नेछन्।' अन्तरिम संविधान, शान्ति सम्झौता गरिएका शक्तिसँग सहमतिकै आधारमा संविधान बन्छ भन्ने सुनिश्चितता गर्नुपर्ने र संविधानसभा बाहिर भएका दलहरुलाई पनि सहमतिमा लिएर संविधान बनाउने बाटोमा आउनु पर्ने बताउँदै उनले त्यसो नभए सत्ता हातमा लिने चेतावनी दिए, 'अबको कार्यक्रम घोषणा भएपछि जनताले पूरै सत्ता हातमा लिने अवस्था आउनसक्छ।' प्रचण्डले कांग्रेस र एमाले एकै पार्टी भएको बताए । उनले भने-‘ कांग्रेस र एमाले दुई पार्टी भन्ने भ्रम हटोस् भन्ने चाहन्छु । एउटै पार्टी हो । संविधानसभा अगाडिसम्म एमाले अर्कै पार्टी हो भन्ने थियो ।’ एमाले अब नचाहिने भन्दै कांग्रेसमा घुस्न सल्लाह दिए । उनले भने-हिजो चुनावमा भोग माग्दा बहुपहिचान हुन्छ भनेको थियो । अहिले पहिचान नै सुन्न नचाहेपछि एमाले किन चाहियो । ठग्ने र भ्रष्टाचार गर्ने हो भने कांग्रेसमा बसेर पाइन्छ ।’
सँयमित प्रहरी हेर्नुस र प्रशासन द्वारा नियम कानून अनुसार लगाइएको निसेधआज्ञा लाई धोती लगाइदिँदै एमाओबादीहरु हेर्नुस ! भिडतन्त्रकै भरमा चल्ने मुलुक नेपालमा जसले जे गरेपनी हुने भो अब !  
बानेश्वरमा दश बर्षे युद्धकालको झल्को दिने गरी एमाओवादीका कार्यकर्ताहरु प्रहरीविरुद्ध जाइलागेका छन् । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले आन्दोलनकारीलाई रोकेपछि झडप भएको हो । सुरुमा शान्तिपूर्ण रुपमा आएको जुलुस एमाओवादी मोर्चाको भाँटासहितको जुलुस आएपछि एकाएक तनाव मच्चिएको थियो । मोटरसाइकलमा भाँटा सहितका आएका युवाले प्रहरी निरीक्षक धर्म भण्डारीलाई मोटरसाइकलले हानेपछि दुवै पक्षबाट लाठी प्रहार भएको थियो । तस्वीरमा देखिएको यो दृश्य हो काठमाडौँको नयाँ बानेश्वरमा । दोहोरो झडपका क्रममा ढलेका सशस्त्र प्रहरीमाथि दर्जन आन्दोलनकारीहरु यसरी सशस्त्र प्रहरीको लाठी र अश्रुग्यास खोस्दै थिए । आन्दोनलकारीहरु युद्धकालको झल्को दिने गरी प्रहरी सामु प्रस्तुत भएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले

पनि आफ्नो सम्पूर्ण शक्ति लगाएर आन्दोलनकारीलाई तितरबितर पारेको थियो । दोहोरो झडपमा नेपाल प्रहरीका इन्स्पेक्टर धर्म भण्डारी र सशस्त्र प्रहरीका इन्स्पेक्टर वीरबहादुर तामाङसहित २० जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले राजधानीमा शक्ति प्रदर्शन गर्दै संविधानमा सहमतिका लागि सत्तारुढ दललाई एक साताको दिनको समय दिएका छन् ।
तर, यथास्थितिमा औपचारिक वार्तामा नबस्ने विपक्षी नेताहरुले बताएका छन् । वार्तामा बस्नका लागि प्रक्रिया स्थगनको घोषणा हुनुपर्ने प्रचण्डले स्पष्ट पारेका छन् ।
माओवादी, मधेसवादी र साना जनजाति पार्टीहरुले आफ्नो शक्ति प्रदर्शन गर्दै शनिबार खुलामञ्चमा सभा गरे । सभामा ३० दलीय मोर्चाका संयोजकसहितका नेताहरुले अब अर्को चरणको आन्दोलन घोषणा भएपछि कांग्रेस र एमालेसँग सम्झौताका लागि अहिलेकै ठाउँ नरहने चेतावनी दिए ।
एमाओवादी अध्यक्ष प्रचण्डले भने-‘यदि तपाईहरु (कांग्रेस-एमाले) ले तुरुन्तै गल्ती सच्याउनुभएन भने धेरै ढीलो भइसक्छ, अबको कार्यक्रम घोषणा भइसकेपछि तपाईहरुसँग यो रुपको सम्झौताको ठाउँ रहँदैन । जनताले पूरै सत्ता आफ्नो हातमा लिनु पर्ने थिति आउँछ ।’
बल कांग्रेस र एमालेको कोर्टमा भएको प्रचण्डले बताए । उनले भने-‘होली आउँदैछ, त्यतिञ्जेलसम्म हामी कुर्छौं, त्यसपछि पनि सहमतिमा आएनन् भने अबका कार्यक्रममा खुलामञ्चमा हुुनेछैन, जिल्ला-जिल्लामा आफ्नो अधिकार प्रयोग गर्ने छ । जिल्ला जिल्लामा कब्जा गर्ने छन् ।’
उनले वार्ता र सहमति वा द्वन्द्व चाहने फैसला गर्न कांग्रेस र एमालेलाई आग्रह गरे । उनले भने-‘तपाईंहरु (कांग्रेस-एमाले) ले गल्ती गर्नुभएको छ, प्रचण्डलाई देखाउँछु भन्नु भएको छ भने हेर्नुहोला भोली कस्ले देखाउँछ । जनता महाजंगे भएर आउने छ र सबै खारेज गर्नेछ ।’
सरसल्लाह सभालाई नसुन्दा शनिबारको खबरदारीसम्म आउनु परेको भन्दै प्रचण्डले अब पनि सुनुवाइ नभए यस्ता सभाहरु विद्रोहको सभा बन्ने चेतावनी दिए ।
संविधानसभा क्रान्तिको परिणाम भएको भन्दै उनले क्रान्तिलाई बहुमतले रोक्न खोजिए विस्फोट हुने चेतावनी दिए । उनले भने-‘योसँग खेलाची गरियो भने आगोसँग खेलाँची गरेको बराबर हुनेछ तपाईहरु भस्म हुनु हुनेछ । खबरदार !’


एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले आजको सभालाई 'जनखबरदारी कार्यक्रम' भन्दै यो ट्रेलरमात्र भएको हो र यसलाई बेवास्ता गरे साँच्चैको फिल्म सुरु हुँदा विरोधीहरु देशमै नरहने चेतावनी दिएका छन्। 'यो त ट्रेलर हो', उनले भने, 'यदि तपाइँ अहिले पनि यो चेतावनी बुझेर सहमतिमा आउनु भएन भने आँधीबेहरी आउने छ। यो ट्रेलर नबुझे जब साँच्चैको फिल्म देख्नुहुन्छ, त्यतिबेला तपाइँ यो देशमा रहनु हुनेछैन।' उनले केही मान्छे कलर ब्लाइन्ड भएको भन्दै आक्रोशित मुद्रामा भने, 'रंग नदेख्नेले इन्द्र धनुष राज्यलाई एउटा रङ्ग देख्छ। सप्तरङ्गी इन्द्र धनुष देख्ने तिम्रा आँखाको अपरेसन गर। उपचार गर। संविधान सभाको दोस्रो निर्वाचनलाई 'कथित' भन्दै उनले निर्वाचनपछि दम्भ बढेकोले खबरदारी गरेको बताए। उनले आफूलाई हात्ती र बाघसँग तुलना गरे। 'हात्ती दुब्लाए पनि हात्ती नै हुन्छ।  यो बाघ केही दुब्लाएको छ। तर ख्याल राख यो बाघै हो,' उनले भने। बहुमतीय प्रक्रिया सुरु गरेर माघ ११ मा संविधानसभा अपहरण गरिएको उनको आरोप थियो। पश्चिम नेपालका १८ जिल्ला पुगेर आउँदा जनताले आफ्ना छोराछोरीले रगतसँग साटेको संविधानसभा अपहरण हुन नदिन आग्रह गरेको सुनाउँदै उनले अपहरित भएको संविधानसभा जनताको पक्षमा ल्याउन चाहेको बताए। दिल्ली जाने हतारोमा रहेका भट्टराईले क्रम भन्दा अघि नै सम्बोधन गर्दै उनले माओवादी र मधेशी जनजातीले देश टुक्रयाउँदैछन् भन्ने हल्ला फैलाइएकोले त्यसमा नपर्न आग्रह गरे। बाघ बुढो भए पनि घाँस नखाने उदाहरण दिँदै उनले भने क्रान्तीकारी जनताले उत्पीडित जनताले आत्मसमर्पण नगर्ने उद्घोष गरे। 
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलन सुरु भएपछि सडकको दुई तिहाईबाट संविधान बनाएर विश्राम लिने चेतावनी दिएका छन्। एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले शनिबार खुलामञ्चमा गरेको सभामा महतोले प्रचण्डजीले पनि सुन्नुस् भन्दै सहमति गर्ने भए अहिले गरिहाल्नु पर्ने नत्र आन्दोलन एक पटक सुरु भएपछि नरोकिने बताए। ‘यो पटक आर पार लडाइँ लड्ने हो। अभि नहीँ तो कभि नहीँ’, उनको कथन थियो।   उनले सत्तारुढ दलले झुटको खेती गर्दै एक थान संविधान जनतालाई चाहिएको जस्तो देखाउन खोजिएको आरोप लगाए। संविधान थियो त, २०४७ संविधानलाई बाइबल, पुराण, गीता, महाभारत भनेको होइन र? उनले भने, त्यसको कभर पनि फेर्न हुन्न रे। हो त्यस्तै संविधान फेरि बनाउने रे। त्यसकै भण्डाफोर गर्न चाहेको हो। एक थान संविधान होइन, अधिकार र पहिचानसहितको संविधान र संघीयतासहितको संविधान नेपाली जनतालाई चाहिएको हो भन्दै उनले प्रश्न गरे, मधेशियासँग गरेको ८ बुँदे सहमति कहाँ गयो? १२ बुँदे कहाँ गयो थारुसँग गरेको? अरे बेइमान, विगतको सहमति पालना गर्न दुई तिहाई दिएको हो। थाहा छैन भन्छन् अहिले (प्रधानमन्त्री) सुशील कोइरालाले। उनले हामीलाई मधेश प्रदेश दिन्छु भनेको तर अहिले देऊ भन्दा कहाँ छ मधेश प्रदेश भन्ने गरेको आरोप लगाए। ‘हामीलाई युपी बिहार देखाउँछ। यो राष्ट्रघाती भयो कि भएन?’ ‘अहिले सेवाकेन्द्रको नाममा जनतालाई भिडाउन खोजेको, मधेशी पहाडीको नाममा प्रदेश बनाउन खोजेकोमा उनले आपत्‍ति जनाए। दुई तिहाइको बलमा संविधान बनाए दिउँसै १२ बजे त्यो संविधान जल्नेवाला छ’, उनले चेतावनी दिए।  


आदिवासी जनजाति आन्दोलनका प्रवक्ता डा. ओम गुरुङले अधिकार प्राप्तिका लागि आवश्यक परे बन्दुक उठाउने चेतावनी दिएका छन् ।
खुलामञ्चमा आयोजित ३० दलीय मोर्चाको जनसभालाई सम्वोधन गर्दै गुरुङले भने, ‘आदिवासी जनजातिहरु बन्दुकसँगै जन्मेका हुन्, बन्दुकसँगै हुर्केका हुन्, आवश्यक पर्‍यो भने बन्दुक उठ्छन् ।’
उनले आदिवासी जनजाति युवाहरुको दस्ता बनिसकेको जानकारी पनि दिए । अहिले ति युवाहरुको दस्ताको हातमा लठ्ठी परेको र आवश्यक परे बन्दुक पर्ने उनले चेतावनी दिए ।
उनले आदिवासी जनजातिको अधिकार माग्दा देश टुक्राउन खोजेको आरोप लगाइएको भन्दै त्यसको खण्डन गरे । प्रवक्ता गुरुङले ३० दलीय मोर्चाको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए ।
मन्चमा आसिन मोर्चाका नेताहरुले आपसमा हात जोडेर आदिवासी जनजातिको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले कांग्रेस-एमालेलाई तीनवटा मुद्दा लगाउनुपर्ने धारणा राखेका छन् । राज्यविरुद्धको अपराध, ठगी र अपहरणको मुद्दा लगाउनु पर्ने उनको धारणा छ ।
३० दलीय गठबन्धनको सभालाई शनिबार सम्वोधन गर्दै उनले कांग्रेस-एमालेको कारण देश विखण्डन तर्फ जान लागेकोले यसको जिम्मेवार पनि उनीहरु नै हुनुपर्ने बताए ।
यस्तै संसदमा दुई तिहाई बहुमतको नाममा संविधानसभालाई अपहरण गरेको उनले आरोप लगाए ।
उनले सहमतिको बाधक पनि कांग्रेस एमाले नै भएको दाबी गरे । उनले सहमतिको वाधक नबन्न आग्रह पनि गरे ।
भण्डारीले भने-‘आफैले लगाएको सहमतिको पर्खाल तोड्नुस् र हामीसँग वार्ता गर्नुस् ।’

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विद्रोहबाट काठमाडौं कब्जा गर्ने चेतावनी दिएका छन् ।
३० दलीय मोर्चाले शनिबार खुलामञ्चमा गरेको आमसभामा यादवले विद्रोह गरेर काठमाडौं कब्जा गर्ने र नयाँ संविधान बनाउने बताए । जनता विद्रोहका लागि तयार रहेको भन्दै उनले खुट्टा नकमाउन आन्दोलनकारी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् ।
‘वार्ताबाट मधेस प्रदेश बन्छ, लिम्बुवान बन्छ, नेवा प्रदेश बन्छ भने वार्ता गर्नुस्, नत्र काम छैन’ उनले भने-‘मधेसमा विद्रोह हुन्छ र विद्रोहीले काठमाडौं कब्जा गरेर नयाँ संविधान बनाउने छ । त्यो संविधान समावेशी हुनेछ । यो बकम्फुसे वार्ताको काम छैन ।’
वार्ता गर्ने हो भने प्रधानमन्त्री सुशील कोइरालालाई विगतमा भएका सहमति कार्यान्वयन हुन्छ कि हुँदैन भनेर सोध्न नेताहरुलाई आग्रह गरे । विगतका सहमति कार्यान्वयन हुन्छ भने वार्ता गर्न सकिने भन्दै उनले भने-‘अब आन्दोलन र विद्रोह अगाडि बढ्यो । जनताको मुक्तिको बाटो भनेको विद्रोहको बाटो हो ।’
आफूहरुको आन्दोलन संविधान नामको कागजको खोस्टा बनाउने विद्यार्थीको आन्दोलन नभएको भन्दै उनले भने-‘मुक्तिको आन्देालन हो । जनता लड्न तयार छ । तपाईहरु खुट्टा नकमाउनुस् ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक