20160714

यो आदेश दिने अपराधीको मुख्य नाइकेलाई भन कसरी प्रधानमन्त्री र देशको नेता मानुँ म ??!!

- महेश भट्टराई                          स्व. राममणि ज्ञवाली
यो कथा होइन, सत्य घटना हो (स्व. राममणि ज्ञवालीमा समर्पित)
रातको प्रहर छिप्पिए पछि  ४०/५० जना मानिसहरुको हातहतियार सहितको जत्थाले घर घेर्यो। एकले आदेश दियो  ढोका फोरि दे ।  भित्रबाट आवाज आउछ  'को आउनुभयो यति राति ?' सायद रातको पाहुना होला भनेर ढोका खोल्न पुग्छन्। 

एकले सोध्छ 'तेरो नाम के'?  सरल उत्तर 'राममणि ज्ञवाली' । अर्कोले भन्यो 'यहि हो हजुर यही हो, मैले चिनेको छु।' 
'बाध् यसलाई बाध् यहि मैनी खावाँमा नाङ््गै बनाएर बाध्' एकले  आदेश दियो। बाझले कुखुरालाई झम्टीए गुरिल्लाहरूले, मदानी माडोरि बेरे जस्तै बेरिदिए मैनी खावाँमा। राम भन्दै 'थिए मैले के गल्ति गरेको थिएं र , मलाई यसो गर्दै हुनुहुन्छ ?'

“प्रस्न गर्छ साला कुत्ता हामीसंग, मुखै लाग्ने” भन्दै अर्कोले मुखमा टेप लगाइ दियो ।
ूबोल्छ साला कुत्ता,  'हामी क्रान्तिकारीको बिरोध गरेर हिड्ने तैं होइनस '?  अर्को कड्कियो ।

' यसलाई टुक्राटुक्रा पारेर मार्नुपर्छ' अर्कोले आदेश दियो ।  'काटी दे यसका हातहरु 'अर्कोले आदेश दियो ।

अर्को खुकुरी लिएर पाखुराहरूमा हान्न थाल्यो।

रगतका पिचकारीहरूले उसको मुख र शरिर भरि हानी रहेको थियो। कठै मेरो मामा ऐया भनेर कराउन पनि पाउनु भएन। उसले हानी रह्यो , हानी रह्यो धेरै पटकको प्रयत्नपछि हात छिनाली दियो।

छोड लाठे म छिन्छु यसको अर्को हात अर्को तम्सियो । लाग्थ्यो उनीहरु मानिस काटमार गर्ने खेल खेलिरहेछन। ४ / ५ पटकको लगातार प्रहार पछि दोश्रो हात पनि छिनालियो ।

रामको स्थिति बर्णन गर्ने मसंग कुनै शब्द छैन, न त साहसनै , न त म कल्पनै गर्न सक्छु । मेरा लेख्ने औलाहरू लरखराइ रहेका छन् । सोच्ने मष्तिक धमिलिएको छ। दुई हात काटिएको रक्त्याम पिडाले छटपटाईरहेको जिउदो मानव  बिबस,  निसहाय, मृत्युको भिख मागिरहेको मानव , न त रुन सक्छ न कराउन । 

जिउदो मानब माथि गिद्द र स्यालले सिनो झम्टिए जस्तै जम्टिरहेका थिए। यत्तीकैमा अर्कोले भन्यो यसको 'कान पनि काटिदे' ।  अर्को गुरिल्ला बुच्चड तम्सियो र दुवै कान रेटिदियो र भूइमा फालिदियो ।

शरिर सम्प्रुर्ण रगताम्य भैसकेको थियो ।मृत्यु पनि भनेको बेलामा नआउदो रहेछ, मृतुले पनि उनीहरुको साथ दिइरहेको थियो ।

यस्तो दर्दनाक स्थितिमा अर्को गुरिल्ला कुर्लियो , यसलाइ चिरि चिरिमार्नुपर्छ , नभन्दै एउटा तम्सियो र धारिलो चक्कुले त्यो कोमल अनुहार चिराचिरा पारिदियो ।

क्रुरताले सिमाना घीसकेको थियो, त्याहा क्रुरताको प्रतिस्पर्धी खेल खेलिदै थियो , निसाहय विवश मानब माथी। अर्को कुर्लियो यसको खुट्टा पनि गिड्दे ।  यो क्रुरताको दानविय खेल त्यती बेला सम्म खेलियो, जब सम्म उसको
शरिरमा स्वास थियो।

गाऊको  मध्यम ठुलो परिवारमा जन्मीएको खानलाउन ठिक ठाक पुगेपनि पैसाहात पार्न दशैनै कुर्नुपर्थ्यो , अझै केटाकेटी अवस्थामा । चाडवाडक हिले आउला र रातोनोठ रु५  हातमा पर्ला भनि बर्षौ कुर्नुपर्थ्यो , अझै केटा मान्छेलाई त मामाघर बाहेक अर्को विकल्प थिएन। मामाघर जानु तेती सजिलो थिएन। मामाघर नै यहाँ आउनुपर्थ्यो ।

बल्कोट अर्घाखाचीबाट माडी पाल्पा सम्म करिब २ दिनको हिडी राम आफ्नो ठुलो दिदीको हातबाट भाइटिका थाप्न कहिल्यै भुल्नुहुदैनथ्यो। जहाँ भएपनि टुपुक्क आइपुग्ने उदाहरणीय मायाप्रेम थियो दिदिभाइको।

भाईटिका दिदीभाईको भएपनि जाने बेलामा रातोनोट हाम्रो हातमा दिन कहिल्यै भुल्नु भएन मामाले ।त्यो रातोनोठको मुल्य बच्चामा कती हुन्छ र थियो  भन्न कुरा आज पनि जल्जदै सम्झनाछ। सधै तिहार आयोकि त्यो रातो नोठ र मामाको झझल्को सधै सधै आइरहन्छ । म सानो हुँदा मामाको पछि लागि लागि हात समाएर बल्कोटबाट चुत्राबेसी ४ ५ घण्टा लगाएर गएको र खुट्टामा परेको फोरा भन्दा मामाको हात समाएर हिड्नुको मजानै अर्को थियो ।

बिस्तादै दिन बितदै थिए म सानो ब्यबसाय गरि तानसेन बसपार्क नजिकै बस्ने गर्थे । मामा जाँदा आउँदा सधै पस्ने गर्नुहुन्थ्यो , कहिल्यै बाटो काट्नु भएन। मामालाई राम्ररीथाहा थियो, भान्जा ब्यस्त हुन्छन् भन्ने त्यसैले एक गिलास पानी वा चियाखाने निहुमा सन्चो बिसन्चो भलाकुसारी  सधै हुनेगर्थ्यो।

एकदिन एक्कासी काठमाडौँबाट आउनु भयो र मलाई घरजान एक टिकेट बुक गरि दिन भन्नुभयो । तानसेनबाट तम्गासको टिकेट बुक गर्न त्यती  सजिलो थिएन ।भनसुन गर्नुपर्ने। मैले भने 'मामा अहिले घर नगए  हुँदैन, देशको अवस्था यस्तो छ , हजुरलाई थाहै छ।'
मामाले भन्नुभयो ' हेर भान्जा मर्नु त एकदिन पर्छ पर्छ , कति दिन सम्म यीनीहरू संग डराएर भाग्ने, म आफ्नो घर जान पनि नहुने, कति गाउले र जिल्लाबासीले मेरो बाटो हेरि बसेका छन् , कतिको काम गरिदिनुछ। फेरी मैले के नै गल्ति गरेको छु र को संगडराउनु', निडर , हक्की, सरल र सहयोगी स्वाभावको बच्चा, युवादेखी बुढापाका सबै संग सजिलै मिल्न सक्ने मिलनसार मानिस।

 सामाजिक भावना भएको र ब्यबहारमा पनि सजिलै उतार्न सक्ने  , जिल्लाबासी सबैको भलो चाहने मानिस कसैसंग डराउनु पर्ने कारण मैले पनि केही देखिन। सबै परिवारको तर्फबाट मामालाई बस चढाई अन्तिम बिदाई गर्ने अभागी भान्जा मनै थिए ।

हालसम्म मैले भेटेका मनिसले मामाको प्रसंशा नगरेको आज सम्म पाएको छैन। म आफैलाई राममणि ज्ञवालीको भान्जा भन्दा गर्व गर्ने गर्थे, गर्छु र गर्नेछु ।

क्षप्त बिक्ष्यत छरिएररहेका रगत्याम शरिरका अंगहरू एकएक गरि बोरामा जम्मा पार्दा परिवारको मन कस्तो भयो होला। सधै भरि दहि र मोहीले रंगिने मधेनी खाबो र मझेरी आज आफ्नै श्रीमानको रातो रगतले पोतिएको देख्दा कति पटक अचेत हुनुभयो होला मेरी माइज  । शरिरका टुक्राहरु एकएक मिलाएर घाटमा जलाउन लाग्दा हात काँपी कति पटक भूइमा झर्यो होला दागबत्ती छोराको हातबाट ? आफ्नो प्यारो बाबु न्यानो माया गुमाउनु र टुहुरो हुनुको पिडामा कति चोटी बेहोस भए हालान् छोरीहरू ? आफुहरुलाई सुमसुमाएर आड, भरोशा र सल्लाह दिएका हातहरु छिनीएका शरिर  देख्दा कस्तो भयो होला भाईहरुलाई ?

 सधैभरि शत्रुहरु नास हुन्छ भन्दै शुभाशिश दिदै भाइटिका लगाउने निधार चिराचिरा परेको देख्दा कसरि समालिए होलान् दिदिबैनीहरु  ?  
सधै सबैको भलो र सहयोग गर्न तत्पर रहने मेल मिलापको सागर आफन्त गुमाउदा कति पिडा सहे होलान््आफन्तले ।

यस्तो बर्बर यातना र क्रुरताको मृतु सधै भरि समाज सेवाको लागि दौडिरहने खुट्टाहरुले खेप्दा कसरी समालिए होलान् गाउलेहरु ? यस्तो बर्बर यातना र क्रुरताको मृत्यु देख्दा यमराजलाई पनि दया लाग्यो होला।

यदि यहि घटना हाम्रा पार्टीको नेताहरुको परिवारमा घटेको भए के उनीहरू चुप लागेर बस्न सक्थे ? यदि यहि घटना तपाईको परिवारमा घटेको भए ? आज मेरो मामाजस्ता हजारौ निरपराध जनताको रगतलाई मसि बनाएर आ\आफ्नो स्वार्थको लागि र तिनै अपराधीसंग कुम मिलाएर राज गर्न १६ बुदे सहि छाप गर्ने सबै नेता र पार्टीहरु अपराधीहुन्  ।  आदेश दिने,अपराध गर्ने र अपराधीलाई सरक्षण गर्ने राज्यको लागी सबै नै अपराधी हुन्। जुन राज्यले अपराधीलाई सजाय दिन सक्दैन त्यस राज्यलाई स्वतन्त्र राज्य भन्न सकिदैन।

यो न्याय हराएको देश हो ? यहाँ गणतन्त्र, संघियता ,क्षेत्रियता र जातियताको नाममा जनतालाई लड़ाएर सिंगो राष्ट्र र जनतालाई हाम्रा नेताहरुले गिद्द र स्यालले जस्तै चिथरी रहेका छन् ।यहाँ नेता र पार्टीको निहित स्वार्थको लागि कर्मचारी , पुलिस ,सेना , न्यायालय र देश किनबेच गरिएको छ । यहाँ भएका पार्टीको सिध्दान्त, नीति , कार्यकम केवल जनतालाई छारो हाल्ने मात्र भएका छन् ।

मेरो मामा जस्तै सोझा, साझा जनता मार्ने,  संबिधान र कानुन भएर पनि अन्धो केहिँ गर्न नसक्ने लाई कसरि कार्यपालिका र न्यायपालिका भन्नसक्छौ ? जहाँ जनताको सुरक्षा र न्याय सरकारले गर्नसक्दैन त्यो भूगोललाई कसरि स्वतन्त्र देश भन्न सक्छौ ? जहाँ क्रान्तिको नाममा दिनहु जनता मरिरहन्छन, जहाँ देशको भूगोलले बढीमा ३ \ ४ पार्टीभन्दा थेग्न नसक्ने देशमा १७२ पार्टी दर्ता गर्ने निर्बाचन आयोगलाई के भन्ने ? आज पनि  ५० \५२ पार्टीले दिनहु क्रान्तिको नाममा जनता लडाउछ, मार्छ नेताहरुले लासको मुल्य माग्छन्र राज्यले खुरुखुरु भरिदिन्छ  ।

 कठै मेरोदेश बस हामी देशको नाममा कर बुझाई टुलुटुलु हेरीबसेका छौ। तर म यी नेतालाई नेपाल राज्यलेअपराधी नठाने पनि , सजाय नदिए पनि मेरो अदालतका अपराधी हुन्,  म एकदिन यमराजको अदालतमा अबश्य उभ्याउने छु। यीनीहरु र यीनीहरुको परिवारले कहिल्यै शुख शान्ती पाउने छैनन ।
Note: युनिकोडमा टाइप गर्दा हुने र भएका भाषा असुद्धी प्रति नेपाल मदर क्षमा प्राथी छ ।   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक