20150916

नेपालको संविधान दुई तिहाईभन्दा बढी मतले पारित, असोज ३ गते साँझ ५ बजे हुने समारोहमा राष्ट्रपति डा. रामवरण यादवले जारी गर्ने

संविधानसभाको बुधबार रातिको बैठकले नेपालको संविधान दुई तिहाईभन्दा बढी मतले पारित गरेको छ। संविधानको परिमार्जित विधेयक एकमुष्ट पारित गर्न मतविभाजन गर्दा विपक्षमा राप्रपा नेपालको २५ मत परेको थियो। पक्षमा ५०७ मत परे।   'नेपालको संविधान पारित भएको घोषणा गर्छु', लगातार चार दिनदेखि ३०२ धारामा ध्वनि मतले संशोधन प्रस्तावहरुको टुङ्गो लगाउँदै आएका सभाध्यक्ष सुवास नेम्वाङको घोषणासँगै सभासद्हरुले हात हल्लाएर, ताली बजाएर र टेबल ठोकेर खुसियाली मनाएका थिए। त्यसलगत्तै सबै सभासद्हरु आफ्नो आसनबाट उठी सम्मान प्रकट गरेका थिए।  

के छ अगाडिको प्रक्रिया ?


पारित भएको सं‌विधानलाई आनुसा‌ंगिक रुपमा क्रमहरु मिलाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको अध्यक्षतामा रहेको आनुसांगिक समितिमा पठाइएको छ। समितिमा
मस्यौदा समितिका सभापति कृष्ण सिटौला, एमाले सचेतक अग्निप्रसाद खरेल, एमाओवादी सचेतक गिरिराजमणि पोखरेल र राप्रपा नेपालकी कुन्तिकुमारी शाही सदस्य छन्।  

सो समितिको सिफारिसमा अध्यक्षले सभाबाट पारित भइसकेको संविधानको विधेयकमा आवश्यक देखेमा विधेयकका धाराको सङ्ख्याको क्रम मिलाउन र आवश्यक आनुषङ्गिक सुधार गर्न सक्ने व्यवस्था रहेको छ।

पारित गरिएको सं‌विधानका धाराहरुमा केही मिलाउनु पर्ने भए बिहीबार बिहान ११ बजेसम्म जानकारी दिन सभासद्हरुलाई नेम्वाङले आग्रह गरे। आनुसांगिक समितिले बिहीबार ३ बजेसम्ममा नेम्वाङलाई प्रतिवेदन बुझाउनेछ।

समितिको प्रतिवेदनसँगै सभाध्यक्षले संविधानलाई क्रम मिलाएर अन्तिम रुप दिएपछि नेपाली कागजमा पाँच प्रति छाप्नेछ।

असोज १ गते शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म संविधानसभा भवनको ल्होत्से हल संविधानको सबै ५ प्रतिमा सभासदहरुले हस्ताक्षर गर्नेछन्। 


हस्ताक्षर सकिएपछि संविधान सभा अध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गर्नेछन् भने असोज ३ गते साँझ ५ बजे हुने समारोहमा राष्ट्रपति डा. रामवरण यादवले जारी गर्नेछन्। 

यसअघि संविधानकाे परिमार्जित विधेयकका सबै ३०२ धारा बैठकले पारित गरेको थियो। बैठकले संविधानकाे नाम र प्रारम्भ हुने मिति पनि बहुमतले पारित गरेको थियो। संविधानकाे नाम 'नेपालको संविधान' हुनेछ भने यो संविधान २०७२ असोज ३ गतेदेखि प्रारम्भ हुनेछ। 

साँझ ७ बजेपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठकपछि पूरै संविधानलाई दुई तिहाईले पारित गर्न मत विभाजन गरिएको थियो। प्रमुख दलहरु एकै ठाउँमा भएकोले सहजै दुई तिहाईभन्दा बढी मत पुगेको थियो। 

संविधानसभाको अर्को बैठक आगामी असोज ३ गते अपराह्न ५ बजे बस्नेछ। - Source : pahilopost

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक