20160303

'सुशीलको नेतृत्वमा बनायौँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान' भन्ने मूल नाराका साथ नेपाली काँग्रेसको १३आैं महाधिवेशन सुरु

नेपाली काँग्रेसको १३आैं महाधिवेशन तामझामका साथ सुरू भएकाे छ। राजधानीको खुलामञ्चमा
भव्य समारोहबीच कार्यवाहक सभापति रामचन्द्र पाैडेलले महाधिवेशन उद्घाटन गरे। 'सुशीलको नेतृत्वमा बनायौँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान' भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले संविधानको कार्यान्वयनका लागि नेपाली कांग्रेसको नेतृत्व आवश्यक भएको बताएका छन्। पार्टीको १३औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक सभापति पौडेलले भने, 'संविधानको कार्यान्वयनका लागि नेपाली कांग्रेसको नेतृत्व आवश्यक छ, कसैको नेतृत्वबाट संभव छैन।' महाधिवेशनपछि सरकार परिवर्तन हुने गाइँगुँइ चलिरहेको बेला पहिलो दलका कार्यवाहक सभापति पौडेलले तेस्रो दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लोकतन्त्र र समाजवादको फ्युजन गरेर सहकार्य गर्न प्रस्ताव पनि गरे। पार्टीको १३ औं महाधिवेशन उद्घाटन समारोहामा एमाओवादी अध्यक्ष दाहालले कांग्रेसको अधिवेशनलाई आफूले पनि नियालिरहेको भन्दै परिवर्तित अवस्थालाई सम्बोधन गर्ने गरी महाधिवेशन सम्पन्न गर्न आग्रह गरेका थिए। त्यसको जवाफमा पौडेलले लोकतन्त्र र समाजवादको फ्युजन भनेको संविधान भएको भन्दै
त्यसलाई जिम्मेवार सहकार्यबाट कार्यान्वयनका लागि प्रस्ताव राखे। 'लोकतन्त्र र समाजवादको फ्युजनमा सहकार्य गर्न सकिन्छ म जिम्मेवार भएर सहकार्यका लागि पनि प्रचण्डलाई प्रस्ताव राख्न चाहन्छु' पौडेलले भने, 'प्रोपोगाण्डा र जनता भड्काउने काम बन्द गरेर देशलाई सही दिशामा अघि लैजान सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने आवश्यक छ।' उनले सबै दलले जिम्मेवार भूमिका खेल्न सके देशलाई सुरक्षित अबतरण गराउन सकिने बताए ।
 पार्टीमा एकता खाँचो भएको भन्दै त्यो विचारका आधारमा मात्र संभव हुने उनले बताए। विचारका आधारमा नभए एकताका लागि एकता मात्र हुने उनको कथन थियो। 'हाम्रो पार्टीमा एकता आवश्यक छ, तर त्यो एकता एकताका लागि हैन विचारका लागि हुनु पर्छ' पौडेलले भने, 'खाली एकताका लागि एकताले निकास दिन सक्दैन।' उनले पार्टीभित्र गम्भीर बहस पनि आवस्यक भएको बताए। 'म साथीहरुलाई भन्न चाहन्छु कि अरुको आलोचना र टिप्पणीमा बगेर निर्णय गर्ने नगरौँ', उनले भने 'अरुको आलोचना भन्दा पनि आफ्नो विचार र विवेकबाट मात्र निर्णय गरौँ।' अब गम्भीर बहस आवस्यक भएको भन्दै विचार बिनाको एकता टिक्न पनि नटिक्ने उनको भनाई थियो।  पौडेलले भारतीय नेताहरुले भारतमा लोकतान्त्रिक समाजवाद लागू गर्न नसकेको भन्दै नेपालबाट लागू भए भारतमा पनि सहयोग पुग्ने भनाईको जवाफ पनि पौडेलले दिए। 'भारतीय समाजवादी पार्टीका नेताले समाजवाद भारतमा लागू भएन नेपालबाट सुरुवात होस् भन्नुभयो। नेपालले नयाँ ज्ञान दिने छ, नयाँ विज्ञान दिने छ' उनले भने, 'प्रजातान्त्रिक समाजवाद नै नेपाली कांग्रेसको शक्ति र संगठनको स्रोत बनेको छ।' उनले भने, 'जुन समयमा संविधानको कार्यान्वयन गर्नेछौँ, त्यही दिन भारतले पनि थाहा पाउने छ, विश्वले पनि थाहा पाउने छ, कि कस्तो समाज हिमालको काखमा बन्यो।' पौडेलले मधेसका विषयमा कांग्रेसले नै सम्बोधन गरेको भन्दै अब पनि बाँकी केही भए सम्बोधनका लागि तयार हुने बताए । 'मधेसका विषयमा हामी सम्बोधन गर्न तयार छौँ, संविधानमा केही कमजोरी छन् भने संशोधन गर्न पनि तयार छौ' उनले भने, 'तर सबै दल जिम्मेवार भएर वार्ताका लागि तयार बनौ.।'  पौडेलले सही नेतृत्वले मात्र जनताका समस्या र देशका समस्या सम्बोधन गर्ने भन्दै जनताबाट पनि उचित नेतृत्व छनौट हुनुपर्ने बताए। 'एउटा कुशल नेतृत्वले देशलाई र जनतालाई समस्याबाट बाहिर ल्याउन सक्छ', पौडेलले भने 'तर त्यसका लागि जनताले र कार्यकर्ताले उचित नेतृत्व चयन गर्नु आवश्यक हुन्छ।'

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको महाधिवेशन कर्मकाण्डी र नियमित संवैधानिक प्रक्रियामा सीमित हुन नहुने बताएका छन्। खुलामञ्चमा कांग्रेस महाधिवेशन उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने – 'कांग्रेसले जिम्मेवारी बहन गर्न सक्ने र राष्ट्रिय चुनौती सामाना गर्न नीतिगत रुपमा र नेतृत्वगत रुपमा तयार रहन सक्नेछ भन्ने विश्वास छ।' प्रधानमन्त्री ओलीले आफू र एमाले, कांग्रेससँग लोकतन्त्र सुरक्षित गर्न र संस्थागत गर्न सहकार्य गर्ने नीतिका साथ अगाडि बढ्ने गरेको उल्लेख गरे। 'लोकतन्त्र सुदृढ र राष्ट्रिय हित संरक्षण गर्ने प्रश्नमा राष्ट्रिय एकता कायम गर्ने प्रश्नमा एमाले सबै शक्तिसँग मिलेर काम गर्न चाहान्छ,' ओलीले भने। 'कांग्रेस जस्तो लामो इतिहास बोकेको पार्टीसँग सुझबुझपूर्ण निर्णयको अपेक्षा गरेका छौँ,' उनले भने। प्रधानमन्त्री ओलीले मुलुक आर्थिक उन्नतिको चरणमा प्रवेश गरेको उल्लेख गर्दै विगतका तरिका र शैली परिवर्तन गर्नुपर्ने तर्क गरे। संविधानले सबैको हक अधिकारलाई संस्थागत गरेको र आन्दोलन र अभियानको समय सकिएको उनको धारणा थियो। कांग्रेस सभापति पदका उम्मेद्वार एवम् बरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रलाई कसैले अपहरण गर्न नसक्ने अवस्थामा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

१३ औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै देउवाले भने - भोलिका दिनमा लेकतन्त्र कसैले अपहरण गर्न नसक्ने अवस्थामा पुर्याउनु छ। म तपाईँहरुलाई विश्वास दिलाउन चाहन्छु यी सबै काम गरेर छोड्ने छु। म फेरि पनि भन्छु, यी सबै काम गरेर छोड्ने छु, छोड्ने छु, छोड्ने छु।'

देउवाले भारतसँगको सम्बन्धमा उतारचढाव आएको उल्लेख गरे। 'भारतसँगको सम्बन्धको उतारचढावका कारण आएका समस्याको समाधान गर्नुछ। यी समस्या र त्यसबाट उत्पन्न समस्याको समाधान हामीले गर्नुछ। त्यो चुनौती कसैले समाधान गर्न सक्छ भने नेपाली कांग्रेसले मात्र सक्छ ', उनले भने।

देउवाले नेपाली कांग्रेसलाई समावेसी बनएर सबै नेपालीको पार्टी बनाउनु चुनौतीपूर्ण रहेको उल्लेख गरे। 'देशमा संविधानको कार्यान्वयन गरेर संविधानको समावेशी चरित्रको कार्यान्वयन गरेर सबै देशवासीलाई अपनत्व ग्रहण गराउनु छ', देउवाको भनाई थियो।

दोस्रो संविधानसभबाट ७० वर्षको आन्दोलनबाट आएको संविधान जारी भएकाले त्यसको कार्यान्वयन नै अहिलेको चुनौती भएको देउवाको ठहर थियो।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतलाई नेपालले नाकाबन्दी बेहोर्नुपर्ने के गल्ती गरेको छ भनी सोधेका छन्। कांग्रेस महाधिवेशको उद्घाटन समारोहमा भारतीय जनता पार्टीका नेता भगत सिंह कोशियारीलाई संबोधन गर्दै उनले भारतले नेपालीहरुको भावनामा ठेस पुर्‍याउने गरेको स्मरण गराउँदै यस्तो इतिहास नदोहोर्‍याउन सचेत गराएका हुन्। 'भगत सिंह कोशियारी ज्यू उठ्न खोज्दै हुनुहुन्थ्यो मैले पख्नुस् तपाइँको बारेमापनि मैले बोल्नुछ भनेर रोकेँ किनभने हामीले नेपालमा जे राजनीतिक प्रयोग गर्दैछौं हाम्रा छिमेकीहरुको यसमा सहयोग सद्भाव जरुरी छ। कहिलेकाहीँ हाम्रो भावनामा ठेस लाग्ने गरेको छ' उनले भने ' हामीले नाकाबन्दी बेहोर्नुपर्ने के गल्ती गर्‍यौं यो इतिहास फेरि नदोहोरियोस् म उहाँ मार्फत भारतीय सबै नेताहरुलाई अनुरोध गर्न चाहन्छु।' नेपाल र भारतको इतिहास भूगोल संस्कृति अर्थनीति सबै मौलिक प्रकृतिको भएपनि बेला बेलामा भारतबाट पीडा भोग्नुपरेको प्रचण्डले बताए। उनले नेपालमा गरिएको राजनीतिक प्रयोगलाई भारतले साथ दिनुपर्ने बताए। नेपालमा संसदबादी दल र युद्धरत नेकपा माओवादीबीच समझदारी भएर संविधानसभा हुँदै संविधान निर्माण हुनु नेपालमा भएको पछिल्लो राजनीतिक प्रयोग भएको प्रचण्डको दावी छ। नेपालमा विपीले राजासँग मिलेर राणा विरोधी आन्दोलन गरेको र कांग्रेस तथा कम्युनिष्ट मिलेर पञ्चायत विरुद्ध आन्दोलन गरेजस्तै माओवादी र संसदबादी दलहरुबीचको एकताले संविधान निर्माण हुनु पनि राजनीतिक प्रयोग भएको प्रचण्डले बताए। उनले यो राजनीतिक प्रयोगलाई भारतले समर्थन गर्नुपर्ने बताए। आफुले बिद्रोह गर्दागर्दै तत्कालीन ७ दलसँग समझदारी गरेर नेपालका लागि ठूलो जोखिम उठाउन तयार भएकाले अहिलेको उपलब्धी हासिल भएको प्रचण्डले बताए। 'मैले बिद्रोह गर्दागर्दै नेपालका लागि ठूलो जोखिम उठाउन तयार नभएको भए अहिलेको गौरम प्राप्त हुने थिएन' उनले भने। अहिले पनि देश सहज नभइसकेको भन्दै प्रचण्डले एकता जरुरी रहेको बताए। अब आउने कांग्रेसको नेतृत्व संविधान कार्यान्वयन गर्ने, राष्ट्रिय एकता कायम गर्ने र जनताको विकासको चाहना पूरा गर्ने खालको हुनुपर्ने प्रचण्डको धारणा छ। कांग्रेस महाधिवेशनको अन्तिमसम्म समयसम्म बसेका प्रचण्डले राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले मात्र गर्‍यो भन्दा आफ्नो मन चसक्क हुने बताए। 'यो परिवर्तन कांग्रेसले मात्र गर्‍यो भन्दा मेरो मन चसक्क हुन्छ उनले भने तपाइँहरु जसरी लड्नुभयो तपाईंहरुसँगै दिलो ज्यान दिएर साथ दिने समूहलाई विर्सनु हुँदैन।' तेह्राँै महाधिवेशनका लागि बुधबार कार्यवाहक सभापति रामचन्द्र पौडेलले महामन्त्रीमा नेता डा शशाङ्क कोइरालालाई लिएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
त्यस्तै महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि महामन्त्रीमा युवानेता गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई लिएर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। वरिष्ठ नेता शेरबहादुर देउवाले महामन्त्रीमा नेता अर्जुननरसिंह केसीलाई लिएर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। यसबाहेक सयाैं नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पार्टी कार्यालय सानेपामा आयोजित उम्मेदवारी घोषणा तथा प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री पदमा नेता अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवार घोषणा गर्नुभएको छ ।

उहाँहरुको प्रस्तावकमा पूर्वमहामन्त्री केवी गुरुङ र पूर्वकेन्द्रीय सदस्य खुमबहादुर खड्काले समर्थन गर्नुभएको थियो । यसअघि महामन्त्रीका उम्मेदवार केसी केन्द्रीय सदस्य र कोषाध्यक्षका उम्मेदवार यादव पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो ।

आजदेखि सुरु हुने काँग्रेसको ऐतिहासिक १३औँ महाधिवेशनले नयाँ नेतृत्वको चयनसमेत गर्नेछ । वरिष्ठ नेता देउवाले सभापति पदका लागि सहमति हुन्छ कि भनेर हिजोसम्म मैले पर्खेर बसेँ तर सहमति नभएपछि आज आफूले सभापति पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले आफू पार्टी सभापतिमा विजय भएमा एकजना कार्यकर्ताले पनि पार्टी छाड्न नपर्ने चर्चा गर्दै पार्टीलाई एकढिक्का बनाएर लैजाने जानकारी दिनुभयो ।

वरिष्ठ नेता देउवाले पार्टीभित्र एकता नभई भर्खर प्रजातान्त्रिक र बहुदलीय प्रतिस्पर्धाको अभ्यासमा प्रवेश गरेका वामपन्थी पार्टीहरुलाई रुपान्तरण गर्न सकिँदैन भन्नुभयो ।

तीनपटक प्रधानमन्त्री पद सम्हालेका वरिष्ठ नेता देउवाले आफू प्रधानमन्त्री भएका समयमा महिला, बालबालिका, दलित तथा युवा वर्गका क्षेत्रमा धैरै काम गरेको बताउनुभयो ।

यसैगरी महामन्त्री पदका प्रत्याशी केसीले अब देश राजनीतिक ‘सिन्डिकेट’ र विरासतका आधारमा नचल्ने धारणा राख्नुभयो ।

यसैगरी कोषाध्यक्षका प्रत्याशी यादवले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन गुट–उपगुटलाई अन्त्य गरिनुपर्छ भन्नुभयो ।

पूर्वमहामन्त्री गुरुङले काँग्रेसभित्र एकताको सन्देश दिन जरुरी रहेको चर्चा गर्दै पार्टीको नीति तथा कार्यक्रमलाई अध्ययन गरी नयाँ नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।

पूर्वकेन्द्रीय सदस्य खड्काले अहिले काँग्रेसका लागि सक्षम र कुशल नेतृत्वको आवश्यकता रहेको बताउनुभयो । रासस 
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले आजको युगमा काम आवस्यक हुने भन्दै भाषणले मात्र नहुने बताएका छन्। १३औं महिधवेशनको उद्घाटन समारोहमा महामन्त्री सिंहले सरकारप्रति लक्षित गर्दै भने - 'आजको युग भनेको डेलिभरीको युग हो उखान टुक्काले देश चल्दैन।' पहिलो पोस्टका अनुसार सिंहले प्रधानमन्त्री केपी ओलीको नाम नलिइकन भने, 'यहाँ काम गरेर देखाउनु जरुरी छ।' उनले सरकार जोगाउनकै लागि उपप्रधानमन्त्री माथि उपप्रधानमन्त्री थप्नु नैतिक नहुने पनि सुझाए। उनले १३औं महिधवेशन गर्दै गर्दा काम गर्ने प्रण पनि गर्न जरुरी भएको बताए । उनले राजनीतिक परिवर्तनका विषयमा खुल्ला मञ्चमै पहिले भनेको कुरा बताउँदै गणेशमान सिंहलाई स्मरण गरे। 'राजनीतिक परिवर्तन भएपछि त्यसलाई व्यवस्थापन गरिएन भने परिवर्तन औंचित्यहीन हुन्छ,' उनले भने, 'त्यो कुरा हामीले अब संविधानको कार्यान्वयन गरेर राजनीतिक व्यवस्थापन गर्दै देखाउनुपर्ने छ।' उनले सुशील कोइरालाको समन्वयात्मक भूमिकाका कारण संविधान जारी भएको हो। 'उहाँ आज हुनुहुन्न उहाँलाई श्रध्दाञ्जलि प्रदान गर्न छिटो भन्दा छिटो संविधान कार्यान्वयनमा लैजान जरुरी छ।' 'कांग्रेस अरुभन्दा भिन्न छ। किन भन्दा आफू कोर्रा खान्छ। जेल जान्छ तर अरुलाइ दुख दिँदैन। त्यही कारण यो पार्टीको आकर्षण छ।' २००३ सालमा स्थापना भएको यो पार्टी अहिलेसम्म वीपी, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद हुँदै सुशील कोइरालाले नेतृत्व गरेर देशलाई र कांग्रेसलाई यहाँसम्म ल्याउनुभएको हो।' हामीलाई नीतिमा बहस नगर्ने भन्ने आरोप लागेको छ। तर हामी नेतृत्वलाई भन्दा नीतिलाई नै प्राथमिक बनाउँदै आएको छ। गशेशमानजीले यही मञ्चमा भनेको सम्झन चाहन्छु राजनीतिक परिवर्तन पछि त्यसलाई व्यवस्थापन गर्न सकिएन भने त्यो परिवर्तन नै निरर्थक हुन्छ। अहिले पनि सुशील कोइरालाको नेतृत्वमा संविधान त जारी भएको छ। तर त्यसलाइ कार्यान्वयन गर्ने चुनौती छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक