20160131

जिन्दगीभरि कहिल्यै विचारधारा नमिल्ने बाबुराम भट्टराईका पछि खनालहरु लाग्नुको रहस्य के त ? - रामचन्द्र भट्ट

नयाँ नेपाल, सँघीय लोकतान्त्रिक गणतन्त्र नेपालका केही झण्डावाला र केही डण्डावालाहरु बाध्यता र बिबशताले बिदेशिएका नेपालीहरुलाई भूपु नेपालीको उपमा भिराउँछन् र तिमीहरुलाई नेपालको बारे के मतलब ?? के खाँचो ?? सम्म भन्न भ्याउंछन । ति झण्डावाला र डण्डावालाकै परिभासामा भन्ने हो भने उनी अर्थात रामचन्द्र भट्ट पनि भूपु नेपाली नै हुन ! पछिल्लो पुस्ताका राम्रो कलम चल्ने पत्रकार नयाँ नेपालमा नअटेर अमेरिकामा रोजगारीमा छन । यिनको काँधमा सकी नसकी घण्टा हानेरै पनि बाल बच्चा परिवार पाल्ने, पढाउने जिम्मेवारी मात्र छैन, दु:ख गरी बँचाएको रकम नेपाल पठाउनुपर्छ आफन्तजन र परिवारजनका खर्चपर्च चलाऊन । अझ भनौँ उनको रगत र पसिना मिस्रित पैसा नेपाल पुग्छ र घुमिफिरी रेमिट्यान्सको रुपमा मुलुक चलाऊने, ६ जना उप प्रधानमन्त्री सहितको जम्बो मन्त्री मण्डलको खर्च चलाऊने, चुनावमा हारेका, समानुपातिकमा परेका देखी केही चुनाव जित्ने सम्म ६०१ को तलब भत्तामा खर्च हुन्छ । यिनै भट्ट पत्रकारिताको नशा छोड्न नसकेर अमेरिकामा पनि पत्रकारिता गर्छन् काम बाहेकको समयमा । मलाई फोनमा अनी मेसेजमा भन्छन "के गर्नु रामप्रसाद दाई, चुप लागेर बस्न मन मान्दैन यहाँ पनि त्यही भएर लत मेटाउन कलम चलाउँछु ।" राष्ट्रलाई औधी माया गर्ने यि भट्टले लेखेको यो लेख पनि अहिले त्यत्तिकै सान्दर्भिक र मन छुने खालको छ । त्यसैले उनको यो लेखलाई यहाँ महत्वका साथ प्रस्तुत गरिँदैछ । धन्यवाद - सम्पादक 
                     ********************
दुई वर्ष अघि तामझामसाथ एमाले प्रवेश गरेका भुवन केसी यतिखेर त्यही पार्टीमा छन् कि अर्कैमा पुगे कतै चर्चा छैन। त्यतिखेर उनलाई एमालेले काठमाडौंको कुनै एक निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने चर्चा पनि व्याप्त थियो। तर उनले चुनाबको टिकट त पाएनन् नै एमालेले कलाकारको निम्ति …फिट' हुने ठाउँमा पनि उनलाई नियुक्ति दिएर थामथुम पार्न सके जस्तो लाग्दैन। संभवतः नेपाली जनताले केही साता वा महिनामा उनी अर्को दलमा लागेको खबर पक्कैपनि सुन्नु, पढ्नु अनि देख्नुपर्नेछ।
एमालेमा छँदा पनि …मधेशी' का नाममा सधैंभरि अवसर लिइरहने धनुषाका रामचन्द्र झा दुई वर्ष अघि माओवादी भए। उनलाई माओवादीले जिम्मेवारी दिन सकेन। अहिले बाबुराम भट्टराईको …नयाँशक्ति' को सूचिमा उनको नाम देखियो। त्यस्तै एमालेका तर्फबाट योजना आयोगका सदस्य अनि सांसद समेत भैसकेका डिल्लीराज खनाल चार वर्ष अघि …माओवादीको लहर' देखेर त्यतैतिर हुत्तिए। तीन वर्षसम्म कुनै जिम्मेवारी माओवादीबाट नमिलेपछि गत साल उनी फेरि पुरानै घर अर्थात एमाले फर्किए।
२०६७ को अन्तिममा अर्थसचिवबाट राजिनामा दिएका रामेश्वर खनाल त्यसअघिनै नेपाली कांग्रेसको शुभेच्छुकका
रुपमा चिनिन्थे। डा. रामशरण महत अर्थमन्त्रि हुँदा उनीसँग निकै 'ट्युन' मिल्ने पनि भनिन्थ्यो खनाललाई। 
अर्थसचिवबाट राजिनामा दिएपछि त्यो मुद्धालाई चर्काउन डा. महत र नेपाली कांग्रेसलेनै कम्ति प्रयास गरेनन्। खनाललेनै यो विषयलाई नचर्काउन भनेपछि कांग्रेस पछि हटेको थियो। जुन तथ्यलाई हालैमात्र सेतोपाटी डटकमसँग खनालले सबै खुलस्त पारेका छन्।  
अर्थ सचिवबाट बाहिरिएको केही समयपछि खनाल नेपाली कांग्रेस प्रवेश गरे। खनाललाई 'राजनीतिक मसला' बनाउन खोज्ने डा. महतलेनै उनलाई कांग्रेसमा नपस्न सुझाव दिएकोमात्र होइन भित्रैदेखि नचाहेको समेत स्पष्ट संकेत खनालले सेतोपाटीसँगको कुराकानीमा बाहिर ल्याएका छन्। 
नेपाली राजनीतिमा कस्तो खाले सिण्डिकेट छ भन्ने जान्नका लागि यी तीनवटा दृष्टान्त प्रयाप्त छन्। यो र उ पार्टी होइन। सबै पार्टीमा सिण्डिकेट छ। जसरी काठमाडौंबाट पोखरा जाने पृथ्बी राजमार्गमा नयाँ बस पस्नै नपाउनेगरि सिण्डिकेटको दादागिरी छ। ठीक त्यसैगरि नेपाली राजनीतिमा संभावना बोकेको नयाँ अनुहार जनताबाट अनुमोदित भएर आउन खोज्यो भने पनि पार्टीमा बर्षौदेखि दाई गरेर बसेकाहरुले रोक्ने, छिर्नै नदिने प्रवृत्ति छ। छिरिहालेपनि छिर्की हानेर उठ्नै नदिने प्रयास हुन्छन्। त्यसैको शिकार धेरै भइरहेका छन्।
जतिखेरसम्म रामेश्वर खनाल प्रशासक थिए, मैले जानेबुझेसम्म उनी पेशाप्रति निष्ठावान अनि इमान्दार थिए। शायद अहिलेपनि छन् होला। किनकी लामो समय इमान्दार रहेको व्यक्ति जीवनको उत्तरार्धमा भ्रष्ट हुन गाह्रै हुन्छ। चपाएर, दोहोरो कुरा गर्ने बानी कहिल्यै नपरेका खनालले जे बोल्छन् विगतमा पनि बनावटी थिएन र हुँदैन पनि। उनले प्रष्ट भनेका छन्–'म कांग्रेस त भएँ, मेरा लागि कांग्रेसको घर वरिपरि रहेको पर्खालको ढोका त खुल्यो, तर घर पस्ने ढोका खुलेन।'
रामेश्वर खनाल कांग्रेसमा पस्नु अनि सकृय हुनु भनेको कांग्रेसकै केही नेताका निम्ति घरमा 'सौता' छिरे सरह भयो। किनकी जो व्यक्तिले झण्डै तीन दशकसम्म लगातार कांग्रेसबाट एकलौटी रुपमा अर्थ मन्त्रालय दावी गर्ने अवसर पाइरहेको छ। खनाल छिरेपछि त त्यो अवसर गुम्ने पक्का थियो। खनालले पिएचडी गरेका नहोलान्, तर लामो समयको प्रशासनिक अनुभव, राष्ट्रिय अन्तर्राष्ट्रिय अवलोकन अनि लामो समयसम्म अर्थ मन्त्रालयको ज्ञानले गर्दा उनी अर्थ मन्त्रालय र विशेषगरि अर्थमन्त्रीका रुपमा संभावित व्यक्ति थिए। उनलाई कांग्रेसमा पस्न रोक्दा र पसिसकेपछि पनि भूमिका नदिँदा कसलाई फाइदा पुग्यो सबैले अनुमान गर्नसक्छन्।
झण्डै तीन दशकदेखि राजनीतिको सिण्डिकेटमा देश चलिरहेको छ। कांग्रेस कोइराला परिवारको सिण्डिकेटबाट कहिल्यै मुक्त नहुने अवस्थामा छ। विपी कोइराला रहेसम्म उनी, त्यसपछि गिरिजाप्रसाद, उनीपछि सुशील कोइरालालेनै कांग्रेसलाई हिँडाएका छन्। देशबाट राजतन्त्र त हट्यो तर पार्टीभित्रको राजतन्त्रे उत्तराधिकारी प्रथा सितिमिति मासिने छाँटकाँट छैन। 
सुशीलपछि शेखर, सशांक लाइनमा छन्। उता सुशीलले मन नपराए पनि सुजाता 'मान या नमान्, मै तेरा मेहमान' को शैलीमा आफूलाई बाउको उत्तराधिकारी घोषित गरेकी छिन्। उनले आउँदो कांग्रेस महाधिवेशनमा सभापति लड्ने उद्घोष गरिसकेकी छिन्। भलै उनको उद्घोषले कांग्रेसमा तरंग ल्याउन सकेको छैन। किनकी उनी कांग्रेसमा ज्यादा बदनाम छिन्। 
उता एमालेको अवस्था पनि उस्तै छ। २०४६ पछि जो जो नेता देखिएका थिए अहिलेसम्म तिनैको हालिमुहाली छ। मरेर गएका मनमोहन, मदन भण्डारी, जीवराज आश्रीत, सहाना प्रधान लगायत भन्दा बाहेक २०४६ पछि जो जो नेताका नाम सुने जनताले अहिलेपनि तिनैका पकेटमा सिमित छ एमाले।
माधबकुमार नेपाल, खड्गप्रसाद (केपी) ओली, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल एमालेका स्थायी मठाधिश हुन्। यी बाहेक एमालेमा तीन दशकको बीचमा कोही अघि बढ्न सकेका छैनन्। एमालेलाई नयाँ बिचार र गति दिनसक्ने भनिएका शंकर पोखरेल, योगेश भट्टराई, घनश्याम भुषाल, रबिन्द्र अधिकारी, गोकर्ण विष्ट अघि आउन निकै पापड बेल्नुपर्ने अवस्था छ। गत महाधिवेशनलाई केलाउने हो भने पनि संभावना बोकेका यी युवानेताहरु समेत यात माधब नेपाल या केपी ओली प्यानलमा नलागि केन्द्रमा आउन नसक्ने अवस्था रह्यो। 
पाँच वर्षदेखि अमेरिका बस्दै आएका एक नेपालीले अघिल्लो साता यो टिप्पणीकारसँग प्वाक्क बोले– 'अबको एमालेका प्रधानमन्त्री त माधब नेपाल निश्चितै हुन्।' 
एमालेबाट अहिलेसम्म चारजना प्रधानमन्त्री भैसकेका छन्। मनमोहन अधिकारी, माधब नेपाल, झलनाथ खनाल र वर्तमान केपी शर्मा ओलीले एमालेका तर्फबाट प्रधानमन्त्रीको फोटो मन्त्रिपरिषद् कार्यालयमा झुण्ड्याउने अवसर प्राप्त गरिसकेका छन्। अधिकारी बाहेक बाँकी तीनजना जीवितै छन्। एमालेले फेरि पनि प्रधानमन्त्री हुने अवसर पाएको खण्डमा माधब नेपालनै दोहोरिने प्रवल संभावना छ। भलै उनले आफ्नो कार्यकालमा सुशासन दिन असफल भएका किन नहुन्। 
एमालेमा यी तीनजनाभन्दा बाहेक माथिल्लो पदका लागि योग्य कोही नभएकै हुन् त? पालैपालो सबैले खाने र अरु चाँही टुलुटुलु हेरिरहने अवस्थामा छन्। एमालेभित्र आधा दर्जन नेताको सिण्डिकेट छ। जसलाई तोड्न पछिल्लो समयमा अघि बढेका माथि उल्लेखित युवापङ्क्तीले समेत सकेको छैन। 
२०५४ सालमा एमाले बिभाजनपछि बनेको मालेमा सकृय राधाकृष्ण मैनाली कालान्तरमा राजा ज्ञानेन्द्रको शासन व्यबस्थामा मन्त्रि समेत बन्न भ्याए। ठेट नेपाली उखान–'कोही न कोही पुरानै पोइ' भनेझै उनीपनि झण्डै डेढवर्ष अघि पुरानै घर अर्थात एमाले फर्किएका थिए। सुनिए अनुसार उनी पनि …राजनीतिक बेरोजगार' छन्। उनलाई एमाले नेताहरुले जानिजानी बेरोजगार बनाएका छन् कुनै भूमिका नदिईकन। 
उता माओवादीको अवस्था पनि भिन्न छैन। 'जनयुद्ध' का नाममा आतंक मच्चाउने माओवादी खुल्ला राजनीतिमा आएकोे एक दशक नपुग्दै पाँच चिरा भइसकेको छ। सुरुमा मातृका यादवदेखि पछिल्लो समयमा …विप्लव' सम्मलाई गणना गर्दा ठ्याक्कै पाँच चोइटा भैसकेको छ माओवादी।  
नयाँ पसेकालाई उचित जिम्मेवारी त छाडौ पुरानै हुलले पनि माओवादीमा काम नपाएको गुनासो व्याप्त छ। अहिले त माओवादीमा पस्नेभन्दा बाहिरिनेको लर्को लागेको छ। किनकी माओवादीसँग यतिखेर नत हतियारनै छ, नत हिजोको जस्तो 'क्रेज' नै। अबको विकल्प माओवादीनै हो भन्ने निष्कर्श बोकेर त्यहाँ पुगेका अरु दलका नेता, कार्यकर्ताहरु घर न घाटका भएका छन्। जसका उदाहरण ठूलो आशा राखेर त्यहाँ छिरेका डिल्लीराज खनाल र राधाकृष्ण मैनालीनै प्रयाप्त छन्। 
नेपालका दलभित्र रहेका सिण्डिकट अर्थात नयाँ अनि संभावना भएकालाई अघि बढ्नै नदिने प्रवृत्ति बाँचिरहेसम्म राजनीतिको पानी सफा बग्नै सक्दैन। कांग्रेसभित्र कोइरालाको मात्र होइन शेरबहादुर देउवा पक्षमा पनि उस्तै रोग व्याप्त छ। 
पार्टी सभापति पनि शेरबहादुर, अनि कांग्रेसलाई सरकारमा जाने मौका मिलेमा प्रधानमन्त्री पनि शेरबहादुर। 
यस्तो राजनीतिक संस्कारले नेपाल आउँदो एक शताव्दीसम्म पनि संसारकै गरिब र दरिद्र मुलुकमै रहिरहनेछ। देउवा पक्षबाट उनको विकल्पमा कोही देखिएका छैनन्। मौका मिल्दा आफ्नी पत्नीलाई समेत सभासद बनाउन पछि नपर्नेबाट उनीसँग लाग्ने नेता/कार्यकर्ताले के अपेक्षा राख्लान्?
राप्रपाको त झन् के कुरा गर्नु? बुढाखाडाहरुले पालैपालो मिलाएर खाने क्लबमा त्यो दल चिनिएको छ। सूर्यबहादुर थापा बाँचुन्जेल अध्यक्ष भए त्यो पार्टीको। अध्यक्ष हुने मौका नमिलेको अवस्थामा पार्टीनै फुटाएर भएपनि अध्यक्ष बने उनी। अहिले पनि लोकेन्द्रबहादुर चन्द, पशुपति शमसेरले पालैपालो खाइरहेका छन्। युवाहरुको त कुरै छाडौं, बर्षौदेखि डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष हुने इच्छा साँधेर बसेका छन्। कसरी हुन्छ उनलाई नदिने अनेक प्रपञ्च गरिरहेका छन् पुराना पञ्चहरुको त्यो दलमा। 
संसारको उदाहरणमा केही वर्षकै अन्तरालमा उच्च पदमा पुगेका थुप्रै दृष्टान्त छन्। प्रसंग अमेरिकाको।
यही वर्ष हुन लागेको राष्ट्रपतिको चुनावको प्रचारप्रसार यतिखेर तीब्र छ। डेमेत्र््कयाट तर्फकी हिलारी क्लिन्टन र रिपब्लिकनका डोनाल्ड ट्रम्प्स सर्वाधिक चर्चामा छन्। हिलारीलाई अमेरिकाको संभवत पहिलो महिला राष्ट्रपतिका रुपमा देख्न चाहनेहरुको भीड बढ्दैछ। उता उत्तेजक भाषण गर्दै चर्चा बटुलिरहेका ट्रम्प्सप्रति पनि चासो त्यत्तिकै बढ्दो छ। 
कुनै समयमा वकिल रहेकी हिलारीमा सकृय राजनीतिमा प्रवेश गरेको सन् १९६८ मा मात्र हो। पूर्व राष्ट्रपति बिल क्लिन्टनकी पत्नी भएकी कारणले मात्र नभै वर्तमान राष्ट्रपति बाराक ओबामाको अघिल्लो कार्यकालमा …सेक्रेटरी अफ स्टेट' थिइन् उनी। त्यतिखेर देखाएको क्षमताले गर्दा यतिखेर उनी अमेरिकामा मात्र नभै संसारभरि चर्चामा छिन् यतिखेर।
उनका बलिया प्रतिद्वन्दी रिपब्लिकन ट्रम्प्सको राजनीतिको यात्रा त्यति लामो छैन। साँढे चारअर्ब डलर सम्पत्तिका मालिक ट्रम्प्सको राजनीति सुरुवात तीन वर्ष अघिमात्र हो। उनलाई अमेरिकी समाजले …दल बदलु' का रुपमा चित्रण गरिरहेका छन्। किनकी सन् १९८७ सम्म उनी डेमोत्र््कयाट थिए। त्यसपछि सन् १९९९ सम्म उनी रिपब्लिकन भए। सन् १९९९ देखि २००१ सम्म दुई वर्ष उनी …रिफर्म पार्टी' मा आवद्ध रहे। २००१ देखि २००९ सम्म उनी फेरि डेमोत्र््कयाट भए। ०९ देखि ११ सम्म रिपब्लिकन रहे भने त्यसपछिका दुई वर्ष स्वतन्त्र। २०१२ पछि उनी अहिलेसम्म लगातार रिपब्लिकन पार्टीमा छन्। 
अर्थात अमेरिकी राजनीतिमा उदाउन जीवनभर राजनीतिलाई पेशा बनाउन जरुरी छैन। नत एकले अर्कालाई बाटो छेक्नसक्ने नत …हटहट म आएँ, मेरो बाटो हो यो' भन्ने प्रवृत्तिनै देखिन्छ। जसरी रामेश्वर खनाललाई छेकियो र पसिसकेपछि पनि मुल ढोका बन्दै राखियो। अमेरिकामा यो संभावना छैन। कोही नेताले अनुमोदन गर्नुपर्ने वा काखी च्यापिदिनुपर्ने अवस्था हुँदैन अमेरिकामा। 
उता बेलायतका वर्तमान प्रधानमन्त्री डेभिड क्यामरुनले ४४ बर्षकै उमेरमा उक्त पदमा पुग्ने मौका पाए। सन् १९८८ बाट मात्र राजनीतिमा लागेका क्यामरुन सन् २००५ मा ३९ वर्षकै हुँदा प्रमुख प्रतिपक्ष दलको नेता थिए।  
अर्कातिर जर्मन चान्सलर एन्गेला मार्केलको राजनीति यात्रा त सन् १९९० देखि मात्र सुरु भएको हो। १५ वर्षको राजनीतिक यात्रामै उनी चान्सलर पदमा पुगिन्। 
यतिखेर नेपाली राजनीतिमा ३९ देखि ४४ बर्ष उमेर भएकाहरुको अवस्था हेर्दा अमेरिका, बेलायत, जर्मनीको जस्तो कल्पना समेत गर्न सकिदैन। यो उमेर समूहका थुप्रै व्यक्तिहरु अहिले कांग्रेस, एमाले, माओवादी, राप्रपामा छन्। तर तिनले कहिले राजनीतिको माथिल्लो पद पाउने? 
अन्तिममा, फेरिपनि प्रसंग रामेश्वर खनालकै। जिन्दगीभरि कहिल्यै विचारधारा नमिल्ने बाबुराम भट्टराईका पछि खनाल लाग्नुको रहस्य के त? कारण एउटै छ–कांग्रेसले पर्खालभित्र त पस्न दियो तर घरभित्र नपसाएको इख छ उनीसँग। त्यही इखलाई क्षमतामा बदल्न उनी नयाँशक्तिको बाटो लागेका हुन्। खनाललाई जिम्मेवारी दिँदा कांग्रेसले गुमाउने केही थिएन, बरु उनलाई जिम्मेवारी नदिएर बाहिर्‍याउँदा कांग्रेसले बहुमूल्य चिज गुमाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक