20151129

देश हराएको मान्छे ! - रामप्रसाद खनाल

( प्रकाशन हुँदै गरेको रामप्रसाद खनालको कबिता सँग्रह "देश हराएको मान्छे" बाट साभार )  
म कति अभागी मान्छे !
सबै कुरा भएर पनि
देशनै हराएको मान्छे !
सगरमाथा, लुम्बिनी
गण्डकी, कोशी, कर्णाली
हिमाल, पहाड, तराइ
सयौं जाती, जनताजी
कयौं भाषा भासी
बिबिधतामा एकता भएको
सुन्दर शान्त नेपाल
त्यस्तो ठाउँँमा जन्मिएको म
तर अपशोच !
आज ति सबैकुरा भएर पनि
अहँ केही नभए जस्तो !
सबै सबै गुमाएको
आफ्नैले आफ्नै लाई "घुमाएको"
टुलु टुलु हेर्न बिबश
जिउँदैमा मुर्दा जस्तो !
म कति अभागी मान्छे !
सबै कुरा भएर पनि
मात्र ईतिहास बाँकी रहेको
देशनै हराएको मान्छे !
कौडीको मूल्यमा बिक्ने "कवाडी" जस्तो
सबै कुरा "गुमाइँदै" गरेको
हरेक कुरामा "घुमाइँदै" गरेको
हत्या, आतंक, लुटपाट, गुण्डागर्दी
अन्याय, अत्याचार, भ्रस्टाचार
गरिबी, अशिक्षा, अन्धबिश्वास
लोडसेडिङ, नाकाबन्दी, भाकाबन्दी
सबै कुराले च्याँपिएर उठ्नै नसक्ने गरी
गर्ल्याम्म लडेकी आमाको
चिच्याहट, हार गुहार, नसुन्ने नबुझ्ने
आफ्नै आमाको सारी च्यातेर
बलात्कारको तयारीमा जुटेका
मान्छे जस्ता देखिने राक्षेसी सन्तानहरु
अाफै आफैमा भाँडिएर
शिशा जस्तै झ्र्याम् झुरुम फुटेका
दाई भाई दिदी बहिनीहरुको देश नेपालको
निरिह नेपाली भएको छु
आफ्नै देश पराइ जस्तै भएकोले
लाहुरे हुन परदेश गएको छु
म कति अभागी मान्छे !
सबै कुरा भएर पनि
मात्र ईतिहास बाँकी रहेको
छ्या म कति अभागी मान्छे
कति निरिह मान्छे !
देशनै हराएको मान्छे !
म कति अभागी मान्छे
मानचित्रमा देश भएर पनि
सिमा बन्धनमा देश रहेर पनि
राष्ट्र र राष्ट्रियतालाई
मन भित्रै, मुटुभित्रै खुम्च्याउंदै
छाती माथि ढुङ्गा राखेर हाँस्न वाध्य
देश हराएको मान्छे !
पिर ब्यथाले मन कहराएको मान्छे !
छ्या म कति अभागी मान्छे
कति निरिह मान्छे
देशै हराएको मान्छे !
हेर्दा हेर्दै
दौरा सुरवाल टोपी हराएको मान्छे !
गुन्यु र चोली हराएको मान्छे !
धर्म हराएको मान्छे !
कर्म हराएको मान्छे !
आफन्तजनहरुको ब्रम्ह हराएको मान्छे !
सँस्क्रिती परम्परा रिती हराएको मान्छे !
सबै थिती हराएको मान्छे !
भेस हराएको मान्छे
चिन्ताले होला तालुका केश हराएको मान्छे
देश भित्रै केही गर्ने "रेस" हराएको मान्छे
सबै कुरा सँगै देश हराएको मान्छे !
आफ्नो पन हराएको मान्छे !
मन हराएको मान्छे !
तन हराएको मान्छे !
नेपाली हुँँ भन्ने भावना
झन हराएको मान्छेका बिचको म मान्छे !
छ्या म कति अभागी मान्छे
जिउँदैमा मुर्दा जस्तो !
म कति निरिह मान्छे
देशै हराएको मान्छे !
कोही भन्छन- देश कहाँ हराउँछ ??
बिदेशमा बस्ने, अनी मन कसरी कहराउँछ ??
देश भित्र बस्नेलाई के थाहा देशको माया !
कोही उत्तरका, कोही दक्षिणका
कोही पूर्वका, कोही पश्चिमका
कोही बाउन, कोही छेत्री
कोही मगर, कोही गुरुङ
कोही कुन जाती, कुही कुन भासी
कोही लिम्बुवान , कोही खुम्बुवान
कोही मधेशी, कोही दलित
सबै बिभक्त भएपछी
"म नेपाली हुँँ" भन्ने भावना
मनबाट सर्लक्कै गए पछी !
कोही चारतारे झण्डाका
कोही हलो र डण्डाका
कोही हँसिया र हथौडाका
कोही पँजा र गाईका
कोही तिनैका दाई भाईका
दलगत स्वार्थमा चूर्लुम्म डुबेर
सत्ता र कुर्सिको मोहमा सबै भुलेर
मेरो चन्द्र सूर्य अँकित झन्डालाई
आची पुछ्ने टालो सम्झन थालेका
देशै भरी आ-आफ्नै राँका बालेका
राजनीतिको नाममा डाँका पालेका
आफ्नै दाई भाई दिदी बहिनी
पराइ हुन थालेका
यस्तो देशको मान्छे म
छ्या म कति अभागी मान्छे
देश हराएको मान्छे !
आमाको सारी च्यातेर
बलात्कारको तयारीमा जुट्न सक्नेहरुलाई
अर्काको ईशारामा
आ- आफै फुट्न सक्नेहरुलाई
के थाहा देश कस्तो हुन्छ !
सम्झिँदा मन डांको छाडेर रुन्छ !
म कति अभागी मान्छे
भूगोलमा देश भएर पनि
"देश हराएको मान्छे"
राष्ट्र र राष्ट्रियताले कहराएको मान्छे
कसले सुन्छ मलाई
कसले बुझ्छ मलाई
छ्या म कति अभागी मान्छे
देश हराएको मान्छे !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक