20160330

प्रधानमन्त्री खड्गप्रसाद ओलीका चीन भ्रमणपछिका २५ चुनौती !


- कृष्णमुरारी भण्डारी |
प्रधानमन्त्री खड्गप्रसाद ओलीको दुई छिमेकी मुलुक भारत र चीनको औपचारिक भ्रमणपछि मै हुँ भन्नेहरूको पनि उनलाई हेर्ने दृष्टिकोण फेरिएको छ । कटु आलोचकहरूमाथि ओलीको यो विजयले उनलाई एमाले नेताबाट मुलुककै राजनेतामा बदलिदिएको छ । ओलीको नामसम्म सुन्न नचाहने र टुकबन्दीमा बाँचेका भनेर हलुका आँक्ने घोर विरोधीमा देखिएको यो ‘प्याराडमसिफ्ट' ले घरेलु राजनीतिक वृत्त त छँदैछ, कूटनीतिक क्षेत्रमा पनि बहुचर्चा पाएको छ । 
ओलीको राष्ट्रिय छवि भारत भ्रमणपछि जसरी ह्वात्तै बढेको थियो, चीन भ्रमणपछि त्यसले फड्को मारेर राष्ट्रिय सिमाना नै नाघेको छ । यो थाहा पाउन धेरैतिर भौँतारिइरहनै पर्दैन, केही दिन यताका भारतीय
अखबार हेरे पुग्छ । त्यहाँ ओली यसरी छाएका छन्, त्यति त उनी भारत भ्रमणका बेला पनि चर्चामा थिएनन् । उनको चीन भ्रमणबारे नेपाली सञ्चारमाध्यममा भइरहेका चर्चालाई पनि भारतीय सञ्चारमाध्यमले उछिनेका छन् । साँच्चै के गरे ओलीले चीन भ्रमणमा ? त्यसका के रणनीतिक महत्त्व छन् होला ?
ओली भारत भ्रमणमा निस्कँदा जुन तयारीका साथ नयाँदिल्ली पुगेका थिए, बेइजिङ पनि राम्रै तयारी गरेर पुगेको भ्रमणको सफलतापछि उजागर भएको छ । एमालेका एक नेता, धेरैमध्ये एउटा पार्टीका अध्यक्ष र देशका प्रधानमन्त्रीभन्दा माथि ओली ‘स्टेट्सम्यान' नै बन्न पुगे । भ्रमणको संयोग, अहिलेको परिस्थिति र देशको अवस्थाले
ओलीलाई नेपाली राजनेतामा रूपान्तरण मात्र होइन, काँचुली नै फेराइदिएको छ । 
उनले दुई छिमेकीको भ्रमण गर्दा जुन भूमिका निर्वाह गरे, त्यसले उनको कद हलक्कै बढेको छ । ओलीको यो कदलाई देशभित्र स्वीकार पनि गरिएको छ । उनको छिमेक नीतिले ‘ओली डक्ट्रिन' बनेको तहसम्म चर्चासमेत पाइरहेको छ तर आवश्यकता छ, यसलाई लिपिबद्ध गरेर परिमार्जन गर्नुपर्ने ।
चीनसँग ओलीले गरेकामध्ये पारवहन र यातायात सम्झौता यति युगान्तकारी छ, त्यसले नेपाललाई साँच्चिकै सार्वभौम स्वतन्त्र राष्ट्र पुष्टि गरिदिएको छ । तीनतिरबाट भारतले घेरिएको नेपालको हैसियत भारतले गरेको नाकाबन्दीले प्रस्ट पारेकै थियो । तर नेपालको इतिहासमा पहिलोपल्ट यो भूपरिवेष्ठित मुलुकले उत्तरी छिमेकको बाटो हुँदै प्रशान्त महासागरसम्म पुग्ने बाटो खुलेको छ । 
हिन्द महासागर भने पनि भारतले बंगालको खाडीमा खुम्च्याउँदै कजाएर राखेको नेपाललाई संसारकै ठूलो महासागरसम्म पहुँच पुर्‌याएर ओलीले मुलुकलाई दिव्य निकास दिलाएका छन् । एक विश्लेषक मित्रले त मुखै फोरे, सुगौली सन्धिमा ‘ब्रिटिस इन्डिया' बाट तीनतिरबाट र उत्तरतर्फ अग्ला हिमालयबाट थुनिएको नेपालले दुई सय वर्षपछि निकास पाएको छ । यो ज्यादै रणनीतिक महत्त्वको दूरगामी सफलता हो । यसको प्रयोग कहिल्यै नगरे पनि यो यति महत्त्वपूर्ण छ कि दुई ठूला छिमेकीबीच रहेको सानो भूपरिवेष्ठित मुलुकलाई दुवैतिर बाटो खुलेको छ । 
त्यसैले चीनसँगको यो सन्धि–सम्झौतालाई अंशबन्डापछि हात परेको लालपुर्जा जस्तै ठानिएको छ । भारतीय नाकाबन्दीबाट आजित कमजोर छिमेकीलाई चीनले दर्शाएको माया, ममता र असल छिमेकीपन प्रदर्शनले नेपाल र नेपालीलाई निकास दिएर जीवन मात्र होइन, स्वाधीनतापूर्वक बाँच्ने अवसर पनि दिएको छ । यसको लागि नेपालका पूर्व शासक, प्रशासकहरू राजा महेन्द्रदेखि वीरेन्द्र, बीपी कोइराला, मनमोहन अधिकारी, पुष्पकमल दाहाल र पञ्चायतकालीन प्रधानमन्त्रीहरू कीर्तिनिधि विष्ट र मरीचमानसम्मले अनेक प्रयत्न गरे पनि पार पाउन सकेका थिएनन् तर ओलीले चीनलाई पारवहन सन्धि गर्न सहमत बनाएर नेपाललाई पार नै लगाए ।
चीनलाई पारवहन र यातायात सन्धिसम्झौता गर्न सहमत गराउनु ओलीको लागि कागताली नै परेको भनिन्छ तर होइन । यस्तो हुँदो हो त नेपालका प्रधानमन्त्री ओलीले चीन जाँदा भन्ने थिएनन्, ‘म विशेष मिसन लिएर चीनको भ्रमणमा जाँदैछु र नेपाल चीन सम्बन्धलाई नयाँ आयाम दिँदै थप उचाइमा पुर्‌याउनेछु ।' के कुरा बिर्सनुँ हुँदैन भने नेपाल र चीनको सन्दर्भमा दुई मुलुक समान र सरकार प्रमुखहरू समकक्षी हुन्, तर व्यवहारमा त्यसो होइन । चीन नेपालको तुलनामा ज्यादै विशाल मुलुक हो । 
तर चीनका समकक्षीसँग ओलीले आफ्नो कदलाई कमजोर देखाएनन्, समकक्षीकै रूपमा प्रस्तुत गरे । नेपाली स्वाभिमान जगाउने आकार लिए ओलीले । त्यसैले भन्नैपर्ने हुन्छ, नेपाल चीन सम्बन्ध विशेष प्रकारको हो र छ । भनिन्छ, हाम्रो सम्बन्ध भारतसँग विशेष प्रकारको छ । यो अर्कै पाटो हो । भारतसँग विशेष सम्बन्ध छ भनेर राजनीतिक लाभ लिन प्रयोग गरिराखिएको कुरा पनि बिर्सन हुँदैन । खासमा यो गलत हो । दोहोर्‌याइरहन पर्दैन, नेपाल भारत सम्बन्ध अतुलनीय छ । तर त्यसलाई राजनीतिक लाभ लिनका लागि आफ्नो दोकान चलाउने स्वार्थ पूरा गर्न प्रयोग गरिएकाले त्यो अरूसँग दाजिँदैन । चीनसँगको नेपालको सम्बन्ध पनि कम छैन ।
प्रधानमन्त्री ओलीले छिमेकीसँग सन्धि त गरे तर तिनमाथि कार्यान्वयन गर्ने चुनौती छ । त्यसबाहेक पनि थुप्रै चुनौती उनका अगाडि लमतन्न बनेर बसेका छन् । यिनलाई आत्मसात गरेर फटाफट कार्यान्वयन गर्न सकेनन् भने उनको इतिहास र उनले बनाएको कद खिइन धेरैबेर लाग्दैन ।
प्रधानमन्त्री ओलीले चीनसँग दसबुँदे सम्झौता गरे । पन्ध्रबुँदे संयुक्त विज्ञप्ति जारी गरे । कुल मिलाएर उनले गरेका पच्चीस कार्यका लागि उनले अब आगे २५ वटै भूमिका निर्वाह गर्न सक्नुपर्छ, कूटनीति, राजनीति, व्यवस्थापन र प्रशासनविज्ञहरूले छलफलमा भने । 
तपसिलका २५ काम गर्न सकेनन् भने यिनले प्राप्त गरेका उपलब्धि र सिर्जना गरेका अवसरले मुलुकको आर्थिक सामाजिक रूपान्तरणको अहिलेको बिरलाकोटीको अवसर फुत्किन सक्छ । निम्न पच्चीस कार्य नगरी बसे भने ओलीका उपलब्धि पनि फास्स न फुस्सा हुन सक्छन् ।


त्यसैले ओलीका लागि अबका रोडम्याप र मन्त्र भनेकै निम्न २५ बुँदा हुन्:
१) जति पनि सन्धिसम्झौता भए, तिनलाई अभिलेखीकरण गरेर प्रोटोकल पूरा गर्दै पूर्णता दिनुपर्छ ।
२) ओलीको छिमेक नीति (ओली डक्ट्रिन) विदेश मामिला जानकार, निकटस्थ, पार्टीका मान्छे, कूटनीतिविद् आदिको सहभागितामा दस्ताबेजीकरण गरेर आवश्यकताअनुसार परिमार्जन गरेर स्थापित गर्नुपर्छ । खासमा के हो ओली डक्ट्रिन ? लिपिबद्ध गर्नुपर्छ ।
३) चीन─भारतसँग जति पनि सन्धि–सम्झौता भएका छन्, तिनको समयसीमाभित्र कार्यान्वयन गर्न राजनीतिक नेतृत्वले हाँक्ने संयन्त्र तयार गरेर कार्यान्वयन र अनुगमनको रिपोर्ट ओलीले प्रत्येक साताका क्याबिनेट बैठकमा मुख्य सचिवमार्फत कार्यसम्पादनको अनुगमन रिपोर्ट लिने गर्नुपर्छ ।
४) जसरी चीन समृद्ध हुनमा त्यहाँको राजनीतिक नेतृत्वले प्रशासनिक र प्राविधिक नेतृत्व परिचालन गरेको छ, त्यसैगरी हाम्रो नेतृत्वले पनि प्रशासनिक र प्राविधिक नेतृत्वलाई हार्मोनाइज गरेर मुलुक रूपान्तरणको कामलाई अगाडि बढाउँदै अहिलेका कामलाई निरन्तरता दिनुपर्छ ।
५) अब ओलीले तराई–मधेसको भूगोलको पहिचान गरी त्यहाँका सवाललाई सम्बोधन गरी निधान गर्न विशेष कार्यक्रम तयार गर्नुपर्छ । तराईका वास्तविक नेता र जनताको सहभागितामा कार्यक्रम अगाडि बढोस् ।
६) चीन भारत भ्रमणका उपलब्धिहरूलाई संस्थागत रूपमा संरक्षण गर्दै थप उपलब्धि हासल गर्न सबै दलका नेतासँग छलफल गरी साझा अवधारणासहितको कार्यक्रम सरकारले अगाडि बढाउनुपर्छ ।
७) तत्कालै विदेशस्थित खाली रहेका राजदूतहरू नियुक्त गरी देशको कूटनीतिक संरचना मजबुत रहेको सन्देश मित्रराष्ट्रहरूमा प्रवाह गर्नुपर्छ ।
८) उत्तरी नाकामा अवरुद्ध सडक तथा रेलमार्ग निर्माण तत्काल थाल्न नेपाली सेना र सशस्त्र प्रहरीलाई जिम्मेवारी दिई काम अगाडि बढाउनुपर्छ ।
९) काठमाडौँलाई तराईसँग जोड्ने द्रूतमार्ग (फास्टट्र्याक) समयसीमा तोकेर नयाँ वर्ष ०७३ को शुभमुहूर्तमा निर्माण सुरु गर्नुपर्छ ।
१०) पारवहन तथा यातायातसम्बन्धी निर्णय कार्यान्वयन गर्न तत्सम्बन्धी निकाय आपूर्ति, वाणिज्य र भौतिक योजना मन्त्रालयहरू तत्कालै पुनर्संरचना गरी काम अगाडि बढाउनुपर्छ । यी निकायमा जरा गाडेर बसेकाहरूको पकडबाट मुक्त नगरेसम्म यी सम्झौता कार्यान्वयन हुने सम्भावना नै छैन ।
११) अब ओलीको बोली होइन, गराइ देखिनुपर्छ । कार्यकारी जहाँ पनि भाषण गर्न देखा पर्नु जरुरी छैन ।
१२) अब ओली एमालेका अध्यक्ष मात्र रहेनन् । संविधान निर्माण, भारत र चीन भ्रमणपछि उनी राजनेतामा पुगेकाले अब गुटको भेला, पार्टीका भेला, मेला र कार्यक्रममा प्रमुख अतिथि बनेर अन्टसन्ट बोलिरहनु आवश्यक छैन ।
१३) अब ओलीले एमालेको प्रवद्र्धन गरिरहनु पर्दैन । जति उनले मुलुकलाई योगदान दिन्छन्, त्यसको जस एमालेले पाइहाल्छ ।
१४) ओलीले जिन्दगीमा पाउने पद पाइसके । पार्टी अधिवेशनमा भनेका थिए, म बोनसमा पाएको जिन्दगीलाई राष्ट्र र जनहितमा प्रयोग गर्छु । वाचा पालन गर्न लागिराख ओली ।
१५) बहुदल, लोकतन्त्र र गणतन्त्र आएपछि धेरै नेताले स्टेटम्यानसिपको भूमिका निर्वाह गर्छु भनेका थिए, तर सकेनन् । ओलीलाई त्यो गरेर देखाउने अवसर प्राप्त भएको छ । ओली पार्टी अध्यक्ष बने, कार्यकारी प्रधानमन्त्री बने, अब उनको भूमिका भनेकै राजनेताको हो, जुन अरू नेता र नयाँ पुस्तालाई अनुकरणीय बन्न सक्छ ।
१६) संविधान बनिसकेपछि त्यसको सफल कार्यान्वयनका लागि आवश्यक कानुनहरू आउँदो संसद्बाट प्रक्रिया पूरा गरी कार्यान्वयनमा लैजान ओली आफैँ अग्रसर हुनुपर्छ र दलहरूलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ ।
१७) दलका नेता, मन्त्री र प्रधानमन्त्रीसमेतले अपराधी, बिचौलिया, तस्कर र परिवारका सदस्यहरूको व्यापारिक संलग्नता र घरानाबाट घेरिएर लाभका पदहरूको बाँडफाँट र व्यावसायिक लाभका लागि समय व्यतित गर्नु हुँदैन । यसको अन्त्य गर्ने बहादुर ओली नै हुन सक्छन् किनभने व्यापार गर्न यिनका सन्तानै छैनन्् । उनका सन्तान भनेकै मुलुकका योग्य, परि श्रमी र क्षमतावान् व्यक्ति हुन् ।
१८) भूकम्प गएको एक वर्ष पुग्दैछ । तर पुनर्निर्माण प्राधिकरणले फिटिक्कै काम गर्न सकेको छैन । यो पार्टी र प्रशासनिक खिचातानीमै अड्किरहेको छ । यसका लागि चुस्तदुरुस्त पूर्ण राजनीतिक नेतृत्वको संरचनाबाट युद्धस्तरमा काम गर्न सक्ने युवा नेतृत्वसहित काम अगाडि बढेन भने वैशाख १२ गते प्राधिकरणकै पुतला भूकम्पपीडितहरूले भूकम्प क्षेत्रभर जलाउन सक्छन् । मनपर्दी गर्न नपाएपछि गाविस सचिवहरूले दोलखामा कार्यक्रम नै सञ्चालन गर्दैनौँ भनिसके, कतिसम्म गैरजिम्मेवार !
१९) हाम्रा खरिद ऐनसम्बन्धी कानुनहरूको बहानामा व्यापक ढिलासुस्ती र अनियमितता ज्यूँका त्यूँ छन् । सर्भिस डेलिभरी चुस्तदुरुस्त हुन पाएका छैनन् । बाटोघाटो लथालिंग र भताभुंग छन् । आवश्यक संशोधन गरी फास्टट्र्याक पद्धतिबाट काम सुरु गर्नुपर्छ ।
२०) मुलुकको प्रधानमन्त्री र देशको कार्यकारी प्रमुख जस्तो व्यक्तिले लामो समय सानातिना भेटघाट, रामरमिता, भोजभतेर र सुखदुःखको गफमा समय व्यतित गर्न सुहाउँदैन । यसमा उनका सल्लाहकारले सजग गराउनुपर्छ । त्यसैले सल्लाहकारहरूको कूटनीतिक, व्यावसायिक र व्यवस्थापकीय सीपयुक्त एक छुट्टै सल्लाहकार समूह तयार गरी कार्यकारी प्रमुखको काम चुस्त, व्यवस्थित र वैज्ञानिक प्रणाली अनुकूल बनाउनुपर्छ ।
२१) स्थानीय निकायको चुनाव तत्कालै गर्नु आवश्यक छ । यसको घोषणा जेठ मसान्तभित्र चुनाव सम्पन्न गर्ने गरी निर्वाचन आयोग र सम्बन्धित निकायलाई युद्धस्तरमा परिचालन गर्नुपर्छ ।
२२) प्रधानमन्त्री चीनबाट फर्कनेबित्तिकै चीनले उपलब्ध गराउने छात्रवृत्तिलाई लिएर अखबारले कार्टुन छाप्न थालेका छन् । यसले के संकेत गर्छ भने देशको हितमा प्राप्त हुने स्कलरसिपका अवसर नेता, पार्टी र पहुँचवालाहरूको निम्ति हुँदैछ । प्रधानमन्त्री सजग भएर ‘मेरिटवेस्ड' को आधारमा गरिब, योग्य र असहायले प्राप्त गर्न सक्ने पारदर्शी आधार तयार गरी सार्वजनिक गर्नुपर्छ ।
२३) चीनसँग हुन नसकेको भनिएको इन्धन आयात, जलस्रोत र रेलमार्ग सम्झौताको आवश्यक पूर्वाधार तयारी युद्धस्तरमा सुरु गर्नुपर्छ । यसका लागि ब्युरोक्रेटिक होइन, छुट्टै व्यावसायिक संरचना तयार गरी काम अगाडि बढाउनुपर्छ ।
२४) नेपाल भारतको जस्तै चीनको सम्बन्धबारेमा पनि अध्ययन गर्न प्रबुद्ध समूह गठन गरी दुईपक्षीय हित र नेपालको आर्थिक विकास र समृद्धि लागि अगाडि बढ्नुपर्छ ।
२५) अहिलेको भ्रमणबाट उत्पन्न सकारात्मक ऊर्जामा शिथिलता आउन नदिन प्रधानमन्त्रीले ‘अफ ट्राक' संवाद, अन्तरक्रिया, अध्ययन र सम्पर्क स्थापित गर्दै अगाडि बढ्नुपर्छ ।
यी २५ कर्म पूरा गरे भने ओली अमर हुनेछन् र युगौँयुगसम्म नेपालीले उनलाई सम्झनेछन् । यस्तो अमरत्व प्राप्त गर्ने अवसर यो मुलुकमा थोरैलाई प्राप्त भएको छ । ओलीले यी पच्चीस कर्म पूरा गरे भने तीनवटा जन्ममा गरिने काम गरेको रेकर्ड स्थापित हुनेछ । गरेनन् भने बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड झैँ हुनेछ उनको प्रधानमन्त्रित्व !
- annapurna post

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक