20150726

२४ वर्षमा देशले २१ वटा सरकार पायो, एउटा प्रधानमन्त्री छान्न संसद्मा १७ पटकसम्म चुनाव पनि भयो र पनि कुनै प्रधानमन्त्रीले पाँच वर्ष सरकार चलाउन सकेनन् !!!

संसदमा बहुमतप्राप्त दलको नेता प्रधानमन्त्री चुन्ने व्यवस्था अँगालेको पछिल्ला २४ वर्षमा देशले २१ वटा सरकार पायो । एउटा प्रधानमन्त्री छान्न संसद्मा १७ पटकसम्म चुनाव पनि भयो । र, पनि कुनै प्रधानमन्त्रीले पाँच वर्ष सरकार चलाउन सकेनन् । दुई सय ४० वर्षदेखिको निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्न ०४६ मा जुन उमंगका साथ जनता सडकमा उत्रिएका थिए र नयाँ व्यवस्थाप्रति जति आशा गरेका थिए, प्रजातन्त्र प्राप्तिपछिका वर्षहरूमा त्यत्ति नै निराश बने । दलहरू सत्ताको फोहोरी खेलमा लिप्त भए । जनताले स्थिर सरकार कस्तो हुन्छ भन्ने बुझ्न र जान्नसमेत पाएनन् । यस अवधिमा दलहरू सरकार बनाउने र ढाल्ने खेलमा यति निर्लज्ज र पार्टी अनुशासनविरुद्ध गएर लागे कि आफ्नै नेतृत्वको सरकारका विपक्षमा मत हाल्ने, पैसामा सांसद खरिद–बिक्री गर्ने, होटेलमा जम्मा भएर ब्लु फिल्म हेर्नेदेखि प्रधानमन्त्री छान्ने वेला विदेश घुम्नेसम्मका काम गरे । संसदमा आठ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)का लोकेन्द्रबहादुर चन्द र ११ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापाले पालैपालो ८८ सिट भएको एमाले र ८३ सिटको कांग्रेसको बुई चढेर प्रधानमन्त्री बन्दै देश चलाए । जनताले विश्वास गरेर राम्रो मतका साथ सिंहदरबार पठाएका कांग्रेस र एमाले सत्ता लुछाचुडीकै खेलमा लागेर विभाजित बने । राप्रपा र नेपाल सद्भावना पार्टीजस्ता साना दल पनि टुक्रिए । ०५१ को आमनिर्वाचनमा ८८
सिटसहित ठूलो दल बनेको एमाले ०५४ मा विभाजित भयो र वामदेव गौतमको नेतृत्वमा नेकपा ९माले० गठन भयो । गौतमले ४० सभासद् आफूसँग लगे ।

२० सिट रहेको राप्रपा पनि थापा र चन्दको नेतृत्वमा विभाजित भयो । यस अवधिमा सरकार लम्ब्याउनकै लागि जम्बो मन्त्रिपरिषद् पनि गठन गरिए । ०५२ को पुसमा प्रधानमन्त्री हुँदा कांग्रेस नेता देउवाले ६ पटक पुनर्गठन गर्दै मन्त्रिपरिषद् ४८ सदस्यीय बनाए । त्यसपछिका सरकारहरूले पनि त्यसलाई निरन्तरता दिन थाले । ०५४ मा सूर्यबहादुर थापाले ४७ सदस्यीय मन्त्रिपरिषद् बनाए । गिरिजाप्रसादले ३७ र कृष्णप्रसाद भट्टराईले ३२ सदस्यीय बनाए । गणतन्त्र आएपछिको सरकारको नेतृत्व गरेका माधव नेपाल र बाबुराम भट्टराईले समेत जम्बो मन्त्रिपरिषद् गठन गरे ।

स्पष्ट बहुमतसहित ०४८ मा सरकारमा पुगेको कांग्रेसको सरकार आफ्नै सांसदका कारण ढल्यो । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्बाट पारित हुन सकेन । कांग्रेसका एक सय १० सांसद थिए, तर सरकारको नीति तथा कार्यक्रमको पक्षमा ७४ मत मात्रै आयो ।

र, कोइरालाले राजीनामा दिँदै संसद् विघटन गरेर आमनिर्वाचन गर्न राजासमक्ष सिफारिस गरे । २९ कात्तिक ०५१ मा भएको निर्वाचनपछि कांग्रेस दोस्रो दलमा खुम्चियो, एमाले ८८ सिटसहित पहिलो दल बन्यो । र, मनमोहन अधिकारीको नेतृत्वमा एमालेले नौ महिना अल्पमतको सरकार पनि चलायो ।

२५ भदौ ०५२ मा राप्रपा र सद्भावना पार्टीसँग मिलेर कांग्रेसले अविश्वासको प्रस्ताव ल्याएर एमालेको सरकार ढाल्यो । र, एक सय ६ सांसदको समर्थनसहित कांग्रेसका तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्री बने । त्यसपछि सत्तासमीकरणका लागि फोहोरी खेल सुरु भए । ०६२र६३ को आन्दोलन सफल हुन्जेलसम्म ११ वटा सरकार फेरिए ।

दलहरू पनि यही अवधिमा विभाजित बने । एउटा दलले अर्कोलाई पछार्ने अभियान नै थाले । शेरबहादुरपछि एमालेको सहयोगमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने ।

त्यसपछि कांग्रेसकै समर्थनमा ११ सिट भएका सूर्यबहादुर थापा प्रधानमन्त्री बनेर देश चलाए । सत्ता राजनीतिमा चतुर खेलाडी मानिने कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले ६ महिनामै थापालाई पछारे र ३० चैत ०५४ मा आफैँ प्रधानमन्त्री बने । एमाले फुटेर बनेको मालेको आन्तरिक सहयोग पाएका कोइरालाले भित्रभित्रै एमालेसँग पनि कुरा चलाइरहेका थिए ।

मालेले असहयोग गर्दा ६ पुस ०५५ मा संसद्मा विश्वासको मत गुमाएपछि राजीनामा दिएका उनले २४ घन्टाभित्रै एमालेको समर्थनमा सरकार गठन गरे र फेरि प्रधानमन्त्री बने । १ माघ ०५५ मा कोइरालाले राजीनामा मात्रै गरेनन्, संसद् विघटन गरेर चुनावको घोषणा पनि गरे । ०५६ को आमनिर्वाचनमा पनि कांग्रेसले एक सय ११ सिटसहित स्पष्ट बहुमत पायो ।

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । तर, १० महिना नबित्दै उनकै पार्टीका गिरिजाप्रसादले राजीनामा दिन बाध्य बनाए । ७ चैत ०५६ मा कोइराला नयाँ प्रधानमन्त्री बने । तत्कालीन विद्रोही माओवादीविरुद्ध होलेरीमा सेना परिचालन गर्नेबारे भएको विवादपछि उनले ४ साउन ०५८ मा राजीनामा दिए । र, कांग्रेसकै शेरबहादुर देउवा प्रधानमन्त्री बने ।

सशस्त्र युद्धरत माओवादीविरुद्ध देउवा सरकार आक्रामक बन्यो । संकटकाल लगाएर सेना परिचालन पनि गर्योव । संकटकालको अवधि बढाउने विषयमा कांग्रेसले नै साथ नदिएपछि उनले पार्टी मात्रै विभाजन गरेनन्, संसद् विघटन गरेर चुनावसमेत घोषणा गरे । तर, चुनाव गर्न सकेनन् ।

चुनाव गराउन नसकेको भन्दै तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई असक्षम ठहर्याउँदै २५ असोज ०५९ मा राप्रापा नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरे । त्यसलगत्तै सूर्यबहादुर थापा प्रधानमन्त्री बने । फेरि देउवा प्रधानमन्त्री बनाइए । १९ माघ ०६१ मा त राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नै हातमा लिए ।

०६२/६३ को जनआन्दोलनपछि संसद् पुनस्र्थापना भयो । र, १७ वैशाख ०६३ मा गिरिजाप्रसाद प्रधानमन्त्री भए । अन्तरिम संविधान जारी भयो, युद्धरत माओवादी पनि सिंहदरबार छिर्यो । ०६४ चैतमा संविधानसभाको चुनाव भयो । माओवादी ठूलो दल बन्यो ।

२ भदौ ०६५ मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । देश गणतन्त्रमा पुग्यो, तर दलहरूको सरकार ढाल्ने र बनाउने बानी फेरिएन । संविधानसभाको तेस्रो ठूलो दलले दुईपटक सरकार चलाउने अवसर पायो ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता झलनाथ खनाललाई छाडेर एमालेले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनायो । दोस्रोपटक पार्टीलाई छलेर एमाओवादीसित सहमति गर्दै खनाल प्रधानमन्त्री भए । उनीपछि एमाओवादीका बाबुराम भट्टराई प्रधानमन्त्री बने ।

संविधानसभाको म्याद सकियो । भट्टराईले दोस्रो संविधानसभा चुनावको घोषणा गरे । तर, कांग्रेस, एमालेले त्यसको विरोध गरे । अन्ततस् प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वको चुनावी सरकार गठन गर्न दलहरू तयार भए ।

र, ३० फागुन ०६९ मा रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष बने । संविधानसभाको दोस्रो चुनावपछि कांग्रेस ठूलो दल बन्यो । र, २७ माघ ०७० मा सुशील कोइराला नयाँ प्रधानमन्त्री बने ।

उनले अहिलेसम्म सरकार चलाइरहेका छन् । तर, कतिवेला परिवर्तन हुन्छ भन्न सकिन्न । किनभने दोस्रो र तेस्रो ठूलो दल एमाले र एमाओवादी त्यसको तयारीमा लागेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक