(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20160107

बालकृष्ण ढुंगेललाई आम माफी दिने बाबुराम भट्टराई सरकारको निर्णय सर्वाेच्च द्वारा खारेज, अब माओवादी हत्याराहरुले आम माफी नपाउने एतिहासिक नजिर स्थापित !


सर्वाेच्च अदालतले एमाओवादी पूर्व सभासद बालकृष्ण ढुंगेललाई आम माफी दिने बाबुराम भट्टराई सरकारको निर्णयलाई खारेज गरिदिएको छ । हत्या गरेको कसुरमा सर्वाेच्चबाटै सर्वस्वसहित जन्मकैद पाएका ढुंगलेललाई फैसला अनुसार पक्राउ थुनामा राख्न माग पीडित परिबारले गरिरहेका बेला भट्टराई सरकारले उनीलगायत दर्जनौंलाई आम माफी दिने निर्णय गरेको थियो । त्यस विरुद्ध मृतक उज्जन कुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले २०६८ जेठ ३१ गते सर्वाेच्चमा रिट दायर गर्दै अदालतको फैसला पालन हुनु पर्ने माग गरेकी थिइन् । तत्कालिन प्रधान न्यायाधीश खिलराज रेग्मी र न्यायाधीश कमलनारायण दासको २०६८ असार १२ गते बसेको इजलाशले ढुंगेललाई पक्रन र थुन्न कानूनले नछेक्ने भन्दै साबित्रीको निवेदनमा अन्तरिम आदेश जारी गरिरहन नपर्ने निर्णय गरेको थियो । त्यसपछि पेशी चढदै र सर्दै आएको उक्त रिट इजलाशमा चढेको ३२ औं पटक बिहीबार संवैधानिक इजलाशले जारी हुने ठहर गरेको हो । प्रधान न्यायाधीश कल्याण श्रष्ठ तथा सर्वाेच्चका वरिष्ठतम न्यायाधीशहरु सुशीला कर्की, गोपाल पराजुली, वैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्रको इजलाश ढुंगेललाई कुनै हालतमा पनि आम माफी दिन नमिल्ने ठहरमा पुगेको हो । नयाँ संविधान अनुसार माफी सम्बन्धी कानून नबनेको लागायत उनले माफी नपाउनकाका ४ कारणहरु सर्वाेच्चले अघि सारेको छ । 'सजाय माफी दिने गरी भएको मन्त्रिपरिषदो सिफारिस निर्णय कार्यान्वयन गर्न दिन मिल्ने नहुँदा त्यस्तो सिफारिस
उत्प्रेषणको आदेशले बदर हुने' सर्वाेच्चको आदेश छ,'यथाअवस्थामा माफी नदिनु नदिलाउनु भनी विपक्षी राष्रट्रपतीको कार्यालय र प्रधान मन्त्री तथा मन्त्रिपरिषदो कार्यालयको नाममा परमादेशको आदेश समेत जारी हुने ।' आम माफीका सम्बन्धमा नेपालको न्यायालय नै यो फैसला नै पहिलो नजिर हो ।
'अन्य आम माफीका मुद्दाहरुमा पनि यो नजिर लागू हुनेछ' निवेदकका तर्फबाट बहस गर्ने अधिवक्तामध्येका एक बारका उपाध्यक्ष टीकाराम भट्टराईले भने,'अब कानून नबनी र अदालतमा आत्मसमर्पण नगर्नेलाई आम माफी गर्न पाइने छैन ।'
ढुंगेललाई आफ्नो गृह जिल्ला ओखलढुंगाका एक युवा उज्जनकुमार श्रेष्ठको २०५५ असार १० गते खहरे खोलामा गोली हानी हत्या गरेको अभियोगमा विस्तृत शान्ति सम्झौता हुनु अघि नै मुद्दा लगाइएको थियो । त्यसैमाथि सुनुवाइ गर्दै जिल्ला अदालत ओखलढुंगाले २०६१ बैशाख २८ गते सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । त्यसविरुद्ध पुनरावेदन अदालत राजविराजले उनलाई ३०६३ मा सफाइ दिएको थियो । संविधान सभाको चुनाव हुनु अघि उनले सफाइ पाएकाले ढुंगेललाई माओवादीले सभासदको उम्मेदवार बनाएको थियो ।
पुनरावेदन अदालतको फैसला विरुद्ध परेको निवेदनमा सर्वाेच्च अदालतका न्यायाधीश तपबहादुर मगर र राजेन्द्र कोइरालाको इजलाशले २०६६ पुस १९ गते श्रेष्ठको हत्यामा ढुंगेल संलग्न भएको ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरिदिएको थियो ।
मुद्दाको अन्तिम टुंगो लागेको यतिका वर्षपछि पनि ढुंगेल पक्राउ परेका छैनन् । फैसला आफ्नो पक्षमा भए पनि न्याय नपाएको भन्दै श्रेष्ठकी दिदी सावित्रीले सर्वाेच्चमा रिट दायर गरेकी थिइन् कान्तिपुरले लेखेको छ ।
ढुंगेलले माफी नपाउनका कारणः
१ नयाँ जारी भएको नेपालको संविधानको धारा २७६ बमोजिम माफी सम्बन्धी कानूनको अभावमा माफी सम्बन्धी निर्णय गर्न नसकिने ।
२ अदालतको अन्तिम फैसलाबमोजिम कसूरदार ठहरिएका व्यक्तिले सो फैसला बमोजिम समर्पण नगरेको
३ फैसला कार्यान्वयन प्रक्रियाको शुरुवात नै नभएको
कानूनले निर्धारण गरेको माफी मिनाहासम्बन्धी प्रकृया अवलम्वन नगरेको,
४ भेदभावपूर्वक कसैलाई लाभ दिने गरी भएको निर्णयबाट समानताको हक, स्वच्छ सुनुवाइ एवं अदालतको निर्णयको अन्तिमताको सिद्धान्त र कानूनको शासनको सिद्धान्तसमेतको उल्लंघन हुने
जसले १७ वर्षपछि जितिन् न्यायको लडाइँ

सावित्री श्रेष्ठ  
                                                           सावित्री श्रेष्ठ
काठमाडौं- उनी सर्वोच्च अदालत छिर्नासाथ एकजनाले भने, 'दिदी, तपाईंको पक्षमा मुद्दा फैसला भयो नि!' केही समय उनी अलमल परिन्। सोचिन्, अरु कसैको होला। केही पछि थाहा पाइन्, आफ्नै रहेछ। भाइको हत्याराले सजाय पाउने फैसलाको खबरले सावित्री श्रेष्ठको मुटु ढक्क फुल्यो। केही बोल्न सकिनन्। १७ वर्षदेखि रोइरहेकी एउटी दिदीलाई न्यायले खुसीको आँसु खसालिदियो। हत्तपत्त न्यायको खबर ८० नाघेका बुबाआमालाई पुर्याइन्। २०६८ सालदेखि उनी तारेखका लागि अदालत धाइरहिन्। खुट्टा थाके, उनको न्यायप्रतिको विश्वास थाकेन।
रातो पछ्यौरीमा श्रेष्ठ सर्वोच्च अदालतको प्रांगणमा हँसिलो मुद्रामा थिइन्। भाइको हत्यारालाई कारबाही गराउन निरन्तर लडिरहेकी उनले बिहीबार न्यायको लडाइँ जितिन्। मुद्दा फैसला भएपछि उनलाई फोन आइरहेका थिए। उनले 'सबैको जित, न्यायको जित' भएको सुनाउँदै थिइन्।

ओखलढुंगा कोकनीमा कुटानी पिसानी मिल, पसल गरेर एउटा संयुक्त परिवार मिलेर बसेको थियो। सावित्री विवाहपछि काठमाडौं आइन्। भाइ उज्जन श्रेष्ठ पर्यटन क्षेत्रमा काम गर्थे। सोही क्रममा दिदीसँगै बस्थे। बुबाको प्यारालाइसिस भएपछि सघाउन उनी काठमाडौंबाट घर गएका थिए। रोपाइँको बेला थियो। सामान लिन दुईजना भरियासहित रामेछाप हाटबजार जाँदै थिए। बाटोमै उनको हत्या भयो। २०५५ असार १० गते दिदीबाट भाइ हराएको खबर पाइन्। त्यस दिनै काठमाडौंबाट ओखलढुंगा पुगिन्।

आमा बेहोस थिइन्। भाइको अत्तोपत्तो थिएन। रगतको टाटा देखिएको खबर पाएपछि भाइको आस मारेकी थिइनन्। उज्जन हराएको सात दिनपछि प्रहरीले जिउँदो छैन भनिदियो। काजकिरिया सुरु गरे। त्यो दिनदेखि परिवार छिन्नभिन्न बन्यो। परिवार ओखलढुंगाबाट रामेछाप विस्थापित भयो। दुईजना भरियाले गाउँकै चिनजानेको व्यक्तिले हत्या गरेको देखेका थिए। हत्यापछि सावित्रीका दाजु गणेशकुमार श्रेष्ठले प्रहरीमा जाहेरी दिए।

उनी हत्यारा खोज्न लागिन्। भाइलाई मार्ने हत्यारा आँखैअगाडि छाती फुलाएर हिँडिरहँदा उनी आफ्नो पीडा आँसुले बगाउँथिन्। हत्याराहरु लुकेर बसेको खबर प्रहरीसमक्ष पुर्यािउँदा पनि पक्राउ गरिएन। कतिबेला आशा हराउँथ्यो। उनले भनिन्, 'हत्याराहरु बसेको ठेगाना दिँदासमेत प्रहरीले समाउन सकेन।' मुद्दा दर्ता गराएपछि उनका दाजु गणेशलाई धम्की आउन थाले। 'मुद्दा फिर्ता नलिए ज्यान लिने धम्की आउन थाले।' धम्की आए पनि दाजुबहिनीले उज्जनको हत्यारालाई सजाय दिलाउने अठोट लिएका थिए।

२०५९ मंसिर ६ गते। उनका दाजु गणेश घरपछाडि काम गर्दै थिए। गणेशकी छोरी रञ्जना सात कक्षा पढ्दै थिइन्। बुबाको साथी भएको बताउँदै अपरिचितले सोध्यो, 'तिम्रो बुबा खोइ!' उनले सत्य बताइन्। तिनै व्यक्तिले बुबा देखाइदिन गएकी छोरीकै अघि गोली हानी मारिदिए। श्रेष्ठ परिवारमा अर्को बज्रपात पर्योग। रञ्जना बेहोस भइन्। दाजुको खबरपछि उनी बसेको धर्ती भासिएजस्तै भयो। आकाश खसेजस्तै भयो। परिवारमा एकपछि अर्को विपत्ति थपिँदै गयो। जेनतेन उनले एसएलसी पास गरिन्। बुबालाई आँखैअघि गोली हानिएको दृश्य सहन नसकेर रञ्जनाले तीन वर्षपछि आत्महत्या गरिन्।

मुद्दा फिर्ता लिन परिवारमा धम्की आइरह्यो। केही समय कुनै आँट आएन। न्यायको आशा हरायो। परिवार कहाँ बस्ने? कुनै बेला विचार आउँथ्यो। आँसु पुछ्दै भनिन्, 'खाल्डो खनेर सबै परिवार एकै ठाउँमा मरौं जस्तो हुन्थ्यो।' दुई छोराको हत्यापछि आमाले निद्रा लाग्ने औषधि सेवन गर्न थालिन्। सावित्रीले बुबाआमा, भाउजू, बुहारी, भतिजभतिजीलाई सम्हाल्न निकै गाह्रो थियो।

भक्कानिँदै भन्छिन्, 'मेरा दाजुभाइले कसैको केही बिगारेका थिएनन्। कुनै दलमा आबद्ध थिएनन्।' अहिलेसम्म उनका दाजुको हत्यारा पक्राउ परेका छैनन्। तर, दाजुका हत्यारालाई कारबाही गरेरै छाड्ने अठोट लिएकी छन्। उनले भनिन्, 'हत्याराको बाउबाजेको ठेगानासहित अदालत पुग्छु।'

सरकार परिवर्तनपिच्छे कुनै पनि मन्त्री भेट्न बिराइनन्। पूर्व प्रधानमन्त्रीदेखि पूर्व राष्ट्रपति रामवरण यादवसम्म भाइका हत्यारालाई कारबाहीका लागि सहयोग गरिदिन हात जोडिन्। हरेक पार्टी कार्यालयको ढोका चहारिन्। न्यायको आस मारेका बूढा बाबुआमालाई पूर्व राष्ट्रपति यादवकोमा पुर्यारइन्। भन्छिन्, 'त्यसपछि बल्ल बुबाआमा अलि ढुक्क हुनुभयो।'

यादवले भनेका थिए, 'हामीभन्दा सर्वोच्च माथि छ। पीडितलाई न्याय दिन्छ।'

माओवादीका उच्च नेतासम्मले उनलाई भेट्ने, फकाउने, धम्काउने, थर्काउने केही बाँकी राखेनन्। तर, उनी हिम्मत हारिनन्। अझै पनि चाडबाड आउँदा उनका आँखा ओभानो हुन्नन्। हत्या भएको महिना आउँदा मुटु ढुकढुक हुन्छ।

घरपरिवार सबै छाडेर न्यायका पक्षमा लडिरहन उनका श्रीमानले निकै सघाए। उनी भन्छिन्, 'श्रीमानले साथ नदिएको भए सम्भव थिएन।' भाइको हत्या भएको १७ वर्षपछि सर्वोच्च अदालतले फैसला तत्काल कार्यान्वयनमा ल्याउन सरकारका नाममा आदेश जारी गरेपछि न्यायप्रतिको आशा पलाएको छ। उनी भन्छिन्, 'यो मेरो मात्र होइन, सम्पूर्ण पीडितको जित हो।' उनलाई आफू जस्तै पीडितका पक्षमा कानुन रहेको विश्वास भएको छ।
- Nagariknews

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक