20150202

नेपालस्थित युरोपेली संघ आवद्ध देशका राजदूतहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर संविधान निर्माण प्रक्रियामा समर्थन जनाए

एकीकृत माओवादीले आफूलाई नसच्याउने हो भने आगामी निर्वाचनमा दुई/चार सीटमा सीमित हुनुपर्ने   -- एमाले अध्यक्ष केपी ओली
एमाओवादीलगायतका दलको संविधानसभा बहिस्कार गर्ने धम्कीले  नडराउने - उपप्रधान एवं गृहमन्त्री बामदेव गौतम
सहमतिको नाममा संविधान निर्माणको प्रक्रिया रोक्न नसकिने - एमाले उपाध्यक्ष भीम रावल

नेपालस्थित युरोपेली संघ आवद्ध देशका राजदूतहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर संविधान निर्माण प्रक्रियामा समर्थन जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर सोमबार राजदूतहरुले प्रधानमन्त्री कोइरालालाई संविधान निर्माणको काम छिटो सम्पन्न गरी देशलाई स्थिरता प्रदान गर्न आग्रह गरेका हुन् । भेटमा युरोपेली संघका राजदूत रेन्से टिरिङ्कले आफूहरुले सीके राउतसँग भेटेको विषयलाई शंकाको दृष्टिले नहेर्न समेत आग्रह गरेकी थिइन् । भेटपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै टिरिङ्कले नेपालमा जारी संविधान निर्माण प्रक्रियाप्रति समर्थन जनाउँदै संविधानसभाबाट बन्ने संविधानमा आफूहरुको समर्थन रहने सन्देश प्रधानमन्त्री कोइरालालाई दिएको जानकारी दिइन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले प्रधानमन्त्री कोइरालाले संविधान निर्माण गरी शान्त, स्थिर र लोकतान्त्रिक मुलुकको रुपमा नेपाललाई परिणत गर्न युरोपेली राष्ट्रको सहयोग आवश्यक भएको बताएको जानकारी दिए । प्रधानमन्त्री कोइरालाले देशको
अवस्था हेरेर नै आफ्नो ध्यान संविधानमै केन्द्रित गरेको भन्दै संविधान निर्माण प्रक्रियामा साथ दिन युरोपेली राजदूतहरुलाई आग्रह गरेको भट्टराईले जानकारी दिए ।
 एमालेका अध्यक्ष केपी ओलीले एकीकृत माओवादीले आफूलाई नसच्याउने हो भने आगामी निर्वाचनमा दुई/चार सीटमा सीमित हुनुपर्ने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघको राष्ट्रिय परिषद बैठकको सोमबार पोखरामा उद्घाटन गर्दै उनले जंगल पस्ने र आन्दोलनको धम्की दिन छाडेर संविधान निर्माणमा लाग्न आग्रह गरे । ‘अझैपनि बन्द र हडतालमै जान्छु भन्ने हो त्यसको फैसला पनि जनताले गर्ने’ ओलीको भनाइ थियो । उनले ‘देशलाई विखन्डन गर्ने र नेपाली समाजलाई विभाजन गर्ने तत्वदेखि सचेत रहनुपर्ने’मा पनि जोड दिए ।
एमालेका उपाध्यक्ष भीम रावलले सहमतिको नाममा संविधान निर्माणको प्रक्रिया रोक्न नसकिने प्रष्ट गरेका छन् । सहमतिको नाममा एकीकृत माओवादीले अड्को थापेको भन्दै उनले कुनैपनि हालतमा प्रक्रिया रोकेर सहमतिमा जान नसकिने बताए । राजधानीमा सोमबार गरिएको एक कार्यक्रममा उनले संविधान लेखनका लागि प्रश्नावली समिति बनाएर प्रक्रियाले गति लिइसकेकाले पछि नहट्ने अडान राखे । संविधान लेख्न छाडेर आन्दोलनमा नलागी वार्ताको टेबलमा फर्कन रावलले विपक्षी दलहरुलाई आग्रह गरे । कार्यक्रममा विपक्षी दलका नेताहरुले भने सत्तापक्षले पेल्न खोजेकाले आन्दोलनमा जानु बाध्यता भएको टिप्पणी गरेका थिए ।

उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले एमाओवादीलगायतका दलको संविधानसभा बहिस्कार गर्ने धम्कीले संविधानसभाका सदस्यहरु नडराउने बताएका छन् । पहिलो संविधानसभामा कांग्रेस–एमालेको बहुमत नहुँदा र ठूलो पार्टीले गल्ती गर्दा संविधान नबनेको भन्दै उनले यसपटक पनि ठूला पार्टीलाई संविधान जारी गर्न नदिन खेलिएको खेल सफल हुन नदिने दाबी गरे । बर्दियामा कृषि विकास कार्यालयको कृषि औजार हस्तान्तरण कार्यक्रममा सोमबार गृहमन्त्री गौतमले संविधानसभा सदस्यहरुको महत्वपूर्ण कार्य संविधान जारी गर्नु रहेकाले संविधान जारी गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक