20160110

भारतीय नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलनले गर्दा वीरगन्ज भन्सारबाट मात्र ३३ अर्ब घाटा, सबैतिरको जोडदा बेहाल ! राजस्व घटेको कारण सरकार गम्भीर सँकटमा !

वीरगन्ज भन्सार कार्यालयबाट आयात निर्यात ठप्प भएपछि रु ३३ अर्ब राजस्व घाटा भएको छ ।आयात निर्यात ठप्प हुँदा वीरगन्ज भन्सार कार्यालयलाई चालु आवको पहिलो पाँच महिनामा यतिधेरै राजस्व घाटा भएको हो । मधेस केन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा बसेर नाका ठप्प पारेपछि आयात निर्यात पूर्णरुपमा ठप्प भएको छ । चालु आवको मङ्सिर मसान्तसम्म रु ३९ अर्ब ४५ करोड राजस्व असुली गर्ने लक्ष्य तोकिएकोमा कार्यालयले उक्त अवधिमा जम्मा रु १४ अर्ब ४३ करोड मात्र असुली गर्न सकेको छ । पुस मसान्तसम्म रु ४७ अर्ब ७५ करोड राजस्व असुली
गर्ने लक्ष्य तोकिएकोमा पुस १५ गतेसम्ममा रु १४ अर्ब ६८ करोड ६९ लाख मात्र असुली गर्न सकेको छ । सो भन्सार कार्यालयले दैनिक रु २५ करोडदेखि रु ३० करोडसम्म राजस्व असुली गर्दै आएको छ । यस्तै कात्तिक महिनामा रु सात अर्ब ३० करोड ५९ लाख राजस्व असुली गर्ने लक्ष्य तोकिएकोमा रु सात करोड ३९ लाख ९३ हजार तथा असोजमा रु सात अर्ब ७८ करोड ६७ लाख ८९ हजार राजस्व असली गर्ने लक्ष्य तोकिएकोमा रु दुई अर्ब ६४ लाख ६७ हजार असुली गरेको छ । भदौमा रु आठ अर्ब ८२ करोड ५० लाख २८ हजार राजस्व असुली गर्ने लक्ष्य तोकिएकोमा रु चार अर्ब ९१ करोड १३ लाख ३७ हजार असुली गर्न सकेको थियो । बन्द हडताल र नाकामा भएको अवरोधका कारण भन्सारलाई सर्वाधिक राजस्व बुझाउने सवारी साधन, इन्धन र औद्योगिक कच्चा पदार्थको निर्वाध आयात हुन नसकेकाले लक्ष्य अनुरुपको राजस्व असुली गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । “हाल भारतबाट किनमेल गरेर आउने यात्रुबाट दैनिक थोरै परिमाणमा राजस्व लिने काम भइरहेको छ” भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्माले भन्नुभयो । मुलुकको कुल भन्सार राजस्व असुलीमध्ये वीरगन्ज भन्सार कार्यालयलाई मात्र ५१ प्रतिशतभन्दा बढी राजस्व असुलीको लक्ष्य दिएको छ । भन्सार विभागले चालु आवका लागि रु दुई खर्ब पाँच अर्ब भन्सार राजस्व असुली गर्ने लक्ष्य लिएको छ भने वीरगन्ज भन्सार कार्यालयलाई मात्र रु एक खर्ब तीन अर्ब राजस्व असुली गर्ने लक्ष्य तोकिएको शर्माले बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक