20150816

नागरिक दैनिक लेख्छ : गायिका ज्योती मगरले गरेको नृत्य र अभिनयको लोक दोहोरी गीतका हस्तीहरुले पनि विरोध गरे

*  गायिका ज्योती मगरले गरेको नृत्य र अभिनयको भिडियो लोकसंस्कृतिका लागि कालो धब्बा :  संस्थापक अध्यक्ष र वर्तमान संरक्षक, लोक दोहोरी गायक अमर विरही गुरुङ
* लोकगीत क्षेत्रलाई बदनाम बनाउनेहरु बढे पनि आफूहरुले केही गर्न नसकेको प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माको भनाइ 
* भिडियो बनाउँदा संवेदनशील नभएका कारण विकृतिले बढावा पाए : प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तथा गायक बद्री पँगेनी
बरिस्ठ लोक दोहोरी गायिका बिमा कुमारी दुरा भन्छिन : ज्योतीको गतिविधिलाई पचाउन सकिन्न, उनले बाउबाजेको बेईज्जत हुने गरि के गरेको यस्तो ?? !! 
*  उच्छृङखल र अश्लील खालका गतिविधि नेपाली लोक संगीतमा अलिक सुहाउँदैन : बरिस्ठ लोक दोहोरी गायक खड्ग गर्बुजा  


चितवन- तीज गीत 'ढाडे बिरालो'को म्युजिक भिडियोमा छोटा पोशाकमा गायिका ज्योती मगरले गरेको नृत्य र अभिनयको लोक दोहोरी गीतका हस्तीहरुले पनि विरोध गरेका छन्। सो भिडियो लोकसंस्कृतिका लागि कालो धब्बा भएको लोक दोहोरी  गायक अमर विरही गुरुङको भनाइ छ। म्युजिक भिडियो सेन्सर हुने नियम नबसेका
कारण यस्तो भएको उनले बताए।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको १५ औं वार्षिक साधारणसभाका विषयमा जानकारी दिन शुक्रबार गैंडाकोटमा भएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका संस्थापक अध्यक्ष र वर्तमान संरक्षकसमेत रहेका लोकगायक विरहीले उक्त धारणा राखेका हुन्। त्यस्तै  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानका वरिष्ठ उपाध्यक्ष तथा गायक बद्री पँगेनीले भिडियो बनाउँदा संवेदनशील नभएका कारण विकृतिले बढावा पाएको धारणा राखे। नेपालीको सभ्यता मानिएको लोकसंस्कृतिलाई विकृत पार्ने काम रोक्न दह्रो संयन्त्र आवश्यक भएको उनले बताए। प्रतिष्ठानका संस्थापक सदस्य हरि न्यौपानेले गायकगायिकाको संख्या बढेसँगै विकृति पनि बढ्दै गएको बताए। 'त्यसमाथि सुन्ने मात्रै नभएर हेर्ने गीतहरु पनि आउन थाले। हेर्ने गीत अर्थात म्युजिक भिडियो बनाउने चलनसँगै विकृति झनै थपियो,' न्यौपानेले भने। प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले विकृति बढेका कारण म्युजिकभिडियोको पनि सेन्सर हुनुपर्ने धारणा राखे। 'चलचित्र विकास बोर्ड जस्तै लोकदोहरी विकास बोर्ड बनाएर म्युजिक भिडियोहरुको पनि सेन्सर गर्नु पर्छ भन्ने आवाज हामीले ६३ सालदेखि उठाउँदै आएका छौं,' अध्यक्ष शर्मले भने। सेन्सरका लागि विज्ञहरुको समूह बनाउन उनले सुझाव दिएका छन्। 'जसले यो क्षेत्रका बारेमा गहिरो लगाव र ज्ञान राख्नुहुन्छ, उहाँहरुलाई समेटेर सेन्सरका लागि बोर्ड बनाउन हामीले सुझाव दिएका छौं। त्यसो भएमा अहिलेको जस्तो भडि्कलो अवस्था अन्त्य हुन सक्छ,' अध्यक्ष शर्माले भने। लोकगीत क्षेत्रलाई बदनाम बनाउनेहरु बढे पनि आफूहरुले केही गर्न नसकेको उनले बताए। 'गत वर्षको तीजका बेलामा पशुपति शर्माले निकालेको एउटा गीतमा आपत्ति जनाएपछि हामीले नै यो विषयलाई व्यवस्थापन गरेका थियौं। शर्मा हाम्रै संगठनको सचिव पनि भएकाले यो सम्भव थियो। तर हाम्रा सदस्य नभएका गायकगायिकालाई नियन्त्रण गर्न गाह्रो भयो,' अध्यक्ष शर्माले भने। प्रतिष्ठानको १५ औं वार्षिक साधरणसभा असोज १५ र १६ गते नवलपरासीको गैंडाकोटमा हुँदैछ। २०५७ सालमा नवलपरासीको अरुणखोलामा तदर्थसमिति गठन भएको प्रतिष्ठानको पहिलो अधिवेशन पनि २०५८ सालमा गैंडाकोटमा भएको थियो। प्रतिष्ठानको शाखा ५८ जिल्लामा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। वार्षिक साधरणसभामा प्रतिनिधि र पर्यवेक्षक गरेर तीन सयजना सहभागी हुनेछन्। सो अवसरमा सांगठनिक विकासका साथै लोकसंस्कृतिको जर्गेनाका विषयमा पनि अन्तर्क्रिया हुने अध्यक्ष शर्माले जानकारी दिए। 'दोहरीगीत, लोकगीत र कला संस्कृतिमा देखिएको विकृति, विसंगतिका विषयमा अग्रज, विद्वान र जानकारहरुबाट महत्वपूर्ण विचारहरु राख्ने कार्यक्रम पनि छ। प्रतिनिधिहरुलाई संस्थागत र व्यक्तित्व विकास तालिम पनि दिने योजना छ,' साधरणसभाका बेलामा हुने कार्यक्रमबारे शर्माले जानकारी दिए। 
साभार -  रमेशकुमार पौडेल http://nagariknews.com/entertainment/nepali-film/story/43533.html



*****************

लोक गायिका बिमा कुमारी दुरा र खड्क गर्बुजाले ज्योती मगर बारे मुख खोले

सुमन  जंग । 

यतिबेला उर्खरमाउँलो गर्मीले धेरैलाई छट्पटाहट बनाइरहेको छ । मानिसहरु शीतलताका खोजीमा छन् । यस्तै हिजोआज सामाज देखि सामाजिक सञ्जालसम्मलाई लोक गायिका ज्योती मगरको प्रशंगले गर्माएको छ ।

हुन त ज्योतिले केहि महिनादेखि मिडियामा कब्जा जमाईरहेकी छिन् । टेलिभिजन अन्र्तवार्ताको प्रसंगबाट सुरु भएको उनको विवादित चर्चा यात्रा ‘ढाडे बिरालो’ सम्म आइपुगेको छ ।
यहाँ आउँदा भने ज्योतिलाई हिजो भन्दा बढी आलोचना सहनु पर्‍यो । देश विदेशबाट गालीका वर्षा पर्‍यो। अति नै तुच्छ शब्दमा तथानाम भनियो । उनका समर्थनमा पनि आवाजहरु सुनिएका छन् । तर, तुलनात्मक रुपमा कम मात्र ।
प्रकाश कटुवाल र श्रीदेवी देवकोटाको ‘ढाडे बिरालो’ तीजको गीतमा ज्योतीलाई अभिनय गराउने निर्देशक भने शंकर बिसी हुन् । केहिले बिसीलाई प्रमुख दोषी मानेका छन् त कतिले गायक प्रकाश कटुवाललाई । कटुवालको शब्द संगीतमा गीत तयार पारिएको हो । गीतमा शब्द पनि छाडा भएको आरोप छ ।
अहिलेसम्म लोक गीतको पहिचान र मौलिकतालाई आत्मसाथ गर्दै आफ्नो सृजनालाई दर्शक/श्रोतामाझ पुर्‍याउँदै आएका अग्रज दुई लोकस्रष्टा बिमा कुमारी दुरा र खड्क गर्बुजाले ज्योति मगरको पछिल्ला हल्लका बारेमा के भन्छन् त ?
लोक गायकः खड्क गर्बुजा
नेपाली लोकसंगीत भनेको एउटा देशको गरिमा र प्रतिष्ठासँग जोडिएको कुरा हो । यसका आफ्नै खाले मूल्य मान्यता मर्यादा गरिमा र अनुशासन छ । अन्य पप गीत, र्‍याप गीत, आधुनिक गीत जस्ताको रुपमा हामीले लोक गीतलाई हेर्न हुँदैन भन्ने मान्यता हो । भनेको, मनोरञ्जनको साधन मात्र होइन् । यो भनेको राष्ट्रको पहिचान बोकेको एउटा मौलिक संगीत हो,सम्पदा हो । यसलाई चाँही अनुशासित रुपमा मर्यादित रुपमा बचाईराख्नु कलाकार लगायत सम्पूर्ण देशभक्त सन्तान र नागरिकको कर्तव्य हो ।
यदि ज्योति मगरले जुन खालको प्रस्तुति यो गीतमा दिएको थियो, त्यो प्रस्तुति लोक गीतमा नभइकन अरु पप गीत र्‍याप गीतमा दिएको भए आलोचना गर्ने ठाउँ रहने थिएन् । अब एउटा पहिचान बोकेको मौलिकता भित्र पर्ने लोकसंगीतमा त्यस्तो खालको प्रस्तुति दिएकाले बढि आलोचित भएको हो । मेरो विचारमा चाहिँ त्यहि लाग्छ ।
हुनत अहिलेको २१ औं शताब्दीमा मान्छेहरुले आफूलाई मन लागेको लुगा लगाउन पाउनुपर्छ । खानेकुरा खान पाउनुपर्छ । आफूले जे गर्न मन लाग्छ गर्न पाउँछ । स्वतन्त्र छ । तर पनि सबै कुरालाई एउटा स्वतन्त्रता भित्र राखेर हेर्नु हुँदैन् । आफूले नियमभित्र बाँधिनुपर्ने कुरा पनि हुन्छन् ।
कि ज्योति मगरले खेलेको त्यो गीतलाई चाहिँ लोक गीतको नाम नदिएर अर्कै खालको नाम दिँदा राम्रो हुन्छ । लोक गीत पनि भन्ने उच्छृङखल र अश्लील खालका गतिविधि नेपाली लोक संगीतमा अलिक सुहाउँदैन कि भन्ने मत छ मेरो पनि । गबुर्जाले ज्योतिको मात्रै दोष नभएर गायक गायिका देखि निर्देशक सम्म उतिनै दोषीको भागिदार भएको बताए ।
लोक गायिकाः बिमा कुमारी दुरा
लोक गायिका विमा कुमारी दुराले ज्योती मगर को हो ? के हो, भन्ने बारेमा आफूलाई अहिलेसम्म पनि थाह नभएको बताइन् । हामीले लोक गायिका ज्योति मगरलाई चिन्नुहुन्छ ? भन्ने प्रश्नमा दुराले आफू लोक गायिकाको हिसाबले भन्नुपर्दा उनलाइ कति पनि नचिनेको तर, व्यक्तिगत रुपमा भने चिनजान भएको कुटनीतिक जवाफ दिइन् ।
ज्योतीको पहिरन र अन्य गतिविधिले लोकसंस्कृतिको बेइज्जत गराएको भन्दै तिव्र आक्रोश व्यक्त गरिन् । दुराले यस विषयमा लोकदोहोरीको विकास गर्छौ भनेर खोलिएका संघसंस्थाहरुले आवाज उठाउन पर्ने बताइन् । ब्यक्ति बोल्नु भन्दा पनि संस्था अघि बढेर यस्ता किसिमका गीत र कलाकारलाई कारबाहीको घेरामा ल्याउन सक्नुपर्ने आश्य ब्यक्त गरिन् । यस्ता गीतसंगीत उत्पादन हुनुमा संस्था पनि जिम्मेवार भएको आरोप लगाइन् ।
समाजले ज्योतीको गतिविधिलाई पचाउन नसक्ने भन्दै उनले बाउबाजेको बेईज्जत हुने गरि नभई इज्जत ल्याउने गरि गीतसंगीतमा अघि बढ्नुपर्ने सुझाव दिइन् । खासै नबोल्ने दुराले पोहोर तीजमा बाग्लुङ जाँदाको प्रसंग जोड्दै भनिन्, ‘माईक्रोमा कार्यक्रमका लागि बाग्लुङ जाँदै थिए त्यतिकैमा ड्राईभरले ‘कनाईदेउन बाई’ गीत बजायो । मैले के गीत बजाको यस्तो भने, तर, उसले तपाईहरु नै यस्तो गीत गाउनुहुन्छ नबजाएर के गर्ने ? ‘उसको जवाफले मलाई लज्जित बनयो’ दुराले सुनाइन् । दुराले भनेको यस गीत पनि ‘ढाडे बिरालोका’ प्रकाश कटुवाल र श्रीदेवी देवकोटाको नै हो ।
एउटाको गल्तीका कारण सबैले दोष बोक्नु पर्ने हुँदा सस्तो लोकप्रियताका पछि नलाग्न विनम्र अनुरोध गरिन् । लोक गीत भनेको अनुशासनहिन भडकिलोपन नभइ स्वच्छ मनोरञ्जन दिने र देशको पहिचान दिलाउने भएकाले सोहि अनुसार गीतसंगीतमा लाग्न सक्नुपर्ने धारणा ब्यक्त गरिन् ।
अबका दिनमा ज्योती मगर मात्र नभइ लोकसँगीतमा लाग्ने हरेकले आफू को हो ? के गर्दैछु र कहाँ छु ? भन्ने कुराको ख्याल राख्न सक्नुपर्ने अन्य लोक सर्जकहरुको पनि मत रहेको छ । लोकसंगीतमा लागेर यो गर्न पाइने त्यो नपाइने भन्ने कहिँ कतै उल्लेख गरिएको छैन् । तर, यसका आफ्नै मौलिक मान्यताहरु छन् । यसलाई आत्मसाथ गरी अघि बढेमा मात्र लोकसंस्कृतिको विकास हुन सक्नेमा उनीहरुको एकमत छ । 
साभार : http://12hoursnews.blogspot.co.il/2015/08/blog-post_784.html










No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक