(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20160409

पूर्व उपप्रधानमन्त्री एबम गृहमन्त्री, एमाले उपाध्यक्ष बामदेब गौतम भन्छन : नेपाल संघीयतामा जान सक्दैन !

संसारमा अहिलेसम्म जम्मा २७ मुलुक संघीयतामा गएका छन् । त्यसमा आबद्ध जनसंख्या भने संसारको कुल जनसंख्याको करिब ४० प्रतिशते छ । संसारका सबै संघीय राज्य अनेक राष्ट्र मिलेर बनेका छन् । नेपालबाहेक अरू कुनै पनि एकात्मक राज्य अहिले संघीयतामा छैनन् । नेपाल एउटा मात्र राष्ट्र र त्यसमा पनि एउटा मात्र राज्य भएको मुलुक हो । संघीयतामा गएका राष्ट्रबीच संघीयतामा जाँदा सिमाना, नागरिकता र अरू कुनै पनि विषयमा झगडा र युद्ध कहीँ पनि भएका छैनन् । बरु संघीयतामा गइसकेपछि पुन: राज्य विभाजनको अवस्था आउँदा भने विभिन्न रूपमा द्वन्द्व भएको देखिएको छ । संघीय राज्यमा रहेका कुनै पनि राष्ट्र पहिल्यै निर्धारण भइसकेको सिमानासहित सामेल भएका छन् । तसर्थ त्यहाँ सिमानाको झगडा हुने अवस्था कहिल्यै रहेन ।आजभन्दा पहिलेसम्म संघीय राज्यको निर्माण प्रक्रिया दुई प्रकारको मात्र देखिएको छ । त्यसमध्ये एउटा हो– कुनै साम्राज्यको उपनिवेशका रूपमा रहिसकेका राष्ट्रहरू छुट्टिन पाउने आत्मनिर्णयको अधिकारसहित सँगै रहन मञ्जुर गर्ने प्रक्रिया । अर्को हो– स्वतन्त्र रहेका राष्ट्र आपसी समझदारी विकास गर्दै छुट्टिन पाउने अधिकारसहित
संघीय राज्य निर्माण गर्ने प्रक्रिया । अंग्रेजीमा एउटालाई ‘होल्डिङ टुगेदर’ र अर्कोलाई ‘कमिङ टुगेदर’ भन्ने चलन छ । यिनीहरूलाई मिलेर बस्दासम्म सँगसँगै बस्न पाउने र सँगै बस्न नसक्ने अवस्था आएपछि छुट्टिन पाउने अधिकार संयुक्त राष्ट्रसंघबाटै प्राप्त छ । संसारका कतिपय शक्तिशाली राज्यले संघीय संरचनामा गइसकेपछि छुट्टिन खोज्नेहरूमाथि निर्मम दमन गरेर सँगै राखेका छन् । अहिले तिनीहरू सबै राष्ट्रलाई एउटै राष्ट्रमा बिलय गराउन लागिरहेका छन् ।
नेपाल विगत अढाई सय वर्षदेखि अंग्रेज साम्राज्यवादको नाकैमुनि स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो राज्य सञ्चालन गरेर आएको मुलुक हो । यहाँका जनतालाई त्यस वेलादेखि नै नेपालीका रूपमा सम्मान गरिएको छ । संसारको सबभन्दा पुरानो दस्ताबेज वेद, उपनिषद् र महाभारतमा नेपाललाई राष्ट्रको मान्यता प्रदान गरिएको छ । यो हजारौँ वर्ष पहिलेको कुरा हो । त्यस वेला राष्ट्रउन्मुख राज्यहरूलाई नै राष्ट्र भनेको हुनुपर्छ । नेपालका दुर्लङ्घ्य हिमाल र पहाडबीचबाट बग्ने ठूला नदीहरूबाट विभाजित भूभागमा रहनुपर्दा लामो समयसम्म नेपालमा जातिहरू र नेपालका भाषाहरूको सम्मिलन हुन सकेन । त्यसैको कारण आज पनि नेपाल बहुजातीय र बहुभाषिक अवस्थामा रहेको छ तर सबै जाति र भाषालाई एकतामा ल्याउने गरी सम्पर्क भाषाका रूपमा नेपाली भाषाले आफूलाई विकास गरेको छ । सम्पर्क भाषाका रूपमा विकसित हुँदा संस्कृत भाषाबाट मात्र होइन, गैरसंस्कृत भाषाबाट पनि नेपाली भाषाले शब्दलाई ग्रहण गरेको छ । नेपाली भाषा आफँैमा परिष्कृत भाषा हो । यसमा अत्यन्त लचकता छ । यसै लचकताका कारण नेपाली भाषा नेपालका सबै जाति र भाषाका जनताको साझा एवं सम्पर्क भाषा बन्न सकेको हो । नेपालमा बसोवास गर्ने प्रत्येक नेपालीले दुई वा त्योभन्दा बढी भाषा सहजै बोल्ने र बुझ्ने गर्छन् । पाँच वर्षमाथिका हरेक भाषाभाषी नेपालीले नेपाली भाषा बुझ्छन् र १० वर्षमाथिका सबैले नेपाली भाषा बोल्न सक्छन् ।
नेपालको राजधानी काठमाडौँ उपत्यकामा यादव, किराँत, जनक, लिच्छवी, मल्ल, कर्नाट र खस जातिका राजाहरूले शासन गरेका छन् । यीमध्ये यादव, जनक, लिच्छवी, मल्ल, कर्नाटवंशी राजाहरू सबै आज मधेसी भनिने तराई मूलका थिए । किराँत र खस राजाहरू भने पहाडकै थिए । अवधिको हिसाबबाट हेर्न हो भने यादवहरूको अवधि करिब एक हजार, जनकको एक सय, लिच्छवीको करिब सात सय, मल्लहरूको करिब नौ सय, कर्नाटको करिब ६० वर्ष मानिन्छ । पहाडिया मूलका किराँतहरूको करिब एक हजार र खस शाहको २४० वर्ष रहेको शासन अवधि रहेको देखिन्छ । यसरी हेर्दा तराई मूलका राजाहरूले करिब दुई हजार सात सय साठी वर्ष र पहाडिया मूलका राजाहरूले करिब एक हजार दुई सय चालीस वर्ष राज गरे । यी सबैले नेपालमा राज गरेर समग्रमा आफ्नो जातीय राज्य होइन, नेपाल राज्य र नेपाल राष्ट्र निर्माण र विकास गर्न योगदान गरे ।
काठमाडौं उपत्यका पहिलेदेखि नै नेपालको सभ्यता, संस्कृति र अर्थतन्त्रको केन्द्र थियो । आज पनि केन्द्रकै रूपमा छ । नेपाल कहिले आजको भन्दा साँघुरो भएको छ । कहिले आजको भन्दा सात–आठ गुना ठूलो भएको छ । नेपाल पूर्वमा टिस्टा, पश्चिममा सतलज, दक्षिणमा गंगा र उत्तरमा हिमालयपारिसम्म धेरैपटक पुगेको छ । पछिल्लोपटक पृथ्वीनारायण शाहले तीनै सिमाना हस्तगत गरे । जहाँ पहिले नै धेरैपटक नेपाल पुगिसकेको थियो । जब नेपालको एकीकृत राज्यको केन्द्र कमजोर हुन्थ्यो, त्यति वेला रैथाने सामन्तहरूले आफू स्वतन्त्र भएको घोषणा गर्थे । जब एकीकृत राज्यको केन्द्र बलियो हुन्थ्यो, रैथाने रजौटाहरू एकीकृत राज्यमा समाहित हुन्थे । यो क्रम धेरैपटक चल्यो । यसलाई अन्त्य गरेर एकीकृत नेपाल राज्यको निर्माण पृथ्वीनारायण शाहले गरे ।
नेपाल नाम लिच्छवी, मल्ल वा शाह राजाहरूले राखेका होइनन् । यो नाम चार हजार वर्षपहिले काठमाडौंका त्यस वेलाका जनताले राखेका हुन् । नेपाल शब्द नै जनबोलीमा पुग्दा नेवारी भएको हो । नेपाल राज्यको उत्पत्ति पनि यही काठमाडौंमा भएको हो । राज गर्ने राजाहरू फेरिएका छन् तर नेपाल राज्य त्यस वेलादेखि निरन्तर छ । आजको संस्कृति, वास्तुकला, नेपाली भाषा र अर्थतन्त्र सबै काठमाडौं उपत्यकामै विकसित भएका र नेपालभरि फैलिएका हुन् । नेपाल राज्यमा बसोवास गर्ने जनता राष्ट्रमा विकसित हुँदा नेवारी वा अरू भाषाले राष्ट्रको मुख्य वा सम्पर्क भाषाको रूप लिन सकेनन् । सबै भाषाको विकास आफ्नै किसिमले भएको छ । जुन भाषाले अरू भाषाका शब्द र बोलीलाई ग्रहण गर्न सके, तिनले विकास गरे । जो जति कट्टर भए, त्यति सूक्ष्मीकरण हुँदै समाप्त भए । राजाहरूले जसलाई सरकारी कामकाजको भाषा बनाए, त्यस भाषाको मात्र विकास भएको छ भन्ने तर्क अर्धसत्य मात्र हो । यदि त्यसो हुँदो हो त उपत्यकामा नेवारी भाषाको एकरत्ति विकास हुने थिएन । लिच्छवी राजाहरूको मातृभाषा र सरकारी भाषा पाली संस्कृत थियो । मल्ल राजाहरूको मातृ र सरकारी भाषा मैथली संस्कृत थियो । खस राजाहरूको मातृभाषा र सरकारी भाषा खस संस्कृत थियो । जुन पछि नेपाली भाषामा विकसित भएको हो ।
उपर्युक्त विश्लेषणको निष्कर्षमा जाँदा हाम्रो राष्ट्र र राज्य आन्दोलनकारीले भने जस्तो बहुराष्ट्र र संघीय राज्यमा जानै सक्दैन । तैपनि हामीले राज्यको पुनर्संरचना गर्दै संघीयतामा जाने संवैधानिक व्यवस्था गरिसकेका छौँ । संघीयतामा जाने कुनै आधार नहुँदा नहुँदै पनि किन हामीले यस्तो गर्‍यौँ भन्ने प्रश्नका सन्दर्भमा जाँदा हामीले विभिन्न कारणले गहिरो अध्ययनविनै संघीयतामा जाने निर्णय गरेका रहेछौँ भन्नैपर्ने देखिन्छ । माओवादी आन्दोलनलाई शान्तिमा रूपान्तरण गर्ने दौरानमा सम्झौता गर्दा संघीयताका सम्बन्धमा पर्याप्त ध्यान पुर्‍याउन सकिएन ।
नेपाल र भारतबीच तुलनात्मक अध्ययन गर्दा हामी देख्छौँ कि भारतमा दुई हजारभन्दा धेरै जातीय समूह बसोवास गर्छन् । भारत पौराणिक कालदेखि बहुराष्ट्रिय अवस्थामा रहेको छ । नेपाल पौराणिक कालदेखि एकल राष्ट्रिय अवस्थामा छ । बहुराष्ट्रिय र बहुराज्यीय अवस्थामा रहेको भारत अर्ध संघीयतामा गएको छ । एकल राष्ट्र र एकल राज्य भएको नेपाल पूर्ण संघीयतामा जानै सक्दैन । भारतमा अहिले मान्यता प्राप्त राज्यहरू २७ वटा छन् । यी सबै राष्ट्रका रूपमा विकसित भइसकेका राज्य हुन् । भारतलाई अंग्रेजले उपनिवेश बनाउँदा त्यहाँ ६ सय स्वतन्त्र राज्य थिए । तिनीहरू अधिकांश त्यस वेला नै राष्ट्रका रूपमा विकसित भइसकेका थिए । भारतीय युनियनमा सामेल भइसकेको कुनै पनि राज्य र समुदायले छुट्टिने कल्पना पनि गर्न सक्दैन । त्यस किसिमको थोरै प्रयत्न मात्र कसैले गरे भने त्यसको परिणाम मृत्यु हुन्छ । अहिलेसम्म बनेका भारत सरकारका क्रियाकलाप हेर्दा भारतको केन्द्रीय राज्य एकल भारत राष्ट्र निर्माणमा लागेको देखिन्छ ।
नेपालमा करिब एक सय २५ जाति र भाषाभाषीका समुदाय छन् । ती सबै नेपाली जातिका रूपमा विकसित भइसकेका छन् । नेपाल पौराणिक कालदेखि एकल राष्ट्र र राज्यको अवस्थामा छ । आज नेपाल पूर्ण रूपले आधुनिक राष्ट्रका रूपमा विकसित भइसकेको पनि छ । यस्तो अवस्थामा नेपाल पूर्ण संघीयतामा जान सक्दैन । अर्ध संघीयता भनेको कतिपय संरचनागत पक्षमा संघीयताको भान हुने तर सारमा भने विकेन्द्रीकरणको अवस्थामै रहने हो । त्यसैले पनि नेपालको संविधानमा रहेका घातक प्रावधानलाई छिटोभन्दा छिटो संशोधनबाट सच्याउने काम गर्नुपर्छ । नेपालको वस्तुगत अवस्थाअनुरूप सबै संरचना निर्माणतर्फ लाग्नुपर्छ । जनतालाई अधिकार सम्पन्न गराउन दृढतापूर्वक विकेन्द्रीकरण लागू गर्नुपर्छ । (यि भनाइ राख्ने पूर्व उप प्रधानमन्त्री एबम गृह मन्त्री गौतम एमाले उपाध्यक्ष हुन्) - नयाँ पत्रिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक