(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150319

देश छाडेर बाहिर गएकै कारण देशप्रतिको चिन्ता ब्यक्त गर्न नपाउने हो भने मलाई माफ गर्नुहोला मित्रहरु म तपाइहरुसँग सहमत छैन !

- ज्योति देवकोटा 

फेसवुकको इनवक्समा धेरै मित्रहरुको मेसेज आयो ‘डिभी परेर अमेरिका गएको मान्छे देशको चिन्ता गर्न लाज लाग्दैन।’ र, मैले सोचेँ, न्युनतम इमान्दारिता देखाउने हो भने म कसरी अमेरिका आएँ भन्नै पर्छ। मेरी श्रीमतीलाई परेको डिभी चिट्ठाले मैले अमेरिका पुग्ने सौभाग्य पाएको हुँ। अन्यथा अमेरिका घुम्न आउन सक्ने मेरो हैसियत होइन। खल्तीको पैसा हालेर अमेरिका त के म भारतको दिल्लीसम्म घुम्न सक्ने क्षमताको होइन।
डिभी नपरेको भए, सायद आजका मितीसम्म म पत्रकारिता छाडेर खाडी मुलुकतिर पसेको हुन्थेँ होला। अथवा वर्षभरी काम गरेर ४ महिना मुस्किलले खान पुग्ने जुम्लातिरै बसाइ सरिसकेको हुन्थ्येँ।
तर, जे होस् म अमेरिका पुगेँ। यसर्थमा म आफूलाई भाग्यमानी ठान्छु। म डिभी परेरै अमेरिका आएको हुँ। यो कुरा भन्न मलाई कुनै आपत्ती र सरम लाग्दैन। बरू मैले अमेरिका पसेपछि जन्मेको माटो सम्झिन भने, देशको माया र चिन्ता गरिन
भने त्यो मेरा लागि लाज र सरमको विषय हुन्छ।
तेस्रो मुलुक हुँदै ज्यानलाई हत्केलामा राखेर अमेरिका पुगेका मेरा हजारौं दाजुभाई तथा दिदीबहिनीले जस्तो मैले अमेरिका पुग्न दुःख पाइन।
प्रत्येक वर्ष करिब ८० लाखभन्दा बढी नेपालीले डिभी भर्छन्। त्यही मध्येको एक मेरो परिवारलाई पनि डिभी पर्‍यो। अमेरिका भ्रमणका लागि ‘भिजीटिङ भिसा' पाउन सक्ने औकात र क्षमता भएको मान्छे होइन म। तर, डिभीका कारण मैले सजिलै अमेरिका प्रवेश पाएँ। यसै कारण मैले नेपालको चिन्ता गर्न नपाउने हो भने यसमा मेरो अस्वीकारोक्ति छ। 
नेपालमा २६ वर्षसम्म गर्न नसकेको काम र सफलता मैले ५ वर्षमा गर्न सकेँ। ‘ह्याग्रसटाउन स्कुल अफ एभियसन’ मा सँगै पढने मित्र एड्रीन भन्थ्यो, ‘दीस कन्ट्री इज ल्याण्ड अफ अपरच्युनिटी।’ ल्याटिन कन्ट्रीबाट आमाको पछि लागेर आएको एड्रिन वर्गरमा काम गर्दै हवाइ इन्जिनियर बन्यो।
एड्रीनले अमेरिका सारा अवसर भएको मुलुक हो भन्दा सबैलाई थाहा भएको कुरा उसले बिथ्थामा सुनाइरहेका छ जस्तो लाग्थ्यो। तर, होइन रहेछ। यो देशमा दौडन चाहन्छु भन्नेहरुका लागि असिमित सम्भावनाहरु देखेँको छु। भारतीय मुलका नागरिकहरु अमेरिकन भन्दा बढी सफल भएका छन्। नेपाली मुलका नागरिकहरु पनि सफल हुने अथाह सम्भावना छन्। अमेरिकाको राजनीतिमा नेपाली प्रतिनिधिहरु हरि भण्डारी, दर्शन रौनीयार, अम्रीता रेग्मीहरु सम्भावना बोकेको नेपालीहरु हुन्।
डिभी मार्फत अमेरिका आएकै कारण मेरा भाइ र भतीजालाई राम्रो कलेजमा पढाउन सकेको छु। मलाई लाग्छ अमेरिकामा बगेको अधिकांश नेपालीको पसिना नेपालमै पुगेको छ।
हरेक घर शिक्षित हुँदै गयो भने देश शिक्षित हुने हो। म शिक्षामा अलि बढ्ता नै विश्वास गर्छु। ३ अनाथ बच्चाहरु अहिले पनि पढाइरहेको छु। आफ्नै वलवुतोले जुम्लाको सिँजामा स्कुल भवन बनाउन सकेँ। अहिलेको वर्ष किशोर रिमालको सहयोगमा श्री मन प्राविको प्रांगढमा पुस्तकालय भवन बनेको छ। म, डिभी परेर अमेरिका नपुगेको भए मेरा यी सारा कर्म केवल सपनामै सिमित हुने थिए।
मैले देशप्रति गरेको चिन्तासँग मेरो सेवा जोडिएको छ। अबका केही वर्षमा म अमेरिकन नागरीक बनेछु भने, इमान्दारीपूर्वक नेपाली दूतावासमा गएर नेपाली नागरीकता र पासपोर्ट बुझाउने छु, यो मेरो कर्तब्य हो। त्यसपछि पनि मैले नेपाल र नेपालीको भलो चिताउन पाउनुपर्छ। नेपाल सभ्य र सक्षम मुलुक बनोस् भन्ने इच्छा जाहेर गर्न पाउनुपर्छ। यो मेरो अधिकार हो।
म डिभी परेर अमेरिका पुगेकै नाताले नेपालप्रति चिन्ता गर्न डराउनु पर्ने अथवा लजाउनु पर्ने कुनै कारण देख्दिनँ। मेरो जन्मभूमिको चिन्ता गर्न मलाई कसैले रोक्न पनि सक्दैन।  
मैले देश छाडे पनि मेरो आफन्त, नातागोता र परिवार नेपालमा छन्। देशको उन्नती अवनतीसँग उनीहरुको भविश्य जोडिएको छ। र, उनीहरुको भविश्यसँग मेरो चिन्ता जोडिएको छ। गाउँमा पहिरो गयो भने, मेरो कोहि त परेन भनेर समाचार हेर्छु। गाडी पल्टीयो भने मेरो आफन्त कोहि परेकि भनेर समाचारमै डौडिन्छु।
नेपालप्रतिको मेरो चिन्ता भनेको मेरो परिवार, आफन्त र छिमेकीसँग जोडिएको चिन्ता हो। यदी मेरा आफन्ती, छिमेकी र नातागोतासँग देशको कुनै साइनो छैन भन्ने हो भने डिभी परेर म अमेरिका पुगेको मान्छेले देशको चिन्ता गरेकोमा मैले लज्जा बोध गर्नै पर्छ।
डिभीमार्फत अमेरिका पुगेको कुरा, राजनीतिक कारण देखाएर अमेरिकामा शरण लिएको, विद्यार्थी भिसामा अमेरिका पुगेको वा दलाललाई पैसा पोसेर मेक्सिको हुँदै अमेरिका भासिएको कुराभन्दा बढी महत्वपूर्ण कुरा हो। यसरी अमेरिका पुगेका सारा नेपालीहरुले नेपालको चिन्ता गरेका छन् कि छैनन्?
मध्यम र निम्न परिवारको लागि डिभी अमेरिका आउने एउटै मात्र माध्यम हो। सन १९९७ अघि मैले कुनै सामान्य परिवारको मान्छे अमेरिका पुगेको सुनेको थिइनँ। तर, डिभी खुलेपछि करिब ४४ हजार सामान्य नेपाली अमेरिका पुगेका छन्। उनीहरुमाथि आश्रित लाखौं नेपालीहरुको जीवनस्तर परिवर्तन भएको छ।
जुनसुकै बाटोहुँदै अमेरिका पुगेको भएपनि त्यसको प्रत्यक्ष फाइदा मुलुकलाई भएको छ। त्यसैले म, डिभी परेर आएको नेपालीले मात्र होइन, देश बाहिर रहेका सारा नेपालीहरुले देशको चिन्ता गर्न पाउनुपर्छ।
देश खत्तम भयो, त्यसैले छोडेको हुँ भन्ने अभिब्यक्ति मलाई आधारहिन जस्तो लाग्छ। अवसर पाएका खण्डमा नेपाली मात्र होइन अमेरिकनहरु पनि इथियोपिया, सोमालियातिर पुगेकै छन्। टेक्नोलोजीको अद्भुत सफलताले संसार ‘ब्याकयार्ड' जस्तो भइसक्यो। त्यसैले जसले जहाँ अवसर पाउँछ त्यहाँ जान्छ, जानुपर्छ। तर, देश छाडेर बाहिर गएकै कारण देशप्रतिको चिन्ता ब्यक्त गर्न नपाउने हो भने मलाई माफ गर्नुहोला मित्रहरु म तपाइहरुसँग सहमत छैन!
डिभी भर्ने ८० रूपैयाँ गोजिमा थिएन 

- अमृत भण्डारी 

मैले २०६३ सालमा एसएलसी दिएको हुँ। फस्ट डिभिजनका लागि १ नं पुगेको थिएन। एक नम्वर बढी आएको भए फस्टडिभिजन भन्न पाइन्थ्यो। यो कुरा मेरा लागि मात्र होइन मेरो परिवारका लागि चिन्ताकै विषय बन्यो।
पद्मोदय पब्लीक नमुना उच्च माध्यामिक विद्यालय दाङवाट २०६५ मा प्लस टू सकाए त्यो पनि दोस्रो डिभिजनमा। २०६६ तिर काठमाडौं पढन भनेर आएको हुँ। पढाइभन्दा बढ्ता राजनीति गर्छन काठमाडौंका कलेजहरू। शंकरदेवमा भर्ना भए। कीर्तिपुरको पाँगामा डेरा थियो। महिनाको १६ सय तिनुपर्थ्यो। काठमाडौं बसाइमा जम्मा जम्मी ६ हजार लाग्थ्यो महिनाको। बाबाको सबै कमाई मलाईनै ठिक्क हुन थाल्यो। र, सँगै काठमाडौंको राजनीतिले पनि मलाई छोयो। स्नातकका पाँचवटा विषयमा २ वटामा फेल भए। बाबाले सोचेजस्तो मैले पढाइ राम्रो गर्न सकिनँ।
५ जना छोराछोरीलाई प्राविको शिक्षकको जागीरले कसरी धान्न सक्थ्यो। सल्यानवाट बाबा दाङ सर्नु भएको हो। त्यसैले दाङमा ३ कोठाको एक घर वाहेक अन्य कुनै सम्पत्ति छैन। श्रीलक्ष्मी प्राविका शिक्षक हुनुहुन्थ्यो बाबा। म बुझ्ने हुँदा बाबाको तलव ४ हजार थियो। सवैलाई मुखमा माड हाल्नै पर्‍यो। त्यसैले दिदीबहिनीलाई एसएलसीभन्दा बढी पढाउन सक्नुभएन।
घरका समस्या झन बढ्न थाल्यो। यस्तो अवस्था आएपछि मैले अब पढाइ छाडेर दाङतिरै ब्यापार गर्ने विचार गरे। त्यसका लागि मसँग पैसा पनि थिएन। बाबासँग पनि थिएन। सम्पत्तिको नाममा भएको एउटा घरलाई बैंकमा धितो राखेर पैसा जुटाउने निर्णय गरेँ। त्यो बेला मलाई कम्तीक झगडा गर्नु परेको थिएन आमा बाबा र दिदी बहीनीसँग।
उतिवेलाको वागेश्वरी विकास बैंकले ४ लाख दियो। १८ प्रतिशत ब्याजमा ४ वर्षभित्र सबै चुक्ता गर्न पर्ने कवुलनामा गरेँ। बाबाले मास्टरको जागीरबाट बनाएको घरलाई मैले बैंकमा बुझाएँ। र, तुलसीपुरमा कम्प्युटर इन्स्च्युट खोले।
सुरूमा इन्टिच्युट राम्रै चलेको थियो। तर, अत्याधिक लोडसेडिङका कारण ब्यापार धरासायि हुन थाल्यो। १६ देखि १८ घण्टासम्म विजुली नभएपछि जेनेरेटर चाहियो। अर्को खर्च।  नेपालमा हुँदा मैले बिसौ चोटी टाउको बजारेको छु, मर्न मात्र सकेको थिइन। ३ महिनाको २७ हजार बैकलाई बुझाउनु पर्थ्यो। महिना बित्न नपाउदै फोन आउथ्यो, बाबाको घर धितो राखेर बाबाकै तलबवाट बैंकको ऋण तिर्नुपर्दा मलाई कम्ति पिडा भएको थिएन। त्यो मलाई मात्र थाहा छ। एक त गरिब त्यसमाथि ऋण अब म डुबिसकेको थिएँ।
४ लाख ऋन गरेर सुरु गरेको ब्यापारले महिनाको ३ हजार पनि दिन नसकेपछि बोडिङ स्कुलमा कम्प्युटर सिकाउन थाले। ३ हजार महिनाको तलव थियो। यो कामबाट पनि पार पाउने देखिनँ। अब म सँग विदेश जानुको विकल्प थिएन।
कामको खोजीमा विदेश जाने तयारी गर्न थालेँ। मित्र जीतबहादुर मलेसियामा इलेक्ट्रोकिन कम्पनीमा काम गर्न गएका थिए। साथीले उतै आउन भन्दै थिए। पासपोर्ट बनाउने ध्याउन्नमा लागेँ। त्यसका लागि पनि उत्तिकै दुःख।
जन्मेको सल्यान, वसाइ सराइ दाङमा। नेपाली भएर पनि पासपोर्ट बनाउन जादा पाएको सास्ती झन विरक्त लाग्दो थियो। नागरिकता खल्तीमा बोँकेर हिड्दा पनि पासपोर्ट बनाउन बाजेको बिहे देखिन्छ।
कहिले काहि डिभि परेर अमेरीका पुगेको साथीले भन्थ्यो। डिभि पर्न सक्छ भर केटा। डिभिको अवसर पनि म छोडने अवस्थामा थिइन। तर, डिभि भर्नका लागि चाहिने ८० रुपैयासम्म खल्तीमा थिएन। त्यसैले फोनको क्यामरा प्रयोग गरेर डिभि भरेको हुँ।
सबैले डिभिको रिजल्ट आयो भन्थे, खै कतासम्म आइपुगेको थियो। मैले वास्ता गरीनँ। कारण थियो, मैले मोबाइलले खिचेको फोटोले डिभि भरेको थिएँ। डिभिको रिजल्ट मे महिनाको १ तारिकमा आएको थियो। तर, १३ दिनपछि मे १४ मा रिजल्ट हेरेँ बिस्वासै लागेन। दिदीको घर नजिकै थियो दौडिँदै त्यता गएँ भिनाजु त खुसी भए दाइले पत्याएन। यस्तो फेक थेरै आउँछ भन्यो। हिमाल एकेडेमी तुलसीपुरको प्रिन्सीपल मधुसुदन केसीले अग्रेजीलाई राम्ररी नेपालीमा उल्था गरिदिए मेरो खुसीको सीमा रहेन।
काठमाडौंमा पुगेर सवै कागजातको तयारी गरे। पैसा जुटाउन कम सास्ती भोग्न परेन। अमेरिका जान लागेको भनेपछि धेरैले पत्याए। भिसा लाग्यो। अब अमेरिका जाने टिकटको पैसा कसरी खोज्ने अर्को टन्टा थियो। कसैले नदेखेको बेला भगवानले देख्दो रैछन्। सोचेभन्दा एकलाख रूपैयाँ बढी नै जम्मा भयो अझै एकजना दाईले कति पुगेको छैन लिन लमही आइज भन्दै हुनुहुन्थ्यो। डिभीका लागि फोटो खिच्ने ८० रुपैयाँ नभएको मान्छे म। अमेरीका उडने वेलासम्म आठलाख जम्मा भयो।
कहिल्यै प्लेन नचढेको मान्छे। अमेरिका पुगुन्जेलसम्म मैले प्लेनभित्रको मेसो पाइन। सिङगापुर र रूसको मस्कोमा ट्रान्जिट थियो प्लेन चेन्ज कसरी गर्न सके अहिले अचम्म लाग्छ।
करिब ३५ घण्टाको उडानपछि जर्जवाश इन्टरनेसनल एरपोर्ट ह्युसटनमा अवतरण गरेँ गएको डिसेम्वरमा।
गाउँको स्कुलमा पुढेको हुँ म।  अग्रेजी मुस्कीलले पास गरेको हुँ। र, अमेरीका पुगेपछि मलाई अंग्रेजी बुझ्न वाहेक अन्य कुनै कुराको दुःख छ जस्तो लाग्दैन।
साथीको सहयोगले भारतीय ब्यापारीको ग्यास स्टेसनमा काम पाएको छु। महिनामा दुई हजार डलर तलब आउँछ। ७ सय जति खर्च हुन्छ। बाँकि बचाउँछु। मलाई लाग्छ अमेरिकामा छिरेका सबै नेपालीले कम्तीमा पनि महिनाको १५ सय बचाउँछन्, म जस्तै सानो तिनो काम गर्नेले।
सामान्य रजिष्टरसम्म चलाउन नजानेको मान्छे। अहिले धेरै कुरा सिकेको छु। नेपालमा हजार ठक्कर खाएको मान्छे, अमेरिकाको दुःख मलाई केहि पनि लागेको छैन। काम नगरेर बसेका नेपालीहरुका लागि मात्र दुःख हो अमेरीकामा।
मेरो ड्युटि ग्यास स्टेसनमामा रातिको १२ बजेबाट सुरुहुन्छ र बिहानको ७ बजे सकिन्छ, मेरो काम मलाई सजिलो लाग्छ। दिनमा काम गरेपनि रातमा काम गरेपनि मेरो कामले मलाई पाल्छ, मेरो गरिब परिवारको मुखमा विस्तारै खुसी बाड्न थालेको छु। त्यसैले मेरो काम मेरो भगवान हो।
म कामलाई सम्मान गर्छु। हामी नेपालीहरु काममा बिभेद राख्छौ। यो सानो काम मैले गर्न हुँदैन भन्छौं। यहाँ आएर कति नेपालीहरु डिप्रेसनको सिकार भए भन्ने कुरा समाचारहरुमा देख्छु, त्यसको कारण कामको सम्मान गर्न नसक्नु नै हो कि जस्तो लाग्छ।
जसले म नेपालमा हलानो र फलानो थिए भन्दै धाक र रवाफ देखाउँछन् उनीहरुलाइै नै डिप्रेसन हुने हो।
कामलाई सम्मान गरेर बाँच्नेहरुका लागि यो देश स्वर्ग हो जस्तो लाग्छ। जसले नेपालमा दुःख देखेको छैन त्यस्तालाई यहाँ टिक्न केहि महिनासम्म गारो नै होला।
अमेरिकामा फलेका हरिया डलर टिप्न आउनेहरु रूखको फेदमै बसेर डिप्रेसनको सिकार बन्छन् र कामको सम्मान गर्नेहरुले डलर टिप्छन्। सबैं नेपालीहरुले अमेरिकामा दुःख छ भनेको सुन्छु, तर, फर्केको कोहि देखेको छैन। सायदै सबै झुटो बोल्छन् क्यारे।
मिडियाहरुमा नराम्रा समाचार मात्रै आउँछन् राम्रा सामचारले स्थान पाउँदैनन्। समाजमा नराम्राभन्दा राम्रा कुरा नै बढि छन्। तर, मिडियामा नराम्रा कुरा मात्रै देखिने हुँदा सबै नराम्रो छकी जस्तो देखिन्छ।
नेपालमा गरेका सारा दुःख सम्झने हो भने अमेरीका मलाई स्वर्ग जस्तो लाग्यो। यहाँ नेपालमा जस्तो काममा गएर ठग्न पाइँदैन। काममा पुगेपछि काम नै गर्नुपर्छ। हामी नेपालीले ठगेरै काम गरेको बानी त्यसैले अमेरिकामा दिग्दारी लाग्दो हो शायद।
सेतोपाटीका लागि ज्योति देवकाटोले गरेको कुराकानीमा आधारित।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक