(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150815

साइबर सुरक्षाको दृष्टिमा हेर्दा नेपाल उच्च जोखिममा छ

– डा. रामहरि सुबेदी

28436_436872870999_6306885_nनेपालबाट अमेरिका कोही किन आउँछ ? उत्तर सजिलो छ—कि पढ्न कि पैसा कमाउन । पढ्न भनेर आउनेहरु पनि थोरैले मात्रै पढाइलाई निरन्तरता दिन्छन् । धेरैजसो भने पैसा कमाउने ध्याउन्नमा लाग्छन् । चितवनको गुञ्जनगरबाट सपना
को ढाकर बोकेर अमेरिका आउँदा रामहरि सुवेदीसँग दुइटै सपना थिए । उनी पढ्न पनि चाहन्थे र उन्नत जीवनस्तर जिउन पैसा कमाउने स्वभाविक इच्छा पनि थियो । सुवेदीले ती दुवै सपनालाई साकार पनि गरेका छन् । एउटा सुखी र सन्तोषी जिन्दगी बाँच्न मिल्ने हैसियत स्थापित गरिसकेका छन् । त्योभन्दा गर्विलो कुरा उनको पढाइले एउटा शिखर चुमेको छ । हालैमात्रै उनले साइबर सेक्युरिटी सम्बन्धमा नर्थ सेन्ट्रल विश्वविद्यालय एरिजोनाबाट विद्यावारिधि गरेका छन् ।
अमेरिकी अन्तरिक्ष संस्था नासामा २००७ देखि लगायत ८ वर्ष सुवेदीले काम गरे । यता विद्यावारिधि सकिनै लाग्दा नासातिरका गर्दै आएको साइबरसम्बन्धी कामबाट भने विदा लिएका थिए । त्यसो त साइबर दुनियाँमा उनको चाख र चासो आजभन्दा ८ वर्षअघि सार्वजनिक रुपमै प्रकट भएको हो । सन् २००६ मै उनले डिसीनेपाल डट कम अनलाइन सुरु गरेका थिए । उनले त्यो अनलाइन सुरु गर्दा नेपालमा कान्तिपुर र नेपालन्युज डट कम मात्रै समाचार केन्द्रित अनलाइन थिए । नेपालभित्रका भन्दा पनि ग्लोबल नेपालीलाई जोड्ने गरी भने डिसीनेपाल डट कम नै सुरुवाती पाइला थियो । कम्प्युटर र सूचना प्रविधिको यो युगमा यसैमा समर्पित रहेर अघि बढिरहेका रामहरि सुवेदीसँग उनको विद्यावारिधि शोध विषय ‘नेपालको साइबर सुरक्षा’ सहितका सम्बन्धमा केन्द्रित रहेर नेपालय पाक्षिकका लागि केशव लामिछानेले गरेको कुराकानी ::
—अमेरिका कहिले आउनुभयो ?
—सन् १९९३ मा ।
—किन आउनुभएको थियो ?
—पढ्ने उद्देश्य थियो । पढ्ने र पैसा कमाउने पनि उद्देश्य भनौं ।
—डिसीनेपाल डट कम कुन उद्देश्यले सुरु गर्नुभएको थियो ?
—त्यो बेला अनलाइनहरु टेक्सबेस थिए । अक्षरहरु हुन्थे तर, फोटो र भिडियोहरु हुँदैनथ्यो । वेबसाइटमा पनि फोटो र भिडियोहरु हेर्न पाइयोस् भन्ने उद्देश्यले डिसीनेपाल डट कम सुरु गरेको थिएँ । हामी नै टेक्सबाहेक फोटो र भिडियो राख्ने पहिलो नेपाली अनलाइन हौं ।
——कति गाह्रो भयो काम गर्न ? कस्ता चुनौती फेस गर्नुभयो ?
—धेरै नै गाह्रो भयो नि । प्रचण्डको पहिलो अन्तर्वार्ताको भिडियो हामीलाई राख्न कम्तीमा ५ दिन लागेको छ । नेपालबाट FTP बाट पठाउँदा एक दिनभरिमा पनि भ्याइएन । ४ दिन लाग्यो ।
—ऊ बेला अडियन्स पाइन्थे त ?
—त्यो बेला गजब थियो नि । अहिलेजस्तो धेरै अनलाइन थिएनन् । त्यो बेला संसारको विभिन्न ठाउँबाट नेपालीहरुले आफ्ना कार्यक्रमका फोटो र भिडियोहरु पठाउनुहुन्थ्यो ।
—अहिले डिसीनेपाल डट कमको पोजिसन कस्तो छ ?
अहिले त धेरै वेबसाइटहरु छन् । फेसबुक छ । पर्सनल वेबसाइटहरु नै थुप्रै भइसके । तर, पनि विदेशमा बस्ने नेपालीहरु डिसीनेपाल डट कमलाई अत्यधिक माया गर्नुहुन्छ । वैशाखमा भूकम्प गएपछि विदेशमा बस्ने ९९ प्रतिशतजस्तो नेपालीले डिसीनेपालमार्फत नै सहयोग सार्वजनिक गर्नुभयो । त्यो कुराले म साह्रै प्रभावित भएँ । अहिले पनि सबैभन्दा धेरै अडियन्स इन्ट्रयाक्सन हुने नेपाली वेबसाइट हाम्रो नै हो । अडियन्स इन्गेज हुनेमा हामी नेपाली चल्तीका वेबसाइटहरुको तुलनामा ३÷४ गुणाले अगाडि छौं । हाम्रोमा जति अडियन्स इन्गेज अरुमा हुँदैनन् ।
—प्रसंग तपाईंको विद्यावारिधि शोधतिर मोडौं । तपाईंको पिएचडी रिसर्चले नेपालको साइबर सुरक्षा कस्तो देखायो ? नेपालमा साइबर सेक्युरिटी कस्तो पाउनुभयो ?
—एक त हामी पोलिटिकल्ली अनस्टाबिलिटीमा छौं । कम्प्युटर सेक्युरिटीलाई प्राथमिकताका साथ हेरेका छैनौं । पुरानो पुस्ता जुन कर्मचारीतन्त्रमा छ, ऊ कम्प्युटरबारे खास जानकार छैन । त्यो पुस्ता सिक्न पनि चाहन्न । कम्प्युटर धेरै नेपालीको पहुँचमा छैन । इन्टरनेट पहुँचको पनि अभाव छ । हामी विद्युतीय सामानहरु जुन प्रयोग गर्छाैं, ती प्राय असुरक्षित छन् । सक्कली हार्डवेयर र सफ्टवेयरको प्रयोग गर्ने चलन नेपालमा चलिसकेको छैन ।
मैले आइटी प्रोफेसनलहरुसँग कुराकानी गरें । सरकारी अधिकारीहरुसँग कुरा गरें । साइबर क्राइम हेर्ने प्रहरी अधिकारीहरुसँग कुरा गरें ।
२०६३ को विद्युतीय कारोबार ऐन पनि पूर्ण नभएको पाएँ । हामी नेपालीहरु धेरैलाई पासवर्ड कसरी सुरक्षित राख्ने, आफ्नो गोपनियता कसरी राख्ने भन्नेदेखि धेरै कुरा थाहा छैन । कुनै पनि अफिसमा कम्प्युटर सेक्युरिटी छैन ।
हामी भौतिक संरचनालाई डिजिटलमा जानुपर्ने हो । हार्डपेपरबाट इपेपरमा जानुपर्छ अब । इपेपरमा जाँदा सेक्युर हुनुपर्छ । त्यतापट्टि ध्यान पुगेको छैन । दक्ष जनशक्ति छैन । सरकारी कार्यालयका वेबसाइटहरु पटकपटक ह्याक हुन्छन् नेपालमा, त्यो सेक्युरिटी नभएरै हो । कहाँसम्म भने राष्ट्रपति कार्यालयको वेबसाइट पटकपटक ह्याक भएको छ । बैंकिङ क्षेत्रमा अरुमा भन्दा केही बढी सुरक्षा अपनाएको पाएँ । तर त्यहाँ पनि कम जोखिम छैन । विन्डोज एक्सपी प्रयोग गरिँदो रैछ बैंकहरुमा पनि । त्यो त्यति सुरक्षित अपरेटिङ सिस्टम होइन ।
——तपाईंले भनेजस्तो असुरक्षित अवस्थाले भोलि कुनखालको दुर्घटना ल्याउला ?
—नेपाल आतंकवादीले उपयोग गर्न सक्छन् । नेपालको कमजोर साइबर सुरक्षाको फाइदा आतंकवादीले उठाउन सक्छन् । आतंकवादीबाट जोखिम छ । अर्काे कुरा हामीले हाम्रा कुरा डिजिटलाइजेसन गरेनौं भने विकासमा धेरै पछाडि पर्छाैं । हामीसँग सर्भर छैन अहिलेसम्म । नेपालमा अहिलेसम्म डेटा सेन्टर छैन । होस्ट गर्न प¥यो भने नेपालीहरु अमेरिका, सिंगापुर र हङकङको भर पर्छाैं । हाम्रो देशको कुरा गर्दा हामी साइबर सुरक्षाको दृष्टिमा हेर्दा उच्च जोखिममा छौं ।
हामी कम्प्युटर किन्छौं तर, कसरी प्रयोग गर्ने भनेर ध्यान दिदैनौं । यो एक किलो स्याउ किनेर खाएजस्तो होइन । जसरी गाडी किनेरमात्रै हुँदैन, दुर्घटना नगरी चलाउन जान्ने हुनुपर्छ । त्यसरी नै कम्प्युटर किनेर मात्रै हुँदैन, त्यसबाट हुने दुर्घटनाबाट बच्न पनि सिक्नुपर्छ ।
—तपाईंले अमेरिकी अन्तरिक्ष संस्था नासामा पनि ७ वर्ष आवद्ध रहनुभयो र भर्खरै छाड्नुभयो । के काम गर्नुहुन्थ्यो त्यहाँ ?
— नासामा म सन् २००७मा जोडिएको थिएँ । २ महिनाअघि म त्यहाँबाट अलग भएँ । त्यहाँ रहँदा डेटा एनालाइलिस, पोर्टअडिट, फायरवाल र ग्रिनटेक्नोलोजीमा काम गरें ।
— नासामा बसेर सिकेको सबैभन्दा ठूलो ज्ञान के हो ?
— सिस्टम सिकियो । सेक्युरिटी पोलिसीका कुराहरु सिकियो । एउटा संस्था चलाउन के के गर्नुपर्दाेरहेछ भन्ने पनि सिकियो । मेरो इन्ट्रेस्ट साइबर सेक्युरिटीमै थियो । त्यसमै बढी ध्यान दिएँ । म नासाको पनि एकदमै संवेदनशील ठाउँमा काम गर्थें । अन्तरिक्षमा स्याटेलाइट पठाउने विभागमा थिएँ । २०÷३० सुरक्षा नेतृत्वले ओके गरेपछि मात्रै स्याटेलाइट पठाइन्थ्यो ।
— साइबर सेक्युरिटीमा तपाईंले गरेको विद्यावारिधि अब केमा उपयोग गर्ने विचार छ ?
— जागिरै खोज्ने हो भने त यहीं अमेरिमा पाउन केही गाह्रो छैन । तर म नेपाल जान्छु र रिसर्च डेभलपमेन्ट सेन्टर खोल्छु । साइबर सेक्युरिटीबारे चेतना अभियान चलाउँछु । पैसा कमाउने उद्देश्य छैन । नेपालका लागि केही काम गरौं भन्ने नै उद्देश्य छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक