20150916

संविधान बल्छ कि चल्छ ? - युबराज गौतम

गोरखापत्रका पूर्व सम्पादक रहेका वरिष्ठ पत्रकार  गौतमको यो लेख सान्दर्भिक भएकोले यहाँ पनि प्रस्तुत गरिएको छ । 
अमेरिकी उपन्यासकार एलिसन ल्युरीले भनेकी छन्-कतै केही जलेको गन्ध लामो समयसम्म आइरह्यो भने त्यो युद्धको गन्ध हो।यी पंक्ति लेखुन्जेल नेपालको संविधान-२०७२ घोषणा भइसकेको छैन तर एउटा प्रश्न भीषण भाइरल बनेर फैलिएको छ, संविधान बल्छ कि चल्छ? उत्तर जगजाहेर छ, संविधान दावानल बनेर दन्दनी बल्छ। त्यसको धुवाँ मेची-महाकाली फैलिनेछ।नजन्मिँदै दुर्नाम कमाएको संविधान विदेशीका एजेन्डा बोक्नेहरूलाई प्रिय लाग्ला, तर त्यसको मस्यौदाले नै डढेलो लगाइदिएको छ। चलचित्रको ट्रेलरले नै झन्डै ४० जनाको ज्यान लिइसकेको छ भने पूरै फिल्म कति घातक होला ?
इन्डोनेसियामा दुई प्रतिशत मात्र हिन्दु र बहुसंख्यक मुसलमान छन्, तर त्यहाँको संस्कृतिमा वैदिक धर्मको प्रभाव छ। सरकारले प्रचलनमा ल्याएका नोटहरूमा गणेशको तस्बिर अंकित छ। यता ९५ प्रतिशतभन्दा बढी हिन्दु, बौद्ध, किरात, मस्टो, बोन आदि प्राचीन धर्म-संस्कृति भएका जनतालाई संविधानबाटै मानमर्दन गरेर दातृराष्ट्रका क्रिश्चियनलाई प्रसन्न तुल्याउन खोजिएपछि अधिकांश जनता संविधानको चितामा आगो लगाउन तयार भएका छन्।  
सन् १९४५ मा राष्ट्रसंघको संस्थापक सदस्य रहेको लाइबेरियालाई तहसनहस पार्ने पश्चिमाहरूले सुडानलाई सन् २०११ मा दुई टुक्रा बनाए। रुवान्डामा हुतु र तुत्सीबीच रक्तपात गराए। रोनाल्ड रेगनको पालामा सीआईएका
कारण निकारागुवामा गृहयुद्ध उत्कर्षमा पुग्यो। 
मोजाम्बिकमा समोरा माचेलजस्ता उग्र कम्युनिस्ट नेतालाई उकेरा लगाएर गृहयुद्ध चर्काउने विदेशी नै हुन्। सन् १९९० मा युरोपियन युनियन र अमेरिकाकै समर्थनमा कोसोभोलाई पृथक् राष्ट्रको मान्यता दिइयो। अन्ततः सम्पूर्ण
युगोस्लाभिया जल्यो। उदाहरण धेरै छन्।
सन् २००३ मा इराकमा पसेको अमेरिकी सेना हजारौँ जनताको हत्या गरेर सन् २०११ मा फिर्ता गयो। होन्डुरस हुँडल्ने, लेबनानको लिदी निकाल्ने, हाइटी हल्लाउने र बोलिभियामा बलमिच्याइँ गर्ने विदेशीहरू आज नेपालमा बसेर दक्षिण एसियालाई नै आगो लगाउने सुरमा छन्। 
त्यसैले संविधान सलाई बनाएर आगो सल्काउन केही दलका अगुवाहरूलाई उनीहरू अहोरात्र उकासिरहेका छन्। जसरी पनि संविधान ल्याउँछौँ भन्नेहरूको अभिमान त्यसकै प्रतिध्वनि हो।हेलि सेलासीको ५८ वर्ष पुरानो सत्ता धराशयी बनाएर अमेरिकाले इथियोपियामा परिवर्तनको नाममा आगो सल्कायो। गृहयुद्धमा हजारौँ जनता मरे। 
मर्ने र मार्ने सबै काला थिए। पछाडिबाट उकासे गोराहरूले। अन्ततः सन् १९९३ मा राष्ट्र नै टुक्रयाइयो। यसरी बनेको इरिट्रिया आज तन्नम राष्ट्रको पंक्तिमा पर्छ।
अंगोलामा सन् १९६१ देखि १५ वर्षसम्म गृहयुद्ध भयो। दस लाखभन्दा धेरै मानिस मरे । २५ लाखभन्दा धेरै जनता घरवारविहीन भए। यस्ता सबै प्रयोग नेपालमा गर्न खोजिएको छ । आज पनि सिरियामा लाखौँ मानिस मरिरहेका छन्। लाखौँ शरणार्थी भएका छन्।
त्यहाँका विद्रोहीहरूलाई सैनिक सहायता र समर्थन गर्ने अमेरिकी नीति छ। चीन र रसियाजस्ता राष्ट्रसंघका विशेषाधिकार (भिटो पावर) भएका राष्ट्रहरू अमेरिकी दादागिरीविरुद्ध उभिएका छन्। तर अमेरिका असनको साँढे झैं उभिएको छ।
लेबनानमा सिया र सुन्नीसमेत ५४ प्रतिशत मुसलमान छन्। ४१ प्रतिशत इसाई र ६ प्रतिशत द्रुजहरू छन्। तर राष्ट्रपति हुन क्रिश्चियन (इसाई) धर्मावलम्बी नै चाहिन्छ। विदेशीहरूले नेपालमा संविधानमै व्यवस्था गरेर त्यस्तै प्रावधान राख्न चाहेका छन्। 
कुमारी पूजा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथ जात्रा, कृष्ण जन्माष्टमी, बुद्ध जयन्ती, रामनवमी, महाशिवरात्री, विजयादशमी र छठ आदि पर्व र परम्परालाई महत्वहीन बनाउँदै नेपालको धार्मिक-सांस्कृतिक परिचय क्रमशः धमिलो तुल्याउन केही लुब्धहरूलाई आर्थिक प्रलोभनमा पारेर धर्म निरपेक्षताको विषवृक्ष रोप्न खोजिएको छ। 
राष्ट्रको माया गर्नेहरूले त्यसलाई उखेलेर फ्याँक्न चाहेका छन्। नेपालको संविधान २०७२ इसाई संविधान हो भन्ने उनीहरूको तर्क छ।प्रजातान्त्रिक तवरबाट निर्वाचित राष्ट्रपति ज्याकोब अर्बेन्ज गुजम्यानलाई अपदस्थ गरेर अमेरिकाले ग्वाटेमालामा ३५ वर्ष गृहयुद्ध गरायो। 
ज्याकोब विदेशी दलाल थिएनन्, त्यसैले अपदस्थ भए। माई वार विथ द सीआईए (सीआईएसँग मेरो लडाइँ) पुस्तकमा कम्बोडियाका राजा नरोदम सिंहानुकले लेखेका छन्-'दरबारले पालेको पोष्यपुत्र प्रधानसेनापति लोननोललाई सीआईएले प्रयोग गर्‍यो। नरोदम भन्छन्-इसाई धर्म मानेको भए म सुरक्षित हुन्थें।'
संघीयता र धर्म निरपेक्षता आज इसाईका दुइटा अमोघ अस्त्र बनेका छन्। अफ्रिकाका ५४ राष्ट्रमध्ये तीन राष्ट्रले मात्र संघीयता अपनाए। दक्षिण अफ्रिकाबाहेक इथियोपिया र नाइजेरियाको संघीयता आज घाँटीमा अड्केको हाड बनेको छ। धर्म निरपेक्ष भनिएका २४ राष्ट्रमा धेरैजसो क्रिश्चियन छन्। 
शक्तिकेन्द्रतिर जताततै इसाई छन्। संयुक्त राष्ट्रसंघका महासचिवहरू ट्रिगभे-ली, ड्याग हेमरशोल्ड ऊ थान्त, कुर्त वाल्दहेइम, हाभियार पेरेज द को्ययार, बुत्रोस-बुत्रोस घाली, कोफी अन्नान बान-कि मुनमध्ये ऊ थान्त बौद्ध धर्मावलम्बी हुन् भने बाँकी सबै क्रिश्चियन। 
ऊ थान्त (बर्मा) हिन्दु र बौद्ध धर्म-दर्शनका ज्ञाता भएकाले लुम्बिनीको विकासमा उनले अभिरुचिपूर्वक सहयोग गरे। राष्ट्रसंघमा लुम्बिनीको चर्चा भयो। त्यसपछि बर्मा, जापान, थाइल्यान्ड, दक्षिण कोरिया आदिले पनि चासो देखाए।
हरेक राष्ट्रको इतिहासमा संकट आउँछ र सही निर्णय गरेर समयमै स्पष्ट बाटो हिँड्दा त्यो दशा टर्न सक्छ। जब जनादेश, जनभावना वा लोकसम्मतिलाई अपमान गरेर अगुवाहरू विदेशीका गोटी बन्छन्, त्यस्तो अवस्थामा राष्ट्र जल्छ।
धर्मको कुरा गर्दा अमेरिकालाई बिर्सन सकिँदैन। अमेरिकी राष्ट्रपति पदमा विजयी हुनेले देब्रे हातले बाइबल छोएर शपथग्रहण गर्नुपर्छ। त्यसबेला राष्ट्रपति भन्छन्-'म अमेरिकाको राष्ट्रपति भएर बफादारीपूर्वक काम गर्नेछु। मैले मेरो योग्यताले सकेसम्म अमेरिकी संविधानको संरक्षण, सुरक्षा र प्रतिरक्षा गर्नेछु। त्यसका निम्ति हे ईश्वर, मलाई मद्दत गर्नुहोस्।'
धर्म र ईश्वरको अस्तित्व स्वीकार गर्दा आफू तुच्छ भइन्छ भन्ने कम्युनिस्टलगायतका कतिपय शठ, मुढाग्रही र अबुझहरू नेपाली राजनीतिका उच्च आसनमा छन्। धर्म-संस्कृति, परम्परा र हजारौँ वर्ष पुरानो मान्यतामा अडिग करोडौँ जनतालाई विभाजित गर्नका लागि राष्ट्रलाई खण्ड-खण्ड गर्ने र धर्म निरपेक्ष घोषणा गरेर जर्जर तुल्याउने जुन शकुनि खेल भइरहेको छ, त्यो बुझेर नै जनता आज जुर्मुराएका हुन्।
उनीहरूलाई थाहा छ, संघीयता र धर्म निरपेक्षतासहितको संविधान आउँदा धेरैथोक जान्छ।बाइसे र चौबीसे राज्यलाई राष्ट्रिय एकीकरणको सूत्रमा बाँधेर पृथ्वीनारायण शाहले बलियो बनाएको राष्ट्र आज विखण्डनको खतरामा छ। 
यस्तो अवस्थामा विग्रहको आगोमा घीउ थप्न कथित नयाँ संविधान प्रज्ज्वलनशील पदार्थ बन्न सक्छ। संविधानले परित्राण होइन, विनाश गराउन सक्छ।
धर्म र संस्कृतिले सयौँ जातजातिलाई आबद्ध गरेको छ नेपालमा। 
मुक्तिनाथ मन्दिरमा पुजारी हिन्दु र बौद्ध दुवै छन्। मनकामना मन्दिरमा नेवार र मगर छन्। स्वयम्भुमा हिन्दु देवी–देवताका मन्दिर पनि छन्। 
सन् १४९२ मा क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा हजारौँ वर्षपहिले हिमवत्खण्ड सभ्यताको भूमि थियो। इन्का सभ्यताको अवशेष मानिने पेरूको मट्जु-पिक्जु जस्ता गाउँहरू कर्णाली, मनाङ, डोल्पा र मुस्ताङमा धेरै छन्। 
नेपालको कला, साहित्य र संस्कृतिको इतिहास निकै पुरानो मानिन्छ।झन्डै १७ हजार मात्र जनसंख्या रहेको अल्पसंख्यक जाति इनुपियटको प्रान्त कहाँ छ अमेरिकामा? प्रि-कोलम्बियन भनिने अपाचे, चेरी, जिप्सी आदिको राज्य कहाँ छ ? राजधानी वासिङ्टनमा नै अमेरिकी आदिवासी १.५ प्रतिशत मात्र छन् भने टेक्सासमा ०.७ प्रतिशत। संघीयतामा उनीहरूको जातीय राज्य कहाँ छ ?
राष्ट्रवादविरोधी रुहेल्ला मुसाभी खोमेनी, भर्जिनिया उल्फ, रोजा लक्जेमवर्ग, कार्लमाक्र्स, भ्लादिमिर लेनिन र पियरे जोसेफ प्रुधो जस्ता व्यक्तिहरूले जुन बाटो देखाउन खोजे, त्यो संसारले पत्याएको भए धेरै राष्ट्र भावनात्मक रूपले नै भंग हुने थिए। तर त्यसो भएन। 
आर्थिक दृष्टिले गरिब नै भए पनि भौगोलिक दृष्टिले साना राष्ट्र आत्मसम्मानपूर्वक बाँच्न चाहन्छन्। केही नेताहरू विदेशीको पाउ पुजेर शक्तिशाली भइरहन चाहन्छन्। त्यसैले, नेपालमा उनीहरू विदेशीको भरिया र करिया बनेका छन्। 
जनता विदेशीको दास बन्न तयार छैनन्। कथित नयाँ संविधानले राष्ट्र जलाउँछ भनेर जनता भयाक्रान्त छन्। यसकारण संविधान चल्छ होइन जल्छ।सन् १९९१ को सेप्टेम्बर ९ मा ताजिकिस्तान स्वतन्त्र भयो। कम्युनिस्टले आफ्नै विचार लाद्न गृहयुद्ध चर्काए। 
राष्ट्रपतीय शासन पद्धति स्वीकार गर्ने संविधानलाई जनमतसंग्रहले अनुमोदन त गर्‍यो, तर आगो निभेन। गृहयुद्धमा ५५ हजार मानिस मरे । आज पनि त्यहाँ सुख-शान्ति छैन। रसिया र कजाखस्तानमा श्रम गर्न जाने युवाको पसिनाले लाखौँ परिवार पेट पाल्छन्। दरिद्रता र भ्रष्टाचारले देश थिल्थिलो बनेको छ। 
हामीले जे बोल्छौँ, त्यो जनताले स्वीकार गर्नैपर्छ भन्ने दम्भले फुलेका नेता त्यहाँ पनि छन्। संविधानलाई जनताले हाँसेर स्वागत गरेनन् भने त्यो चल्दैन, जल्छ भन्ने उदाहरण हो, ताजिकिस्तान।
गृहयुद्धमा धकेल्ने संविधान स्वीकार गरेर नेपालीहरू आफ्ना लालाबाला बोक्दै कता जालान् ? दिनैपिच्छे गाउँ-सहर जताततै आगो लाग्यो भने त्यो निभाउन को आउलान् ? जब छिमेकीले नै मार्न थाल्छ, त्यतिबेला क-कसले शरण देलान् ? एउटै बेन्चमा बसेर विद्यालयमा पढ्ने सहपाठीहरू कसरी छुट्टिएलान् ?
सयौँ वर्षअघिदेखि पुर्खाले खनजोत गरेको माटो त्यागेर अज्ञात ठाउँतिर जाने रहर कसलाई होला ? स्वाधीन, शान्त र स्वतन्त्र राष्ट्र टुक्राटुक्रा भएको हेर्न को आतुर होला ? 
त्यसैले केही पराधीन दलनायक र कपटी पात्रहरूले नयाँ संविधान ल्याएर राष्ट्र टुक्रयाउन खोजेको हुँदा त्यस्तो प्रपञ्चलाई जनताले कसरी समर्थन गर्लान् ? संविधान घोषणा नै भए पनि विदेशीका एजेन्टबाहेक कसले खुसी मनाउलान् ? प्रश्न अनुत्तरित छ।
संविधानसभाका सम्पूर्ण प्रक्रिया त्यागेर तराईकेन्द्रित दलहरूलगायतका कैयन् शक्ति खेल मैदानबाट बाहिरिसकेका छन्। अंकगणितका आधारमा संविधानसभामा एमाले-कांग्रेस-एमाओवादीका जति पनि सभासद् छन्, तीमध्ये सबै विदेशी शक्तिका दास छैनन्। 
जनताले उनीहरूका प्रत्येक क्रियाकलाप र वाणीको अध्ययन गरिरहेका छन्। समय छँदै राष्ट्र, राष्ट्रियता र जनताका कित्तामा उभिए भने जनप्रतिनिधिहरू सुरक्षित हुनेछन् तर अभिमानी नेताहरूको ढाल बनेर उभिए भने जनताबाट दण्डित हुन सक्छन्।
हरेक राष्ट्रको इतिहासमा संकट आउँछ र सही निर्णय गरेर समयमै स्पष्ट बाटो हिँड्दा त्यो दशा टर्न सक्छ। जब जनादेश, जनभावना वा लोकसम्मतिलाई अपमान गरेर अगुवाहरू विदेशीका गोटी बन्छन्, त्यस्तो अवस्थामा राष्ट्र जल्छ। 
तसर्थ, राष्ट्रलाई बर्बाद बन्न नदिन दलनायकहरूले घमण्ड त्यागेर जनआवाज र समयको पदचाप सुन्नुपर्छ। नत्र उनीहरूको घाँटी गिलेटिनमा पर्न सक्छ। त्यो दिन पनि आउँछ। चाँडै आउँछ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक