20150320

एउटा मायालु, इमान्दार भाई जसको ईमेल पत्रले भाबुक बनायो !

सायद टिभि हेर्न पाएको भए तपाँइलाई चिन्थेहोला । माफ गर्नु होला दाई मैले टिभि हेर्न पाइन ।
- अमृत भण्डारी 


 म सानो छदा सल्यानको एउटा गाँउमा हुर्के, म त्यहाँ हुदा सम्म टि.भि. त के बिजुलि पनि पुगेको थिएन । मैले गाँउ छोड्ने समय तिर करिब एकघण्टाको दुरीमा सोलरबाट चल्ने टिभि ल्याएका थिए एक घन्टा टिभि हेरेको दश रुपैया तिर्नु पर्थ्यो ।  पुराना पुराना फिलिमका सिडि ल्याएर सादा फिलिम देखाउथे मैले ५ रुपैया तिरेर दुइपटक जति आधा फिलिम हेरेको थिए । कक्षा आठ सम्म सल्यानमै अध्ययन गरि म कक्षा ९ पढ्न दाङ झरे भरतपुरमा डेरा गरेर बस्थे  । त्यतिवेला संकटकाल लाग्थ्यो रातिमा अरुको घरमा टिभि हेर्न जानेकुरा पनि मिलेन । साथिहरुले टेलि सिरियल र फिलिमका कहानिहरु स्कुलमा सुनाउथे,  हेर्न त मन नभएको होइन तर अरुको घरमा गएर टिभि हेर्न मलाई मन पर्दैन थ्यो । कहिले काँही ठूलाठूला घटना घटे भने समाचार हेर्न अफ्ट्यारो मानिमानि घरवेटिकोमा
जान्थे । यसरि नै कक्षा १० पास गरियो । दश कक्षा पास गरे लगत्तै मैले घोराही शहरका कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर सिकाउथे धेरै त जान्दैन थिए तर पनि जानेका कुरा सिकाउथे त्यसबापत मैले महिनाको १००० तलव पाउथे । नयाँकुरा आफै सिक्ने प्रयास गर्थे । त्यसैले मलाई टिभि भन्दा कम्प्युटरमा रहर थियो र त्यसैमा समय दिन थाले  त्यस पछि प्लसटु अध्ययन गर्ने क्रममा डेरा च्यान्ज गरियो त्यहाँ टिभि हेर्न सहज थियो संकटकाल पनि हटिसकेको थियो तर उनिहरु हिन्दि च्यानल हेर्न मनपराउथे त्यो म बुझ्दैन थिए । त्यसैले उनिहरुकोमा गएर टिभि हेर्न त्यति इनट्रेस्ट राखिन मैले । त्यसै समय ताका नेपाल टेलिकमले ए.डि.एस.एल सेवा सुरु गर्यो इन्टरनेट फास्ट चल्न थाल्यो । त्यो भन्दा पहिले डाएलअप मोडेम बाट ५६ केबिपिएसको इन्टरनेट १० वटा कम्प्युटरमा सेयर
गरिएको हुन्थ्यो चलाउनै मन लाग्दैन थियो । इन्टरनेट फास्ट भएपछि मैले गुगलको बारेमा थाहा पाँए र त्यसमा गएर खोज्न थाले म दिनभरि गुगलमै डुब्थे । गुगलमा सर्च गरेर नयाँ नयाँ सफट्वयरहरु सिक्थे । प्रयाक्टिस गर्ने समय मलाई पुग्दैन थियो । अनि आफ्नो पढाइ पनि । त्यसैले टिभि हेर्न पाइन । 

प्लसटु उत्तिर्ण गरिसके पछि म अध्ययनको लागि काठमाण्डौ पुगे कृतिपुरमा डेरा गरि बस्नथाले एउटा प्राथामिक बिद्यालयको शिक्षकको छोरोले काठमाण्डौमा टिभि किनेर डेरामा राख्ने कुरा अति असम्भव थियो र काठमाण्डौंमा डेरा गरि बस्ने विद्यार्थि केहि भाग्यमानिले मात्र पाउछन् घरबेटिको रुममा छिरेर टिभि हेर्न अवसर तर मलाई त्यो अवसर पनि मिलेन । तर पनि मेरो कम्प्युटरमा इन्ट्रेस्ट भएको हुदा न्युरोडबाट सेकेन्डहेन्ड मनिटर किनेर कम्प्युटरका पार्ट पुर्जालाई भुइमा जोडेर सुतेर चलाउन मिल्ने कम्प्युटर तयार पारेको थिए । त्यसलाई टेबुलमा जोडेको भए बसेर पनि चलाउन त मिल्थ्यो तर मलाई टेबुल र कुर्सि मा लगानि गर्नु भन्दा त्यहि कम्प्युटरकै पार्टहरु थपेर एड्भान्स बनाउन मन भएको हुदा टेबुल र कुर्सिमा लगानि गरिन । यसरिनै टिभि पनि जोडेर बनाउन सक्ने भए त्यो पनि बनाउथे होला । टिभिमा सिनेमा र नाटकहरु हेर्ने रहर मलाई पनि थियो साथिहरुले कुनकुन गेमको कुरा गर्थे म यसको फ्यान यसले जित्छ । यो मुभि राम्रो रैछ भन्थे । साथिहरुले टेलि सिरियलमा भनिने कलाकारका थेगो प्रयोग गरेर बोल्थे । हिरो हिरोनीका कुरा गर्थे मलाई यो फिलिममा यो कलाकारकोे रोल मनपर्यो यो सिरियल मा यस्ते भयो भन्थे । आफू भने यस बिषयमा अनभिज्ञ नै रहन्थे । अझै पनि म केही कलाकारहरुलाई मात्र नामबाट चिन्छु त्यहि पनि प्रत्यक्ष देखे भने चिन्दिन होला । 

तर पनि मैले आफूसंग भएको सुतेर चलाउने कम्प्युटरलाई प्रयोग गरेर त्यसमा धेरै प्रगति गरिसकेको थिए काठमाण्डौंको अध्ययन पश्चात मैले दाङको तुलसिपुरमा आएर कान्तिपुर कम्प्युटर एण्ड ट्रेनिङ सेन्टर नामको इन्स्टिच्युट सञ्चालनमा ल्याए । देशमा लोडसेडिङ यति चरम चुलिमा पुग्यो कि मैले अलिकति पनि बिद्युत पाँए भने कम्प्युटरकै मा गर्थे । कतिवेला टिभि हेर्नु । तर पनि प्रयाश नगरेको भने होइन दिदिको घर नजिकै थियो त्यहाँ गएर टिभि हेर्न खोज्दा रिमोट भान्जा भान्जिको हातमा हुन्थ्यो । उनिहरुले हेर्ने च्यानल र मैले हेर्न चाहने च्यालन मिल्दैन थियो त्यसैले टिभि हेर्न पाइन । 
आज म अमेरिकामा साथिको अपार्टमेन्टमा रुम सेयर गरेर बसेको छु । यहाँ पनि मैले टिभि हेर्न पाएको छैन । म यहाँ आउनु भन्दा अगाडि साथिले टिभि किनेको रहेछ । उ पनि मजस्तै शिक्षकको छोरो टिभि हेर्न नपाएकै मान्छे हो । उसले यहाँ आए पछि ठूलै टिभि किनेछ, ठूलो मात्र होइन चस्मा लगाएर हेर्ने थ्रिडिनै किनेको थियो रे पछि महिना महिनामा तिर्नु पर्ने किस्ता बुझाउन हैरान भए पछि त्यो फिर्ता गरेछ अब उसले टिभि नकिन्ने भन्छ । म एउटाको इच्छाले मात्र पनि नपुग्ने संगै बसे पछि । एउटा एप्पलको ल्यापटप छ साथिको यसैमा युट्युबमा गएर टिभिका केहि कार्यक्रम कहिले काँहि समय मिलेमा हेरिन्छ । 

यति गति गफ लगाउनुको  कारण केहो भने हिजो मेरो मोबाइलमा नयाँ नंवरबाट फोन आयो र भन्दै हुनुहुन्थ्यो मैले तिम्रो लेख सेतोपाटिमा पढे सारै मन पर्यो त्यसैले मेरो व्लगमा पनि राखेको छु । भन्दै हुनुहुन्थ्यो “मलाइ चिन्यौ, मेरो नाम राम प्रशाद खनाल कहिलै टिभि हेर्ने गरेको थियौ,  ?” यति माया गरेर फोन गरिसके पछि चिन्दिन पनि भन्न सकिन । अअ नाम सुनिराखेको जस्तो लाग्यो भने हुन त म आधा निद्रामै कुरा गरिरहेको थिए ।  उहाले म नेपाल टेलिभिजनमा मा थिएँ पहिला । लोकदोहरी कार्यक्रम कार्यक्रम हेर्थ्यौ ? भन्नु भयो । रातभरि कामगरेर थोकेको ले दिउसोको निद्रा प्रेमिकाको माया भन्दा कम थिएन  । त्यै पनि उठेर युट्युवमा सर्च गरेर उहाँका केहि दोहरी गितहरु भेट्टाए । अनि बिस्वसलाग्यो हो रहेछ । सायद टिभि हेर्न पाएको भए तपाँइलाई चिन्थेहोला । माफ गर्नु होला दाई मैले टिभि हेर्न पाइन । 

अमृत भण्डारी 
पासाडेना, टेक्सास
डिभी भर्ने ८० रूपैयाँ गोजिमा थिएन 

- अमृत भण्डारी 

 
मैले २०६३ सालमा एसएलसी दिएको हुँ। फस्ट डिभिजनका लागि १ नं पुगेको थिएन। एक नम्वर बढी आएको भए फस्टडिभिजन भन्न पाइन्थ्यो। यो कुरा मेरा लागि मात्र होइन मेरो परिवारका लागि चिन्ताकै विषय बन्यो।
पद्मोदय पब्लीक नमुना उच्च माध्यामिक विद्यालय दाङवाट २०६५ मा प्लस टू सकाए त्यो पनि दोस्रो डिभिजनमा। २०६६ तिर काठमाडौं पढन भनेर आएको हुँ। पढाइभन्दा बढ्ता राजनीति गर्छन काठमाडौंका कलेजहरू। शंकरदेवमा भर्ना भए। कीर्तिपुरको पाँगामा डेरा थियो। महिनाको १६ सय तिनुपर्थ्यो। काठमाडौं बसाइमा जम्मा जम्मी ६ हजार लाग्थ्यो महिनाको। बाबाको सबै कमाई मलाईनै ठिक्क हुन थाल्यो। र, सँगै काठमाडौंको राजनीतिले पनि मलाई छोयो। स्नातकका पाँचवटा विषयमा २ वटामा फेल भए। बाबाले सोचेजस्तो मैले पढाइ राम्रो गर्न सकिनँ।
५ जना छोराछोरीलाई प्राविको शिक्षकको जागीरले कसरी धान्न सक्थ्यो। सल्यानवाट बाबा दाङ सर्नु भएको हो। त्यसैले दाङमा ३ कोठाको एक घर वाहेक अन्य कुनै सम्पत्ति छैन। श्रीलक्ष्मी प्राविका शिक्षक हुनुहुन्थ्यो बाबा। म बुझ्ने हुँदा बाबाको तलव ४ हजार थियो। सवैलाई मुखमा माड हाल्नै पर्‍यो। त्यसैले दिदीबहिनीलाई एसएलसीभन्दा बढी पढाउन सक्नुभएन।
घरका समस्या झन बढ्न थाल्यो। यस्तो अवस्था आएपछि मैले अब पढाइ छाडेर दाङतिरै ब्यापार गर्ने विचार गरे। त्यसका लागि मसँग पैसा पनि थिएन। बाबासँग पनि थिएन। सम्पत्तिको नाममा भएको एउटा घरलाई बैंकमा धितो राखेर पैसा जुटाउने निर्णय गरेँ। त्यो बेला मलाई कम्तीक झगडा गर्नु परेको थिएन आमा बाबा र दिदी बहीनीसँग।
उतिवेलाको वागेश्वरी विकास बैंकले ४ लाख दियो। १८ प्रतिशत ब्याजमा ४ वर्षभित्र सबै चुक्ता गर्न पर्ने कवुलनामा गरेँ। बाबाले मास्टरको जागीरबाट बनाएको घरलाई मैले बैंकमा बुझाएँ। र, तुलसीपुरमा कम्प्युटर इन्स्च्युट खोले।
सुरूमा इन्टिच्युट राम्रै चलेको थियो। तर, अत्याधिक लोडसेडिङका कारण ब्यापार धरासायि हुन थाल्यो। १६ देखि १८ घण्टासम्म विजुली नभएपछि जेनेरेटर चाहियो। अर्को खर्च।  नेपालमा हुँदा मैले बिसौ चोटी टाउको बजारेको छु, मर्न मात्र सकेको थिइन। ३ महिनाको २७ हजार बैकलाई बुझाउनु पर्थ्यो। महिना बित्न नपाउदै फोन आउथ्यो, बाबाको घर धितो राखेर बाबाकै तलबवाट बैंकको ऋण तिर्नुपर्दा मलाई कम्ति पिडा भएको थिएन। त्यो मलाई मात्र थाहा छ। एक त गरिब त्यसमाथि ऋण अब म डुबिसकेको थिएँ।
४ लाख ऋन गरेर सुरु गरेको ब्यापारले महिनाको ३ हजार पनि दिन नसकेपछि बोडिङ स्कुलमा कम्प्युटर सिकाउन थाले। ३ हजार महिनाको तलव थियो। यो कामबाट पनि पार पाउने देखिनँ। अब म सँग विदेश जानुको विकल्प थिएन।
कामको खोजीमा विदेश जाने तयारी गर्न थालेँ। मित्र जीतबहादुर मलेसियामा इलेक्ट्रोकिन कम्पनीमा काम गर्न गएका थिए। साथीले उतै आउन भन्दै थिए। पासपोर्ट बनाउने ध्याउन्नमा लागेँ। त्यसका लागि पनि उत्तिकै दुःख।
जन्मेको सल्यान, वसाइ सराइ दाङमा। नेपाली भएर पनि पासपोर्ट बनाउन जादा पाएको सास्ती झन विरक्त लाग्दो थियो। नागरिकता खल्तीमा बोँकेर हिड्दा पनि पासपोर्ट बनाउन बाजेको बिहे देखिन्छ।
कहिले काहि डिभि परेर अमेरीका पुगेको साथीले भन्थ्यो। डिभि पर्न सक्छ भर केटा। डिभिको अवसर पनि म छोडने अवस्थामा थिइन। तर, डिभि भर्नका लागि चाहिने ८० रुपैयासम्म खल्तीमा थिएन। त्यसैले फोनको क्यामरा प्रयोग गरेर डिभि भरेको हुँ।
सबैले डिभिको रिजल्ट आयो भन्थे, खै कतासम्म आइपुगेको थियो। मैले वास्ता गरीनँ। कारण थियो, मैले मोबाइलले खिचेको फोटोले डिभि भरेको थिएँ। डिभिको रिजल्ट मे महिनाको १ तारिकमा आएको थियो। तर, १३ दिनपछि मे १४ मा रिजल्ट हेरेँ बिस्वासै लागेन। दिदीको घर नजिकै थियो दौडिँदै त्यता गएँ भिनाजु त खुसी भए दाइले पत्याएन। यस्तो फेक थेरै आउँछ भन्यो। हिमाल एकेडेमी तुलसीपुरको प्रिन्सीपल मधुसुदन केसीले अग्रेजीलाई राम्ररी नेपालीमा उल्था गरिदिए मेरो खुसीको सीमा रहेन।
काठमाडौंमा पुगेर सवै कागजातको तयारी गरे। पैसा जुटाउन कम सास्ती भोग्न परेन। अमेरिका जान लागेको भनेपछि धेरैले पत्याए। भिसा लाग्यो। अब अमेरिका जाने टिकटको पैसा कसरी खोज्ने अर्को टन्टा थियो। कसैले नदेखेको बेला भगवानले देख्दो रैछन्। सोचेभन्दा एकलाख रूपैयाँ बढी नै जम्मा भयो अझै एकजना दाईले कति पुगेको छैन लिन लमही आइज भन्दै हुनुहुन्थ्यो। डिभीका लागि फोटो खिच्ने ८० रुपैयाँ नभएको मान्छे म। अमेरीका उडने वेलासम्म आठलाख जम्मा भयो।
कहिल्यै प्लेन नचढेको मान्छे। अमेरिका पुगुन्जेलसम्म मैले प्लेनभित्रको मेसो पाइन। सिङगापुर र रूसको मस्कोमा ट्रान्जिट थियो प्लेन चेन्ज कसरी गर्न सके अहिले अचम्म लाग्छ।
करिब ३५ घण्टाको उडानपछि जर्जवाश इन्टरनेसनल एरपोर्ट ह्युसटनमा अवतरण गरेँ गएको डिसेम्वरमा।
गाउँको स्कुलमा पुढेको हुँ म।  अग्रेजी मुस्कीलले पास गरेको हुँ। र, अमेरीका पुगेपछि मलाई अंग्रेजी बुझ्न वाहेक अन्य कुनै कुराको दुःख छ जस्तो लाग्दैन।
साथीको सहयोगले भारतीय ब्यापारीको ग्यास स्टेसनमा काम पाएको छु। महिनामा दुई हजार डलर तलब आउँछ। ७ सय जति खर्च हुन्छ। बाँकि बचाउँछु। मलाई लाग्छ अमेरिकामा छिरेका सबै नेपालीले कम्तीमा पनि महिनाको १५ सय बचाउँछन्, म जस्तै सानो तिनो काम गर्नेले।
सामान्य रजिष्टरसम्म चलाउन नजानेको मान्छे। अहिले धेरै कुरा सिकेको छु। नेपालमा हजार ठक्कर खाएको मान्छे, अमेरिकाको दुःख मलाई केहि पनि लागेको छैन। काम नगरेर बसेका नेपालीहरुका लागि मात्र दुःख हो अमेरीकामा।
मेरो ड्युटि ग्यास स्टेसनमामा रातिको १२ बजेबाट सुरुहुन्छ र बिहानको ७ बजे सकिन्छ, मेरो काम मलाई सजिलो लाग्छ। दिनमा काम गरेपनि रातमा काम गरेपनि मेरो कामले मलाई पाल्छ, मेरो गरिब परिवारको मुखमा विस्तारै खुसी बाड्न थालेको छु। त्यसैले मेरो काम मेरो भगवान हो।
म कामलाई सम्मान गर्छु। हामी नेपालीहरु काममा बिभेद राख्छौ। यो सानो काम मैले गर्न हुँदैन भन्छौं। यहाँ आएर कति नेपालीहरु डिप्रेसनको सिकार भए भन्ने कुरा समाचारहरुमा देख्छु, त्यसको कारण कामको सम्मान गर्न नसक्नु नै हो कि जस्तो लाग्छ।
जसले म नेपालमा हलानो र फलानो थिए भन्दै धाक र रवाफ देखाउँछन् उनीहरुलाइै नै डिप्रेसन हुने हो।
कामलाई सम्मान गरेर बाँच्नेहरुका लागि यो देश स्वर्ग हो जस्तो लाग्छ। जसले नेपालमा दुःख देखेको छैन त्यस्तालाई यहाँ टिक्न केहि महिनासम्म गारो नै होला।
अमेरिकामा फलेका हरिया डलर टिप्न आउनेहरु रूखको फेदमै बसेर डिप्रेसनको सिकार बन्छन् र कामको सम्मान गर्नेहरुले डलर टिप्छन्। सबैं नेपालीहरुले अमेरिकामा दुःख छ भनेको सुन्छु, तर, फर्केको कोहि देखेको छैन। सायदै सबै झुटो बोल्छन् क्यारे।
मिडियाहरुमा नराम्रा समाचार मात्रै आउँछन् राम्रा सामचारले स्थान पाउँदैनन्। समाजमा नराम्राभन्दा राम्रा कुरा नै बढि छन्। तर, मिडियामा नराम्रा कुरा मात्रै देखिने हुँदा सबै नराम्रो छकी जस्तो देखिन्छ।
नेपालमा गरेका सारा दुःख सम्झने हो भने अमेरीका मलाई स्वर्ग जस्तो लाग्यो। यहाँ नेपालमा जस्तो काममा गएर ठग्न पाइँदैन। काममा पुगेपछि काम नै गर्नुपर्छ। हामी नेपालीले ठगेरै काम गरेको बानी त्यसैले अमेरिकामा दिग्दारी लाग्दो हो शायद।
सेतोपाटीका लागि ज्योति देवकाटोले गरेको कुराकानीमा आधारित।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक